घर फर्कियो कन्दरा

पोखरा — एकताका प्रशासनिकबाहेक सबैथोकको अघोषित राजधानी नै थियो पोखरा । साहित्य, संगीत, कला, पर्यटनको राजधानी बनाउन ५० को दशकमा यहाँका साहित्यकार, कलाकारदेखि पप ब्यान्डले पनि उल्लेखनीय भूमिका खेले । लोक–पप शैलीका गीतमा जमेका पोखरेली ब्यान्डले देशविदेशसम्म चर्चा पाए । ६० को दशकपछि भने ब्यान्डका गतिविधि केही सुस्ताएको अनुभव गरे श्रोतादर्शकले ।

खासमा युद्धका बेला संगीत क्षेत्रले पनि सामना गरेको विषम परिस्थिति, व्यावसायिकताको कमी र विदेशिने परम्पराको सुरुआतले ब्यान्ड र कलाकारलाई छोयो । ‘लेककी हे माया...’, ‘हङकङ पोखरा...’ लगायत चर्चित गीत ल्याएको पोखरेली ब्यान्ड ‘कन्दरा’ पनि यसबाट फरक रहन सकेन । सन् १९९८ मा सार्वजनिक भएको ‘बिदेसिनु लेखियो कर्मैमा...’, ‘हङकङ पोखरा...’ गीतकै नियतिजस्तो गायक विवेक श्रेष्ठ बेलायत भासिए । ब्यान्ड तितरवितर भयो । बीचमा नेपाल आउने र नयाँ गीत ल्याउने क्रम चले पनि ब्यान्डले गति लिन सकेको थिएन ।
स्थापनाको तीन दशकपछि भने कन्दराले ब्यान्डको पुनःसंरचना गर्दै नयाँ गीत ‘विचरा म...’ सार्वजनिक गरेको छ । यससँगै पोखराको पर्यटन प्रवर्द्धन गर्दै सातवटा प्रदेशका मुख्य सहरमा सांगीतिक कार्यक्रमको योजना अघि सारेको छ । त्यसको सुरुआत मंसिर १६ गते पोखराबाट हुँदै छ । खासमा कन्दराले घर सम्झेको र ब्यान्ड पुनःसंरचनासँगै घर फर्किएको छ । आनन्द अधिकारीको शब्द र सुनिल थापाको संगीतमा ब्यान्डले आफ्नै युट्युब च्यानलमार्फत कात्तिक १० गते गीत सार्वजनिक गरेको हो । विवेकको आवाजमा रेडियो नेपालको स्टुडियोमा गीतको ‘वान टेक रेकर्डिङ’ र छायांकन गरिएको छ ।
सन् २०१६ मा पछिल्लोपल्ट सार्वजनिक भएको गीत ‘भेंडीगोठैमा...’ मा पछि कन्दराले नयाँ सदस्यसहित नयाँ गीत ल्याएको हो । ब्यान्डमा गायक विवेक श्रेष्ठ र संगीत संयोजकका रूपमा सुनिल थापा यथावत् छन् । ब्यान्डमा नेपालमा पहिलोपल्ट जिप्सी ज्याज म्युजिक गुञ्जायमान गराएका हरि महर्जन भित्रिएका छन् । गितारिस्ट महर्जन यसअघि अर्को चर्चित ब्यान्ड नेपथ्यमा थिए । युवामाझ अर्का चर्चित गितारवादक देव लामा, बेस गितारमा पंकज झा र ड्रममा सुन्दर महर्जन भित्रिएका छन् । ब्यान्ड व्यवस्थापनको जिम्मा आदि ग्रुप प्रालिले लिएको छ । सात प्रदेशमा ‘पहिले घरदेश, अनि परदेश’ नारासहित आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आयोजना हुने सांगीतिक कार्यक्रमको व्यवस्थापन पनि आदि ग्रुपले नै गर्दै छ ।
पोखराबाट सुरु हुने सांगीतिक कार्यक्रम सातै प्रदेश हुँदै राजधानीमा पुगेर समापन हुने गायक श्रेष्ठले बताए । त्यसपछि भने सन्देशमूलक सांगीतिक कार्यक्रम लिएर विदेशसम्म पुग्ने उनले सुनाए । ‘पोखराले गर्व गर्ने कुराहरू ओझेलमा पर्दै गइरहेका छन्,’ पप ब्यान्ड हराउँदै गएको सन्दर्भ जोड्दै उनले भने, ‘कन्दराले पोखराको अथेन्टिक स्वादलाई फेरि ब्युँत्याउन कोसिस गर्नेछ ।’ कन्दराको पुनरागमन घरबाटै गर्नुपर्छ भनेर ब्यान्ड पुनःसंरचनापछि पहिलोपल्ट पोखरामा कन्सर्ट आयोजना गर्न लागिएको उनी बताउँछन् ।
सन् १९९२ मा पोखरामा स्थापना भएको ब्यान्डले अहिलेसम्म ६ वटा एल्बम र सयौं गीत सांगीतिक बजारलाई दिइसकेको छ । मुलुकभित्र र मुलुकबाहिर गरी दुई सयभन्दा बढी कन्सर्ट सम्पन्न गरिसकेको छ । कन्दराकै लोकपप शैलीका गीत चर्चित छन् । कन्दराको अर्ग्यानिक विशेषता भनेको आफ्नै शब्दमा संगीत सिर्जना गर्दै, स्थापित स्रष्टाका शब्दलाई धुन भर्दै श्रोताको मन जित्नु हो । लोकपप शैलीमा रमणीय प्राकृतिक परिवेशको चित्रण, माया पिरतीका भाका, मानिसका विवशता, देशप्रेमको भावनाले ओतप्रोत भएका गीतहरू गाउनु कन्दरा ब्यान्डको मौलिक स्वाद हो ।
सन् १९९५ मा पहिलो एल्बम ‘चन्चले कान्छी’ गीत/संगीतको दुनियाँमा आएपछि कन्दराले पछि फर्किनु परेन । यो एल्बमको शीर्ष गीत ‘चन्चले कान्छीको योवन...’ को सफलता नै कन्दराका लागि कोसेढुंगा सावित बन्न पुग्यो । १९९६ मा ‘डाँडापारि’ एल्बमको ‘लेककी हे माया...’, ‘तिमी पारि..’ र ‘बिदेसिएर गइन् उनी...’ गीतले माया, प्रेम र वियोगको विम्ब स्रोताको दिलमा सजाइदियो ।
सन् १९९८ मा ‘हङकङ पोखरा’ एल्बमको शीर्ष गीत ‘हङकङ पोखरा...’ ले भौगोलिक रूपमा कन्दरा पोखरामा मात्रै नभएर प्रवासी नेपालीहरूसमक्ष आफ्नो ब्यान्ड भएर दरियो । तर गायक विवेक श्रेष्ठ बेलायत पुगेपछि ब्यान्ड टुक्रियो । उनी पुनः नेपाल फर्किएर कन्दराले सन् २००६ मा ‘वर्षौंपछि’ एल्बम ल्यायो । उक्त एल्बमको ‘तगारोमा रुमाल राखी...’ गीतले कन्दराको लोकपप स्वादलाई सम्झायो । तर पनि उनलई गीतले नेपाल अड्याउन सकेन । पुनः ९ वर्षपछि कन्दराले पाँचौं एल्बम ‘भेंडीगोठैमा’ ल्यायो । त्यसयता भने ब्यान्डले गति लिन सकेको थिएन ।
यसअघि ब्यान्डमा विवेक श्रेष्ठ र सुनिल थापासँगै बुद्धराज बज्राचार्य, असिम शेरचन, अमित गुरुङ, मानिक सिंह थिए । ब्यान्डमा आरोह–अवरोह आए पनि यसपल्ट भने बलियो गरी उभिएको कन्दराका संगीत संयोजक सुनिल थापा बताउँछन् । प्रविधिले गर्दा बनावटी कलाकार धेरै उत्पादन भइरहेको सन्दर्भमा कन्दराले संगीतको असली स्वाद लिएर फर्किन लागेको उनको दाबी छ । व्यवस्थापनको जिम्मा पाएको आदि ग्रुप प्रालिका प्रबन्ध निर्देशक आशिष पराजुलीले झन्डै एक वर्षको तयारी पछि कन्दरा नयाँ स्वरूपमा आएको बताए । ‘७३ वर्षको इतिहास बोकेको रेडियो नेपालमा कन्दराले पाँचवटा गीतहरूको ‘वान टेक रेकर्डिङ’ र छायांकन सम्पन्न गरेको छ,’ उनले भने, ‘नेपालको संगीत क्षेत्रमा कन्दराको प्रबल सम्भावना छ । ब्यान्डलाई यो अन्तिम मौका पनि हो ।’
सात प्रदेशमा सांगीतिक कार्यक्रम गर्न कन्दराले पोखरा पर्यटन परिषद्सँग सहकार्य गरेको छ । सांगीतिक कार्यक्रम हुने स्थलमै पोखराका व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धन गर्ने किसिमका स्टल राख्नेछन् । यो अभियानले गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । कन्दराले नेपालबाट पहिलोपल्ट भारतको नागाल्यान्ड र सिलोङमा एकल कर्न्सट गरेको थियो । कन्दराले जापान, हङकङ, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, लन्डन र युरोपका विभिन्न सहरमा आफ्नो प्रस्तुति दिइसकेको छ ।
प्रकाशित : कार्तिक २३, २०८० ०९:०४