कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
रिपोर्ट

कसरी हुन्छ निर्माताको 'दिमाग खराब' ?

रीना मोक्तान

काठमाडौँ — कार्तिक २४ देखि हलमा निश्चल बस्नेतद्वारा निर्देशित फिल्म 'दिमाग खराब' प्रदर्शनमा आयो । प्रदर्शनको पहिलो र दोस्रो दिन फिल्मले खासै व्यापार गर्न सकेन। आइतबार हलमा बलिउड स्टार सलमान खानको 'टाइगर थ्री' आइपुग्यो । त्यसपछि हलले 'दिमाग खराब'को शो कटाउन थाल्यो । दर्शकको अकुपेन्सी कम हुँदा शो काटिनु सामान्य नै हो ।

कसरी हुन्छ निर्माताको 'दिमाग खराब' ?

'दर्शक आए त हलले शो दिने हो' भन्ने सोचेरै निश्चलको टिम चुप बस्यो । तर आइतबारदेखि विस्तारै दर्शकको संख्या थपिन थाल्यो । 'माउथ पब्लिसिटी'ले सोमबारबाट दर्शक थपिँदै गए । तर जब मंगलबार निश्चलले फिल्मको शो वितरण नियाले तब उनको दिमाग खराब भयो । विदेशी फिल्मको दाँजोमा 'दिमाग खराब'ले कम शो पाएपछि निश्चलले शो वितरणमा भएको विभेदबारे आवाज उठाउँदै शुक्रबारदेखि हलबाट शो हटाउने निर्णय गरे ।

'हाम्रो फिल्म हाउसफुल थियो, जति शो दिइएको थियो त्यसमा ८०-९० प्रतिशतको अकुपेन्सी थियो । तर विदेशी फिल्मको दाँजोमा हामीलाई एकदम कम शो दिइएको रहेछ । विदेशी फिल्मलाई दिइएको शोको आधा पनि हामीले पाएनौं । दर्शक भएनन् भने शो नै हटाइदिनु पनि भनेका थियौं । दर्शक आउँदा आउँदै पनि शो नबढ्दा हामीले आफ्नो लगानी कसरी सुरक्षित गर्ने ?,' निश्चलले प्रतिप्रश्न गरे ।

फिल्म प्रदर्शनको पहिलो र दोस्रो हप्ता हलवाला र निर्माताले ५०-५० प्रतिशतको सेयर पाउँछन् । तेस्रो हप्तादेखि हलवालाले ६५, निर्माताले ३५ प्रतिशत पाउँछन् । पहिलो हप्ता नै 'दिमाग खराब'ले शो बढाइदिन हलवालासँग अनुरोध गरे । फिल्मले व्यापार गर्ने बेलामै सेयर कम पाउने अवस्था आएपछि विज्ञप्ति निकाल्दै 'दिमाग खराब'को प्रदर्शन स्थगन भयो ।

'फिल्मले धेरै व्यापार गर्ने बेलामा निर्माताको हातमा ३५ % सेयर पाउन त किन व्यापार गर्ने ? यसरी त लगानी नै नउठ्ने भयो । अब पनि ५० प्रतिशत सेयर नदिने हो भने हाम्रो लगानी उठ्दैन भन्ने अनुभूति भइसकेपछि नै शो स्थगन गर्ने निर्णयमा पुगेका हौं,' निश्चलले भने,'बारम्बार उहाँहरूलाई शो बढाइदिनु भनेर अनुरोध पनि गरें । दर्शकको साथ हुँदाहुँदै पनि लगानीसमेत नउठाउने अवस्था आउनु फिल्म नचलाए बराबार भयो ।'

निश्चलका दुई माग छन् : नेपाली र विदेशी फिल्मको शो बराबर हुनुपर्ने, सेयर बाँडफाँड ५०-५० प्रतिशत हुनुपर्ने । यी माग पूरा भए फिल्मलाई हलमा पुन: लगाउने नभए वैकल्पिक बाटोतर्फ लाग्ने निश्चलको भनाइ छ । 'हामीले हाम्रो उत्पादन हलवालालाई दिन्छौं । यही उत्पादनले गर्ने व्यापारको आधा भाग पाउनु त गलत होइन नि । उहाँहरूले आफ्नो व्यापारको सुरक्षा हेर्नुहुन्छ भने हामीले पनि हाम्रो व्यापारको सुरक्षा हेर्न पाउनु पर्‍यो नि,' उनी भन्छन्, 'हाम्रो अधिकार हामीले प्राप्त नगरेसम्म फिल्म चलाउदैनौं भनेर हामीले निर्णय गरेका हौं । यदि फिल्मको व्यापारको आधा हिस्सा हामीले पाएनौं भने हामीले लगानी नै सुरक्षित गर्न सक्दैनौं ।'

यद्यपी बिहीबार बसेको हल सम्बन्धि संस्था चलचित्र संघ र निर्माताबिचको छलफलले 'दिमाग खराब' मंसिर ५ सम्म चल्ने विज्ञप्ति सार्वजनिक गरेको छ । निश्चल निर्माताले भोग्दै आएको यो समस्या समाधानमा चलचित्र विकास बोर्डदेखि सञ्चार मन्त्रालयबाटै नीति बन्नुपर्ने धारणा राख्छन् । 'हाम्रो यो क्षेत्रलाई हेर्ने चलचित्र विकास बोर्ड र सञ्चार मन्त्रालयले हो । तर अझै उहाँहरूबाट केही आएको छैन । हाम्रो माग गलत हो भने उहाँहरूले भनिदिनु पर्‍यो अथवा प्रदर्शकबाट भइरहेको कुरा गल्ती हो भनेर उहाँहरूबाट नीति नियम आउनुपर्छ । हाम्रो अधिकार हामीले पाउनु पर्‍यो ।' निर्माता संघले 'दिमाग खराब' टिमले गरेको निर्णयमा ऐक्यबद्धता जनाउँदै संघले उठाएका मुद्दाको सहमतिमा आउन चलचित्र संघलाई वार्ताका लागि आह्वान गरेका छन् । सहमतिमा नआए संघले यस्तो सिलसिलाको अन्त्यका लागि आन्दोलनमै होमिने विज्ञप्ति जारी गरेको छ ।

निर्माता एवं कलाकार रवीन्द्रसिंह बानियाँ सेयर बाँडफाँडले निर्माता मारमा पर्दै आएको र राज्यले नै यो समस्या समाधान गर्नुपर्ने भनाइ राख्छन् । 'खासमा यो विषयमाथि कसले हिम्मत गरेर बोल्ने भन्ने थियो, निश्चल उभिदियो । सम्मानजनक शो र सेयर बाँडफाँडको विषय निर्माता संघकै मुद्दा पनि हुन् । यसको अर्थ हलवाला नै चोर/दोषी भन्न खोजेको होइन । तर, सेयरको हकमा हामी निर्माताले अन्याय अनुभूत गरेका हौं,' उनले भने, '५०-५० प्रतिशतको शो बाँडफाँड नहुँदा त मारमा हामी पर्ने भयौं । यही देशमा हामी शणार्थी बन्ने अवस्थामा आयौं । कला संस्कृति देशको पहिचान मान्ने हो भने राज्यले हामीलाई संरक्षण/आरक्षण दिनुपर्‍यो ।'

फिल्मको 'ओपनिङ' मै हलवालाले नेपाली फिल्मलाई दोस्रो दर्जाको ठान्ने गरेको रवीन्द्र सुनाउँछन् । 'हाम्रो फिल्मलाई ओपनिङमै कम शो दिइन्छ । त्यसो गर्दा हाम्रो फिल्म दोस्रो/तेस्रो हप्तातिर चल्छ । यसरी त उनीहरूले सेयरको ६५ प्रतिशत पाउँदै जान्छन् । यसरी त हाम्रो कमाइ उतै जान्छ, 'उनले भने, 'हलवालाले व्यवसायमा फाइदा हेर्न पाउनुपर्छ । तर आफ्नै देशमा नेपाली फिल्म बाँच्ने अवस्था त हुनुपर्‍यो नि । पहिल्यै यो फिल्म चल्दैन भनेर शो कम दिनु त भएन नि ।'

हलको छाता संगठन चलचित्र संघका महासचिव नरेन्द्र महर्जन प्रदर्शक पक्षले नेपाली फिल्मलाई पक्षपात नगरेको बताउँछन् । 'नेपाली फिल्म चल्दा हललाई धेरै फाइदा हुन्छ । हामी पसले हौं, जुन सामाग्री बिक्छ त्यसैलाई बेच्छौं । तर हामीले चलिरहेको नेपाली फिल्मलाई शो नदिने गरेका छैनौं । त्यो हाम्रो धर्मले नै दिँदैन, 'उनले भने ।

हुन त शो वितरणको मारमा पर्ने निश्चल मात्रै होइनन् । यसअघि पनि थुप्रै फिल्मकर्मीले यो प्रवृत्तिविरुद्ध बोलेका छन् । 'ऐना झ्यालको पुतली' का निर्देशक सुजित बिडारीले पनि फिल्म प्रदर्शन ताका आवाज उठाए । हिन्दी फिल्म 'बम्हास्त्र'को जाँचपास ढिलाइ हुँदा सुजितको फिल्मले हलमा शो नै पाएन । प्रदर्शनको अघिल्लो दिनसम्म पनि शो नदिँदा सुजितले त्यसविरुद्ध प्रश्न गरे । शो वितरणमा भएको विभेद हटाउन राज्यस्तरबाटै आरक्षणको व्यवस्था हुनुपर्ने सुजित सुनाउँछन् ।

'सुपरमार्केटमा हाम्रो प्रोडक्ट हामीले राख्नुछ । तर हाम्रो सामाग्रीले ग्राहकले देख्दै नदेख्ने ठाउँमा राख्नु त कसरी विक्री हुन्छ भनेजस्तै भयो नि । यस्तो समस्यामा राज्यस्तरमै आरक्षण व्यवस्था गरिदिनुपर्छ । अन्य देशमा त्यहाँका फिल्मलाई राज्यले संरक्षण दिन्छ,'सुजितले भने, 'फिल्म राज्यको नजरमै पर्दैन । यस्तो समस्या हेरिदिनुपर्ने विकास वोर्ड नै फिल्म बनाउन तम्सिएको छ ।'

यस्तो समस्याले नेपाली फिल्मकर्मीलाई हतोत्साही बनाउने पनि बिडारी बताउँछन् । उनी आफैं पनि 'ऐना झ्यालको पुतली'ले शो वितरणमा भएको सास्तीले अर्को फिल्म बनाउने हिम्मत जुटाउन सकिरहेका छैनन् ।

'एकपल्ट त्यहाँ भित्र छिरेर यो समस्या भोगिसकेपछि छर्लङ्गै बुझिन्छ । आफूलाई पोलेपछि त्यो पोलाई आफूलाई मात्र थाहा हुन्छ नि । म त्यही पोलाइ बोकेर बसेको निर्देशक हुँ, 'उनले भने, 'फिल्मबाट हामीले समाजसेवा मात्र गर्न खोजेका होइनौं नि । लामो समय लगाएर हामीले दु:ख गर्छौं । तपाईंको सामाग्रीलाई बजारमा बेच्ने समय नै दिइन्न । दिए पनि अप्ठ्यारो समयमा दिइन्छ । यस्तो विभेदपूर्ण व्यवहारले त पक्कै पनि अर्को फिल्म बनाउन सोच्न बाध्य गराउँछ ।' 'ऐना झ्यालको पुतली'ले हलबाट लगानीसमेत उठाएन । ४ करोड माथिको लगानीमा निश्चलले फिल्म बनाए । तर यहि समस्याको समाधानका लागि व्यवसाय धरापमा राखेर आफूले आवाज उठाउनु परेको बताउँछन् ।

दर्शकको साथ पाइरहँदा पनि शो कम पाउनु नेपाली फिल्मकर्मीका लागि दुर्भाग्य बनेको निर्माता कृषा चौलागाईंको भनाइ छ । उनी निर्देशित 'ऐंचो पैंचो' प्रदर्शनको पाँचौं दिनमा 'जवान' हलमा लाग्यो । उनका अनुसार हिन्दी फिल्म प्रदर्शनअघि बिग मुभिजमा ९० प्रतिशत अकुपेन्सी थियो । तर भोलिपल्ट त्यो शो नै दिएन ।

'निर्माताहरू सबैजना एकजुट भएर बोल्यौं भने यो समस्या समाधान हुन्छजस्तो लाग्छ । हाम्रो क्षेत्र त उद्योगमा परिणत भइसकेको छैन । आफूलाई पर्दा मात्र निर्माता बोल्छन् । मेरो पालामा कोही बोलेनन्, ' उनले भनिन्, 'हलवालाको नजरमा हामी सँधै दोस्रो दर्जाको किन ? अन्य देशमा यस्तो क्षेत्रलाई राज्यले नै हेर्छ । १/२ करोडको जोखिम लिएर फिल्म बनाउँदा हलवालाले त्यसको जोखिम मोल्नै चाहँदैन ।'

वितरकले हिन्दी र नेपाली फिल्मको वितरणको जिम्मा एकै समयमा गर्दा यो समस्या निर्माताले खेप्नुपरेको उनी बताउँछिन् । 'हलवाला र निर्माता आफ्नो फाइदा हेर्नेहरू हुन् । बिच्चमा हुन्छन् वितरक । तर, हाम्रा देशका वितरकले नेपाली फिल्मलाई त्यही वितरकले किन्छन्, जसले ठूला बलिउड फिल्म त्यही मितिमा ल्याइरहेका हुन्छन्, 'उनी भन्छिन्, 'वितरकले दुइटै फिल्म ल्याउँदा हलवालाले व्यवसाय बढी हुने फिल्मलाई शो दिन्छ । तर यहाँ हलवाला भन्दा पनि वितरकले चलाखी अपनाइदिन्छ । विदेशी फिल्मबाट उसले धेरै फाइदा उठाउने भयो, त्यसैले भए भरको शो दिन चाहन्छ ।'

निर्देशक मनोज पण्डित पनि हलवाला र वितरकबिचमा फरक छुट्टिने नीति बन्नुपर्ने मत राख्छन् । नेपालमा वितरक आफैं हलका मालिक हुन् । त्यसैले निर्मातातर्फ जिम्मेवार हुनुपर्ने पक्ष नै हलवाला हुँदा यो समस्या उब्जिएको पण्डितको विश्लेषण छ ।

'नेपालमा सिमित वितरक छन् । त्यही नेपाली फिल्मको वितरकले हिन्दी फिल्म ल्याउँछन् । हिन्दी फिल्मलाई उनीहरूले फिक्स रकममा ल्याउँछन् । त्यो रकम उठाउनुपर्नेमा उनीहरूको ध्यान हुँदा नेपाली फिल्मलाई लाखा लगाउँछन्, 'उनी तर्क गर्छन्, 'वितरको हातमा नेपाली फिल्म इण्डस्ट्री छ । त्यसैले हलवाला र वितरकको यो सिन्डिकेट प्रणालीविरुद्ध नीति राज्यले ल्याउनुपर्छ ।'

निर्माता बानियाँ मनोजको कुरामा थप्छन्, 'हिन्दी फिल्मलाई २/३ करोड तिरेर ल्याएका हुन्छन् । फिल्म डुब्दा उनीहरू डुब्ने भयो । हाम्रो फिल्म डुब्दा खासै असर नपर्ने भयो । त्यसैले रिस्क कम पर्ने फिल्ममै हलवालाले खेल्न पाउँछन् । वितरकले पनि विदेशी फिल्मलाई कम शो दिँदा हलवालालाई दबाब दिन्छन् ।'

यो समस्याविरुद्ध नेपाली फिल्मकर्मी एक भएर लड्नुपर्ने पण्डित बताउँछन् । 'छिमेकीलाई खाने बाघले मेरो घर पनि खान्छ भनेर सबै फिल्मकर्मीले बुझ्नुपर्छ, 'उनले भने । सबै फिल्मकर्मी एकसाथ भएर यो प्रवृत्तिविरुद्ध खडा नभएसम्म समस्याको समाधान नहुने निर्देशक दिनेश राउत बताउँछन् ।

'हलवाला र वितरकले पहिल्यै यो फिल्म चल्छ/चल्दैन भन्ने आकलनमै शो वितरण गरिदिन्छन् । सुरुआतमै नेपाली फिल्मलाई कम शो दिन्छन्, 'प्रकाश प्रदर्शनको समय सम्झँदै राउतले भने, 'विदेशी फिल्मलाई ब्यान्ड गर्ने होइन । तर, घरेलु बजारको फिल्मलाई शो नदिनु त अन्याय हो । हामी एकसाथ उभियौं भने हाम्रा माग उनीहरूले पूरा गर्नैपर्छ नि ।'

चलचित्र विकास बोर्डका प्रवक्ता खेतुलाल बिसी हलवाला र निर्माताबीच हुँदै आएको यो विवादको सहजीकरणसँगै नीतिगत सुधारमा बोर्डले ध्यान दिने बताउँछन् । 'हलवाला, वितरक र निर्माता एकअर्काका परिपूरक हुन् । यी तीनै पक्षको समस्यालाई दीर्घकालीन समाधान गर्न नीतिगत सुधार ल्याउने भन्ने छ, 'उनले भने ।

निर्देशक बस्नेत यी पक्षबिच सहमति नभए सबैको व्यवसाय धरापमा पर्ने धारणा राख्छन् । 'फिल्म नै चलेन भने शो नदिनु ठिक हो । तर चलिरहँदा शो किन नपाइएको हो ? हलवालाले जवाफ दिनु पर्‍यो नि । बढाउँदैछौं भनेर १/२ शो दिनु भएन नि । हलबिना फिल्म टिक्दैन, फिल्मबिना हल । हामी एकआपसमा मिलेनौं भने त एकअर्काको व्यवसाय धरापमा जान्छ । एकअर्कालाई नै सहयोग नगर्ने हो भने अगाडि कसरी बढ्ने हो ?' उनी भन्छन् ।

प्रकाशित : कार्तिक ३०, २०८० २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?