विभेदविरुद्ध यश कुमार- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विभेदविरुद्ध यश कुमार

पर्वत पोर्तेल

झापा — विसं. २०४५ को भूकम्पसँगै पूर्वी तराईमा भीषण बाढी आयो । सर्लाहीको वाग्मती किनार आसपास बस्ने सयौं परिवार विस्थापित भए । यो सूचीमा सुरेशकुमार परियारको परिवार पनि थियो ।

३० को दशकमा अन्तरजातीय बिहे गरेका कारण काभ्रेको एउटा गाउँबाट लखेटिएर तराई झरेका रामप्रसाद नेपाल र गीता परियारलाई बाढीले फेरि लखेट्यो । अनि गुजारा चलाउन काठमाडौं उक्लिए । १० वर्षे सुरेश पनि बाआमाको औंला समातेर उकालो ठडिए ।

काठमाडौं बस्न थालेको करिब ५ वर्षपछि सिविन नामको गैरसरकारी संस्थाले ‘निःशुल्क संगीत सिकाउँदै छ रे,’ भन्ने खबर सुरेशले सुने । बुझ्दैँ जाँदा थाहा लाग्यो, सीतापाइलाको संगीत मण्डपमा त्यो मौका खुलेको रहेछ । दुई वर्षजति संगीत सिकेपछि गानाबजानाबाटै भविष्य खोज्ने निर्णयमा पुगे । ‘गीत–संगीतमा अलिअलि रुचि त थियो, त्यसैले सीतापाइला पुर्‍यायो,’ उनले ५२ सालताकाको घटना सम्झिए, ‘सेलिब्रिटी बन्नेभन्दा पनि संगीत सिक्ने सामान्य रुचिले म त्यहाँ जोडिन पुगेको थिएँ ।’

सिविनको लगानीबाट सिकेको संगीतलाई उनले गीति एल्बम निकाल्न खर्चिए । त्यो बेला आस्था र उमेर जस्ता एल्बमका लागि गीत कम्पोज मात्रै गरेनन्, एल्बम रिलिज नै गर्न भ्याए । २०५७ मा ‘यो संसार’ भन्ने एल्बम रिलिजको चाँजो मिल्दैथ्यो । एल्बममा आनन्द कार्की, कुन्ती मोक्तान, यम बराल, रामकृष्ण ढकाल, सुरेशकुमार जस्ता स्थापित गायकको स्वरलाई समेटेर एल्बम निकाल्ने तयारी थियो । एल्बममा ‘बेहाल भयो जिन्दगी यो’ जस्ता गीत समेटिने भए । गायक थिए, खेम गुरुङ । रिलिज पछि निकै चल्यो यो गीत । अरूका लागि नै भनेर रचना गरेको दुई गीत ‘मैले छोएको पानी चल्दैन’ र ‘यो मनले तिमीलाई नै रोजेको छ’ पनि एल्बममा समेट्नु थियो । तर, यी गीत गाउन कोही गायकले जाँगर चलाएनन् । ‘यो मेरा लागि बनाएको गीत भने थिएन,’ उनी सम्झिन्छन्, ‘नाम चलेका गायकलाई गाउन लगाउने योजना थियो ।’

तर, एल्बम रिलिजमा दुई गीत तगारो बन्यो । यही अन्योलताबीच एरेन्जर महाराज थापाले बोलाएर भने, ‘यार, तिम्रो पनि स्वर ठीकै छ, गाइदेऊ, केही हुन्न ।’ त्यसपछि उनले गीत रेकर्ड गराए । एल्बममा उनले पुरानो नाम फेरेर यश कुमार जुराए । हिट हुन आशा भएका गीतलाई एल्बमको ‘ए’ साइटमा र अलि कमजोर ठानिएका गीत ‘बी’ तिर राख्ने चलन थियो । त्यही चलनलाई पछ्याउँदै दुई गीत सातौं र आठौं नम्बरमा राखियो ।

कस्तो संयोग ! कम आँकिएकै गीत सुपर हिट भए । ‘मैले त्यो गीत हिट होला भन्ने सपनामा पनि सोचेको थिइनँ,’ अढाई दशकअघि फर्किएर उनले सम्झिए, ‘आफ्नो स्वरप्रति म आफैंलाई विश्वास थिएन ।’ जसरी हुन्छ एल्बम पूरा गर्ने हुटहुटीले गाउन बाध्य भएका थिए उनी । एल्बम रिलिज भएर जब बजारमा गयो । लगत्तै दरबार हत्याकाण्ड भयो ।

एल्बमको बिक्री ठप्प । एल्बमका गीतको बजारमा गाइँगुइँसम्म भएन । बरु दरबार हत्याकाण्डपछि नेपाली क्यासेटहरू भारतका नेपालीभाषी बस्ने सिक्किम, दार्जिलिङ, असम, मेघालय जस्ता ठाउँमा बिक्री भएछन् । यश कुमार मेचीपारिबाट एकाएक ‘हिट’ भएर गुन्जिन थाले ।

दरबार हत्याकाण्ड मत्थर हुँदै गयो । अनि बजारमा उनका गीतको चर्चा चुलिँदै गयो । ‘दार्जिलिङ, सिक्किमबाट हिट भएर बल्ल गीत नेपाल छिर्‍यो,’ उनी थप्छन्, ‘मलाई त सबैले सोध्नखोज्न थालेछन्, ‘यो नयाँ को केटा आयो नेपाली संगीत बजारमा ?’ खासमा त्यो गीत सिक्किम, दार्जिलिङमा छाइसकेको थियो । ‘नेपालमा भन्दा पारि धेरै हिट भइसकेको रहेछु,’ उनी थप्छन्, ‘जसै मेची तरेर सिलिगुडी पुगेपछि थाहा भो, सुरेशकुमार त यश कुमार पो भइसकेछ ।’

गान्तोकको प्रस्तुतिपछि उनको पुरानो परिचय पनि फेरियो । सुरेशकुमार परियार, खासमा यश कुमार बने । सँगै सांगीतिक यात्राको गतिमा पनि तीव्रता आयो । अहिलेको भाषामा भन्ने हो भने उनी ‘भाइरल’ भएका थिए । चिया पसलदेखि रेस्टुरेन्टसम्म । चोकदेखि चौतारासम्म जहाँतहीं गीत गुन्जिन थाल्यो । विजय थापा भन्ने एक जना व्यक्ति उनलाई खोज्दै आए । थापाको प्रस्ताव सुनेर चाबहिलको भीसीडी पसलमा बसिरहेका उनले विश्वासै गरेनन् । थापाले भनेका थिए, ‘सिक्किममा तपाईंको कार्यक्रम गर्नुपर्‍यो, समय चाहियो ।’ पत्यार नलागेपछि संगीतकार भूपेन्द्र वज्राचार्यलाई बोलाए ।

गीत गाएर पैसा आउँछ भन्ने सोचसम्म पनि थिएन । ख्यालख्यालमै भारु ४५ हजारमा सम्झौता भयो । त्यही गीतले उनलाई पहिलो पटक गाउन सिक्किम पुर्‍यायो । गान्तोकको संग्राम भवनमा पहिलो पटक स्टेज उक्लिए, अनि माइक समात्दै गाएका थिए, ‘मैले छोएको पानी चल्दैन ।’

लगत्तै त्यही दुई गीतलाई समेटेर धौलागिरि क्यासेट कम्पनीले उनको एकल एल्बम निकाल्ने भयो । कम्पनीले भनेछ, ‘तपाईं चलिसक्नु भयो, अब सोलो एल्बम गर्नुपर्छ ।’ अनि जन्मियो ‘रिजन’ एल्बम । आधुनिक गीत बजार ओरालो लाग्दै गरेको र पप गीतले बजार तात्दै गरेको अवस्था थियो । नेपथ्य, कन्दरा, मंगोलियन हार्ट, कर्णदास, मोहन भुसाल, नवीन भट्टराईहरू चलेको समय थियो । आधुनिक गायकका गीत चलेका थिएनन् । त्यो बेला न आधुनिक न पप, ‘फ्युजन’ शैलीका गीत बजारमा आएपछि स्रोताले नयाँ स्वाद पाए ।

उनले आधुनिक गीत पुनःस्थापित गरे । त्यो नयाँ मिठाससँग आयो, माया–प्रीतिका गीतहरूसँग आयो । गीत चर्चित हुँदाहुँदै पनि अवार्डहरूबाट भने उनी वञ्चित भए । गीतमा समेटिएको शब्द, भावको तीव्र आलोचना पनि सुरु भयो । कतिपय मिडियाले ‘सामाजिक सद्भाव’ खल्बल्याउने गीत भनेर बजाउनै मानेनन् । ‘त्यो मेरो सिर्जनामाथिको प्रहार थियो,’ उनी थप्छन्, ‘आलोचनाका बाबजुद पनि गीत चैं धेरैले सुनिदिएर गुन लगाए ।’

परिवर्तनका लागि कसैले बन्दुक उठाए । आन्दोलन गरे । जंगल पसे । उनले परिवर्तनको संवाहक गीतलाई बनाए । ‘परिवर्तन गर्न हतियार उठाउनु पर्दैन,’ झरेका केश सम्हाल्न खोज्दै उनले थपे, ‘गीत–संगीतलाई पनि परिवर्तनको माध्यम बनाउन सकिन्छ ।’ २५ वर्षसम्म आइपुग्दा सबभन्दा बढी उनले स्टेजमा गाएको गीत पनि त्यही नै हो, ‘मैले छोएको पानी चल्दैन’ । करिब डेढ सय थान गीतमध्ये सबभन्दा शक्तिशाली गीत यही ठान्छन् उनी । गीतले नेपाली समाजको जात व्यवस्थामाथि कडा व्यंग्य गरेको थियो । त्यसलाई धेरैले मन पराइदिए ।

‘जब गीतको पहिलो धुन सुरु हुन्छ । दर्शक त्यसै तातिन्छन्,’ उनी भन्छन् । त्यो गीतको प्रभाव धेरै पर्‍यो । हाम्रो नेपाली समाज र जात व्यवस्थाविरुद्ध प्रहार पनि गरेको थियो । जसका कारण धेरैले यो गीतलाई रुचाइदिए । समाजले भोगिरहेको, महसुस गरिरहेको र प्रत्यक्ष रूपमा असर गरिरहेको विषय थियो त्यो ।

वर्ष दिनमा १६ सय पटक बजेबापत हेटौंडाको मनोकामना एफएमले अवार्ड नै दियो । उनलाई यतिबेला स्रोताको चाहना र माग भएकै कारणले गीत स्विकारियो भन्ने लाग्छ । २५ वर्षे भोगाइले के भन्छ, समाजमा केही परिवर्तन आयो ? उनी भन्छन्, ‘विभेदको शैली परिवर्तन भएको छ । तर, विभेद उस्तै छ । प्रत्यक्ष रूपमा विभेद गर्ने हिम्मत कम भएको जस्तो देखिएको छ । विभेद नै नभएको भनेचाहिँ हैन, भइरहेकै छ । त्यसविरुद्ध अझै आवाज बुलन्द गर्न जरुरी छ ।’

२५ वर्षे नेपाली संगीतले नेपाली समाजलाई चेतनशील बनाउँदै लगेको उनको बुझाइ छ । सिर्जनामार्फत सामाजिक विभेदको विरोध गर्न सकिने उनलाई लाग्छ । चाहे त्यो सिनेमाबाट होस् या त गायनबाट । ‘परिवर्तनमा मेरा गीतहरूको सानो भए पनि भूमिका छ भन्ने मेरो दाबी हो,’ उनी थप्छन् । गीतमात्रै पर्याप्त नहुने लागेर उनी सिनेमामा लागे । सिनेमाले मान्छेको दिमागमा इमेज नै बन्छ । त्यही कारण गीतभन्दा यो अझ बढी शक्तिशाली माध्यम हो । सिनेमामा आफैं हिरो भए । दलितहरू हिरो हुँदैनन् भन्ने ‘मान्यता’ माथि प्रहार गरे । बाटोमुनिको फूलमा उनीसँगै बाबु बोगटी हिरो छन् । ‘हाम्रो कथासँग मिल्दोजुल्दो भएकाले हामीलाई नै खेलाउने प्रस्ताव निर्देशकले गरे,’ उनले थपे, ‘हामीले पनि स्विकार्‍यौं, यथार्थसँग मिल्यो पनि ।’ गायन र अभिनय विधालाई दर्शक र स्रोतले स्विकारे । विभेद गर्नेहरूले पनि गीत मन पराए । तर, परिवर्तन हुनचाहिँ चाहेनन् । बलात्कृत चेली र दलित उस्तै हुन् । समाजले सहानुभूति दिने तर नस्विकार्ने ।

२५ वर्षे सांगीतिक यात्रामा यश कुमारले रिजन, तिर्खा, तिमी, नरुने आँखाहरू र रेन पाँचवटा गीति एल्बम बजारमा ल्याए । यो अवधिमा पाँचै थान सिनेमा बाटोमुनिको फूल, बाटोमुनिको फूल–२, आधीबाटो, वीर र छिरिङ आए । यी सिर्जनाहरूले उनलाई सामान्य मान्छेबाट सेलिब्रिटी बनायो । यो अवधिमा उनले पैसा मात्रै कमाएनन् । कमाएको पैसा अस्पताल, विद्यालय निर्माण, शैक्षिक सामग्री, मिर्गौलापीडितहरूको सेवामा समेत खर्चिए ।

सामाजिक मुद्दाका सिनेमाहरू जोखिममा छन् भन्ने लाग्छ उनलाई । निर्माताले जोखिम मोल्न चाहँदैन । त्यही कारण यस्ता मुद्दामा सिनेमा कम बन्छन् । दलितको कथामा सिनेमा नै छैनन् भन्दा पनि हुन्छ । भारतमा बजार ठूलो छ । तर, नेपाली बजार ज्यादै साँघुरो छ । ‘त्यसकारण जोखिम छ भन्ने लाग्छ,’ उनले थपे, ‘तर पनि सामाजिक मुद्दाहरूमै व्यावसायिक खालको सिनेमा बनाउने योजनामा छु ।’ उनले लामो समयपछि नयाँ गीत यसैसाता बजारमा ल्याउँदै छन् ।

प्रकाशित : माघ १०, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

झापाको चिया बगानमा युवक–युवती मृत भेटिए

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको एक चिया बगानमा युवक–युवती मृत भेटिएका छन् । कचनकवल–४ स्थित एभरेस्ट चिया बगानमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी मृत भेटिएको प्रहरीले बताएको छ ।

बगानमा रहेको रुखमा दुवै झुन्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

करिब ३ महिनाअघि दुवै जनाले भागी बिहे गरेका राजेश र पवित्रालाई गणेश परिवारले अलग्गाउने कोसिस गरेको स्थानीयको भनाइ छ । केटी पक्षले राजेशलाई अस्वीकार गरेको छिमेकी बताउँछन् ।

प्रकाशित : माघ १०, २०७९ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×