‘कल्की २८९८ एडी’ : ९ दिनको कमाइ ७ सय करोड
Highlights
- यो सिनेमामा सबैभन्दा आकर्षक पात्र कोही छन् भने ती अश्वत्थामा नै हुन् अर्थात् अमिताभ बच्चन । उनको ‘गेटअप’ मात्रै होइन, अभिनय पनि उत्तिकै चित्ताकर्षक छ । उनले अश्वत्थामा पात्रलाई मज्जाले जीवन्त तुल्याएका छन् ।
काठमाडौँ — सुरुमा कथा बुझ्नै गाह्रो छ । के भइरहेको र किन भइरहेको छ भन्नेमै अलमल छ । त्यसैले सुरुमा दिक्क पनि लाग्न सक्छ । तर एकपल्ट बुझेपछि यो सिनेमाले दिने रोमाञ्चकता बेग्लै छ । कुरा ‘कल्की २८९८ एडी’ को हो । अहिले यो सिनेमाबारे चारैतर्फ चर्चा चलिरहेको छ । प्रत्येक दिन कमाइ बढ्दै छ । खासमा यो तेलगु भाषाको सिनेमा हो । यसलाई अरू भाषामा अनुवाद पनि गरिएको छ र त्यसमा हिन्दी प्रमुख छ । सँगै तमिल, मलायालम, कन्नड र अंग्रेजी भाषामा पनि यो फिल्म हेर्न सकिन्छ ।
भारतीय सिने उद्योगमा अचेल सर्वथा नयाँ प्रयोग हुन थालेको छ । यसको एउटा राम्रो उदाहरण ‘कल्की २८९८ एडी’ पनि हो । कथा एक प्रकारले जटिल छ । यसलाई हेर्नुअगाडि एक प्रकारको पृष्ठभूमि चाहिन्छ, महाभारतबारे । विष्णु भगवान्का अनेक अवतारबारे हामीले पढेका छौं । ती अवतारको सार यो संसारलाई खराबीबाट बचाउने भन्ने नै पाइन्छ । सिनेमाको कथा ठ्याक्कै महाभारतको युद्धपछि सुरु हुन्छ । एक खास ‘मोड’मा भगवान् कृष्णले अश्वत्थामालाई श्राप दिन्छन्, सम्झनामा छ ? श्राप पनि कस्तो भन्दा अमरत्वको । यी अश्वत्थामा हुन्, द्रोणाचार्यका छोरा । उनलाई अनन्तकालसम्म यस धर्तीमै छाडिन्छ ।
विष्णुको दसौं अवतार सेतो घोडामा आएर कलियुगको अन्त्य हुने संकेत दिन्छन् भन्ने कथा छँदै छ । यही पृष्ठभूमिमा सिनेमा काशी सहरबाट सुरु हुन्छ । सहर विकास हुनुअगाडि नै काशी अस्तित्वमा थियो । तर यो काशी सहर अहिलेको होइन, सन् २८९८ को हो । त्यस अर्थमा यो सिनेमा ६ हजार वर्ष पुरानो हो । महाभारतबाट सुरु भएर सन् २८९८ पुग्दा कथा टुंगिन्छ । अरू सबै ध्वस्त भइसके, खालि यही सहर मात्र बाँकी हुन्छ । त्यहाँ एक निर्दयी र दुष्ट कमान्डर हुन्छ, जसले मायावी ‘कम्प्लेक्स’मा मनपर्दो गरिरहेको हुन्छ ।
खासमा उनी ‘कम्प्लेक्स’का स्वामी यास्किनका लागि काम गर्छन् । यस पात्रमा छन्, कमल हसन । यहाँ तिनैले मात्र प्रवेश पाउँछन्, जसले ती नाइकेको विरोध गर्दैनन् । उनका विरोधी र गरिबलाई पनि यहाँ प्रवेश दिइन्न । यी नाइके आफ्नो दैवीय शक्ति बढाउन त्यस्ता महिलाका प्रयोग गर्छन्, जो आमा बन्न सक्छिन् । अनि ती महिलाको भ्रूण खोसिन्छ । भविष्यमा कुनै ठूलै काम गर्नका लागि उनी लागिपरेका छन् । त्यहाँ विश्वास के पनि छ भने एक दिन त्यस्ती आमा पनि आउनेछिन्, जसको कोखबाट जन्मेकाले सबैको उद्धार गर्नेछ । यही ‘कम्प्लेक्स’मा सुमति पनि हुन्छिन् ।
उनले पाँच महिनादेखि आफ्नो गर्भ लुकाएकी हुन्छिन् । यो त्यही गर्भ हो, जहाँबाट सबैको उद्धार गर्ने अवतारको जन्म लिने विश्वास छ । यो पात्रमा छिन्, दीपिका पादुकोण । तर यी सुमतिलाई कब्जा गरेर ‘कमान्डर’लाई बुझाउन चाहन्छन् । यो भूमिकामा भने प्रभाव छन् । ठीक यही बेला सुमतिको सुरक्षाका लागि पौराणिक युगबाट अश्वत्थामा आउँछन् र यो पात्रमा छन्, अमिताभ बच्चन । यसरी नै सिनेमा अगाडि बढ्छ । यसका निर्देशक हुन्, नाग आश्विन । सुरुमा एकपछि अर्को धेरै पात्र स्थापित गर्नुपरेको हुनाले सुरुआत सुस्त भएको मान्न पनि सकिन्छ ।
यस सिनेमामा जे जस्तो प्रविधि प्रयोग गरिएको छ, जे जस्तो भेषभूषा देखिन्छ, त्यसले नयाँ अनुभव त पक्कै दिन्छ । यो साँच्चै कुनै ठूलै ‘साइन्टिफिक मुभी’भन्दा कम छैन । अनि केही सिनेमाका खास खास दृश्य वास्तवमै असाध्यै उच्चस्तरका छन् । त्यसमा मुख्य हो, अश्वत्थामा र भैरवको ‘एक्सन सिक्वेन्स’ । यो सिनेमामा सबैभन्दा आकर्षक पात्र कोही छन् भने ती अश्वत्थामा नै हुन् अर्थात् अमिताभ बच्चन । उनको ‘गेटअप’ मात्रै होइन, अभिनय पनि उत्तिकै चित्ताकर्षक छ । उनले अश्वत्थामा पात्रलाई मज्जाले जीवन्त तुल्याएका छन् ।
कथा निर्देशक नाग आश्विनसँगै साइ धावव बुर्राको हो । सिनेमा ‘रिलिज’ भएको भने जुन २७ मै मात्र हो । नाग आश्विनले आधुनिक सिनेमा प्रविधिको खुबै सटीक प्रयोग गरेका छन् । अहिले यो सिनेमाको किन पनि चर्चा आवश्यक छ भने यसले ‘बक्स अफिस’मा तहल्का मचाइरहेको छ । सन् २०२४ मा प्रदर्शित सिनेमामध्ये यो सबैभन्दा सफल हुने बाटोमा छ । अहिले नै केही भारतीय ‘मिडिया’ले यसलाई ‘ब्लकबस्टर्स’ समेत भनिसकेका छन् ।
भारतमै मात्र ‘रिलिज’को पहिलो दिन ९५ करोड भारतीय रुपैयाँ कमाएको यसले ‘रिलिज’को नवौं दिनसम्म आइपुग्दा विश्वबाट सात सय करोड भारतीय रुपैयाँ कमाइ गरिसकेको छ । यसले अब चाँडै हजार करोड रुपैयाँ नाघ्नेछ, त्यो पनि आजभोलि नै । सातौं दिनमा यसले कमाइका आधारमा अर्को सिनेमा ‘फाइटर’लाई उछिनेको थियो । ‘कल्की २८९८ एडी’ आफैंमा भारतीय सिनेमा जगत्मा अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म हो । यसको बजेट नै छ सय करोड भारतीय रुपैयाँ रहेको छ । एउटा वाचा गरेर सिनेमा टुंग्याइएको छ, जसको संकेत यसको ‘सिक्वेल’को पनि हो ।
प्रकाशित : असार २३, २०८१ ०७:०१