नेपाल-अमेरिका अन्तराष्ट्रिय महोत्सवमा ३७ फिल्म देखाइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — गत वर्ष लघु फिल्मको विधातर्फ कान्स जितेको अविनाश विक्रम शाह निर्देशित फिल्म 'लोरी' 'नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइँदैछ । यससँगै सुजित बिडारी निर्देशित  'ऐना झ्यालको पुतली', पाकिस्तानका साइम सदिक निर्देशित 'जोइल्याण्ड' र दीपक रौनियार निर्देशित 'फोर नाइट्स'लगायतका फिल्म महोत्सवमा देखाइनेछन् ।  

जुन २२ देखि २५ सम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायतका ११ देशका फिल्म समेटिनेछन् । फिचर, वृत्तचित्र, लघु र एनिमेसन विधामा ३७ फिल्म देखाउने भएको हो ।

वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र फिल्म एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा प्रदर्शन हुने जनाइएको छ ।

आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' देखाउँदै महोत्सवको उद्घाटन हुनेछ । त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको 'पासाङ: इन द स्याडो अफ एभरेष्ट'को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण गरिनेछ । त्यस्तै महोत्सवमा सुवर्ण थापा निर्देशित 'द सिक्रेट अफ राधा'को विशेष प्रदर्शन हुनेसमेत जनाइएको छ ।

उत्कृष्ट फिल्महरु पुरस्कृत पनि गरिने बताइएको छ । महोत्सवमा फिल्म संस्कृति र नयाँ प्रविधिबारे अन्तर्क्रियात्मक छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको 'पार्क्स तथा योजना आयोग'को सहयोगमा उक्त छलफल हुने जनाइएको हो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:५३
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लाबाट सुरू भयो नागरिक एपको डिजिटल साक्षरता कार्यक्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातवटै प्रदेशमा गर्ने भनेको नागरिक एपसम्बन्धी सचेतना कार्यक्रम बिहीबार कर्णाली प्रदेशको जुम्लाबाट सुरु भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नागरिक एपमार्फत डिजिटल सेवा लिँदै कार्यक्रमको सुरुवात गरेका थिए ।

नागरिक एपका तर्फबाट इन्जिनियर प्रविन चौहानले विशेष प्रस्तुति दिएका थिए भने प्रयोगकर्ता र सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो । एपमा उपलब्ध सेवाहरूका बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिन लागेको इन्जिनियर चौहानले बताए । सरकारी सेवाहरू सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उद्देश्यले सरकारले नागरिक एप प्रयोगमा ल्याएको थियो । यो एप हालसम्म २७ लाख बढीले डाउनलोड गर्नुका साथै ५३ बढी सेवाहरू उपलब्ध रहेको केन्द्रले जनाएको छ ।

एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न केन्द्रले सबैलाई आग्रह गरेको छ । अन्य सेवाहरू थप्दै यसलाई प्रभावकारी बनाउने केन्द्रको दाबी छ । नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइसेन्सबाट पनि खाता खोल्न सकिन्छ ।

यद्यपी, नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरूमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको जनाएको छ । कर्णालीको सुर्खेतमा जेठ १२ गते, धनगढीमा जेठ १४ गते र जेठ २६ मा गण्डकी प्रदेशको पोखरामा साक्षरता कार्यक्रम हुँदैछन् ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×