ओस्कर विजेता मिसेलको दुनियाँ हेर्ने नजर बदल्दिएको नेपालको त्यो भूकम्प


काठमाडौँ — पहिलो पटक ओस्कर जित्ने एसियाली महिलाको इतिहास रचेपछि चौतर्फी चर्चाको केन्द्रमा छिन् अभिनेत्री मिसेल योह । ओस्करसँगै पहिलो पटक जितेको गोल्डेन ग्लोब, स्क्रिन एक्टर्स गिल्ड अवार्ड ६० वर्षीया अभिनेत्री योहका लागि आफैंमा ऐतिहासिक क्षण बन्यो ।

लामो समयको फिल्म करिअरमा एकैपटक पाएको यो उपलब्धिलाई योह नेपालसँग जोडेर हेर्छिन् । सन् २०१५ मा नेपालमा गएको त्यो भूकम्प, जसले दुनियाँलाई हेर्ने योहको नजर नै बदलिदियो ।
२०७२ को वैशाख १२ मा योह पति जिन टोडसँग नेपालमा थिइन् । नेपालमा सडक सुरक्षा अभियानको विशेष अतिथिका रुपमा उनी यहाँ उपस्थित थिइन् । त्यसै बेला विनाशकारी भूकम्प गयो । भूकम्पले उनलाई यसरी हल्लायो कि उनी आफ्नो खुट्टामा उभिन सकिनन् ।
'त्यतिबेला अचानक पृथ्वी हल्लिएको अनुभव गरें । म बसेको घरको बाहिर विनाशकारी भूकम्पले उक्त देशलाई तहसनहस पारिसकेको थियो । म उभिएको जमिन यसरी हल्लियो कि मैले खुट्टा पनि उठाउन सकिनँ । यसरी म पहिले कहिल्यै आत्तिएको थिइन्ँ, 'द न्युयोर्क टाइम्समा योहले ८ वर्षअघिको उक्त भूकम्प अनुभवबारे लेखेकी छन्, 'बाँच्नका लागि ढोकासम्म पुग्न घुँडाको सहारामा हिँडें । बल्ल बाहिर निस्कियौं । धेरैबेर हामी बाहिरै बस्यौं । त्यो भवन फेरि बस्न लायक छ/छैन भन्ने नै निश्चित थिएन ।'
भूकम्पले कुनै क्षति नपुर्याए पनि यसको प्रभावबाट अछूत रहन नसकेको उनले स्वीकारेकी छन् । भूकम्प योहका लागि पनि त्रासदीपूर्ण नै रह्यो । अझै त्यो क्षणलाई योहले बिर्सेकी छैनन् । त्यतिबेला योह बसेको होटल बस्ने अवस्थाको नभएपछि विमानस्थल फर्केकी थिइन् । 'त्यतिबेला विमान नचल्दासम्म सुरक्षित स्थानमा २ दिन हामीलाई राखिएको थियो । फर्कने दिन सडकबाट मैले देखें भूकम्पले भत्किएको, बिग्रिएको अवस्था । त्यतिबेला फर्कनका लागि मसँग घर थियो तर त्यहाँ हजारौं परिवारको घर त्यहाँ उजाडिएको थियो ।'
यस्तो विपत्तिहरुले पहिल्यैदेखि विपद्मा परेकाहरुलाई समस्यामा पारेको कुरा उनले भूकम्पको समयमा राहत लिएर फर्कँदा अनुभव गरेकी थिइन् । जेठको पहिलो साता उनी भूकम्प पीडितलाई सहयोग गर्न नेपाल फर्केकी थिइन् । राहत कार्यक्रमका लागि तीन हप्ता नेपालमा बिताएकी उनी यूएनडीपीको सद्भावना दूतका रूपमा सन् २०१७ मा तेस्रो पटक नेपाल आएकी थिइन् ।
गत महिनामात्रै जब टर्की र सिरियामा भूकम्प गयो, तब योहको दिमागमा नेपालकै भूकम्प घुमेको थियो । यस्तो किसिमको संकटले गरिब, महिला र बालिकाहरुलाई सोझै असर पार्ने योह बताउँछिन् । विपत्तिको समयमा सरसफाई र स्वास्थ्य सुविधा अनि सरक्षाका असर महिलालाई नै पर्ने गरेको उनको भनाइ छ । 'सद्धभावना दूत हुँदा विद्यालयमा महिलाहरु किन पछि पुग्छन्, सुद्ध पानी, भ्याक्सिन, पहिचान पत्र र काउन्सेलिङमा पनि उनीहरु कसरी पछाडि पर्छन् भन्ने देखेको छु । महिलाहरु नै अन्तिममा ऋण र काम पाउनेहरु हुन्छन्,' उनले लेखेकी छन् ।
महिलाहरु नेतृत्वदायी भूमिकामा नल्याउँदा संकटको समयमा उनीहरुलाई नै धेरै असर पुग्ने गरेको योहको धारणा छ । त्यसैले महिलालाई सूचना, रोजगारी, दक्ष जनशक्तिको तालिमदेखि ऋण अनि जीवन बिमाका व्यवस्थामा समान पहुँच गाराउनुपर्ने योहको बुझाइ छ । त्यसैले उनी थप लेख्छिन्,'म ६० को भएँ र बल्ल ओस्कर जितेँ । मलाई थाहा छ विपत्तिको फ्रन्टलाइनमा काम गर्ने महिला हिरोहरुसँग मेरो तुलना हुँदैन । ती महिलाहरु जो आफ्नो समुदायका लागि खट्दैछन्, बालबालिका स्याहार-सुसारमा लागेका छन्, वृद्धवृद्धाको हेरचाह गर्दैछन् । उनीहरुले गरेको कामलाई थुप्रो मानिसबीच सुनाउन/भन्न/पुर्याउन मात्र सक्छु । आउनुस् अब निर्णय गरौं, नेतृत्वमा महिलालाई नछुटाऔं ।'
प्रकाशित : चैत्र १, २०७९ २१:११