पोखरामा 'धुमधामको घुमघाम'- मनोरञ्जन - कान्तिपुर समाचार

पोखरामा 'धुमधामको घुमघाम'

कान्तिपुर संवाददाता

काठमाडौँ — नाटक 'धुमधामको घुमघाम' पोखरामा मञ्चन हुने भएको छ । आकांक्षा कार्की निर्देशित यो नाटक माघ २१ देखि २३ सम्म पोखरा थिएटरमा मञ्चन हुने भएको हो । 

कणकमणी दीक्षितद्वारा लिखित पुस्तक 'एडभेन्चर्स अफ अ नेपाली फ्रग'को नाट्य रुपान्तरण यो नाटक यसअघि कौसी थिएटरमा मञ्चन गरिएको थियो । नाटकलाई समीक्षात्मक रुपमा रुचाइएको थियो ।

आयुष निरौलाले नाट्य रुपान्तरण गरेको 'धुमधामको घुमघाम'मा इचंगुबाट नेपाल भ्रमणमा निस्किएको भक्ते भ्यागुताको यात्रा समेटिएको छ । त्यही यात्राले प्रकृतिसँगको सम्बन्ध, आधुनिकतासँगै देशको भौगोलिक स्वरुप, विविधतालाई नाटकमा प्रस्तुत गर्छ ।

यात्राका क्रममा भक्ते भ्यागुतो पोखरा पुगेको कुरा पनि नाटकमा प्रस्तुत छ । संयोग के हो भने, भक्ते भ्यागुतोको कथा समेटिएको यो नाटक पनि पोखरामा पुग्दैछ । त्यसैले कौसीले सार्वजनिक गरेको नाटकको पोस्टरमै लेखिएको छ, 'भक्ते आयो पोखरा' ।

प्रकाशित : माघ १३, २०७९ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्

रवि लामिछानेले राज्यलाई ढाँट्ने र छल्ने गरेको देखियो : वरिष्ठ अधिवक्ता भण्डारी

'यो रिट जारी भएन भने कानुनी प्रणालीमा ठूलो समस्या सिर्जना हुन्छ'
'लामिछानेले विशेष छुट पाउनुपर्ने अवस्था छैन । उहाँले पनि संविधान र कानुनको पालना गर्नुपर्छ । कानुनको नजरमा प्रत्येक नागरिक समान हुन्छन् ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपालको राज्यसंयन्त्रलाई पटक-पटक ढाँट्ने र छल्ने काम गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताएका छन् । लामिछानेको संसद् सदस्य पदका लागि अयोग्य रहेको विषयमा सर्वोच्च अदालतमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले उक्त कुरा बताएका हुन् ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी । तस्बिरः जयसिंह महरा/कान्तिपुर

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा संलग्न संवैधानिक इजलासमा शुक्रबार सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले भने, 'रवि लामिछानेमा यो देशप्रति बफादारिता छैन । त्यो कुरा उहाँले विभिन्न समयमा राज्यलाई ढाँट्ने र छल्ने प्रक्रियामा देखिएको छ । आफू विदेशी नागरिक हुँदा पनि नेपाली पासपोर्ट लिएर गर्नुभएको छ ।'

लामिछानेको पक्षमा वकालत गरेका महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता संजीवराज रेग्मी र निजी वकिलहरूले राखेका तर्कको जवाफी बहसका क्रममा रिट निवेदकका तर्फबाट भण्डारीले राज्यको नजरमा सबै नागरिक समान हुनुपर्ने तर्क राखेका हुन् ।

'उहाँले इमानदारिता देखाउनुभएको छैन । उहाँ अमेरिका अध्ययन गर्न गएको भन्नुभएको छ, उहाँको भिडियो मसँग छ । तर भर्खरै के भन्नुभएको छ भने आइएसम्म पढेको भन्नुभएको छ । अमेरिका गएर पढेको छैन भन्नुभएको छ,' भण्डारीले थपे, 'उहाँले हरेक कुरामा राज्यलाई छल्ने, गलत सूचना दिने गर्नुभएको छ । यस्तो किसिमको व्यक्तिको निष्ठा र आस्था छ भन्ने हुँदैन । उहाँको निष्ठा र आस्था निष्कपट रूपमा जिल्ला प्रशासन कार्यालयमा प्रकट हुनुपर्ने हो । त्यहाँ दस्तखत गर्नुपर्थ्यो, सहीछाप गर्नुपर्थ्यो त्यो उहाँले गर्नुभएको छैन । शपथ पनि लिन नपर्ने, निस्सा पनि पेस गर्न नपर्ने, सहीछाप पनि गर्न नपर्ने, फोटो टाँस्न पनि नपर्ने ? सरकारचाहिँ आफ्नो हातमा लिनुपर्ने हो भने एकदिन मुलुकका नागरिकहरू अल्पमतमा पर्ने अवस्था आउन सक्छ ।'

लामिछानेलाई कानुनले विशेष छुट दिन नहुने तर्क पनि वरिष्ठ अधिवक्ता भण्डारीले राखेका छन् । उनले प्रत्येक नागरिकलाई कानुनले समान रूपमा हेर्ने भन्दै इजलासले रवि लामिछाने सांसद सदस्य बन्न अयोग्य रहेको रिट जारी गर्नुपर्ने तर्क गरे । 'लामिछानेले विशेष छुट पाउनुपर्ने अवस्था छैन । उहाँले पनि संविधान र कानुनको पालना गर्नु पर्छ । कानुनको नजरमा प्रत्येक नागरिक समान हुन्छन्,' भण्डारीले भने, 'यो रिट जारी भएन भने कानुनी प्रणालीमा ठूलो समस्या सिर्जना हुन्छ ।'

प्रकाशित : माघ १३, २०७९ १३:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×