कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिफमा 'गाउँ आएको बाटो'को वर्ल्ड प्रिमियर

कान्तिपुर संवाददाता

काठमाडौँ — टोरोन्टो फिल्म फेस्टिभल(टिफ)मा नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो'को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनपछि दर्शकहरूबीच भएको अन्तरक्रियामा अभिनेता दयाहाङ राईले नेपाली फिल्मले नेपाली कथा र जनजीवन जोड्न थालेको प्रसंग सुनाए ।

टिफमा 'गाउँ आएको बाटो'को वर्ल्ड प्रिमियर

साथै कुनै बेला नेपाली बजार बलिउडले ओगट्ने गरेकोमा पछिल्लो समय नेपाली फिल्मले पनि त्यसलाई समेट्न थालेको अभिनेता राईको भनाइ थियो । उनले आफूहरू नेपाली कथा र जीवन दर्शनलाई फिल्ममा जोड्न प्रयासरत रहेको पनि बताएका थिए ।

'हामी पनि बलिउड/हलिउड फिल्म हेरेर हुर्क्यौं । तर फिल्म हेर्दा हाम्रा कथा/जीवनमा चाहिँ फिल्म बन्दैन र ? भन्ने प्रश्न उठ्न थाल्यो । फिल्ममा काम गर्नुपर्छ भन्ने सोच त्यतिबेलादेखि नै आएको हो । मैले नवीन दाइको नुमाफुङ हेरेपछि मलाई लाग्यो अब हाम्रा कथा पनि फिल्ममा आउने रहेछन् । अहिले नेपाली दर्शकले पनि बुझ्न थालेका छन्,' दयाहाङले भने, '४ वर्षअघि बलिउड फिल्मले नै नेपाली बजार ओगट्ने गर्थ्यो तर, २ वर्षयता नेपाली फिल्मले त्यो बजारलाई ओगट्न थालेको छ । त्यसैले अहिले हामी नेपाली कथा, जीवन दर्शनलाई फिल्ममा जोड्न प्रयासरत छौं ।'

अभिनेत्री पशुपति राईले फिल्मका लागि आफूले १० केजी वजन घटाउनु परेको विषयसँगै आफू कसरी 'गाउँ आएको बाटो'मा अनुबन्धित हुन पाइन् भन्ने अनुभव साटेकी थिइन् । २३ वर्षअघि नेपालबाट हङकङ पुगेका निर्माता आमोद राईले नेपाली कला/संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने सपनासहित यो फिल्ममा जोडिएको अनुभव सुनाए ।

'हङकङ बस्दा सधैँ आफ्नो संस्कृति, कला र संगीतलाई कसरी अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने भन्ने लागिरहन्थ्यो । त्यसैले निर्देशक सुब्बाको यो फिल्ममा म निर्माताको रुपमा जोडिएँ,' आमोदले भने ।

उनले यो फिल्मलाई आफ्नै समुदायको मौलिक कथाको रुपमा व्याख्या गरेका छन् । र सामुदायिक लगानीमा फिल्म तयार पारेको पनि उनले जानकारी दिए । आमोदले भने, 'यो फिल्मको कथा मेरै समुदायको हो । यो फिल्म बनाउन लामो समय लाग्यो । फिल्मलाई हामीले सामुदायिक लगानीमा बनाएका हौं । हामीकहाँ ठूला प्रोडक्सन कम्पनी छैनन् । त्यसैले विश्वमा छरिएका नेपाली समुदायबाट हामीले लगानी जुटायौं ।'

नवीन सुब्बाको 'गाउँ आएको बाटो'ले गाउँमा सडकसँगै बजार पनि प्रवेश गरेपछि त्यहाँका परिवार र सम्बन्धहरूमा पर्ने असरलाई उतारेको छ । फिल्मको स्क्रिप्ट नवीन सुब्बा र महेश राईले संयुक्त रुपमा लेखेका हुन् ।

प्रकाशित : भाद्र २५, २०८० २१:५०
प्रतिक्रिया
पठाउनुहोस्