फिल्म प्राविधिकका लागि 'सिफ्ट सिस्टम' 

काठमाडौँ — चलचित्र प्राविधिक संघ (नेफ्टा)ले छायांकनमा 'सिफ्ट सिस्टम' कार्यान्वयनमा ल्याउने भएको छ । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको नेफ्टाका अध्यक्ष पुस्कर लामाले जनाए । 

फिल्म प्राविधिकका लागि 'सिफ्ट सिस्टम' 

अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागू गरिएको उनको भनाइ छ । उनका अनुसार बिहान ७ देखि बेलुका ७, र बिहान ९ बजेदेखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार प्राविधिकले काम गर्नुपर्नेछ ।

अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । '२०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी थियो तर कोरोना महामारीले रोकियो,' अध्यक्ष लामाले भने, 'फिल्मको अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याएका हौं । जिम्मेवार श्रमिक संस्थाले भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ ।'

'सिफ्ट सिस्टम' कार्यान्वयन गर्नका लागि निर्माता संघ र चलचित्र संघजस्ता सम्बद्ध निकायसँग नेफ्टाले सहकार्य गर्ने तयारी छ । त्यस्तै, नेपालमा छायांकन गर्न आउने विदेशी फिल्मले अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने र नेपालमा छायांकन गर्दा नेफ्टासँग अनुमति लिनुपर्ने नियम पनि नेफ्टाले ल्याउने तयारीमा छ ।

'छिमेकी मुलुकमा फिल्म छायांकनलाई जाँदा त्यहाँका एसोसिएसनसँग सहकार्य गर्नुपर्ने नियम छ । सोही नियमलाई हामीले नेपालमा समेत थालनी गर्न लागेका हौं,'लामाले भने,'प्राविधिकको हकहित र सुरक्षालाई ध्यानमा राख्दै दैनिक आइपर्ने समस्यालाई न्यूनीकरण गर्न यो नियम ल्याउन लागेका हौं ।'

प्रकाशित : चैत्र १६, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?