८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

'फ्ल्यागस्टाफ माउन्टेन फिल्म फेस्टिभल'मा 'धे ड्रिम्स'

काठमाडौँ — शान्ता नेपाली निर्देशित लघु डकुमेन्ट्री 'धे ड्रिम्स' 'फ्ल्यागस्टाफ माउन्टेन फिल्म फेस्टिभल'मा छनौट भएको छ । हिमाली कथाहरुका लागि चर्चित महोत्सवमा २७ मिनेटको यो डकुमेन्ट्री  छनौट भएको हो । 

'फ्ल्यागस्टाफ माउन्टेन फिल्म फेस्टिभल'मा 'धे ड्रिम्स'

'धे ड्रिम्स'मा जलवायु संकट र यसले हिमाली भेगका जनजीवनमा पारेको प्रभाव देखाइएको छ । उपल्लो मुस्ताङको 'धे' र छ्याम्बालेमा बस्दै आएका पात्रहरुलाई पच्छ्याइएको डकुमेन्ट्रीमा जलवायु संकटले आदिवासी समुदायका महिला र उनीहरुका सँस्कृति, पहिचानमा पारेको असर देखाइएको छ ।

'धे'मा पानीको अभाव छ, सुख्खा जमीनमा गहुँबाहेक अरु फल्दैन । त्यसैले त्यहाँका अधिकांश मानिस गाउँ छाडेर छ्याम्बाले बसाई सर्छन् । छोराछोरीको रोजाईमा 'धे' पर्दैन । त्यही सुख्खा भूमीलाई छाड्न नसकेकी दुई महिला पात्रले त्यहाँ गरिरहेको संघर्ष, उनीहरुले जोगाइरहेको सँस्कृति र विश्वासलाई डकुमेन्ट्रीले प्रस्तुत गर्छ ।

त्यस्तै, डकुमेन्ट्रीले छ्याम्बालेतिर स्याउ खेती गरिरहेकी अर्की पात्रलाई पनि पच्छ्याउँछ । जलवायु संकटकै कारण बाढीले बगाउने डरसहित ती पात्रले आफ्नो जीवन कसरी त्यो ठाउँमा समर्पित गरेकी छन् भन्ने विषय पनि 'धे ड्रिम्स'मा देखाइएको छ । डकुमेन्ट्रीमा यस्ता तीन महिलाका कथा समावेश छन्, जो जलवायु संकटको सामना गर्दै हिमालमा जीवन बाँचिरहेका छन् ।

यो डकुमेन्ट्री 'फ्ल्यागस्टाफ माउन्टेन फिल्म फेस्टिभल'सँगै नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि छनौट भएको छ । हिमाली भेगका नेपाली महिलाको कथा विश्वसामू पुर्‍याउन 'धे ड्रिम्स'लाई महोत्सवमा पठाइएको निर्देशक शान्ता बताउँछिन् । 'संसारभर क्लाइमेट चेन्जको बहस हुन्छ । तर हाम्रोजस्तो ठाउँका कथा बाहिर आइरहेको हुँदैन ।

त्यसैले हिमालको विकट ठाउँमा क्लाइमेट चेन्जले प्रतक्ष र अप्रतक्ष्य रुपमा कसरी असर पारिरहेको छ भन्ने देखाउनु, धे ड्रिम्सलाई महोत्सवमा पठाउनुको उदेश्य हो,'शान्ता भन्छिन्,'झट्ट हेर्दा त्यहाँ पानीको अभाव देखिएला समस्या । तर गहिरो रुपमा डकुमेन्ट्रीले ती समस्याले आदिवासी र उनीहरुका सँस्कृतिमा पारेको प्रभावलाई देखाउँछ ।'

यो डकुमेन्ट्री खिच्न शान्ता पाँच पटक उपल्लो मुस्ताङ पुगिन् । ती महिलासँग एक हप्ता घुलमिल गरिसकेपछि बल्ल उनले क्यामेरा निकालेकी हुन् । दुई मौसमको कथा डकुमेन्ट्रीमा देखाइन्छ । 'उनीहरुसँग समय बिताउने, कुरा सुन्न थालेको एक हप्तापछि क्यामेरा निकालेर खिच्न थालें । उहाँहरुलाई नेपाली पनि बोल्न लगाइन मैले । एक हप्ता मैले निरन्तर उहाँहरुलाई पच्छ्याएँ,'शान्ताले भनिन् । अहिले उनी यही डकुमेन्ट्रीलाई फिचर बनाउने तयारीमा छिन् ।

आगा खान युनिभर्सिटीको निर्माणमा बनेको डकुमेन्ट्रीलाई निर्देशक शान्तासहित शिसिर विशंखेले खिचेका हुन् । त्यस्तै, विश्व शाहीको पार्श्व ध्वनी रहेको डकुमेन्ट्रीमा दिकेश खड्की शाहीको साउन्ड र संजीवरत्न शाक्यको सम्पादन/रंग संयोजन छ ।

प्रकाशित : माघ २८, २०८० १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?