कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-अमेरिका अन्तराष्ट्रिय महोत्सवमा ३७ फिल्म देखाइँदै

काठमाडौँ — गत वर्ष लघु फिल्मको विधातर्फ कान्स जितेको अविनाश विक्रम शाह निर्देशित फिल्म 'लोरी' 'नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइँदैछ । यससँगै सुजित बिडारी निर्देशित  'ऐना झ्यालको पुतली', पाकिस्तानका साइम सदिक निर्देशित 'जोइल्याण्ड' र दीपक रौनियार निर्देशित 'फोर नाइट्स'लगायतका फिल्म महोत्सवमा देखाइनेछन् ।  

नेपाल-अमेरिका अन्तराष्ट्रिय महोत्सवमा ३७ फिल्म देखाइँदै

जुन २२ देखि २५ सम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायतका ११ देशका फिल्म समेटिनेछन् । फिचर, वृत्तचित्र, लघु र एनिमेसन विधामा ३७ फिल्म देखाउने भएको हो ।

वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र फिल्म एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा प्रदर्शन हुने जनाइएको छ ।

आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' देखाउँदै महोत्सवको उद्घाटन हुनेछ । त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको 'पासाङ: इन द स्याडो अफ एभरेष्ट'को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण गरिनेछ । त्यस्तै महोत्सवमा सुवर्ण थापा निर्देशित 'द सिक्रेट अफ राधा'को विशेष प्रदर्शन हुनेसमेत जनाइएको छ ।

उत्कृष्ट फिल्महरु पुरस्कृत पनि गरिने बताइएको छ । महोत्सवमा फिल्म संस्कृति र नयाँ प्रविधिबारे अन्तर्क्रियात्मक छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको 'पार्क्स तथा योजना आयोग'को सहयोगमा उक्त छलफल हुने जनाइएको हो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?