कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाली फिल्म कहिले पुग्छन् ओस्कर ?

'नेपालले ओस्कर कहिले जित्ला भन्ने कुरा कहिले चिठ्ठा पर्छ भन्नुजस्तै हो । राम्रो भाग्य छ भने अर्कोपालि नै हामीले ओस्कर जित्न सक्छौं नि । अहिले हामीसँग राम्रा फिल्मकर्मी छन्, नेपालमा सुन्दर कथाहरू छन् ।' - छिरिङ रितार शेर्पा, निर्देशक
'ओस्करमा जसले धेरै प्रचार गर्न सक्छ उनीहरूको फिल्म नै जित्ने हो । हामीसँग पैसा थिएन । हामीलाई आफ्नो खल्तीबाट पैसा हालेर प्रचार गर्नसक्ने अवस्था छैन । बिनापैसा त्यहाँ केही पनि हुँदैन ।' - रामकृष्ण पोख्रेल, निर्माता, ऐना झ्यालको पुतली
रीना मोक्तान

काठमाडौँ — यो वर्ष नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले 'ऐना झ्यालको पुतली'लाई ९५ औं ओस्करका लागि सिफारिस गर्‍यो । हरेक वर्ष समितिले यसरी फिल्म सिफारिस गरिरहन्छ । यो पटक'अन्तर्राष्ट्रिय फिचर फिल्म' विधामा निर्देशक सुजित बिडारीको फिल्म सिफारिसमा पर्‍यो ।

नेपाली फिल्म कहिले पुग्छन् ओस्कर ?

तर, के यो फिल्म ओस्कर दौडमा सहभागी भयो त ? जवाफ हालै घोषित विजेताहरूको सूचीमै भेटिन्छ । यो विधामा जर्मनीको'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट'ले बाजी मारिसक्यो । २०औं ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको एसियन विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको यो फिल्म ओस्करले सार्वजनिक गरेको मनोनयनमा परेन । ओस्कर जित्नु त परको कुरा, सर्टलिस्टमा समेत अटाएन । आखिर नेपाली फिल्म ओस्कर मनोनयन प्रक्रियामै चुक्छन् कि त्यहाँसम्मको यात्रा गर्नमै हिम्मत हार्छन् ? छिमेकी राष्ट्र भारतलाई यो वर्ष ओस्करले दिएको खुसीबीच नेपालीहरूमा यो प्रश्न उठ्नु स्वाभाविक हो ।

नेपालीले अझै २२ वर्षअघिको एरिक भ्याली निर्देशित 'क्याराभान'को ओस्कर मनोनयनमै चित्त बुझाइरहेका छन् । फ्रान्सेली निर्देशकले निर्देशन गरेको 'क्याराभान'लाई नेपाली फिल्म नमान्ने पनि एउटा जमात छ । हालसम्म नेपालबाट १२ फिल्म ओस्करका लागि सिफारिस भए । तर, ती फिल्महरुले 'नाटू-नाटू'ले भारतमा ल्याइदिएको जस्तो तरङ्ग नेपालमा ल्याउन सकेनन् । बर्सेनि सिफारिस गरिने नेपाली फिल्महरु कहाँ पुगेर अड्किन्छन् त? केही उदाहरण हेरौं ।

यो वर्ष 'ऐना झ्यालको पुतली' टिमले पनि ओस्कर 'लबिङ'का लागि प्रयास गरेको थियो । धेरै फिल्मकर्मी लबिङका लागि सुरुमै प्रचारक खोज्छन् । खासमा त्यहीँ पुगेर आफ्नो फिल्मको प्रचार गर्न नसक्नेहरू प्रचारककहाँ पुगिरहेका हुन्छन् । प्रचारकले सुरुमै सोध्छन्,'प्रचारका लागि बजेट कति छ ?' 'ऐना झ्यालको पुतली'का निर्माता रामकृष्ण पोख्रेल आफूहरुसँग फिल्म प्रचारको रकम अपुग हुँदा मनोनयन प्रक्रियामा अगाडि बढ्न नसकेको बताउँछन् ।

'ओस्करमा त आफ्नो फिल्मको प्रचार जसले धेरै गर्न सक्छ । धेरैभन्दा धेरै दर्शकलाई जसले फिल्म देखाउन सक्छ । उनीहरूको फिल्मले नै जित्ने हो । हेर्ने व्यक्तिलाई राम्रो/नराम्रो लागे पनि कम्तीमा फिल्मको विषयमा चर्चा गरिदिने व्यक्तिबीच तपाईंको फिल्मलाई पुर्‍याउनुपर्‍यो,'पोख्रेलले भने,'हामीले त्यो कोसिस गर्दा बजेटमै गएर कुरा अड्कियो । हामीसँग खासै पैसा थिएन । फिल्म बनाइसकेपछि विदेशमा गएर नेपालीले आफ्नो खल्तीबाट पैसा हालेर प्रचार गर्ने वातावरण हुँदैन । धेरै मिटिङ गरियो । २/४ ठाउँमा फिल्म देखाउने कोसिस पनि गरियो । बिनापैसा त्यहाँ केही पनि हुँदैन । हामीले कोसिस त गर्‍यौं । तर, हाम्रो कोसिसभन्दा बाहिरको कुरा रहेछ भनेर थाहा पाएपछि प्रक्रियामा अगाडि बढेनौं ।'

नेपालमा फिल्म निर्माणदेखि प्रदर्शनसम्म आइपुग्दा बजेट सक्किइसकेको हुन्छ । भारतमा राज्यस्तरबाटै ओस्कर जाने फिल्मका लागि करोड बढी रकम 'प्रोमोसनल फन्ड' भनेर छुट्याइएको हुन्छ ।'भिलेज रकस्टार्स'ले प्रचार रकमकै अभावमा ९१औं ओस्कारमा राम्रो उपस्थिती जनाउन नसकेको खबर बाहिरिँदा सन् २०१६ मै भारतको सञ्चार मन्त्रालयले ओस्करमा जाने फिल्मलाई ५० लाखदेखि १ करोडसम्मको रकम सहयोग गर्ने घोषणा गरेको थियो ।

नेपाली फिल्मको अधिकतम बजेट नै २/३करोड हुन्छ । त्यस्तोमा लाखौं खर्चेर ओस्करका लागि थप प्रचारको ल्याकत फिल्मकर्मीमा हुँदैन । राज्यस्तरबाट त्यस किसिमको आर्थिक सहयोग नहुँदा पनि आफूहरूले फिल्मलाई ओस्करमा पुर्‍याउन नसकिएको पोख्रेल सुनाउँछन् । 'हामीलाई त राज्यले एक रुपैयाँ पनि दिँदैन । त्यसैले विश्वका फिल्महरुसँग प्रतिस्पर्धा गर्ने आँट हामीलाई भएन । शरीरमा शक्ति नै नभएपछि के हुन्छ? ऐना झ्यालको पुतलीलाई केही कदम चाल्ने आँट नै भएन,'उनले भने,'ओस्करमा जाने फिल्मका लागि खासमा देशले नै खर्च जुटाउनु पर्ने हो । खेलकुदमा जुन किसिमको लगानी राज्यले गरेको छ, फिल्ममा त्यत्ति पनि छैन । अबको १०/१५ वर्षभित्र ओस्करको कुनै मनोनयमा पर्न अथवा कुनै विधामा जित हासिल गर्ने लक्ष्य राख्छौं भने राज्यले अहिलेदेखि नै खर्च गर्न सुरु गर्नुपर्छ ।'

हरेक वर्ष नेपालको ओस्कर समितिले फिल्म छनोट गरिसकेपछि प्रचारका लागि फन्ड पनि छुट्याइदिनुपर्ने उनी बताउँछन् । 'ओस्कर जित्नु भनेको त निर्देशक र निर्माताको मात्र उपलब्धि हुँदैन नि ! त्यो त त्यही देशको पनि जित हुन्छ । ओस्करको अन्तर्राष्ट्रिय फिचर फिल्मको विधाको मनोनयनमा पर्दा फिल्मको भन्दा देशको नाम आउँछ,'पोख्रेलले भने। हुन त ०७८ मा चलचित्र विकास बोर्डले 'चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्नेसम्बन्धी कार्यविधि'मा ओस्कर मनोनयनमा पर्ने फिल्मलाई २ लाख र जित्नेलाई ८ लाख दिने घोषणा गरेको थियो । तर, मनोनयन प्रक्रियामा अगाडि बढ्न साथ नदिने जितिसकेपछि रकम दिनु अर्थहीन भएको भन्दै फिल्मकर्मीले आलोचना गरे ।

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सकी सदस्य गुनित मोंगाले एक सञ्चारमाध्यमलाई ओस्कर प्रचारका लागि ३ देखि ५ करोड रकम आवश्यक पर्ने बताएकी थिइन् । 'तपाईंलाई पीआर चाहिन्छ, विज्ञापन र फिल्म प्रदर्शनका लागि आर्थिक सहयोग चाहियो । त्यससँगै लस एन्जलसमा बस्न खर्च चाहियो । अमेरिकामा फिल्मको बजार बढाउनुपर्‍यो । यो रातारात हुने कुरा पनि होइन,'उनले भनेकी थिइन् ।

यो वर्ष ओस्करमा 'ओरिजिनल सङ' को अवार्ड जितेको 'आरआरआर'ले 'लबिङ'मा मात्रै ८० करोड बढी रकम खर्चेको सञ्चारमाध्यमहरूमा छ्यापछ्याप्ती खबर भेटिन्छ । जब कि 'फिल्म फेडरेसन अफ इन्डिया'ले भारतबाट ओस्कारका लागि 'आरआरआर'को सट्टा गुजराती फिल्म 'छेल्लो शो'लाई आधिकारिक रूपमा छनौट गरेको थियो । 'लगान'को समयमा पनि आमिर खानले ओस्कर अभियान(भोटर भेट्ने, पेड सर्भिस…)मा करोडौं खर्चेको चर्चा अझै पढ्न पाइन्छ । हुन त ओस्कर नै फिल्मकर्मीका लागि अन्तिम उद्देश्य होइन । विश्वमा कान्स, बर्लिन, भेनिसलगायत थुप्रै प्रख्यात अवार्डहरू छन् ।

तर, अवार्डमा पुग्नु फिल्म प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारसम्मको पहुँचका हिसाबले फाइदाजनक पनि छ । नेपाल सरकारले ओस्कर पुग्ने फिल्मलाई आर्थिक सहयोग गर्नुपर्ने निर्देशक छिरिङ रितारको भनाइ छ ।'ओस्कर जाने फिल्मलाई कति देशले सहयोग गरिरहेका हुन्छन् । उनीहरूले लस एन्जल्समा फिल्मको प्रचार गर्ने एजेन्ट नै खटाएका हुन्छन् । तर, प्रमुख त फिल्म नै राम्रो बन्नुपर्‍यो । फिल्म नराम्रो बन्दा त त्यहाँ पुग्दैन तर राम्रो फिल्म त्यहाँसम्म पुर्‍याउन लबिङले भूमिका खेल्दो रहेछ,'छिरिङले आफ्नो अनुभव सुनाए,'सरकारले आर्थिक सहयोग गर्नुपर्छ । सरकारले यसलाई खर्चका रूपमा भन्दा पनि लामो समयका लागि गरिएको लगानीको रुपमा हेर्नुपर्छ । ओस्करमा फिल्म पुग्दा नेपालको पर्यटन र सौम्य शक्ति बढ्ने भयो । विदेशीहरू छायांकनका लागि नेपाल आउन थाले थुप्रैले रोजगार पाउँछन् ।'

सन् २००० मा छिरिङ निर्देशित 'मुकुण्डो' पनि ओस्कर मनोनयनको दोस्रो चरण (प्रि-नोमिनेसनको शीर्ष २०)मा पुगेको थियो । त्यतिबेला उक्त विधामा आङ लीको 'क्राउचिङ टाइगर, हिडन ड्रयागन'ले जित हासिल गर्‍यो । 'मुकुण्डो'पछि मुनामदन, बसाइ, सुनगाभा, झोला, टलकजंग भर्सेस टुल्के, कालोपोथी, सेतो सूर्य, पञ्चायत, बुलबुल, ऐना झ्यालको पुतली नेपालबाट ओस्करमा सिफारिसमा पर्‍यो । निर्माता पोख्रेलले 'द साइलेन्ट अफ इको'लाई पनि लघु फिल्मतर्फको विधामा मनोनयनमा पुर्‍याउने अभ्यास गरेका थिए । धेरै दर्शकले हेरून भनेर फिल्मलाई उनले युट्युबमा समेत सार्वजनिक गरे । तर, फिल्म मनोनयन प्रक्रियामै अगाडि बढ्न सकेन ।

यो वर्ष कान्समा 'स्पेसल मेन्सन' जितेको अविनाशविक्रम शाह निर्देशित लघु फिल्म 'लोरी'ले पनि ओस्कर यात्रा गरेको थियो । '‌ओस्कर क्वालिफाइङ अवार्डमा जितेको, अमेरिकामा केही समय प्रदर्शन भएको फिल्मले लघु विधातर्फ फिल्म पठाउन पायो । 'सुरुमा तपाईंको फिल्म राम्रो हुनुपर्‍यो । त्यसपछि लबिङ पनि खर्च गर्नुपर्छ,' लोरीका निर्माता अनुप पौडेलले भने,'हाम्रो फिल्म १५ वटा फिल्मको सर्टलिस्ट अर्थात मनोनयनको दोस्रो चरणबाटै बाहिरियो । करिब ३० हजार अमेरिकी डलर हामीले खर्चेका थियौं । तर, फिल्म प्रारम्भिक सूचीमा पर्न सकेन ।'

लघु फिल्महरूले प्रख्यात फिल्म फेस्टिभलमा पहुँच बढाए पनि ओस्करसम्मको यात्रा तय गर्न खर्चकै अभाव भएको अनुप बताउँछन् । 'सरकारले ओस्कर जाने फिल्मलाई आर्थिक सहयोग गर्नुपर्छ । चलचित्र विकास बोर्डले एकेडेमी सदस्यलाई सम्पर्क गर्न सक्ने हैसियत बनाउनु पर्‍यो । एनआरएनहरूले पनि त्यहाँ भूमिका खेल्न सक्छन्,'अनुपले भने,'लघु फिल्म ओस्कर पुग्न खासमा नेपालले ती फिल्मलाई पनि चिन्न सक्नुपर्‍यो । विडम्बना अझै चलचित्र विकास बोर्डले लघु फिल्मलाई चिन्न सकेको छैन । हामीले कान्स जितिसकेपछि पनि बोर्डबाट केही पाएनौं ।'

कार्तिकी गोन्जालेजनिर्देशित भारतीय डकुमेन्ट्री 'द एलिफेन्ट ह्विस्परर्स' ओस्करमा उत्कृष्ट सर्ट डकुमेन्ट्रीको अवार्ड जित्दा नेपाली डकुमेन्ट्रीमेकरहरूलाई हौसला मिलेको छ । तर ओस्करमा पुग्न कन्टेन्ट राम्रो हुनुका साथै सबैको साथ सहयोग चाहिने निर्देशक छिरिङ बताउँछन् ।

'नेपालले ओस्कर कहिले जित्ला भन्ने कुरा कहिले चिठ्ठा पर्नु भन्नुजस्तै हो । राम्रो भाग्य छ भने अर्कोपालि नै हामीले ओस्कर जित्न सक्छौं नि । अहिले हामीसँग राम्रा फिल्मकर्मी छन्, नेपालमा सुन्दर कथाहरू छन् । त्यही हो फिल्मकर्मीले त्यो कथालाई भन्न सक्नुपर्‍यो,'जवाफमा छिरिङले भने ।

प्रकाशित : चैत्र १, २०७९ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?