काठमाडौँ — १३ औं नेपाल युरोपियन फिल्म फेस्टिभलमा आयोजित लघु फिल्म प्रतिस्पर्धातर्फ 'धे ड्रिम्स'ले अवार्ड जितेको छ । नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले हालै कार्यक्रम आयोजना गर्दै लघु फिल्मको प्रतिस्पर्धा जित्ने शान्ता नेपालीलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
यही विधामा सोयन मास्के मानन्धर निर्देशित 'द बुल, द काउ, द काफ'ले भने स्पेशल मेन्सन जितेको छ । विजेता घोषणा बित्तिकै निर्देशक शान्ताले आफूले निरन्तर सिमान्तकृत र आवाजविहिनहरुको आवाजलाई फिल्मको माध्यमबाट सम्बोधन गरिरहने बताइन् ।
'विशेष त आफू पनि सिमान्तमा पारिएको समुदायबाट नै भएका हुनाले मलाई सिमान्तकृत अनि आवाज विहिनहरुको आवाजलाई फिल्ममार्फत सम्बोधन गरौं भन्ने लाग्छ । त्यसै अनुरुप धे गाउँका महिलाहरुको कथालाई हामीले डकुमेन्ट्रीमा पस्केका थियौं । अब यही डकुमेन्ट्रीलाई अझै लामो बनाउने सोचसहित हामी योजना गर्दैछौं,'शान्ताले अवार्ड उचाल्दै भनिन् ।
फेस्टिभलमा ११ लघु फिल्महरु समावेश थिए । 'धे ड्रिम्स'सँगै, 'आखत', 'हावाम्यान', 'काठमाडौं मनसुन', 'मखमली उडान', 'लेट्स टक पिरियड', 'मिराज', 'सनाई', 'रातो पछ्यौरी' र 'फेरा' फेस्टिभलमा देखाइएको थियो । यो सँगै डेलिगेसनले आयोजना गरेको 'फिल्म क्रिटिक्स कम्पिटिसन'मा श्रीजु सरल विजेता बन्दा प्रसुन संग्रौला उप-विजेता घोषणा भए । यी दुईले डेलिगेसनले आगामी पुषतिर ब्रसेल्समा आयोजना गर्ने नेपाली फिल्म फेस्टिभलमा सहभागी जनाउनेछन् ।
प्रकाशित : श्रावण २४, २०८१ १४:१६