कंगनालाई सगरमाथाको चिन्ता

एजेन्सी

मुम्बई — बलिउड अभिनेत्री कंगना रनावतले ‘विश्वलाई मानिसबाट बचाउन’ अनुरोध गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमा सगरमाथा क्षेत्रको भिडियो पोस्ट गर्दै रनावतले त्यसप्रति चिन्ता व्यक्त गरेकी हुन् । 

कंगनालाई सगरमाथाको चिन्ता

विश्वको सर्वोच्च शिखर क्षेत्रमा फोहोर जम्मा हुन निकै दुःखदायी भएको भन्दै उनले त्यसका लागि मानिसहरू जिम्मेवार रहेको बताएकी हुन् । उनले पोस्ट गरेको २० सेकेन्डको भिडियोमा सगरमाथा आधार शिविरमा रहेको टेन्टबाहिर फोहोर थुप्रिएको देखिन्छ ।

‘आफूलाई भगवान्को प्रिय सम्झने जोकोहीले यसको वास्तविकता जाँच्नुपर्छ । यो दृश्य हेर्नुस्, तपाईंलाई महसुस हुन्छ कि भगवान्का लागि मानिसहरू खासमा सबैभन्दा कम मनपर्ने हुन सक्छन् । मानिसहरू जहाँ जान्छन्, त्यहाँ आफ्नो दुर्गन्ध र फोहोरको पदचिह्न छाड्छन् । संसारलाई यस्ता व्यक्तिबाट बचाउनुहोस्,’ कंगनाले भिडियोको क्याप्सनमा लेखेकी छन् ।

तर उनलाई प्रतिक्रिया दिँदै कतिपयले भने मानिस भगवान्का लागि कहिल्यै पनि प्रिय नभएको बताएका छन् । ‘तपाईंलाई कसले भन्यो कि भगवान्का लागि मानिस प्रिय हो,’ खेमराज नामका ट्वीटर प्रयोगकर्ताले प्रश्न गरेका छन् । कतिपयले भने निकै सान्दर्भिक र महत्त्वपूर्ण विषय उठान गरेको भन्दै कंगनालाई धन्यवादसमेत दिएका छन् ।

१९८७ को मार्च २३ मा हिमाचल प्रदेशमा जन्मिएकी कंगना हलिउडकी चर्चित अभिनेत्री हुन् । उनी ‘ग्याङ्टर’ मार्फत २००६ मा फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । उक्त फिल्मबाट उनले नवनायिकातर्फ फिल्मफेयर अवार्डसमेत हात पारेकी थिइन् । उनको पछिल्लो फिल्म ‘इमरजेन्सी’ अक्टोबर २० मा रिलिज हुँदै छ । फिल्ममा उनले भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् ।

प्रकाशित : जेष्ठ १८, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?