कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'इन्ससेन्ट रेन' ले सुरु गर्‍यो एनिमेसनमा महिला

कान्तिपुर संवाददाता

काठमाडौँ — एनिमेसनमा लैङ्गिक समानता कायम गर्ने उद्देश्यसहित 'इन्ससेन्ट रेन'ले वुमन इन एनिमेसन (वीया) नेपाल च्याप्टर सुरु गरेको छ ।

'इन्ससेन्ट रेन' ले सुरु गर्‍यो एनिमेसनमा महिला

यो च्याप्टर एनिमेसनमा लैङ्गिक असमानता हटाउन वकालत र मेन्टरसिप प्रदान गर्ने उद्देश्यसहित सुरु भएको 'इन्ससेन्ट रेन'की को-सीईओ दीपा चिपालु जोशीले बताइन् ।

'हाम्रो स्टुडियो सुरु भएको १५ वर्ष भयो । बल्ल हामीले यो च्याप्टरलाई नेपालमा ल्याउन सफल भएका छौं । यो च्याप्टरले महिलालाई एनिमेसनमा ल्याउनका लागि समुदायस्तरमा काम गर्नेछ,' जोशीले भनिन्, 'अर्को त फिल्म निर्देशन, लेखन, फिल्म विद्यालयमा समावेशीता अभ्यास गर्न पनि वकालत गर्नेछौं ।' युनेस्कोसँग मिलेर यो च्याप्टरमा आफूहरुले काम गर्ने जोशीले बताइन् ।

'इन्ससेन्ट रेन' का संस्थापक किरणभक्त जोशी एनिमेसनमा महिलाको संख्या न्यून देखिएकोसँगै समानता अभ्यास गर्न बोर्ड टिमबाटै सुरु गरिएको बताए । दीपालाई समान जिम्मेवारी प्रदान गर्दै त्यो अभ्यास आफूबाटै सुरु गरेको पनि बताए । यो च्याप्टर एसियामै पहिलो पटक नेपालले प्राप्त गरेको पनि किरणको दाबी छ । 'भारतले यो च्याप्टर पाउन खुबै कसरत गरिरहेको छ । तर, साउथ एसियामै हामीले पहिलो पटक यो च्याप्टरलाई नेपालमा ल्याउन सक्यौं,' उनले भने ।

'वीया' को नेपाल च्याटर अध्यक्षका रुपमा सम्पदा मल्ल छनोट भएकी छन् । च्याप्टरबारे जानकारी दिँदै सम्पदाले एनिमेसनमा नेपाली फिल्म क्षेत्रको सक्रिया लेखक/निर्देशकलाई पनि जोड्ने किसिमको योजना ल्याउन किरण र दीपासामु प्रस्ताव राखिन् । कार्यक्रममा उपस्थित निर्देशक खगेन्द्र लामिछाने, सुजित बिडारी, निर्देशक पूजा गुरुङ, अभिनेत्री उषा रजक, निर्देशक सिमोस सुनुवारबीच इन्ससेन्ट रेन र फिल्मकर्मीबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो ।

प्रकाशित : भाद्र २७, २०८० १३:४०
प्रतिक्रिया
पठाउनुहोस्