मिस नेपाल २०२४ : ‘मिस इन्टेलेक्ट’ प्रतिस्पर्धामा २६ सुन्दरी
Highlights
- मिस नेपाल २०२४ का प्रतियोगीहरूले ‘मिस इन्टेलेक्ट’ विधाको प्रतिस्पर्धामा इन्टरनेट र गलत सूचना, देशको वर्तमान समस्या, विदेश पलायनको अवस्था, शिक्षा, महिनावारी सुरक्षा, महिलाको स्वास्थ्य अवस्था, साइबर बुलिङ, प्लास्टिकले सिर्जना गरेको प्रदूषणलगायत विषयमा कार्यपत्र प्रस्तुत गरु
काठमाडौँ — मिस नेपाल २०२४ का २६ फाइनलिस्टहरू ‘मिस इन्टेलेक्ट’ का लागि प्रतिस्पर्धामा उत्रेका छन् । काठमाडौंमा आयोजित एक समारोहबीच ‘द काठमान्डु पोस्ट मिस इन्टेलेक्ट’ विधाका लागि ‘मिस नेपाल २०२४’ का २६ फाइनलिस्टले प्रतिस्पर्धा गरेका हुन् ।
मिस नेपाल २०२४ को ३० औं संस्करणका प्रतियोगीहरूले उक्त विधाको उपाधिका लागि आफूलाई मन परेको विषयमा तीन मिनेटको समय सीमामा रहेर कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिस्पर्धामा निर्णायकको भूमिकामा कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिशिर पछाई, द काठमान्डु पोस्टका प्रधान सम्पादक विश्वास बराल र २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ थिए ।
प्रतिस्पर्धी दीक्षा अवस्थीले ‘गलत सूचना र इन्टरनेट : मिडियाको लोकतान्त्रीकरण र सूचनाको प्रमाणीकरणको प्रश्न’ विषयमा कार्यपत्र प्रस्तुत गरिन् । सीईओ पछाई र प्रधान सम्पादक बरालले ‘नेपालमा गलत सूचनाबाट हुने प्रभाव रोक्न के गर्नुपर्छ ?’ भन्ने प्रश्न गरेका थिए । जवाफमा अवस्थीले डिजिटल साक्षरता बढाउनुपर्ने स्पष्ट विचार राखिन् । दुई जना निर्णायकका प्रश्नको सामना गर्ने उनी एकमात्र प्रतिस्पर्धी हुन् ।
‘अहिले सबैको हातमा मोबाइल फोन र इन्टरनेटको पहुँच छ । यसले सबैलाई सहज रूपमा सामाजिक सञ्जालको एकाउन्ट खोली सूचना सम्प्रेषण गर्न सुविधा छ । तर त्यसरी सम्प्रेषण भएको सूचना कति आधिकारिक छ ?’ जवाफमा उनले भनिन्, ‘त्यसैले गलत सूचना प्रवाहको प्रभाव रोक्नका लागि नेपालमा डिजिटल साक्षरता बढाउनुपर्छ । गलत सूचना प्रवाह रोक्न नियमन आवश्यक छ ।’ कानुनमा स्नातक गरिरहेकी अवस्थीले कार्यपत्रमार्फत सहीभन्दा गलत सूचना छिटो फैलने र यसको नकारात्मक प्रभाव पर्ने बताइन् ।
इन्फर्मेसन सिस्टममा स्नातक गरेकी प्रतियोगी आँचल खत्रीले ‘नेपालमा राजनीतिक अस्थिरता र विप्रेषणमा निर्भरता : चुनौती र समाधान’ विषयमा आफ्नो प्रस्तुति दिइन् । ‘नेपालमा राजनीतिक अस्थिरताको कारण रोजगारी सिर्जना हुन सकेको छैन । त्यसैले सुरक्षित भविष्यका लागि विदेश पलायन भइरहेको छ,’ कार्यपत्र प्रस्तुत गर्दै आँचलले भनिन्, ‘यसमा सरकारले काम र लगानीको वातावरण सिर्जना गर्नुपर्छ ।’
‘मिस इन्टेलेक्ट’ विधामा सुन्दर प्रतियोगीहरूले आफूले अनुभव गरेका विषय, देशको वर्तमान समस्या, विदेश पलायनको अवस्था, शिक्षा, महिनावारी सुरक्षा, महिलाको स्वास्थ्य अवस्था, साइबर बुलिङ, प्लास्टिकले सिर्जना गरेको प्रदूषणलगायत विषयमा कार्यपत्र प्रस्तुत गरे । उक्त विधामा मिस नेपालका २०२४ का २६ फाइनलिस्टका धेरैजसो प्रतिस्पर्धीहरूले आत्मविश्वासका साथ नेपालीमै कार्यपत्र प्रस्तुत गरे । जसको २०१९ की मिस नेपाल श्रेष्ठले खुलेरै प्रशंसा गरिन् ।
सायरा खड्काले ‘उज्ज्वल भविष्य : शोषणविरुद्ध लड्ने र सीमान्तकृत सशक्तीकरण बच्चाहरू’ विषयमा काठमाडौंको वसन्तुपरस्थित क्षेत्रमा फोटो र पानी बिक्री गर्न अनुरोध गर्ने बालबालिकाहरूको उदाहरण प्रस्तुत गरिन् । कार्यपत्रमा स्पष्ट र सरल नेपालीमा प्रस्तुत गरेकामा प्रशंसा गर्दै पूर्वमिस नेपाल श्रेष्ठले ‘तपाईंले किन नेपाली भाषामा कार्यपत्र प्रस्तुत गर्ने सोच्नुभयो ?’ भन्ने प्रश्न सोधिन् । जवाफमा सायरा भन्छिन्, ‘मैले भनेको कुरा मेरा दर्शक/श्रोताले स्पष्ट रूपमा बुझुन् भनेर नेपालीमा प्रस्तुति दिएकी हुँ ।’ उनले साइन्स साइकोलोजी र न्युरोसाइन्स विथ माइनर इन लिडरसिपमा स्नातक गरिरहेकी छन् ।
बालबालिकाहरू परिवारको आर्थिक दबाबका कारण पैसाका लागि पानी र फोटो बिक्री गर्नेलगायत गतिविधिमा संलग्न हुने गरेको बताइन् । उनी भन्छिन्, ‘यसबाहेक परिवारको आपसी सम्झौतामै बालबालिकालाई घरमा काम गर्न पठाउने स्थिति पनि छ । त्यसैका लागि उनीहरू पैसाका लागि थाहा नै नपाई काम गरिरहेका हुन्छन् । यसविरुद्ध नागरिक समाज र सरकारले बालबालिकाको सुरक्षाका निम्ति बलियो संयन्त्र बनाएर काम गर्नुपर्छ ।’
यसैगरी, अर्की प्रतिस्पर्धी इभा गिरीले सामाजिक सञ्जालको नकारात्मक प्रतिक्रियाले कस्तो प्रभाव पार्छ र यसबाट कसरी अगाडि बढ्नेबारेमा आफ्नो अनुभव सुनाइन् । बिजनेस एडमिनिस्ट्रेसनमा ब्याचलर गरिरहेकी इभा चर्चित ‘सोसल इन्फ्लुएन्सर’ पनि हुन् । उनलाई निर्णायकले सामाजिक सञ्जालमा यति धेरै फलोअर्स हुँदाहुँदै पनि किन मिस नेपालमा प्रतिस्पर्धामा उत्रिएको भन्ने प्रश्नमा भनिन्, ‘मलाई यो प्रतिस्पर्धामा भाग लिँदै गर्दा एक केटीबाट बिस्तारै महिला भइरहेको अनुभव भएको छ । यो प्लाटफर्मले मलाई आत्मविश्वास दिएको छ । यसले मलाई अझ बलियो बनाइरहेको छ ।’
राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरिरहेकी दृष्टि थापाले परिवारको आर्थिक समस्याका कारण ग्रामीण भेगमा निरक्षर संख्या अझै रहेको बताइन् । ‘गरिबी, लैंगिक असमानता, स्रोत र जनचेतनाको अभाव यसको कारण हो,’ उनले भनिन्, ‘यसले बेरोजगारी, स्वास्थ्य जोखिम, बालविवाहमा प्रभाव परेको देखिन्छ ।’ डेन्टल सर्जरीमा स्नातक गरेकी प्रतियोगी सुमना केसीले महिलाका स्वास्थ्यसम्बन्धी अधिकारको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिन् ।
सात वर्षदेखि चिकित्सा क्षेत्रमा काम गरिरहेको अनुभवसमेत रहेको केसीले ‘महिलाले संविधानमार्फत स्वास्थ्यसम्बन्धी अधिकार प्राप्त भए पनि नेपालको स्थिति कहाँ छ भन्ने मेरो प्रश्न हो,’ उनले भनिन्, ‘कर्णाली क्षेत्रमा प्रसूति सेवा प्रभावकारी नभएको र २१ प्रतिशत बालिका गर्भवती भइरहेको अध्ययनले देखाएको छ । यसमा सरकारले चालु आर्थिक वर्षको बजेटमा परिवार योजनासम्बन्धीको बजेट कटाएको छ । यसले यो समस्या अझ बढ्न सक्ने देखिएको छ ।’
साथै अञ्जना पुनले मिस नेपाल २०२४ को ‘स्विमसुट’ विधाको प्रतियोगितामा एक प्रतियोगीले लगाएको कपडालाई लिएर सामाजिक सञ्जालमा भएको ट्रोल ‘एक समस्या’ भएको र यसविरुद्ध बोल्नुपर्ने धारणा राखिन् । निर्णायक श्रेष्ठले उनको दृष्टिकोणको समर्थन गर्दै भनिन्, ‘तपाईंले जुन सामाजिक सञ्जालमा हुने ट्रोलको विषयमा सशक्त भएर बोल्नुपर्ने बताउनुभयो, राम्रो लाग्यो । तर पनि यो क्षेत्रमा राम्रो/नराम्रो दुवै प्रतिक्रिया पाइन्छ । तपाईंले किन मिस नेपालमा आउने सोच बनाउनुभयो ?’
गैरसरकारी संस्थामा आबद्ध भएर दुई वर्ष लागूऔषध अभियानविरुद्ध काम गरेकी पुनले जवाफ दिँदै भनिन्, ‘यो एउटा त्यस्तो क्षेत्र हो जहाँ तपाईंलाई हरेक कामका लागि बोल्ड र कन्फिडेन्स भएर अगाडि बढाउन सिकाइन्छ । मिस नेपालले नकारात्मक कुरालाई पार गरेर सकारात्मकतिर अगाडि बढाउन सिकाउँछ ।’ यसैगरी कानुन र अर्थशास्त्रमा स्नातक गरिरहेकी प्रसुना भुसालले शैक्षिक प्रणालीबारे कार्यपत्र पेस गरिन् ।
फेसन डिजाइनिङमा स्नातक गरिरहेकी सामिन कोइरालाले ‘नेपाल : प्रमुख समस्या र समाधानहरू’ विषयमा प्रस्तुति दिइन् । ‘नेपालमा प्रशस्त सम्भावना छ । तर राष्ट्रिय भिजन, विकास प्रशासन, व्यवस्थापन र व्यावसायिक शिक्षाको कमीले पछि परिरहेका छौं,’ उनले भनिन्, ‘यसका लागि नेपालले ऊर्जा, पर्यटन, कृषि र उद्योगमा रहेको सम्भावनाको खोजी गरी अध्ययन गरिनुपर्छ ।’ अर्थशास्त्रमा स्नातक गरिरहेकी र अमेरिकी पीएनसी बैंकमा पर्सनल बैंकरका रूपमा रहेकी सिम्रिका मानन्धरले चितवनको बरौली क्षेत्रको महिलाको उदाहरण दिँदै महिलालाई कसरी आर्थिक क्षेत्रमा ल्याउने विषयमा प्रस्तुति दिइन् ।
बिजनेस र इनोभेटिभ मेडिसिनकी विद्यार्थी अम्बिका रानाले रोजगारीको अवसरको अभाव नेपालको मुख्य समस्या भएको बताइन् । शुभेक्छा कार्कीले नेपालमा बालविवाहको समस्या र समाधान विषयमा कार्यपत्र प्रस्तुत गरिन् । उनले कम्प्युटर साइन्स र इन्फर्मेसन टेक्नोलोजीमा स्नातक गर्दै छिन् । साथै बीबीएमा स्नातक गरेकी मोडेल श्रद्धासुमन सिलवाल र एकाउन्टिङमा स्नातक गरेकी ललिता शेर्बुजा मगरले मानसिक स्वास्थ्यबारे फरक फरक प्रस्तुति दिए ।
डेन्टल सर्जरी अध्ययन गरिरहेकी सुन्दरी प्रतियोगी निभिता चापागाईंले विशेष क्षमता रहेका बालबालिकाको दाँतको उपचार सेवाको अवस्थाबारे बताइन् । यही क्षेत्रमा रहेर काम गरिरहेकी निभिता भन्छिन्, ‘विशेष क्षमता भएका बालबालिकाले नेपालमा ७०–८० प्रतिशत बालबालिकाले दाँतसम्बन्धी समस्यासँग जुधिरहेका छन् । विशेष क्षमता भएका बालबालिकाको दाँतको उपचार एकदमै आवश्यक हुन्छ तर यसमा २० प्रतिशतले मात्र उपचारमा पहुँच पाएका छन् ।’
नर्सिङ साइन्समा स्नातक गरेकी राधिका थापाले प्लास्टिकले निम्त्याएको प्रदूषण र यसको समाधानबारे बताइन् । प्लास्टिक रिसाइक्लिङको क्षेत्रमा काम गरिरहेकी राधिकाले प्लास्टिक प्रयोग समस्या नभई यसको उचित व्यवस्थापन गर्न नसक्दा प्रदूषण बढिरहेको बताइन् । ‘मिस इन्टेलेक्ट’ विधाका लागि वेस्टर्न सिड्नी युनिभर्सिटीबाट नर्सिङमा ब्याचलर गरेकी करुणा रावत, स्मार्ट कम्प्युटिङमा स्नातक गरिरहेकी पूजा बराल, इन्फर्मेसन टेक्नोलोजीमा स्नातक गरेकी समीक्षा निरौला र कम्प्युटर सफ्टवेयरमा स्नातक गरिरहेकी किम्ती श्रेष्ठले भने ‘ब्रेन ड्रेन’ का समस्याबारे भिन्न–भिन्न अवधारणामा रहेर प्रस्तुति दिए ।
मिडिया स्टडिजमा स्नातकोत्तर गरिरहेकी उर्जा नेवा, साइबर ह्याकिङकी विद्यार्थी अनिशा मल्ल र उद्यमी तथा सोसल वर्ककी विद्यार्थी आश्माकुमारी केसीले महिनावारी हुँदा महिलाले भोग्नुपर्ने समस्या, सेनेटरी प्याडको विकल्पमा महिनावारी कपको प्रयोगलगायतमा बोले । कार्यक्रममा प्रेरभिता स्वाँरले ‘नेपालमा नवीकरणीय स्रोत : अवसर र चुनौती’ विषयमा नेपालले वैकल्पिक ऊर्जाको प्रयोग गर्नुपर्ने धारणा राखिन् । अस्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयमा सोसल वर्क अध्ययन गरिरहेकी प्रेरभिता भन्छिन्, ‘नेपालमा बर्खाको समयमा मात्र ऊर्जा उत्पादन हुन्छ । त्यसबाहेक पनि उत्पादनलाई स्थिर राख्न ठूला–ठूला ड्याम प्रोजेक्टको काम गर्नुपर्छ । साथै पानीबाट उत्पादन हुने बिजुलीको विकल्पबाहेक हावा र घामबाट उत्पादन हुने ऊर्जाको सम्भावना प्रयोग गरिनुपर्छ ।’
मकवानपुरको राक्सिराङ गाउँपालिकामा आफैंले शिक्षाको गुणस्तरबारे गरेको अध्ययनलाई रोशनी दाहालले ‘मिस इन्टेलेक्ट’ मा प्रस्तुत गरेकी थिइन् । ‘राक्सिराङमा ३५ प्रतिशत मात्र साक्षरता दर रहेको पाइएको छ । यसमा सरकारले कुनै चासो देखाएको पनि पाइँदैन,’ कम्प्युटर एप्लिकेसनकी विद्यार्थी रोशनीले भनिन् । बिजनेस स्टडिजमा स्नातक गरिरहेकी इरिना श्रेष्ठले ‘नेसनल माइग्रेसन क्राइसिस’ बारे प्रस्तुति दिइन् । ‘नेपालमा श्रमिक आप्रवासनले दक्ष जनशक्तिको अभाव, लगानी र आविष्कारको चुनौती भोगिरहेको छ,’ उनले भनिन् ।
हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताको ग्रान्ड फिनाले आगामी शनिबार हुँदैछ । विभिन्न विधाका विजेता फिनालेमा घोषणा गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरबाट प्रतिस्पर्धामा उत्रिएका सुन्दरीहरूमध्ये उत्कृष्ट २६ लाई फाइनलिस्टका रूपमा चयन गरिएको हो ।
प्रकाशित : श्रावण १६, २०८१ १०:३६