एनसेल कन्सर्टमा झुमे युवा

विराटनगर — एनसेल आजियाटा लिमिटेडद्वारा शनिबार साँझ विराटनगरको हाटखोला मैदानमा आयोजित कन्सर्टमा कोशी प्रदेशका युवायुवती झण्डै आठ घण्टा झुमे । दर्शकले चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुतिमा गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए ।

एनसेल कन्सर्टमा झुमे युवा

सदाबहार गायक दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डदेखि आशीष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डितले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकलाई मन्त्रमुग्ध पारे । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा उनको गृह नगरका दर्शकमा रौनकता थप्यो ।

दिउँसोको उखरमाउलो गर्मीको प्रवाह नगरी सांगीतिक कार्यक्रममा झुमेका कोशी प्रदेशको राजधानीका हजारौं दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो । उनीहरुले अस्मिता अधिकारी र सुनिल पण्डितका गीति प्रस्तुतिमा मदमस्त भएर नाचेका थिए ।

द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरुमा झनै उर्जा थपिदिएको थियो । द एलिमेन्ट्सले उर्जा, सपनाको मायालु, बिर्सिने हौ कि लगायतका आफ्ना हिट गीतका साथ दर्शकलाई संगीतमा डुबाउँदै झुमायो । ‘धोकेबाज हौ तिमी, क्या दामी भो, पिलायो साथीले’ जस्ता लोकप्रिय गीत प्रस्तुत गरेका युवायुवतीका चर्चित गायक शिव परियारले विराटनगरवासीलाई उफारेका थिए ।

त्यस्तै लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामीजस्ता र्‍याप गीतले सांगीतिक कार्यक्रम झनै तातिएको थियो । दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, कालीकाली हिस्सी परेकी, मायाको डोरी लगायतका चर्चित गीतको प्रस्तुतिले शनिबार साँझ विराटनगर संगीतमय बन्यो । ‘रमाऔ सधै सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्दै देश विदेशमा रहेका सबै नेपालीसँग फेसबूक लाइभमार्फत जोडिएर खुसी साटासाट गर्न सफल भएको एनसेलले जनाएको छ । ग्राहक सुविधाका लागि कार्यक्रमस्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरु पनि रहेको थियो । यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ मा काठमाडौंमा एनसेल प्रिजेन्टस् १६ औं दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्यरुपमा आयोजना गरेको थियो ।

प्रकाशित : जेष्ठ १४, २०८० २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?