यश कुमार सिक्किममा गुन्जिए

सिक्किम — सांगीतिक करिअरकै पहिलो प्रस्तुति सिक्किमबाट सुरु गरेका गायक यश कुमारले भारतीय राज्य सिक्किमको बर्मेकमा दर्शक तताएका छन् । बर्मेकमा पहिलो पटक आयोजित ‘दशक सांस्कृतिक महा–उत्सव’ मा उनले शनिबार आधा दर्जन गीत गाएका हुन् ।

यश कुमार सिक्किममा गुन्जिए

बर्मेकका स्थानीय दलित समुदायका युवाहरूको आह्वानमा आयोजित उत्सवमा यश कुमारले पहिलोपटक प्रस्तुति दिएका हुन् । ‘पहिलो पटक माइक समातेर सिक्किमबाटै मैले गीत गाउन सिकेको हो,’ उनले भने, ‘बर्मेकमा पनि मेरो पहिलो प्रस्तुति नै हो ।’ महोत्सवमा उनले ‘बिरानो यो मन्दिरमा’, ‘मैले छोएको पानी चल्दैन’, ‘तिमीलाई कुनै पल’, लगायतका आफ्ना चर्चित गीत सुनाएका हुन् । बाबु बोगटीको ‘तुल्सी आँगनमा रोपौंला’, गीतमा भने उनलाई सिक्किमेली गायकहरू रवि गहतराज, नवीन गजमेर, डुअर्सका विक्की परियारले साथ दिएका थिए । यशले गीत गाइरहँदा स्थानीय श्रीजंगा सरकारी पाठशालाको मैदानमा उपस्थित सयौं दर्शक उनीसँगै झुमेका थिए ।

अन्य जातजातिहरूको झैं दलित (अनुसूचित जाति) समुदायको छुट्टै चाडपर्व छैन । त्यही भएर यो वर्षदेखि ‘दशक सांस्कृति महा–उत्सव’ को सुरुवात गरिएको उत्सव आयोजक समितिका कार्यकारी प्रमुख शेखर सेवाले जनाए । ‘चाडपर्वको रूपमा र हाम्रा सांस्कृतिक धरोहरहरूको संरक्षण खातिर कार्यक्रम थालनी गरेका हौं,’ सेवाले भने । सिक्किमका कृषि तथा वागवानी विकासमन्त्री लोकनाथ शर्माले उद्घाटन गरेको उत्सवमा दलित समुदायका विभिन्न वाजागाजा, सीप, कलाको प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा अवसरमा गीत–संगीतमार्फत समाज रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै कलाकाहरू यश कुमार र राजेश घतानीलाई विशिष्ट सम्मान प्रदान गरियो । सिक्किमका युवा गायकहरू रवि गहतराज, नवीन गजमेर, शिशिर ठटाल, निकिता सिन्च्युरी र एलबी बराइलीलाई ‘सिक्किम प्रतिभा सम्मान’ प्रदान गरियो । डुवर्सका गायक बिक्की परियारलगायतलाई पनि सम्मानित गरिएको थियो ।

प्रकाशित : माघ ८, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?