कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

एडेलको अनिश्चित विश्राम

श्रावण ११, २०८१
एडेलको अनिश्चित विश्राम

Highlights

  • इंग्लिस गायिका तथा गीतकार एडेलले संगीत क्षेत्रबाट विश्राम लिने घोषणा गरेकी छन् । विश्राम कति लामो हुन्छ भन्ने एडेल स्वयंलाई नै थाहा छैन । उनले भनेकी छन्, ‘म पूरापुर खोक्रो जस्तै भइसकेकी छु, नयाँ संगीतका लागि मेरो कुनै योजना नै छैन ।’

काठमाडौँ — कुनै दिन, खोइ कुन हो मनोदशामा, एडेल भन्थिन्, ‘संगीत मेरो पेसा होइन, सोख मात्रै हो ।’ अब सोख त फेरिन सक्छ नै । तिनै इंग्लिस गायिका तथा गीतकार एडेलले संगीत क्षेत्रबाट विश्राम लिने भएकी छन् । विश्राम कति लामो हुनेछ त ? यो कसैलाई पनि थाहा छैन, न त एडेललाई नै । अति नै सशक्त स्वर तथा उत्तिकै भावपूर्ण गीत लेखनकी धनी एडेल संगीत क्षेत्रबाट केही समयका लागि भए पनि हराउने छिन् ।

हराउने पनि कतिसम्म भने एडेलले घरमै पनि बिर्सेर एकै क्षणका लागि पनि गुनगुनाउने छैनन् । विश्व संगीतका लागि त यो नमीठो समाचार नै भयो । उनीजत्तिको गायिका–गीतकार हामीबाट हराउन चाहन्छिन् भने, यी ३६ वर्षीया एडेल कति धेरै विरक्तिएकी होलिन् त ? सबैभन्दा पहिले उनको पछिल्लो अन्तर्वार्ता एकपल्ट सुनौं । भर्खरै जर्मन ब्रोडकास्टर जेडडीएफलाई उनले भनेकी छन्, ‘म पूरापुर खोक्रोजस्तै भइसकेकी छु, नयाँ संगीतका लागि मेरो कुनै योजना नै छैन ।’

त्यसो त उनी अहिले नै विलुप्त हुन लागेकी होइनन् । अमेरिकाको लस भेगास र जर्मनीको म्युनिकमा उनको कन्सर्टका कार्यक्रम छन् । यी दुई टुर उनी जबर्जस्त ढंगले सफल पार्न पनि चाहन्छिन् । तर त्यसपछि भने उनको योजना नै हो, सबै प्रकारले विश्व संगीतबाट हराउने । उनी भन्छिन्, ‘म अहिले विश्राम लिन चाहन्छु । म सायद अरू थोक नै गर्न चाहन्छु, सायद केही सिर्जनात्मक काम । मैले अब घरमै पनि गाउने छैन ।’

कारण ? उनले यसबारे केही बताउन पनि चाहेकी छन् । आफ्नो पहिलो एल्बमकै बेला उनको भनाइ थियो, ‘मलाई प्रख्यात हुनुमा कुनै मजा छैन । मलाई यो मन पर्दैन पनि ।’ अहिले उनले खुलाएको आशय पनि लगभग यस्तै हो । उनको अहिले तर्क छ, ‘जति बेला मैले चाहें, गीत बनाएँ, धेरैले यसलाई मन पराए पनि । मेरा लागि त यो कल्पना बाहिरको कुरा भयो । तर यससँग जोडिएर आउने ख्याति भने मलाई मन पर्दैन । म त यसलाई घृणा गर्छु ।’

उनी भन्छिन्, ‘मेरा गीतमा धेरैको रुचि पनि छ । मेरो स्वरलाई मन पराउने पनि छन् । तर यसलाई पनि सन्तुलनमा राख्नुपर्छ ।’ साँच्चै यति राम्री गायिकालाई भएको चाहिँ के होला ? लन्डनकी यी गायिका आफूलाईजे लाग्यो, त्यही गर्नमा माहिर छिन् । उनलाई कति बेला के कस्तो लाग्छ, त्यो कसैलाई थाहा हुन्न । यसअघि पनि उनले सार्वजनिक जीवनबाट टाढै बस्न प्रयास नगरेको पनि होइन । यस्ता धेरै उदाहरण छन् । उनी फरकखाले पनि छिन् ।

फेरि पछिल्लो समय उनको व्यवहारमा चिडचिडाहटपन पनि उत्तिकै देखिएको थियो । फेरि यही कुरालाई लिएर उनी आफैं पनि अचम्म मान्थिन् । कन्सर्टकै क्रममा आफ्ना प्रशंसकसँग पनि झगडा गर्ने भएकी थिइन् । कसैले केही भन्यो कि त्यसमा उत्तर फर्काइहाल्नुपर्ने बानी परेको थियो । अनि उनको बोली पनि कडा हुने गरेको थियो । उनी आफैं भन्थिन्, ‘के भएको हो खोइ, मलाई अचेल असाध्यै रिस मात्रै उठ्छ । मलाई पनि यो निको लाग्दैन ।’

खासमा प्रसिद्धि भनौं वा ख्याति, त्यसै आफू मात्र आउने गर्दैन । त्यससँग तनाव, दुःख, दिक्दारी पनि जोडिएर आउने गर्छ । सायद एडेलले यो पक्षलाई बढी आत्मसात् गरिन् । उनी मात्रै प्रसिद्धिमा दुःख मान्ने पहिलो गायिका पनि होइनन् । प्रसिद्धिको मूल्य महँगै हुन्छ । अहिलेसम्म उनका चार स्टुडियो एल्बम आए । त्यसमा अन्तिम ‘३०’ हो । यो सन् २०२१ मा आएको थियो । त्यस अर्थमा उनीबाट केही नयाँ नआएको पनि तीन वर्ष जति भइसकेको छ ।

सन् २०२२ मा उनी केही नयाँ गर्ने योजनामा थिइन् । नयाँ एल्बमको सोच नै थियो । तर किन हो, त्यो एकाएक बन्द भयो । त्यति बेला उनले यसको सारा दोष कोभिड संक्रमणको महामारीलाई दिएकी थिइन् । ‘हेलो’ र ‘रोलिङ इन द डिप’ जस्ता गीतले प्रख्यात भएकी एडेलले त्यसपछि केही टुर भने गरिन् । यसबीच केही समयका लागि बिरामी पनि परिन् र केही कार्यक्रम रद्द पनि भए । सबैको कारण खुलाउन उनले अहिले पनि भन्ने गरेकी छन्, ‘म त ३६ वर्षकी भएँ, मलाई जेमा पनि क्रोध आउँछ ।’

सन् २०२१ मै मात्र उनले आफ्ना श्रीमान् सिमोन कोनेकीसँग डिभोर्स पनि लिइन् । सन् २०१८ मा उनीहरूले गोप्य ढंगले विवाह त गरे, तर यो लामो समय टिक्न सकेन । एकै वर्षमा उनीहरूबीच पर्याप्त मतभेद भइसकेको थियो । एउटा छोरा पनि भयो, तर सम्बन्ध अगाडि बढ्न सकेन । उनलाई यसको संकोच लाग्छ, निराशा पनि । यसको चर्को प्रभाव एडेलमा परेको देखिन्छ । पछि उनी आफैंले मदिराको लत लागेको पनि खुलासा गरेकी थिइन् ।

उनका चार एल्बमको नाम जहिल्यै अंकमा छ । जस्तो, ‘१९’, ‘२१’, ‘२५’ र ‘३०’ । यो पनि आफैंमा अर्को संयोग हो अनि अरूभन्दा फरक देखाउन खोज्ने उनको चाहना पनि । उनको अन्तिम एल्बमको सार नै डिभोर्सपछिको दुःख र एक्लै छोरा हुर्काउनुपरेको पीडामा केन्द्रित छ । अब के त ? हामीले त एडेल कहिले फर्कने हो, त्यसकै प्रतीक्षा मात्र गर्न सक्छौं । हुन सक्छ, उनको विश्राम चाँडै सकिन पनि सक्नेछ र उनलाई फेरि संगीतमा मोह बस्नेछ । हामी त यही चाहन्छौं ।

प्रकाशित : श्रावण ११, २०८१ ०६:४०
x
×