कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कथा वाचनमा चुकेको ‘एक भागवत र एक गीता’

फिल्ममा मधेश र पहाडलाई जोड्ने कोसिस भएको छ । तर पट्यारलाग्दो पटकथाले फिल्मले उठाउन खोजेको मूल मुद्दामा दर्शकलाई केन्द्रित गराउँदैन । यौनिक तथा अल्पसंख्यक समुदायको संवेदनशील मुद्दा उठाउँदै फिल्मले गम्भीर विषय बहसमा ल्याएको छ ।
रीना मोक्तान

काठमाडौँ — नेपाली फिल्ममा मधेशको कथा बिरलै देख्न पाइन्छ । मधेशी चरित्रको गलत चित्रणको आरोप नेपाली फिल्मले खेप्दै आएको पुरानै विषय हो । त्यसैले होला दर्शकको ठूलो सम्भावना बोकेको मधेश नेपाली फिल्मबाट अझै परै देखिन्छ । मधेशका हलमा नेपाली फिल्म बिरलै रुचाइन्छन् । आफूलाई प्रतिनिधित्त्व नगर्ने फिल्मलाई मधेशका दर्शकले अंगालुन् पनि कसरी ?

कथा वाचनमा चुकेको ‘एक भागवत र एक गीता’

तर, बेलाबखत मधेशका मुद्दा उठाउँदै फिल्मकर्मीले कथा वाचनमा भइरहेको यो असन्तुलनलाई ढाक्ने प्रयास गर्छन् । ‍प्रदर्शनरत 'एक भागवत र एक गीता'मा निर्देशक झरना थापाले मैथली कथा र संस्कृतिलाईलाई मूलधारमा समेट्ने आँट गरेकी छन् । धार्मिक संस्थाहरुका कारण परिवर्तित नामले प्रदर्शनमा आएको यो फिल्ममा मधेश र पहाडलाई जोड्ने कोसिस भएको छ । तर पट्यारलाग्दो पटकथाले फिल्मले उठाउन खोजेको मूल मुद्दामा दर्शकलाई केन्द्रित गराउँदैन । यौनिक तथा अल्पसंख्यक समुदायको संवेदनशील मुद्दा उठाउँदै गम्भीर विषय बहसमा ल्याउनु 'एक भागवत र एक गीता'को सफल पाटो हो ।

तर केन्द्रीय द्वन्द्वमा फिल्म अलमलिँदा यौनिक कथा अल्पसंख्यक समुदायको यो विषयले छेड्न सक्ने बहसको दायरा खुम्चिएको छ । राजनीति, जातीय विभेददेखि सम्बन्धहरुबीचको तिक्तता र मिठास समेट्दा फिल्म प्रमुख मुद्दामा अडिरहँदैन । उप-कथाहरुलाई पटकथाको डोरीमा उन्न नसक्दा फिल्मको विषय छरिएको छ ।

भगवत्(जेविश र जेविन श्रेष्ठ) र गीता(सुहाना थापा) को कथाबाट फिल्म सुरु हुन्छ । यौनिक पहिचानकै कारण पहाडदेखि जनकपुर पुगेकी कमला माई(विपिन कार्की)सँगै हुर्किन्छिन् गीता । जनकपुरका मेयर परमेश्वर यादवका कान्छा छोरा भगवत् भने गीतासँग धेरै झ्याम्मिन्छन् । भगवत् कथित उपल्लो जातका । भगवत्‌भित्रको यौनिक पहिचानलाई गीता र कमला माईले स्वीकारेका छन् । तर भगवतका परिवार छोराको यो सत्यलाई लुकाउन खोज्छन् । यस्तो परिस्थितिबीच भगवत् र गीताको दिदीभाइ सम्बन्धले कस्ता आरोहअवरोह सामना गर्लान् ? फिल्मको कथा यी दुईको सम्बन्धमाथि आधारित छ ।

यौनिक तथा अल्पसंख्यक समुदायको कथामा नेपाली फिल्म कमै बन्छन् । त्यस अर्थमा निर्देशक थापाले यस्तो कथालाई फिल्ममार्फत भन्न खोज्नु सकरात्मक पक्ष हो । तर यही कथा भन्नलाई थापाले पछ्याएको कथ्य वाचनको शैलीमा भने सुधार आवश्यक लाग्छ । यो फिल्म केन्द्रीय द्वन्द्वमै अलमलिएको छ । द्वन्द्वले नै कथालाई अगाडि बढाउने हो । द्वन्द्वले अवरोध खडा गर्छ, अनि पात्रले त्यसबाट उम्कन संघर्ष गर्छ । जसै पात्रले कठिन संघर्षको सामना गर्छन्, तपाईं चरित्रसँग बाँधिन थाल्नुहुन्छ । तर यो फिल्ममा भगवत् र गीताको संघर्ष सतही रुपमै देखाइएको छ । त्यसैले पात्रहरुले उक्त समयमा गर्ने संघर्षमा दर्शक सरिक हुनै पाउँदैनन् । मध्यान्तरअघिको लामो समय चरित्र स्थापनामा खर्चिएको छ । भगवत् र गीताको सम्बन्ध स्थापनामै लामो समय खर्चँदा मूल मुद्दा हराएको हो कि भन्ने भान हुन्छ । सजिलै अनुमान गर्न सकिने पटकथाका कारण पनि दर्शक फिल्ममा बाँधिदैनन् ।

फिल्ममा त्रिलोक(कविर खड्का)को भगवत्‌प्रतिको घृणालाई पनि विश्वासिलो ढंगमा उतारिएको छैन । त्यस्तै, त्रिलोक र गीताबीचको दुश्मनीलाई पनि विश्वसनीय रुपमा देखाइएको छैन । मध्यान्तरपछि फिल्मको कथा प्रेमतिर ढल्किएको छ ।

मैथली भाषाको लवज यो फिल्मको अर्को कमजोर पक्ष हो । विपिन कार्कीले केही हदसम्म अभिनयमा त्यो लवजलाई टिपेका छन् । भगवत् र गीताले बोल्ने मैथली लवजमा अझै मिहेनत गरेको भए भाषाको मिठासले फिल्ममा सौन्दर्य थपिदिने थियो । अधिकांश ठाउँमा पात्रहरुले मैथली लवजलाई कण्ठ गरेर बोलेको आभास हुन्छ । संवाद नौलो छैन । लैंगिककतामाथि विषय उठ्दा पात्रले जातीयताको संवाद बोलिरहेका हुन्छन् ।

फिल्ममा त्यस्ता थुप्रै दृश्य छन्, जसलाई छाँटिदिएको भए पनि कथा अगाडि बढ्ने थियो । त्यस अर्थमा फिल्मलाई सम्पादन टेबलमा पनि कसिलो बनाउन सकिन्थ्यो । झरनाका अन्य फिल्ममाझैं 'एक भागवत र एक गीता'मा सुन्दर दृश्य फ्रेममा कैद गरिएको छ । माछापुछ्रेलाई पृष्ठभूमिका राखिएका अधिकांश दृश्यले आँखालाई शीतल बनाउँछन् । तर सुन्दर दृश्यको तादम्यले मात्रै पनि त कथा भन्ने होइन !

यो फिल्मलाई विपिन कार्कीको अभिनयले जोगाएको छ । कमला माईको भूमिकामा विपिन फिट देखिएका छन् । पात्रभित्रको स्त्री चरित्रलाई अभिनयमार्फत पस्कन उनी सफल छन् । मैथली लवजलाई मज्जाले पक्रेका छन् । केही दृश्यमा त्यो लवजलाई पक्रन उनी चुकेका छन् । फिल्ममा धिरज मगर, कविर खड्काको अभिनय तारिफलागयक छ । अनुराग कुँवरले पनि लवजमा काम गरेको देखिन्छ ।

सेते साहुले बोल्ने हिन्दी लवजले हाँसो थपिदिन्छ । सेते साहुको भूमिकामा रियर राईले गरेको अभिनय दर्शकको ध्यान तान्न सफल छ । पछिल्ला फिल्मको दाँजोमा गीता चरित्रमा सुहानाको अभिनय खुम्चिएको छ । मधेशको रैथाने स्वाद बोकेको गीतले भने फिल्ममा मिठास थपिदिएको छ । अन्य गीतका दाँजोमा 'झिँझिया'ले मधेशको संस्कृति समेट्छ । मधेशको रैथाने भाकालाई फिल्ममा समावेश गर्ने प्रयास भएको छ ।

खासमा यस्तै केही प्रयासबीच निर्देशक थापाले एउटा संवेदनशील विषयलाई फिल्ममार्फत उठाउन त खोजेकी छन् । तर आफूले भन्न खोजेको कुरालाई प्रष्टसँग दृश्यमा देखाउन नसक्नु उनको कमजोरी हो । फिल्मको कथासँग जोडिन आउने उपकथालाई पटकथामा बुन्न उनी चुकेकी छन् । त्यसैले पनि फिल्मले उठाउन खोजेको विषय सतही बनेको छ । जातीयता, लैङ्गिकता र राजनीतिका विषय गहिराइमा पुग्नै पाउँदैन ।

'एक भागवत र एक गीता'ले यौनिक तथा अल्पसंख्यकलाई अझै पनि समाज र परिवारले स्वीकार्न नसकेको सत्यलाई भने उजागर गरिदिएको छ । यो समुदायका पीडा र संघर्षलाई समेट्दै फिल्मले यौनिक तथा अल्पसंख्यकलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुपर्ने सन्देश दिन्छ ।

प्रकाशित : आश्विन १, २०८० १४:४१
प्रतिक्रिया
पठाउनुहोस्