नाटक 'माउजङ बाबुसाहेबको कोट': पुराना नेतृत्वलाई व्यंग्य- मनोरञ्जन - कान्तिपुर समाचार

नाटक 'माउजङ बाबुसाहेबको कोट': पुराना नेतृत्वलाई व्यंग्य

रीना मोक्तान

काठमाडौँ — बेनिसनको लामो ओभरकोट  
माउजङको लामो ‌ओभरकोट 
विदेशमा बनेको  
रङचाहिँ गाढा मासको 
शान यसको राणा शाषणको …

यो गीतसँगै मञ्चमा देखापर्छ, लामो ओभरकोट । स्यान्डमा त्यसै झुन्डिरहेको । मैलिसकेको ओभरकोट, टकटक्याउँदा धुलैधुलो निस्कने । यही कोटको दृश्यबाटै नाटक 'माउजङ बाबुसाहेबको कोट'को कथा सुरु हुन्छ । गीतमा भनेझैं यो कोट निरंकुश राणा शासनको प्रतीक पनि हो । जब-जब माउजङ बाबुसाहेब यो कोट लगाउँछन्, उनमा छुट्टै शान, दम्भ र घमण्डले बास गर्छ । मानौं यो कोटसँगै उनले शोषण गर्ने नेतृत्व स्वभाव पनि पहिरिन्छन् ।

बिर्तावाल घरानिया राणा माउजङ बाबुसाहेबको मुटु जोडिएको छ यो कोटमा । पकज(पश्चिम कमान्डिङ जर्नेल)ले बक्सिसमा दिएको यो ओभरकोट टकटक्याउँदा उनलाई चसक्क दुख्छ । तर, प्रजातन्त्रपछि यो कोटले पाउने मान/सम्मान घट्न थालेको छ । राजनीतिक परिवर्तनले ल्याइदियो यो परिस्थितिमा माउजङले आफ्नो कोटको सम्मान कसरी जोगाउलान् ? भवानु भिक्षुद्वारा लिखित 'माउजङ बावुसाहेबको कोट'मा आधारित यो नाटकमा उनको त्यही बिचलित मानसिकता, टुट्दै गएको घमण्ड र बाध्यात्मक अवस्थाहरु प्रस्तुत गरिएको छ । २००७ देखि २०१० तिरको समय दर्शाउने यस कथालाई सबिन न्यौपानेले नाट्यकरण र विवेक न्यौपाने (घने)ले निर्देशन गरेका हुन् । माघ ९ देखि नियमित मञ्चन भइरहेको नाटक माघ २५ सम्म देखाइनेछ । नाटकले दर्शकलाई करिब ६ दशकअघिको समाज, राजनीति र नेतृत्वसँग साक्षात्कार गराइदिन्छ ।

माउजङ, देशबाट फ्याँकिसकेको राणा शासनमै रमाउन चाहन्छ । त्यही शासनले दिएको शक्तिले जनतालाई दबाउन चाहन्छ र जनता आफूबाट थर्कमान भएको हेर्न चाहन्छ । त्यसैले प्रजातन्त्रपछि पनि उनीबाट त्यो शासकीय दम्भ उत्रिसकेको छैन । उतारेर फ्याँक्नुपर्ने त्यही ओभरकोटप्रतिको उनको आशक्ति नै त्यसको प्रमाण हो । लामो ओभरकोटले राणा शासन कति मैलिसकेको थियो भन्ने बिम्बात्मक चित्रण गर्छ । तर, माउजङ भने मक्किसकेको ओभरकोटमा जनताको त्यही पुरानो डर पाउन खोजिरहेको छ । उनी आफ्नो ओभरकोटलाई कसैलाई छुनसमेत दिँदैनन् । ओभरकोट पुरानो भइसकेको चर्चा जब चारैतिर फैलिन्छ, उनी नेपालगञ्जसम्म पुगेर त्यसलाई नयाँ बनाउने कोसिसमा लाग्छन् । महँगो रकममा ड्राइ क्लिनिङ गराउँछन् । खुम्चिएका कोटमा स्त्री लगाउँछन् । नाटकको यो दृश्यले माउजङ त्यही पुरानो व्यवस्था अंगाल्न चाहन्छ भन्ने देखाउँछ ।

यति पुरानो कथालाई निर्देशक विवेक र लेखक सबिनले किन नाटकमार्फत भन्न खोजे होलान् त ? प्रश्न उठ्न सक्छ । तर, जति नै पुरानो भए पनि माउजङको कथा वर्तमान समाज र राजनीतिसँग मिल्दोजुल्दो छ । सत्तामा भएकाहरुको पुराना सोच, प्रवृति, शक्तिप्रतिको लगाव माउजङको भन्दा खासै फरक छैन । हाम्रा नेतृत्वहरु नयाँ सोच, सिद्धान्त र परिवर्तनलाई स्वीकार्न सक्दैनन् । जसरी माउजङले प्रजातन्त्रलाई आफ्नो ठान्न सकेका छैनन् । उनी जनताले छानेर पठाएका नेतृत्वबाट त्यही पुरानै मान/सम्मान पाउनुपर्ने मनोविज्ञानमा देखिन्छन् । पछिल्लो समय प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा नयाँ अनुहारबारे बहस अगाडि बढ्यो । तर, पुराना दलका नेतृत्वले नयाँमा खासै विश्वास गरिदिएनन् । विकल्पमा यो पटक केही नयाँ अनुहार निस्किए । यो नाटकले त्यही परम्परागत शासकीय स्वभावका नेतृत्वहरुलाई समेत व्यंग्य गरेको छ ।

नाटकले त्यतिबेलाको समाजमा दर्शकलाई फर्काउन त्यही समयको संवाद, पहिरनलगायत अन्य प्रप्सहरुमा काम गरेको देखिन्छ । संगीतलाई निकै बलियो ढंगले प्रस्तुत गरेको छ । दृश्य परिवर्तनमा 'बेनिसनको…' बोलको गीतलाई चलाखीपूर्ण ढंगले प्रयोग गरिएको छ । उक्त संगीतले कथालाई निरन्तर बग्न सहयोग गरेको छ । सूत्राधारको कथा वाचनले पनि दर्शकलाई कथासँग बाँधिन मद्दत गरेको छ । यसअर्थमा सूत्राधारको भूमिकामा देखिएका दिवाकर घिमिरेको अभिनयको प्रशंसा गर्न सकिन्छ । कलाकार सरोज अर्यालले माउजङको मनोविज्ञानलाई आफ्नो अभिनयमार्फत मञ्चमा प्रस्तुत गरिदिएका छन् । माउजङको अहम, दम्भ र कमजोरीहरुका मिहिन कुराहरलाई उनको अभिनयले देखाउँछ ।

कमेडियन प्रनेश गौतम बडाहाकिमको भूमिकामा फिट देखिएका छन् । नाटकमा अन्य कलाकारहरु सन्तोष थापा, सानु पाण्डेय, सुनील खड्का, सविन लुईंटेल, वीरेन्द्रसिंह कुसवाहा र ओसन कार्कीको अभिनय देख्न सकिन्छ ।

प्रकाशित : माघ १६, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्

सुपरहिरोको कमब्याक

स्पाइडरम्यान: नो वे होम, थोर : लभ एन्ड थन्डर, ब्ल्याक प्यान्थर : वाकान्डा फरेभरका नाममा सिनेमा हलमा छाउन थालिसकेका छन्, युवा दर्शक पनि तँछाडमछाड गर्दै सुपरहिरोलाई हेर्न हल धाइरहेकै छन्
रीना मोक्तान

काठमाडौँ — हतौडा बोकेर यताउति गर्दै छन्, थोर । कुनै ग्रह जोगाउने हतारोमा पनि देखिन्नन् उनी । दुश्मन सखाप पार्ने ह्यामर काँधमा बोकी भीडतिर मिसिन्छन् । भीडको नजर थोरमा भन्दा पनि ह्यामरतिर बढी छ । त्यही भीडमा फोटो खिचाउन व्यस्त थिए, आइरनम्यान ।

शिरमा थियो, स्वचालित हेल्मेट । त्यसैलाई हेर्नकै लागि उनलाई घेरेर बसेको थियो, एउटा समूह । फोटो खिच्न लालायितहरू पनि थिए त्यही समूहमा । आइरनम्यान पनि नयाँ–नयाँ पोजमा फोटो खिचाउन मस्त । करिब ४ महिनाअघि बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित ‘ओटाकु जात्रा’ मा देखिएको दृश्य हो यो ।

एनिमेका फ्यानद्वारा आयोजित जात्रामा मार्भलका यी दुई सुपरहिरोसँगै जापानी मांगा (कमिक्स) का कैयौं चर्चित चरित्रहरूको कस्प्ले (आफूले प्रस्तुत गर्ने पात्रको कस्ट्युम र गरगहना लगाउने) मा उपस्थित थिए, फ्यानहरू । माहोल हेर्दा लाग्थ्यो, कमिक्स किताबबाट यी चरित्रहरू फुत्त बाहिरिएर यो मेलामा सहभागी हुन नेपाल आइपुगेका छन् । त्यसैले होला, एउटै भीडमा निर्धक्क घुमिरहेका भेटिन्थे थोर र आइरनम्यान । यही माहोलमा भेटिन्थे मार्भल, डीसीका सुपरहिरो अनि मांगा सिरिज ‘वानपिस’ देखि ‘स्पाइफ्यामिली’ का पात्रहरू ।

यी कमिक्स क्यारेक्टरका फ्यान यतिसम्मका थिए कि कस्प्लेयर्स (कस्प्लेमा सहभागी हुनेहरू) सँग जानी नजानी जापानी भाषामै बोल्थे, सिरिजका गीतमा झुम्थे । ब्यांक्वेटमा देखिएको यो ठेलमठेल भीड युवा पुस्ताको कमिक्स पात्रप्रतिको क्रेज हो । मार्भल र डीसीका सुपरहिरो पनि त कमिक्सका पात्रहरू हुन् । नेपाली युवा पुस्ताको क्रेज हेर्न ओटाकु जात्रा मात्रै होइन, सुपरहिरोका फिल्म लाग्दा हलमै ओइरिएको भीड हेरे पुग्छ ।

आखिर युवा पुस्ता ‘कमिक्स क्यारेक्टर’ प्रति यति विघ्न लगाव किन राख्छन् त ? यो पछिल्लो समय हलिउडमै चर्चा गरिएको प्रश्न हो । सन् २०१५ मा आयोजित ‘सान डिएगो कमिक–कन इन्टरनेसनल’ को ‘द कमिक बुक फिल्म एडेप्टेसन’ प्यानलमा यो प्रश्नको उत्तर खोजियो । मार्भल र डीसीका लागि लेख्ने मात्र नभई कार्टुन नेटवर्क र डिज्नीमा ‘म्यान अफ एक्सन कलेक्टिभ’ का रूपमा काम गरेका जोय केलीले स्पेसल इफेक्टको व्यापक प्रयोगले युवा पुस्ता कमिक्स क्यारेक्टरप्रति आसक्त भएको धारणा राखे । ‘प्रविधिको पकड बढेसँगै हामी जस्तो फिल्म हेर्न चाहन्थ्यौं, त्यस्तै फिल्म बनाउन सक्ने अवस्थामा आइपुग्यौं,’ जोयले भने, ‘दर्शक मनोरञ्जन चाहन्छन् । कमिक किताबका कथाहरू उत्कृष्ट पनि छन् ।’

कमिक्स किताब लेखक मार्क वेइडले नयाँ पुस्तामा आएको परिवर्तनका रूपमा यसको व्याख्या गरे । ‘कमिक्स फिल्म नबनाउने समूहका फिल्मकर्मीसँगको संगतले मलाई यो थाहा भयो कि एउटा पुस्ता यस्तो छ जो कमिक्स पढेर हुर्केका होइनन् । उनीहरूले कमिक्सलाई बालबालिकामै सीमित गरेर बुझे,’ वेइडले भने, ‘हुर्किसकेका जो कोहीले कमिक्स पढेको देखे भने पनि उसलाई दिन गाको जुँगा नआएको रूपमा हेरिन्थ्यो । ८० को दशकमा जब माउस, डार्क नाइट रिटर्न्स र वाचमेनजस्ता कमिक्स हिट भयो । त्यसको १० वर्षपछि त्यही कमिक्स पढेकाहरू फिल्म निर्माणमा होमिए । उनीहरूलाई कमिक्समा धेरै कुरा छन् भन्ने थाहा थियो ।’

‘डार्क नाइट’ का माइकल उस्लन दर्शकहरूभित्रको आवश्यकतालाई सुपरहिरोले सम्बोधन गर्दै आइरहेको हुँदा पनि सुपरहिरोको क्रेज बढेको बताए । ‘हाम्रा नायकहरू कता हराए ? हामीले हेर्दै आइरहेको राजनेता कस्ता छन् ? भन्ने विषयमा बोल्न कुनै प्लेटफर्म छैन हामीकहाँ । हाम्रा नायकहरू खस्किए पनि सुपरहिरोले उनीहरूको आवश्यकतालाई पर्दामा परिपूर्ति गर्दै आइरहेका छन्,’ उस्लनले भने । सुपरहिरोका फिल्मले कमाएको व्यापारले यस्ता फिल्महरूको संख्या बढ्दै जाने आकलन उस्लनले त्यही बेला गरेका थिए । त्यस्तै भयो, सन् २०१७ मा सर्वाधिक व्यापार गर्ने ११ औं फिल्ममा सात वटा त सुपरहिरो फिल्म थिए ।

अहिलेको समयलाई कमिक युगका रूपमा चर्चा गरिन्छ । सुपरहिरोका फिल्मलाई संसारभरका लाखौं दर्शकले हेर्छन् । इतिहासमै सबैभन्दा बढी हेरिएको कथाहरूमा पर्छन्, सुपरहिरो । यी फिल्मले त्यतिबेला स्वाद र महत्त्वको कुरा गर्छ, जुन समयमा यी लेखिए । ‘हलिउड कमिक युगमा हुनुको प्रमुख कारण प्रविधि हो । कमिक्स बुकका फेन्टासी कथाहरूलाई कम्प्युटरले पर्दामा जीवन्त बनाइदिन थाले, ‘मार्क बोइडेनले सन् २०१८ मा न्युयोर्क टाइम्समा सुपरहिरोमाथिको लेखमा उल्लेख गरेका थिए ।

फिल्म कस्तो विषयमा हुनुपर्छ भन्ने कुनै खास नियम छैन । तर, कमिक किताबमा आधारित फिल्महरू पपकर्न खाँदै सजिलै उपभोग गर्न अनि छिट्टै भुल्ने किसिमका हुन्छन् । त्यसैले हुनुपर्छ, अधिकांश दर्शक यस्तो फिल्म रुचाउँछन् । यी फिल्महरू त्यति गम्भीर पनि हुँदैनन्, जसलाई बुझ्न दिमाग घुमाइरहन परोस् । जसका कारण दर्शकहरू रमाउँछन् पनि ।

कलाकारका शरीर निकै सुगठित, सुन्दर, ‘सुडो वागरियन’ संगीत अनि स्पेसल इफेक्टसहितका यी फिल्ममा प्रयोग गरिएका संवाद भारी भए पनि अर्थहीन हुने गरेका विश्लेषकहरूको तर्क छ । यस्ता फिल्मका कथा र संवाद व्यावसायिक दृष्टिले कोरिन्छ । हुन त सुपरहिरोका कथा लेख्ने टोलीका सबैले यस्तै फिल्म लेख्छन् भन्नेचाहिँ होइन । सन् २०१७ मा प्रदर्शनमा आएको ‘लोगन’ भने यो भीडमा अलग्गै छ ।

१२ वर्षभन्दा मुनिको उमेर समूहका लागि यी फिल्म गम्भीर ठहरिएलान् तर अरूका लागि भने फगत मनोरञ्जनका माध्यम हुन् । सुपरहिरो फिल्ममा प्रमुख कलाकार अनौठा र सर्वोच्च शक्तिशालीका रूपमा देखाइन्छ । जन्मसिद्ध वा कुनै घटनाका कारण सुपरहिरोसँग अद्वितीय शक्ति प्राप्त हुन्छ । उनीहरू कानुन मात्र नभई प्रकृतिका नियम पनि सजिलै तोड्न सक्ने हुन्छन् । दोस्रो विश्वयुद्धपछिका फिल्ममा समेटिएका अमेरिकी आदर्श सदाचार, चतुर्‍याइँ र धैर्यको माध्यमबाट सफल हुन सकिन्छ भन्ने सन्देश यी फिल्ममा भेटिँदैन । कानुन, परम्परा र समुदायप्रतिको सम्मान पनि समेटिएको हुँदैन । एक सशक्त व्यक्ति नै सबैथोक हो । ऊ एक्लैले राष्ट्रको समस्या र विद्रोहीविरुद्ध लड्न सक्छ भन्ने भाग्य यी फिल्ममा निर्माण गरिएको छ । यी फिल्मका प्रशंसकले देशको नेतृत्व चयन गर्नुपर्‍यो भने कस्ता प्रतिनिधिलाई चुन्लान् ? पक्कै पनि त्यस्तो व्यक्ति जो एक्लैले देशलाई बचाउन सक्ने हुन्छन् ।

सुपरहिरोका फिल्ममा छद्म गम्भीरता, लोककथा (मिथ), स्पेसल इफेक्टको ओभरडोज भेटिन्छ । वजनदार बनाउन सुपरहिरोका फिल्ममा मिहिनेत उत्तिकै हुन्छ । समीक्षात्मक रूपले रुचाइएको अनि बक्स अफिसमा हिटको रेकर्ड बनाइएको ‘वन्डर वुमन’ को ओपनिङ एकालाप (मोनोलग) लाई नै हेरौं । सुरुमै हामी देख्छौं, नीलो पृथ्वी । त्यसपछि पृष्ठभूमिका भ्वाइलेनको आर्केस्ट्रल संगीतसँगै गाल गडोट (डायना) को हस्की स्वरमा न्यारेसन सुरु हुन्छ । ‘वन्डर वुमन’ मात्रै होइन अन्य फिल्महरूमा यतिकै मिहिनेत देखिन्छ । यी फिल्ममा धेरैजसो म्यानिकियन संसार देखाइन्छ । जहाँ भगवान् र सुपरहिरो हुन्छन् अनि हुन्छ, उनीहरूबीचको अन्त्यहीन द्वन्द्व । इसाई विश्वासका कुरा उठाउँछन्, विरोधाभासमा । आफ्नो गालामा एक चड्कन लगाए अर्को थाप्नु भन्ने मान्यता धर्ममा होला तर यी फिल्ममा त्यसरी चड्कन लगाउनेलाई लात मारिदिनु भन्ने देखाइन्छ । धार्मिक स्वतन्त्रताका पक्षमा वकालत नगरे पनि महिला सशक्तीकरण र समावेशिताका सवाल भने उठाइरहेका हुन्छन् ।

अधिकांश कथा पौराणिक कालका हुन्छन् । उनीहरू पौराणिक कथा र विश्वासलाई निडर भएर भत्काउँदै दर्शकमा पुर्‍याइरहेका छन् । पौराणिक कथाका पात्रहरू मानवीय, कमजोर र शक्तिशाली रूपमा चित्रण गरिएको हुन्छ । त्यस्तै गुणले भरिएका हुन्छन्, सुपरहिरोहरू । ‘स्पाइडरम्यान होमकमिङ’ ग्रीक मिथमाथि बनेको हो । ‘गोलिक वा ऐतिहासिक रूपले हेर्ने हो भने पनि मानिसहरू सधैं हिरो र भगवान्प्रति आसक्त देखिन्छन् ।

लोककथा महाभारत, द लेजेन्ड अफ दि मंकी किङ, द ग्रीक इपिक्सलाई नै हेर्दा थाहा हुन्छ, हिरो अक्सर केही असम्भव कुरा हासिल गर्ने दौडमा हुन्छ । यदि उनी ती कुरामा सफल हुन्छन् भने उपहारस्वरूप धन, सम्पत्ति र देवत्वकरणले घेरिन्छन् । स्टारवार्सको कथासार पनि प्यान्टोमाइम गुड एन्ड इभिलमा आधारित छ,’ 'अब हामीलाई सुपरहिरो चाहिँदैन' भन्ने शीर्षकमा उल्लिखित लेखमा लेखिएको छ ।

हलिउडमा कमिक किताबको स्वर्ण युग सन् १९३० मै सुरु भयो । त्यही बेला हलिउडले आफ्नो पहिलो सुपरहिरो पाए जो आफ्नो बुद्धि, शक्ति र अनुशासनमा एक्लै लड्न सक्ने सुपरहिरो ‘सुपरम्यान’ पाए । दोस्रो विश्वयुद्धपछिको सुरुवातपछि सुपरहिरो विधालाई पहिलो ठूलो सफलता प्राप्त भयो । सुपरम्यान, द फ्ल्यास, क्याप्टेन अमेरिकाले मानव जातिको भलाइका लागि आफ्ना ईश्वरीय क्षमता प्रयोग गर्न थाले । त्यसरी नै युद्धपछिको जापानमा कमिक्स किताब मांगा चर्चित बन्यो, पछि विश्वव्यापी ख्याति पायो । बिस्तारै टेलिभिजनले कमिक्स किताबका रेडिमेड कथा, बलिया हिरोलाई सानो पर्दामा प्रस्तुत गर्न थाल्यो । अनि फिल्मले त्यही कथाहरूलाई पर्दामा अनुवाद गरिदियो ।

सन् २०१९ को ‘एभेन्जर्स इन्डगेम’ र ‘स्पाइडरम्यान फार फ्रम होम’ ले बटुलेको व्यावसायिक सफलताले सुपरहिरोले लामो समयसम्म राज गरिरहन्छ भन्ने मान्यता विकास गरिदियो । संसारको अन्त्य नहुन्जेल यस्तै कसिएका पहिरन, डिजिटल इफेक्ट र दर्शक हँसाउने असरहीन संवादका सुपरहिरो फिल्म चलिरहनेछ भन्ने सोचिएको थियो । सुपरहिरोबिनाका कुनै वर्ष हुनेछैन भन्ने विश्वास कोभिडकालमा आएर भने तोडियो । सुपरहिरो ठूला–ठूला षड्यन्त्र, दुश्मनविरुद्ध लड्न सक्छन् तर कोरोना भाइरससँग लड्ने उनीहरूसँग क्षमता छैन भन्ने कुरा उदांगियो । पर्दामा सुपरहिरोले लगातार विश्वलाई जोगाइएको देखाइन्छ । एकसाथ मिलेर दुश्मनसँग सामना गर्ने मार्भलको सिनेम्याटिक युनिभर्स (एमसीयू) को दर्शन अवलम्बन गर्नु महामारीविरुद्धमा उत्रनुजस्तो हो ।

कोभिडबाट बचाउन अब कोही सुपरहिरो आउनेवाला छैन भन्ने बहसले फिल्म जगत् तातियो । सुपरहिरोका फिल्मले अहिलेसम्म वास्तविकताभन्दा परका विषयमा दर्शकलाई घुमाइदिएको विषय छलफलहरूमा तानिए । वास्तवमा कोभिडकालमा सुपरहिरो मौन भइदिए । उनीहरू कहिल्यै मानवलाई बचाउनका लागि सिर्जना गरिएका थिएनन् भन्ने कुरा दर्शकहरूले बुझे । एकै मुक्कामा दुश्मन ढलाउन सक्ने बल कोभिडको समयमा हुँदैन । एमसीयूको दर्शनअनुसार एकसाथ संगठित हुने माहोल बनेन ।

कोभिड महामारीले के सुपरहिरोको फिल्मको अन्त्य गर्ला ? कोभिडबीच फिल्म क्षेत्रमा यही विषयमाथि खुबै बहस भए । भाइरसभन्दा अगाडि नै युवा दर्शकको दिल, दिमाग कब्जा गर्न सफल सुपरहिरोहरूले अझै लामो यात्रा गर्ने धेरैले आकलन गरे ।

कोभिडले सुपरहिरो फिल्मको दबदबा घट्दै गए पनि मार्भल सिनेम्याटिक युनिभर्सको अन्त्य नै भने गर्न सक्दैन भन्नेमै बहस टुंगियो । कोभिडपछि सुपरहिरोहरू (स्पाइडरम्यानः नो वे होम, थोरः लभ एन्ड थन्डर, ब्ल्याक प्यान्थरः वाकान्डा फरेभर) विश्व जोगाउने होडबाजीमा हलमा छाउन थालिसकेका छन् । युवा दर्शक पनि कोभिड बिर्सेर तँछाडमछाड गर्दै सुपरहिरोलाई पर्दामा हेर्न हल पुगिरहेकै छन् ।

प्रकाशित : माघ १३, २०७९ ११:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×