कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

गाउँ फर्कियो, 'गाउँ आएको बाटो'

काठमाडौँ — 'टोरोन्टो'मा वर्ल्ड प्रिमियर भएको 'गाउँ आएको बाटो' जेठ १८ बाट नेपाल प्रदर्शनमा आउने भएको छ । विश्व प्रतिष्ठित 'बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'मा साउथ एसिया प्रिमियर भएको नवीन सुब्बा निर्देशित यो फिल्म यसअघि साउथ अमेरिकाको 'साउ पाउलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल' र भारतको 'जिओ मामी मुम्बई फिल्म फेस्टिभल'मा प्रदर्शनमा आएको थियो । 

गाउँ फर्कियो, 'गाउँ आएको बाटो'

फिल्मको नेपाल प्रदर्शनलाई लिएर उत्साहित छन्, निर्माता आमोद राई । 'अब बल्ल हामीले हाम्रो फिल्मलाई आफ्नो देशमा देखाउन पाएका छौं । वास्तवमा हाम्रो फिल्म विश्व बजार घुमेर गाउँ फर्किएको छ,'निर्माता राईले भने ।

'नुमाफुङ' निर्देशक सुब्बा अन्तर्राष्ट्रिय बजारमा रुचाइदिएको फिल्मलाई दर्शकले मनपराइदिने अपेक्षामा छन् । 'अन्तर्राष्ट्रिय बजारमा फिल्मलाई देखायौं । अब नेपाली दर्शकले पनि यो फिल्मलाई हेर्न खोज्दैछन् । त्यसैले हामीले फिल्मको नेपाल प्रदर्शन तोकेका हौं,'उनले भने,'फिल्म अन्तर्राष्ट्रिय बजारमा पनि जाँदै गर्छ यता देशका दर्शकले पनि हेर्दै गर्छन् । फिल्मलाई दर्शकले साथ दिनुहुनेछ भन्ने अपेक्षा छ ।'

हुन त सुब्बाले 'गुडबाई काठमाडौं'लाई अझै नेपाली दर्शकबीच देखाउन सकेका छन् । निर्माण टिमसँग त्यो फिल्मलाई पनि नेपालमा देखाउने सल्लाह भइरहेको सुब्बा सुनाउँछन् । महेश राई र निर्देशक सुब्बा मिलेर लेखेको 'गाउँ आएको बाटो' सामुदायिक लगानीमा बनेको फिल्म हो । सामुदायको कथा भन्ने उदेश्यले फिल्ममा हङकङ, मकाउ, युके, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, नेदरल्याण्ड, पोर्चुगल, जर्मनी र नेपालबाट लगानी गर्ने व्यक्तिहरु जोडिएका छन् ।

निर्देशक सुब्बाले यसअघि 'नुमाफुङ', 'गुडबाई काठमाडौं'सँगै 'खाङ्ग्री' र 'दलन' बनाएका थिए । निर्देशक सुब्बाकै फिल्मबाट नेपालले अन्तर्राष्ट्रिय बजार टेक्न थालेको हो । 'गाउँ आएको बाटो'बाट निर्देशक सुब्बा, अभिनेत्री पशुपति राई, निर्माता आमोद राई र प्रोडक्सन म्यानेजर मिङ्सो लिम्बू यही वर्ष बुसानको रेड कार्पेटमा हिँडेका थिए ।

दयाहाङ राई, पशुपति राई, प्रसान राई(बालकलाकार) लगायतकोअभिनय रहेको यो फिल्ममा बाटो आएसँगै पूर्वी गाउँमा बस्दै आएको एउटा परिवारले सामना गर्नुपर्ने परिस्थितिको कथा समेटिएको छ । विकाससँगै यो परिवारका पात्रहरुले कस्ता सम्झौता र संघर्ष गर्नुपर्ला त ? त्यसका लागि जेठ १८ नै कुर्नुपर्ने हुन्छ । निर्माण टिमले फिल्मको वितरणको जिम्मा निर्देशक रामबाबु गुरुङलाई सुम्पेका छन् ।

प्रकाशित : मंसिर २२, २०८० १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?