कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

धमाका मच्चाइरहेको ‘डेडपुल एन्ड उल्भरिन’

श्रावण १८, २०८१
धमाका मच्चाइरहेको ‘डेडपुल एन्ड उल्भरिन’

Highlights

  • विश्व मनोरञ्जनमा अहिले कुनै एक फिल्मले धमाका मच्चाइरहेको छ भने यो हो, ‘डेडपुल एन्ड उल्भरिन’ । यस वर्ष रिलिज भएका फिल्ममध्ये यो सबैभन्दा बढी कमाउने उपलब्धितर्फ अग्रसर छ । जुलाई ३१ सम्मलाई आधार मान्ने हो भने यसले २६ करोड डलर त अमेरिका र क्यानडामै मात्र कमाइसकेको छ ।

काठमाडौँ — विश्व मनोरञ्जनमा अहिले कुनै एक फिल्मले धमाका मच्चाइरहेको छ भने यो हो, ‘डेडपुल एन्ड उल्भरिन’ । धेरै समय भयो, यसबारे चर्चा सुरु भएको पनि । अनि यो एक प्रकारले सन् २०२४ मा सबैभन्दा प्रतीक्षा गरिएको सिनेमा पनि हो । जति बेला रिलिज भयो, यो अपेक्षाअनुसार ठूलै सफलतातर्फ उन्मुख भएको पनि देखिएको छ ।

फिल्मले कति कीर्तिमान बनाउने हो, त्यसबारे अनुमान मात्रै गर्न सकिन्छ । ठ्याक्कै भन्दा सबैलाई डेडपुल र उल्भरिन कहिले पो दोहोर्‍याएर आउनेछ भन्ने नै लोभ थियो ।

डेडपुललाई रायन रेनोल्ड्सले खुबै मीठोसँग निभाएका पनि छन् । उल्भरिनमा ह्युग ज्याकमन पनि कम्तीका छैनन् । यसको प्रिमियर जुलाई २२ मा न्युयोर्कको डेविड एचकोच थिएटरमा भएको थियो । त्यति बेला रेड कार्पेटमा फिल्मका लगभग सबै कलाकार उपस्थित थिए । यसको कारण पनि स्पष्ट छ, धेरैलाई त्यही बेला लागेको थियो, यस सिनेमा केही विशेष छ । त्यसैले यो खुबै चल्नेछ । फिल्मका दुई मुख्य व्यक्तित्व निर्देशक सन लेवी, रेनोल्ड्स र ज्याकमन त हुने भए नै ।

जुलाई २४ मा भने बजारमा डेब्यु गराइएको हो फिल्म । खासमा यो हो, मार्क कमिक्सको अमेरिकी सुपरहिरो फिल्म । भनेपछि मार्वल कमिक्समै आधारित छ, यो । वाल्ट डिजनी स्टुडियो मोसन पिक्चर्सले यसको वितरण गरेको छ । र, यसको नतिजा अविश्वसनीय छ । सन् २०२४ मा रिलिज भएको सिनेमामध्ये यो सबैभन्दा बढी कमाउने उपलब्धितर्फ अग्रसर छ । जुलाई ३१ सम्मलाई आधार मान्ने हो भने यसले २६ करोड डलर त अमेरिका र क्यानडामै मात्र कमाइसकेको छ ।

सबैतिरको आम्दानीलाई आधार मान्ने हो भने यसले ५४ करोड डलरभन्दा बढी आँकडालाई छोइसकेको छ । यो कति धेरै प्रतीक्षा गरिएको सिनेमा हो भने यसको सबैभन्दा उल्लेखनीय पक्ष भनेकै टिकटको प्रि–सेलमा हो । यो आर–रेटेड सिनेमा हो । यस्ताखाले सिनेमामा यो अहिलेसम्मकै सबैभन्दा सफल हुने बाटोमा छ । सिनेमाको कुल बजेट ३२ करोड डलरको हाराहारी हो । यति रकमलाई त चारै दिनको कमाइले सजिलै उछिनेको थियो ।

रिलिजको पहिलो सातामा सबैभन्दा राम्रो गर्नेमा पनि यो सिनेमाको गणना सुरु भएको छ । भारतमै पनि यो सिनेमालाई धेरैले रुचाएका छन्, त्यसैले त्यहाँ पनि यसले धमाका मच्चाइरहेको छ । पहिलो सातामै यसले एक सय करोड भारुको सीमा मज्जाले तोडेको थियो । यही बेला भारतीय बजारमा चलिरहेको बलिउड सिनेमाले पनि यसलाई टक्कर दिन सकिरहेको छैन ।

यो फिल्म हेर्न हल्का पृष्ठभूमि भने चाहिन्छ । किनभने यो यसअघिका दुई सिनेमा ‘डेडपुल’ र ‘डेडपुल–२’ को सिक्वेल हो । ‘डेडपुल’ २०१६ मा रिलिज भएको थियो । यसमा रेनोल्ड्स वेड विल्सनका नाममा व्यावसायिक सैनिकका रूपमा काम गर्छन् । ‘डेडपुल–२’ मा भने तिनै वेड विल्सन एकपल्ट आफ्नो काममा चुक्छन् र कथा अगाडि बढ्छ । त्यसमा वेड विल्सनले आफ्ना प्रेमिकालाई गुमाएको हुन्छ ।

त्यसले उनको जीवन नै खल्लो हुन्छ । यो फेरिएको जीवनबीच उनले आफ्नो सुपरहिरोको अवतार नै धारण गरेको हुन्न । उनी केहीमा पनि खुसी छैनन्, न त आफ्नो काममा । न त आफ्नो वरिपरि रहेको वातावरणसँग । ठीक त्यही बेला उनलाई उल्भरिनको आवश्यकता पर्छ । उनी त्यसैको खोजीमा निस्कन्छन् । एक प्रकारले उल्भरिनले त यो संसारबाट बिदा लिइसकेका थिए । लासै भइसकेका थिए तर पनि डेडपुललाई त्यसको आवश्यकता पर्छ ।

अझ भन्दा डेडपुललाई अर्कै विश्वमा गएर उल्भरिनलाई ल्याउनु छ । यसको कारण त यस ब्रह्माण्डलाई बचाउन नै हो । एक प्रकारले यसपल्टको उल्भरिन नयाँ हो किनभने ‘लोगन’ मा उनको मृत्यु भएको देखाइएको छ । जति बेला उनीहरू एकआपसमा मिल्छन्, सिनेमाको असली कथा सुरु हुन्छ । अन्त्यमा उनीहरूले यो विश्वलाई बचाउन काम त गर्छन् नै । उनीहरूको चर्तिकला भने हाम्रो अपेक्षाअनुसार हुन्न, फरक हुन्छ ।

खासमा सिनेमाको मज्जा यसमै छ । डेडपुल र उल्भरिन मिलेर आफ्नो चर्तिकला देखाउने गर्छन् । यो चर्तिकला भने यस्तो पनि हुन सक्छ भनेर हामीले सोचेको पनि हुन्नौं । त्यसकै रोमाञ्चकताले यो सिनेमालाई यति धेरै सफल बनाएको हो भन्दा हुन्छ । खासमा मार्वल आफ्ना प्रशंसकलाई एकपछि अर्को आश्चर्यको शृंखला नै पस्कन माहिर छ । ‘डेडपुल एन्ड उल्भरिन’ मा यस्ता आश्चर्य लगातार नै छन्, एकपछि अर्को ।

यहाँनिर हामीले रेनोल्ड्सको प्रशंसा गर्न कन्जुस्याइँ गर्नुहुन्न । उनी सबैको ध्यान आफूमा केन्द्रित गरिरहन सफल छन् । धेरै अगाडि, त्यो भनेका दुई दशकभन्दा अगाडि एक्स–म्यान रिलिज भएको थियो । त्यसमै पहिलो पटक उल्भरिनलाई देखाइएको थियो । यसलाई फेरि एकपल्ट जीवन्त पार्ने काम भने तिनै ज्याकमनले गरेका छन् । उनले एउटा तथ्य के पनि सावित गरेका छन् भने उल्भरिनको पात्रमा कोही एक मात्रै सही हुन सक्छन् भने उनी तिनै ज्याकमन मात्रै हुन्, अरू होइनन् नै ।

निर्देशक लेवीको पनि चर्चा त छुटाउनु नै हुन्न । उनले सिनेमामा आफूले सक्दोभन्दा बढी काम ढंगले गरेका छन् । सिनेमामा डेडपुल र उल्भरिनबीच भिडन्तको दृश्य पनि छ । यो दृश्य कतिलाई भयानक लाग्न सक्छ, कतिलाई भावनात्मक पनि । यसलाई लेवीले उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् । ठ्याक्कै भन्दा सिनेमा वास्तवमै मज्जाको छ ।

प्रकाशित : श्रावण १८, २०८१ ०६:२१
x
×