३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मेटाले ल्याएको खुसी

रीना मोक्तान

काठमाडौँ — भारतको प्रतिष्ठित 'महिन्द्रा एक्सिलेन्स इन थिएटर अवार्ड (मेटा)मा मनोनीत भइसकेपछि 'दि डिपार्टेड डन' चैत १० देखि १४ सम्म मञ्चन भयो । निर्देशक विमल सुवेदी अन्तिम मञ्चन हेर्न अघिल्लो दिन दिल्ली पुगेका थिए ।

मेटाले ल्याएको खुसी

आफ्नो लेखन र निर्देशन रहेको नाटकको त्यस दिनको प्रस्तुति सोचेजस्तो भएन । नाटक मञ्चमा प्रत्यक्ष प्रस्तुत हुने हुँदा नाटक सँधै एकैनासको हुँदैन । अन्तिम दिनको प्रस्तुति हेरिसकेपछि एउटा अवार्ड त जितिएला भन्ने विमलको आस थियो । तर, हालै सम्पन्न अवार्ड समारोहमा नाटकले तीन अवार्ड उचाल्यो, उत्कृष्ट संगीत, उत्कृष्ट कोरियोग्राफी र उत्कृष्ट अभिनेता ।

यस्तो ठूलो प्लेटफर्ममा आफ्नो कामको चर्चा हुँदा विमल खुसीले गदगद छन् । 'अब हाम्रो टिममा भिक्टर र म मात्र अलि परिपक्वहरु थियौं । धेरै त नयाँ हुनुहुन्थ्यो । त्यसैले पनि तीनवटै अवार्ड त पाउँदैनौं भन्ने सोचें । तर, तीनवटा विधामै हामीले अवार्ड जित्यौं । खुसी भयौं । अवार्ड समारोह नै भव्य थियो । अवार्ड घोषणा हुँदा टिमका अरु साथिहरु स्टेज उक्लनु हुँदा म सँगै जान सकिनँ । नर्भस भएँ, स्टेजमा जाने आँट नै आएन,' उनले भने, 'म खासै यस्तो कुरालाई बाहिर ल्याइरहेको हुँदिनँ । तर, यसपटक अवार्डको समाचार यसरी आइरह्यो कि एउटा पनि जितिएन भने कस्तो नमज्जा हुन्छ होला भनेर सोचेको थिएँ । '

नाटकले दर्शकबाट यति सकारात्मक प्रतिक्रिया बटुल्यो कि मञ्चन सकिनासाथ यूकेको राजदूतावास, एनसिपिए (नेसनल सेन्टर फोर द पर्फमिङ आर्ट) थिएटर, पृथ्वी थिएटर मुम्बईलगायतले 'दि डिपार्टेड डन'लाई नाटक मञ्चनको अफर गरेको छ । उनको टिम अफर आएका यी प्लेटफर्महरुमा पुगेर नाटक मञ्चन गर्ने तयारीमा छ । 'सायद अबको तीन महिनापछि हामी यो नाटकलाई लिएर ती ठाउँहरुमा पुग्ने छौं । खासमा हाम्रो नाटक नै वर्ल्ड टुर गर्ने विषयमाथि बनेको छ,' विमलले खुसी हुँदै सुनाए, 'मणिपुर गएर अझै रिहर्सल गराउँछु अनि टुरमा हिँड्छौं ।'

खासमा 'डिपार्टेड डन' नै अवार्डको खाता खोलेको थियो । सुरुआतमै 'बेस्ट इनोभेटिभ साउन्ड डिजाइन'मा 'दि डिपार्टेड डन'को नाम घोषणा भयो । मनोज बाजपाय, सौरभ शुक्ललगायतका बलिउडका चर्चित कलाकारको उपस्थिति रहेको समारोहमा उनको टिम पछाडिको पंक्तिमा थिए । सुरुमै संगीतमा आफ्नो नाटकको नाम घोषणा हुँदा विमल अन्योलमा परे । 'त्यतिबेला झट्ट मणिपुरको नाममात्र देखें । साथीहरु सबैले ताली बजाउन थालेपछि पो थाहा भो हाम्रै नाटकले जितेछ भन्ने,' विमलले भने ।

नेपाली रंगकर्मीले दर्शक रिझाउने काम छोडेर अन्तर्राष्ट्रिय प्लेटफर्म पुग्न मिहिनेत गर्नुपर्ने पनि विमलको सुझाव छ । 'नेपाली रंगमञ्चको तितो यथार्थ के छ भने हामी दर्शकले रुचाउने/ताली आउने काममात्र धेरै गरिरहेका छौं । नयाँ प्रयोग गर्न डराउँछौं । म कहिल्यै त्यतातिर लागिनँ । तर, मलाई जे कुरामा विश्वास थियो त्यो गरें । तत्काल नतिजा खोज्नु पनि हुँदैन । नेपाल आएर ४/५ वर्ष नाटक गरिरहँदा त्यसको समाचार आउँथेन । तर, म नाटक गरिरहन्थे,' विमलले भने, 'त्यही हो हामीमा निरन्तरता हुनुपर्‍यो । आफूमाथि विश्वास हुनु पर्‍यो । यो नाटकभन्दा पहिला मैले धेरै राम्रा नाटक गरें । तर हामीसँग प्लेटफर्म थिएन । भारतमा मेटाको प्लेटफर्म नभइदिएको भए हाम्रो नाटक यति चर्चा हुन्थेन । अब हामी रंगकर्मीले पनि हाम्रा नाटकलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लैजान त्यही स्तरमा काम गर्न थाल्नुपर्छ ।'

उनी थप्छन्, 'अब नेपाली रंगकर्मी खुम्चिएर बस्नु हुँदैन । पखेटा फैलाउनुपर्छ ।'

प्रकाशित : चैत्र १६, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?