उद्घोषकको अभिनय यात्रा

झापा — २०५० को दशकमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । त्यही बेला राजेश घतानी झापाको सानो सहर सुरुंगामा लुकिछिपी नाटक गर्थे । खासमा उनको कलाकारिता यात्रा नाटकबाट सुरु भएको हो । माओवादी गाउँबाट सहर पस्दै गर्दा राजेश जस्ता जोसिला युवा माओवादी आन्दोलनमा जोडिँदै थिए । उनी पनि माओवादीसँग नजिकिए, कला/संगीत फाँटमा ।

‘त्यो बेला खुलेआम नाटक गर्ने अवस्था थिएन,’ हालैको एक भेटमा राजेश ती दिन सम्झिँदै रोमाञ्चित बने, ‘डरमर्दो समय थियो । त्यस्तो बेला पनि हामी नाटकमार्फत जागरणमा जुटेका थियौं ।’ माओवादी द्वन्द्वका बेला नाटक गर्दै गर्दा तत्कालीन शाही नेपाली सेनाको निसाना पनि बने उनी । झापाको चारआलीस्थित सैनिक ब्यारेकमा केही दिन यातना भोगेर फर्किए । ‘नाटक गरेकै आधारमा मलाई सेनाले पक्रेर लगेको थियो,’ राजेशले सम्झिए, ‘पछि कसोकसो गरेर उम्किएँ ।’ सैनिक ब्यारेकबाट छुटेपछि पनि उनले नाटक गर्न भने छाडेनन् ।
गाउँले रंगमञ्चबाट उदाएका ‘मामुली’ कलाकार राजेशले कालान्तरमा उद्घोषण पेसा रोजे । उद्घोषणमार्फत पहिचान बनाएका उनी सिनेमाका निर्माता पनि भए केही समय अघि । कलाकारहरू यशकुमार र बाबु बोगटीसँगको पछिल्लो संगतले उनलाई ‘बाटोमुनिको फूल’ निर्माणमा उस्कायो । यी तीनै मित्र मिलेर निर्माण गरेको ‘जात व्यवस्था’ विरुद्धको फिल्मको सफलताले उनी दोस्रो सिनेमा बनाउन हौसिए । सत्तरीको दशकमा ‘बितेका पल’ नामक सिनेमामा उनले ‘आँखा चिम्लिएर’ लगानी गरे । तर, सिनेमाले भने जस्तो चर्चा पाएन । अन्ततः थाप्लामा करोडौं ऋणको भार बोके उनले । तर, पनि हरेस खाएनन् । ‘हरेस भन्ने शब्द मेरो डिक्सनेरीमा छैन,’ मन्द मुस्काउँदै राजेश भन्छन्, ‘दुःखसँग सधैं रमाउने बानी छ मेरो ।’
बेला–बेला उद्घोषणका लागि देशविदेश पनि दौडिरहन्छन् उनी । फुर्सदको समयमा अभिनय त छँदै छ । ‘बाटोमुनिको फूल’, ‘दर्पण छाया–२’ जस्ता सिनेमामा छोटो अभिनय पनि गरेका छन् । उनी अभिनीत केही म्युजिक भिडियो पनि छन् । पछिल्लो समय गायक यशकुमारको म्युजिकल फिल्म ‘सुस्तरी’ मा देखिएका छन् । करिब एक करोड दर्शकले हेरेको यो भिडियोमा उनले काठमाडौं महानगर प्रहरीको भूमिका निर्वाह गरेका छन् । ‘फुटपाथ व्यापारीले मलाई थप्पड हानेको दृश्य धेरै मन पराइयो,’ उनले थपे, ‘त्यो दृश्य हेरेपछि धेरैले भावुक भएको भनेर फोन गरेका थिए ।’
करिब दुई दर्जन नाटकमा लेखन, निर्देशन तथा अभिनय गरेका अनुभवी रंगकर्मी केही मिठा गीतका सर्जक पनि हुन् । ‘फिदिमे घुम्ती...’ बोलको उनको पहिलो गीत गायक डेविड शंकरले ‘माई ड्रिम’ एल्बममा समावेश गरेका छन् । डेविट ‘छक्का पञ्जा–३’ को चर्चित गीत पहिलो नम्बर र ‘छक्का पञ्जा–४’ को दर्शन सलामका उम्दा गायक हुन् । ६० को दशकमा झापामा आयोजना भएको ‘मेची तारा’ नामको रियालिटी शोबाट डेविट उदाएका थिए । त्यो रियालिटी शोका योजनाकार भने राजेश नै थिए ।
‘बितेका पल’ को स्टोरीदेखि तीनवटा गीतका स्रष्टा राजेश नै हुन् । झापाको सुरुंगामा जन्मिएका राजेश सानैदेखि कलाकारिताप्रति औधी चाख मान्थे । एक जमानामा उनी धेरै मान्छेझैं राजेश हमालका ‘डाइहार्ट फ्यान’ थिए । उनलाई लाग्थ्यो, ‘कुनै बेला म पनि राजेश हमालझैं बन्छु ।’ उनी हमाल जस्तै बन्न त सकेनन् तर हमालसँग उनले दोस्ती भने बनाउन सके । ‘राजेश दाइसँग राम्रो सम्बन्ध छ,’ राजेश भन्छन्, ‘उहाँकै प्रेरणाले मलाई सिनेमा क्षेत्रमा डोर्याएको हो ।’
प्रकाशित : कार्तिक २०, २०८० ११:१२