‘वेडिङ एल्बम’मा ढोंगी समाज

'जवाफ नफर्काए पनि जामा फर्काउन सिपालु थियो रमेश,'विदुषीको जवाफले दिदी हिमा अवाक् पर्छिन् । घरकी सहयोगी कुसुम भन्दा रमेश नै राम्रो भन्दै आमा भान्सातिर लागेपछि सँगै बसेकी दिदीतर्फ हेर्दै विदुषीले आफूमाथि भएको यौन दुर्व्यवहार सुनाउँछिन् ।

के? हिमाले झट्ट प्रश्न गर्दा विदुषी थप्छिन्,'अँ त, कताकता हात लिएर जान्थ्यो ।' मञ्चको प्रकाश विस्तारै यी दुईमा पर्छ, पृष्ठभूमिमा मधुर धुन गुञ्जन्छ । त्यसपछि हिमा चकित हुँदै थप्छिन्,'तँलाई पनि त्यस्तो गर्थ्यो ?'
विदुषी(रञ्जना भट्टराई)को भोगाइपछि हिमा(केनिपा सिंह पहारी)ले पनि रमेशले आफूमाथि गरेको दुर्व्यवहारबारे मुख खोल्छिन् । आक्रोसित भावमा सुनाउँछिन्, रमेशले पोख्ने यौन कुण्ठा ।
कौशी थिएटरमा मञ्चनरत 'वेडिङ एल्बम'को यो दृश्य हेर्दा लाग्छ, यी दुईले यौन दुर्व्यवहारबारे बोल्ने साहस बल्ल बटुलेका छन् । वर्षौं लुकाएको पीडालाई साझा गर्न आफूलाई सुनिदिने कोही भेटेका छन् । बिहेको चटारोबीच पीडा/दु:ख सुनाउने पल भेट्याएका छन् । हो, कोइराला परिवारकी कान्छी छोरी विदुषीको बिहे हुँदैछ । विदुषीकै बिहे तयारीका बीच यी दिदीबहिनीले आफूभित्र लुकिबसेका पीडालाई पोखेका हुन् ।
नाटकमा दुर्व्यवहारका विषय मात्रै छैनन् । बिहेकै अस्तव्यस्ताबीच खुल्दै जाने प्रेम, एकअर्काबीचको तिक्तता, अन्योललगायतका अनेकन भावहरु समेटिएका छन् । हर सदस्यका फरक-फरक कथामार्फत् ढोंगी समाज, पितृसत्तात्मक सोच र मानसिक स्वास्थ्यका सवाल उठाइएका छन् । यी सबै कथाको संगमस्थल भने विदुषीको बिहे हो । समानान्तर ढंगले भनिएको कथाको मूल केन्द्रमा छ, कोइराला घर । जहाँ हर कोही, केही न केही विषयले व्यस्त छन् ।
विदुषीलाई बिहेमा लगाउने लेहेंगाको तनाव छ । बहिनीको बिहेमा आएकी दिदी हिमालाई सिड्नीका पति र छोराको चिन्ता छ । बहिनीको बिहेको दौडधुपबीच रोहित(सुदाम सिके)लाई बिहे अफरको हैरानी छ । आमा(लुनिभा तुलाधर)लाई कुसुम(सेबिता अधिकारी)को काम चित्त बुझेको छैन, कुसुमलाई भान्सामा आमाको हस्तक्षेप । त्यसै पनि बिहेको माहोल चर्को सुनिन्छ । यस्तो कोलाहलबीच कोही शान्त छन् भने उनी हुन्, बुवा (अशान्त शर्मा) । नाटकको यो माहोलले हामीलाई बिहे हुँदै गरेको घरमा पुगेको आभास गराइदिन्छ । त्यसैमाथि टिकट काउन्टरले थमाइदिएको निमन्त्रणा पत्रले बिहेमा सरिक हुनलागेको भाव जन्माइदिन्छ ।
आ-आफ्नो जीन्दगीमा व्यस्त यो परिवारलाई विदुषीकै बिहेले जोड्छ । उनीहरुको भावनालाई यही बिहेले एक बनाएको हो, लुकी बसेको तिक्तता र अमिलो पोख्ने मेलो जुराएको हो । आमा र बुवाले आफ्नो बिहेमा देखाउन नसकेको जिम्मेवारीले हिमाको मन कतै दुखाएको छ । परिवार विपरित निर्णय लिएकोमा आमालाई हिमासँग पनि गुनासो छ । धूमधामले बिहे गरेर हिमालाई पठाउन नपाएकोमा थकथकी छँदैछ । यी पात्रका लागि दुखेको मनमा मल्हम लगाउने मेसो पाएका छन् । आखिर यो व्यस्त सहरमा दुखेको मन देखाउने समय कसलाई ? यस्तै बहाना नै त अवसर बन्ने हो । मनको पीडा पखाल्ने मात्रै होइन खुसी हुने समय यस्तै अवसरले दिने हो । त्यसैले त नाटकको एउटा दृश्यमा विदुषी भन्छिन्,'मेरो बिहे हुँदैछ, नाचगान त हुनैपर्यो ! अनि कोइराला परिवार गाउँछ,'टाढा टाढा जानुछ साथि, एकफेर हाँसिदेउ ।'
यो नाटकले वर्तमान देखावटी समाजलाई व्यंग्य गर्छ । कोइराला परिवार शिक्षित छन्, घरमा सहयोगी राख्ने हैसियत छ । तर, सँस्कृतिका नाममा हुने बिकृतिलाई मज्जाले अंगाल्छन् । सामाजिक प्रतिष्ठा जोगाउने निहुँमा भइरहेको तामझामपूर्ण बिहेलाई नाटकको यो दृश्यले व्यंग्य गर्छ । भिडियोमार्फत् विदुषीको बिहे तय भयो । देख्दै नदेखेका, भेट्दै नभेटेका व्यक्तिलाई आफ्नो पति/ज्वाइँ मान्नसम्म तयार छ, कोइराला परिवार । त्यतिमात्रै होइन बिहेको अघिल्लो दिन भेट्ने अनि दाइजो नमाग्ने ज्वाइँलाई उपहारमा सुन दिन तम्सिएका छन् । खर्चिलो बिहेलाई आत्मसात गरेका छन् । थुप्रो सहर घुमेकी हिमा रोहितको क्रिश्चियन प्रेमिका रहेको थाहा पाउनसाथ भन्छिन्,'अरु कुनै जात भेटिनस् ? आधुनिक जमानाले पक्रेको परम्परागत सोचलाई यो दृश्यले हिर्काउँछ ।
यो नाटकमा सम्बन्धका जटिलता र पात्रहरुको जोखिमलाई देखाइएको छ । पात्रभित्रका सबल र दुर्बल पाटाहरू केलाइएको छ । बिहे अगाडि अर्को युवकसँग 'फोन सेक्स' गर्न सक्ने विदुषी भविष्यकै लागि अमेरिका बस्ने केटासँग बिहे गर्न आतुर छिन् । फोन सम्बन्धलाई बिर्सन पनि सकेकी छैनन् । यो दृश्यले मिरा नायरको 'मनसुन वेडिङ'मा बिहेको अन्तिम दिनसम्म पनि पूर्व प्रेमिकासँग समय बिताइरहेकी अदितीको सम्झना गराउँछ । विदुषीले आफ्नो भविष्यकै लागि अमेरिका बस्ने उक्त पात्रसँग सम्झौता गरेको हो कि भन्ने प्रश्न पनि उब्जाउँछ । उनीभित्रको कमजोरीलाई पनि उक्त दृश्यले उजागर गरिदिन्छ ।
त्यस्तै, हिमाले छोरासँग गर्ने कुराले पतिबीचको सम्बन्धका फरक आयामलाई पस्किदिन्छ । किशोर विभानप्रतिको झुकावले पनि त्यो विषयलाई जोड दिन्छ । के उनी डुबिसकेको बैबाहिक सम्बन्धलाई बचाउने कोसिसमा छिन् ? बहिनीलाई भने ज्वाइँसँग बस्न नसके घर फर्किन मिल्ने विकल्प देखाइरहन्छिन् ।
त्यस्तै, रोहितलाई पनि जेनीलाई छोडेर अर्कै महिलासँग सम्झौता गर्नुपर्ने चरित्रका रुपमा उभ्याइएको छ । परिवारको दबाब, आर्थिक अभावबीच रोहितले पनि आफ्नो बिहेमा सम्झौता त गरेको होइन ? जवाफ पाउन नाटक नै हेर्नुस् । जे होस्, यस्तो जटिल सम्बन्धबीच आमा र कुसुमबीच हुने किचकिच भने मनोरञ्जनात्मक छ । भान्सामा हुने यी दुईको खिचातानी रमाइलो शैलीमा प्रस्तुत गरिएको छ ।
नाटकको सेट गजब्बकै छ । बिहेको एल्बम पल्ट्याए झैं जब कथा विगतिर बहन्छ, सेट तस्वीर पल्टिए झैं पल्टिन्छ । यो सेटले पात्रभित्रका दुई अनुहारलाई पनि सँगै पल्ट्याए झैं लाग्छ । बाहिरबाट हेर्दा सबै मिलेकोजस्तो, तर झट्ट कतै आफ्नो कमीलाई लुकाएकोजस्तो । नाटकको मञ्चमा दुई ज्वाइँ कहिल्यै देखा पर्दैनन् । तर, उनीहरुको चर्चा चलिरहन्छ । वास्तवमा कथा अनुसार दृश्यमा उनीहरुलाई देखाउन आवश्यक पनि लाग्दैन । उनीहरुको उपस्थितिबिनै कथा अगाडि बढ्छ ।
केही सम्बन्धका कथा भने ओपन इन्डिङमै सकिन्छन् । विभान र हिमा, अनि जेनी र रोहितको सम्बन्धले नाटक हेरेपछि पनि दर्शकलाई कुत्कुत्याई रहन्छ । यी चरित्रका सम्बन्धमा आउने परिवर्तनले दर्शकलाई उनीहरुका कथा बिर्सन दिँदैन । आमा र काकाबीचको सम्बन्धमा शंका उब्जाइदिएर कथा त्यतिकै सकिदिएको हो कि भन्ने प्रश्न उठ्छ । त्यो सम्बन्धलाई अझै प्रष्ट पारिदिएको भए नाटक झन् मज्जाको हुने थियो ।
कलाकारको जम्बो टोली सहभागी यो नाटकका केही दृश्यमा मजबुत छन् । अन्तिमको 'मोनोलग'मा सेबिताले कुसुम दिदीको मानसिक स्वास्थ्यलाई मात्रै प्रकट गर्दिनन्, आफ्नो अभिनय कौशलता पनि पस्कन्छिन् । उक्त दृश्यमा सेबिताको अभिनय तारिफयोग्य छ । बिहेको अफर लिएर आउने परिवारबीच लमीको भूमिका निभाइदिने दुई चरित्र भने नाटकमा अलि भारी लाग्छन् । तर, अन्य कलाकारका अभिनयले त्यसलाई सन्तुलनमा राखेको छ । विदुषीको चञ्चलता, भविष्यप्रतिको अन्योल अनि वर्तमान विश्वास पस्कन रञ्जना सफल छिन् । रोहितको भूमिकामा सुदाम निकै विश्वसनीय देखिएका छन् । त्यस्तै, आमा र बुवाको भूमिकामा अशान्त र लुनिभाको जोडी सुहाउँछ । लामो समयपछि अभिनयमा फर्किएकी केनिपाले हिमाभित्रको जटिलतालाई अभिनयमार्फत् प्रस्तुत गरेकी छन् ।
तस्बिरहरू : दीपक केसी/कान्तिपुर
बिहेले जोडिएका विभिन्न पात्रका कथाहरुलाई नाटकमा रोचक शैलीमा प्रस्तुत गरिन्छ । दुर्व्यवहार, पितृसत्ता हुँदै ढोंगी समाजलाई उजार गर्ने यस नाटकलाई आकांक्षा कार्कीले निर्देशन गरेकी हुन् । भारतीय रंगकर्मी गिरिश कर्नाडद्वारा लिखित 'वेडिङ एल्बम'लाई आकांक्षाले नेपालीमा अनुवाद गरेकी हुन् । नेपाली रंगमञ्जले विरलै उठाउने विषयलाई आकांक्षाले फेरि कौशीमा उभ्याइदिएकी छन् ।
