‘को–हजबेण्ड’ लाई क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड

काठमाडौँ — बहुपति प्रथाको विषयमा निर्मित नेपाली वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ ।

क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल एन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो ।
मेट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोसियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एशोसियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।
अमेरिकन एन्थ्रोपोलिजिकल एसोसिएसन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ । निर्देशक पाण्डेले विश्वका प्रतिष्ठित प्राध्यापक र मानवशास्त्रीहरूको माझमा पुरस्कार थाप्न पाउँदा निकै खुसी र गर्व लागेको बताए ।
को–हजबेन्डले यसअघि पनि विश्वका प्रतिष्ठित महोत्सवमा विभिन्न अवार्ड जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको वृत्तचित्र फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा रहेका सबै दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलनलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।
प्रकाशित : मंसिर २, २०८० १८:१८