‘नमेटिने घाउ’मा प्रधानमन्त्री ओली पनि
Highlights
- प्रधानमन्त्री ओली भदौ ७ मा प्रदर्शनमा आउने फिल्म ‘नमेटिने घाउ’ मा देखिँदै छन् । निर्माता एवं निर्देशक रमित ढुंगानाले ओलीलाई फिल्ममा ‘डेब्यु’ गराएका हुन् ।
काठमाडौँ — पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा कमाउन सफल प्रधानमन्त्री केपी शर्मा ओली केही समयमा फिल्ममा पनि देखिँदै छन् । भदौ ७ मा प्रदर्शनमा आउने फिल्म ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीको अभिनय हेर्न सकिन्छ । निर्माता एवं निर्देशक रमित ढुंगानाले ओलीलाई फिल्ममा डेब्यु गराएका हुन् ।
फिल्ममा प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद देवेन्द्र पौडेलेदेखि ज्ञानेन्द्र शाहीसम्मको अभिनय देख्न सकिन्छ । एसिड आक्रमणका ६ ‘सर्भाइभर’माथि बनेको यो फिल्म सत्य घटनामा आधारित रहेको निर्देशक ढुंगानाको दाबी छ ।
अनामनगरस्थित ‘नोभिस आर्ट्स एन्ड भिज्वल्स’ पुग्दा ढुंगाना आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘नमेटिने घाउ’को पोस्टर तयार गर्न व्यस्त देखिन्थे । पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरलाई विशेष स्थान दिइँदै थियो । प्रधानमन्त्रीले खेलेको फिल्मको सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ । ओलीले फिल्मका लागि संवाद रेकर्ड गराएको खबरले फिल्मप्रेमीको मात्र नभई राजनीतिज्ञको ध्यान पनि तानेको छ ।
‘भाइबहिनीहरू तपाईंहरूले अवश्य न्याय पाउनुहुनेछ । र, अपराधीहरूलाई कडाभन्दा कडा सजाय दिने व्यवस्था कानुनबाटै हामी व्यवस्था गर्नेछौं,’ कानमा हेडफोन लगाएका ओलीले बेलाबेला हात चलाउँदै फिल्मको ‘डबिङ’ सकाए । उनी मात्रै होइन, एसिड आक्रमणविरुद्धको प्रदर्शनीमा पुगिरहने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद देवेन्द्र पौडेलेदेखि ज्ञानेन्द्र शाहीसम्मले पनि आफ्नो भागको ‘डबिङ’ सकाइसकेका छन् । फिल्ममा एसिड आक्रमणमा परेका वास्तविक पात्रहरूसँग जोडिएका नेपाल प्रहरीका करिब ४ सय प्रहरीको पनि अभिनय देख्न सकिने निर्देशक ढुंगाना बताउँछन् ।
खासमा ‘बुद्ध बर्न इन नेपाल’ बनाइसकेपछि नै रमितले यो विषयमाथि फिल्म बनाउने सोचेका थिए । अमेरिका जाने/आउने क्रममा बुद्ध भारतमा जन्मिएको प्रचारले रमितको मन दुख्यो । उनले बुद्ध नेपालमा जन्मिएको भन्दै फिल्म नै बनाए । फिल्मको विषय र बनाउनुको उद्देश्यबारे उनले त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह लिएका थिए । ओली पनि रमितलाई हौसला दिन शुभमुहूर्तमा नै पुगे । प्रधानमन्त्रीको यस किसिमको साथ पाएर रमित हौसिए पनि ।
‘बुद्ध बर्न इन नेपाल’ तयार भइसकेपछि एकदिन फिल्मको ‘च्यारिटी सो’ आयोजना भयो । सोमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि उपस्थिति थिए । सोबाट उठेको रकम एसिड आक्रमणको ‘सर्भाइभर’ मुस्कान खातुनलाई दिइयो । त्यही कार्यक्रममा खातुनले आफूलाई पनि देशका लागि केही गर्ने इच्छा भएको चाहना प्रकट गरिन् । त्यतिबेलै रमितले मुस्कानमाथि बायोपिक बनाउने सोचे, माधवकुमार नेपाललाई फिल्मको आइडिया सुनाए । नेपालले तुरुन्तै रमितलाई हौसला दिए ।
यसबीच रमितले मुस्कानलगायत थुप्रै एसिड आक्रमणका ‘सर्भाइभर’हरूसँग भेटे । आशाविहीन ‘सर्भाइभर’हरूसँग भेटिसकेपछि रमितलाई लाग्यो, ‘एक जनाको कथाभन्दा त अन्याय हुने रहेछ अब, यी सबै सर्भाइभरको कथा भन्नुपर्छ ।’ रमितले मुस्कानसँग अन्य ‘सर्भाइभर’को कथा समेट्ने सुनाए, मुस्कान मिठो मुस्कानसहित सकारात्मक भइदिइन् । त्यसपछि नै हो, उनले फिल्ममा अभिनय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव राखेको ।
फिल्ममा प्रधानमन्त्री ओलीले यस्तो जघन्य अपराधविरुद्ध कस्तो नीतिगत कदम चाले त ? भन्ने विषय पनि समेटिएको छ । ओलीले २०७७ मा ल्याएको एसिड आक्रमण गर्नेलाई कडा सजाय दिने कानुन र त्यतिबेला उनले गरेका निर्णयसहितको दृश्य फिल्ममा राख्दा प्रधानमन्त्री स्वयंलाई उक्त दृश्यमा खेलाउने सोचे । वास्तविक घटनामाथिको फिल्ममा प्रधानमन्त्री ओली नै देखिए त फिल्मले बोकेको सन्देश असंख्य दर्शकमा पुग्ने भयो । त्यसैले उनले त्यही विचारले प्रधानमन्त्रीसामु फिल्मको अफर राखे । ‘त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन व्यवस्था ल्याउनुभयो । त्यसैले मैले उहाँलाई नै फिल्ममा अभिनय गर्न अफर गरें,’ रमितले भने, ‘फिल्म समसामयिक विषयमा बन्ने भएकाले उहाँहरूलाई कन्भिन्स गर्न समय लागेन ।’
फिल्ममा अभिनय गर्न प्रधानमन्त्री ओलीले ९ घण्टा समय खर्चेका थिए । फिल्ममा उनी प्रधानमन्त्रीकै भूमिकामा छन् । फिल्मको छायांकन नेकपा एमालेको पार्टी कार्यालयमै गरिएको हो । फिल्ममा खासै धेरै टेक नलिएका ओलीले केही संवाद त आफैं ‘इम्प्रोभाइज’ गरेका थिए । प्रधानमन्त्री ओलीले राम्रो अभिनय गरेको रमित सुनाउँछन् । ‘उहाँ बडो राम्रो अभिनय गर्नुहुन्छ । उहाँले न्याय दिने अभिनय गर्नु भएको छ । उहाँले डबिङ गरेको देख्दा हामी हेरेको हेर्यै भयौं,’ रमितले भने ।
फिल्मको प्रस्ताव लिएर बालकोट पुग्दा ओली आफैं भने दंग परेका थिए । ‘मलाई अभिनय गराउने ?’ ओलीले प्रश्न गरेका थिए । तर, तुरुन्तै उनले रमितलाई भने, ‘ल ठीक छ, म अभिनय गर्छु ।’ छायांकनका क्रममा ओलीले अभिनय कस्तो हुनुपर्छ भनेरसमेत सिकाइदिएका रमित बताउँछन् । ‘छायांकनमा उहाँले त्यो सावित पनि गर्नुभयो । अभिनय गर्दा क्यामरामा हेर्नु हुँदैन भन्ने पनि थाहा रहेछ उहाँलाई,’ रमित सुनाउँछन् ।
दुई दिनअघि मात्रै साढे दुई घण्टा लगाएर ओलीले आफ्नो भागको ‘डबिङ’ सकाएका हुन् । अनामनगरस्थित न्यु म्युजिक एरा स्टुडियोमा ओलीले संवाद रेकर्ड गरेका हुन् । हुन त रमित बालकोट नजिकै रेकर्ड गराउने सोच्दै थिए । तर, ओली आफैंले गहन मुद्दामा बनेको फिल्मका लागि ‘डबिङ’ गर्न निर्माण टिमले भनेको स्थानमै आइपुग्ने वाचा गरे । फिल्ममा ओलीको दृश्य १० मिनेटको छ । माधवकुमार नेपालको दृश्य पनि लगभग १० मिनेटकै छ । ‘माधवकुमार नेपाललाई हामीले रेडियो नेपालमा रेकर्डका लागि लगेका थियौं । त्यसपछि कमलपोखरीको भ्वाइस स्टुडियोमा २/३ घण्टा लगाएर उहाँले डबिङ गर्नुभयो,’ रमितले भने । प्रदर्शनकारीसहितको दृश्य खिच्न उनीहरूले तीनकुनेदेखि कोटेश्वरमा माधवकुमार नेपाललाई अभिनय गराए ।
एसिड आक्रमणका ‘सर्भाइभर’हरूकै भोगाइ सुनेर फिल्मको कथा लेखिएको हो । शिवम अधिकारीको लेखन रहेको यो फिल्मलाई रमित आफैंले निर्माणसमेत गरेका हुन् । पहिलो फिल्म ‘माया नमार’मार्फत निर्माण सुरु गरेका रमितको यो पहिलो निर्देशन हो । फिल्मको नाम भने रमितकै साथी डिजेन भट्टराईले राखिदिएका हुन् । ‘नमेटिने घाउ’का दुई अर्थ छन् । रमितको अध्ययनले भन्छ, एसिड आक्रमण धेरै त आफन्तले नै गर्दा रहेछन् । आफन्तको यस किसिमको हर्कतले दिएको पीडा
मुटुमा पछिसम्म रहने भयो । त्यो घाउ कहिल्यै नमेटिने भयो । अर्को त एसिड आक्रमणले शरीरमा पारेको घाउ, जुन सयौं सर्जरीले पनि मेट्न सकिँदैन । त्यसैले फिल्मको नाम ‘नमेटिने घाउ’ राखिएको उनी सुनाउँछन् ।
फिल्ममा ६ जना ‘सर्भाइभर’को कथा समेट्ने प्रयास गरिएको छ । भदौ ७ मा प्रदर्शनमा आउने बायोपिकको भाग–१ मात्र अहिले देखाइनेछ । दोस्रो र तेस्रो भाग पनि बन्ने बताइएको छ । फिल्ममा मुस्कानसहित सम्झना दास, सुस्मिता दास, बसन्ती परियार, जेनी खड्कादेखि रामराजाको कथा समावेश गरिएको छ । फिल्ममा वास्तविक पात्र मुस्कानले पनि अभिनय गरेकी छन् । त्यस्तै, कलाकारहरू प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायत कलाकारले अभिनय पनि गरेका छन् ।
एसिड आक्रमणमा परेकाको अनुमति मिलेसम्म सबैजनालाई बाँकीका भागमा समेट्ने रमित बताउँछन् । फिल्म प्रदर्शन भएपछि एसिड बिक्री वितरणमा नयाँ कानुन बन्नेमा उनी आशावादी छन् । ‘अहिले त एसिड जहाँतहीं किन्न पाइन्छ । फिल्म प्रदर्शनपछि एसिडको बिक्री वितरणमा कडाइ हुनेछ भन्ने लागेको छ,’ उनले भने ।
प्रकाशित : श्रावण २३, २०८१ ०७:२४