१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

'द अनब्रेकेवल अगस्त्य -च्याप्टर वान' ले ब्रेक गर्न नसकेको रेकर्ड

रीना मोक्तान

काठमाडौँ — फिल्मको एउटा शक्ति हुन्छ, दृश्यमार्फत छुट्टै संसार निर्माण गर्ने । त्यो संसारभित्रका पात्र, उनीहरुका संघर्ष र लक्ष्यसम्मको यात्रामा फिल्मले दर्शकलाई हिँडाउँछ । दृश्य भाषाको यही क्षमताले दर्शकको ध्यान निश्चित समय अवधिसम्म बाँधिरहने हो । सौरभ चौधरी निर्देशित 'द अनब्रेकेवल अगस्त्य -च्याप्टर वान' यही संसार निर्माणमा चुकेको छ, फलस्वरुप दर्शकको ध्यान तान्न फिल्मले अन्तिमसम्मै संघर्ष गरिरहन्छ । 

'द अनब्रेकेवल अगस्त्य -च्याप्टर वान' ले ब्रेक गर्न नसकेको रेकर्ड

मानसिक सन्तुलन गुमाएका सौर्य(सौगात मल्ल) भारतको गोरखपुरका सडकमा भौतारिँदै हिँड्छन् । सेतो कपडा पहिरेकी एक युवतीको सम्झनाले उनलाई पच्छ्याइरहन्छ । निसान(नाजिर हुसेन) भने नेपालतिर सौर्यकै खोजीमा हुन्छन् । निसान र सौर्य- सम्बन्धले साथी । सौर्यको खोजीकै क्रममा यी दुईबीचको मित्रता, अनि चाँदनी(मलिका महत)सँगको प्रेमको विगत खुल्दै जान्छ । 'द अनब्रेकेवल अगस्त्य -च्याप्टर वान'ले यो कथा भन्न समातेको कथ्य शैली नविन छ । तर, कमजोर पटकथा, क्लिसे संवाद र ध्वनीमा गरिएको लापरवाहीले एक्सन विधाका फिल्ममा निर्देशक चौधरीले राखसक्ने सबै रेकर्ड 'ब्रेक' भएको छ ।

लगातारको कमेडी, सामाजिक विषयवस्तुका फिल्मबीच 'अगस्त्य'ले नयाँ स्वाद पस्कन खोज्नु, सकरात्मक पाटो हो । तर, कमजोर पटकथाले त्यो स्वादको नजिक दर्शक पुग्दैन । 'अगस्त्य'को क्यानभास ठूलो छ । यो ठूलो क्यानभासमा थुप्रै चरित्र अटाएका छन् । तर, त्यही चरित्रको स्थापनामा निर्देशकले मध्यान्तरअघिको समय खर्चन्छन् । चरित्र निर्माणमै समय लगाउँदा करिव एक घण्टासम्म पनि दर्शक फिल्मको कथासँग परिचित हुन पाउँदैनन् । अधिकांश चरित्रलाई स्थापना गर्न एक्सन दृश्यको प्रयोग गरिन्छ, तर कथा अघि बढ्दैन । चरित्र स्थापनामा लामो समय खर्चँदा पनि फिल्मले निर्माण गर्न खोज्ने संसारलाई दर्शकले विश्वास गर्नै सक्दैनन् । कति दृश्य त सजिलै अनुमान गर्न सकिने किसिमका छन् । फिल्मका केही उपकथा त अन्य फिल्मको कथासँग मिल्दो देखिन्छ । जस्तै, खुंखार भिलेनको बिरामी भाइलाई एकनजरमै हिरोइन मन पर्नु ! त्यस्तै नर्स पेसामा आबद्ध चाँदनीले प्रहरीको मिसनमा सामेल हुने अचानक गरेको निर्णय पनि विश्वसनीय छैन ।

अन्य नेपाली फिल्मको तुलनामा यो फिल्ममा कम संवाद छन् । तर, त्यही संवाद पनि कुराकानीजस्तो देखिन्न, स्टेजमा बोले झैं सुनिन्छ । फिल्मका अधिकांश दृश्य प्रकाशको कलात्मक प्रयोगमा खिचिएको छ । रंग संयोजनले पनि ती दृश्यलाई अर्कै उचाइमा पुर्‍याइदिन्छ । तर, फिल्म यस्तै दृश्यले मात्र भनिने होइन । पटकथामै मिहिनेत नहुँदा सञ्जय लामाले सिनेमेटोग्राफिमा गरेको मिहेनत फिक्का देखिन्छ । ध्वनीमा पनि उतिकै कमजोरी भेटिन्छन् । फिल्ममा यस्ता केही दृश्य छन्, जहाँ डबिङ र सिंक साउन्डको तादम्य नमिल्दा कर्कस थपिन्छ । क्लाइमेक्सका केही महत्त्वपूर्ण दृश्यमा गरिएको यस्तो लापर्बाहीले फिल्मको कथा वाचनमै पनि समस्या ल्याइदिन्छ ।

फिल्ममा एउटा क्लाइमेक्स दृश्य छ, जहाँ करिव ३ घण्टाको यो फिल्मको रहस्य खुल्ने संवाद सौगातको चरित्रले बोल्छ । तर, त्यही दृश्यमा अचानक सिंक साउन्ड आउँदा दर्शकलाई त्यो रहस्य पत्ता लगाउनै समस्या हुन्छ । त्यस्तै यो फिल्ममा कलाकारले गरेको मिहिनेत पर्दामा प्रष्टै देखिन्छ । सामान्य ज्यानका नाजिर निसान बन्दा सौगातभन्दा पनि भयंकर ज्यानका देखिन्छन् । शरीरमा मात्रै नभई निसान चरित्रभित्रको तुष, चलाखी र इमान्दारी नाजिरको अनुहारमै झल्किन्छ । बलियो पटकथाको अभावमा नाजिरले निसान चरित्रका लागि गरेको मिहेनतले पनि त्यो स्थान गुमाउँछ । त्यस्तै मानसिक सन्तुलन गुमाएको चरित्रदेखि प्रहरी बन्दा अभिनेता सौगात मल्लले गरेको अभिनय पनि पट्यार लाग्दो पटकथाले सतही प्रस्तुत गर्छ । प्रमोद अग्रहरीकै चरित्रले बोकेको वजन पनि कथाले बोक्न सक्दैन ।

यो फिल्मलाई सम्पादनमै पनि बनाउन सकिन्थ्यो । मुख्य कथामा अनावश्यक लाग्ने दृश्य र दोहोरिरहने दृश्यलाई सम्पादनमै छाँट्न सकिन्थ्यो । सुरुवातमा सौर्य चरित्रलाई स्थापना गर्न खोज्दाका अधिकांश दृश्यमा सेतो कपडा लगाएकी महिला बारम्बार देखाइन्छ । सौर्यसँगको अन्य दृश्यमा पनि उनी यति दोहोरिन्छिन्, उक्त दृश्यलाई फिल्मबाट हटाइएको भए पनि त्यसले कथा वाचनमा खासै असर गर्थेन। फिल्ममा यस्ता थुप्रै दृश्य छन्, जुन कथा वाचनमा अनावश्यक लाग्छन् । त्यस्तै चरित्र स्थापनाका लागि खर्चिएको एक्सन दृश्यलाई पनि सम्पादनमा छोट्याउँदै कथा वाचनमा दर्शकको ध्यान एकाग्र गर्न सकिन्थ्यो । फेरि सम्पादकले मात्रै पनि फिल्म बनाउने होइन । राम्रो फिल्म बन्न त पटकथा नै राम्रो हुनुपर्‍यो ।

प्रकाशित : फाल्गुन १९, २०८० ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?