भुपीको कवितामा नाटक- मनोरञ्जन - कान्तिपुर समाचार

भुपीको कवितामा नाटक

कान्तिपुर संवाददाता

काठमाडौँ — मण्डलामा नयाँ नाटक मञ्चन सुरु भएको छ । रोज स्वाइट्स निर्देशित 'गलत लाग्छ मलाई मेरो देशको इतिहास'मा कलाकार राजकुमार पुडासैनीको एकल प्रस्तुति छ । वान वर्ल्ड थिएटरको प्रस्तुति रहेको यो नाटक माघ २१ देखि २८ गतेसम्म मञ्चन हुनेछ ।

नाटक कवि भुपी शेरचनको त्यही शीर्षकको कवितामा आधारित छ । देशमा तानाशाही राणा शासन, राजतन्त्र ढलेर प्रजातन्त्र आयो । तर जस्तो व्यवस्था आए पनि जनताको अवस्था जस्ताको त्यस्तै । व्यस्था फेरिए पनि आम जनताको जीवनस्तर परिवर्तन हुन नसकेको विषयलाई नाटकमा मृत(लास) पात्रमार्फत देखाइएको छ । कात्रोमा बेरिएका उनी बिस्तारै चिताबाट उठेर देशको इतिहास लेख्ने प्रयासमा देखिन्छ । हातमा कलम छ, प्वाल परेका कापीहरु छन् ।

त्यही कापीमा केही लेख्न खोज्छ, तर सक्दैन । झट्ट हेर्दा उनी लेखिसकेको त्यही इतिहासलाई पुन:लेखनको अभ्यासमा देखिन्छ । विगतमा लेखिएको इतिहासलाई भत्काउन खोज्ने यो बिम्वले ती तमाम लेखिएका घट्नाहरुमा पुनर्विचार गर्न लगाउँछ । सेतो कात्रोमा बेरिएको मृत चरित्रले मृत इतिहास, लेख्नेहरुको देख्न नसकेको सत्य र लेखिन बाँकी तथ्यहरुको दर्शकलाई डोर्‍याउँछ ।

नाटकमा खासै संवाद छैन । कविता छ । 'एब्सर्ड' शैलीको यो नाटकमा प्रमुख चरित्रले बारम्बार दोहोर्‍याइरहने क्रियाकलाप छन् । उनी हरेक पटक कसैलाई सिन्दुर लगाउँछन् । पोते लगाएर नयाँ व्यवस्थाले ल्याउने 'विकास'का कुरा गर्छ । पुजारी बन्दै हवनमा 'स्वाहा' गर्न भुल्दैनन् । चुरोट तान्दै 'रे'का कुरालाई धुवामा उडाइरहन्छन् । टोपी पहिरेर व्यवस्थाका कुरा गर्छन् । चितामा फन्को लगाइरहेको दृश्य नाटकमा सुरुदेखि अन्तिमसम्म दोहोरिन्छ । उनले निभाउने फरक चरित्र अनि फरक कृयाकलापका विभिन्न विम्बहरु छन् । तर, मञ्चमा बिना संवादले उनले दोहोर्‍याइरहने दृश्यको एउटे विम्ब हो,' आम मानिसको जीवन चक्र चलिरह्यो । व्यवस्था बद्लिरह्यो । तर फेरिएन मानिसका जीवनशैली' । मनोरञ्जनात्मक शैलीका नाटक हेर्ने दर्शकलाई यो शैलीमा ध्यान लगाउन मुस्किल पर्ला । तर, चरित्रले गर्ने हरेक क्रियाकलापका बुझ्दै जाने हो भने 'गलत लाग्छ मलाई मेरो देशको इतिहास'ले मन छुन सक्छ ।

प्रकाशित : माघ २५, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्

साटाद्वारा एयरपोर्ट होटल पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘साउथ एसियन ट्राभल अवार्ड’ (साटा)ले  काठमाडाैंको 'एयरपोर्ट होटललाई पुरस्कृत गरेको छ । बर्सेनि प्रदान गरिने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका प्रमुख आतिथ्य तथा पर्यटन निकायहरुबाट अनुमोदिन पुरस्कार हो- साटा ।

माल्दिभ्समा हालै सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार १० विधाका ३७ शीर्षकहरुमा घोषणा भएको थियो । १२ वर्ष अघिदेखि सञ्चालनमा आएको एयरपोर्ट होटल काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा स्थापित पहिलो सुविधा सम्पन्न होटल हो । नेपालको पहिलो रिभोल्भिङ रेस्टुरेन्ट र नेपाली रैथाने खाना पस्कने थलोको रुपमा पनि उक्त होटलले चिनारी बनाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : माघ २५, २०७९ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×