२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

'म अझै फिल्म बनाउन सक्छु भनेर युवा पुस्तालाई देखाउन मन छ'

'कुसुमे रुमाल', 'चिनो', 'साइनो' हुँदै 'दर्पण छायाँ' बनाएका तुलसी घिमिरेको काठमाडौं-बम्बई संघर्ष
'मैले कि त फिल्मबाट रिटार्यड हुनुपर्छ, फिल्म बनाइरहने हो भने नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्नुपर्छ'
रीना मोक्तान

काठमाडौँ — त्यतिबेला धर्मेन्द्र निकै चल्तीमा थिए । धर्मेन्द्रजस्तै हिरो बन्छु भनेर बम्बई हानिए तुलसी घिमिरे । 'धर्मेन्द्र ह्यान्डसम कि म ?' भनेर सोध्दा आमा भन्थिन्,'तैं ह्यान्डसम छस् नि' । मुम्बई पुग्नेबित्तिकै कसैले 'फिल्ममे काम करेगा ?' भनेर सोध्ला भन्ने सोच्थे उनी ।

'म अझै फिल्म बनाउन सक्छु भनेर युवा पुस्तालाई देखाउन मन छ'

२४ वर्षको उमेरमै बम्बई पुगेका घिमिरेको ध्यान आफूजस्तै कलाकार बन्न आएकाहरुमा पर्‍यो । अग्ला कद, गह्रौं आवाज, मिलेको ज्यान । बजारको सौन्दर्य दृष्टिकोणमा टक्क मिल्नेहरुकै संघर्षले तुलसीभित्रको हिरो बन्ने सपना चक्नाचुर भयो । त्यहीबेला अठोट लिए,'हिरो नबने पनि फिल्म लाइनमा जसरी नि बस्छु ।'

प्राविधिक क्षेत्रमा प्रवेश गरे फिल्म क्षेत्रमा लामो समय टिक्न सकिन्छ भन्ने सल्लाह पाएपछि मेकअप सिके । आगा खानलाई मेकअपमा असिस्ट गर्ने क्रममा बिना गल्ती गाली सुन्नुपरेपछि त्यो काम छोडिदिए । त्यसपछि लाइटब्वोइ हुँदै स्पट ब्वोइ बने । डुप्लिकेट भएर फाइटका दृश्यमा पनि काम गरे ।

यसरी भौतारिँदै-भौतारिँदै एक दिन सम्पादन कक्षमा ठोक्किन पुगे । त्यहाँ पुगेपछि तुलसीलाई लाग्यो,'ओहो यो काम सिके पो मैले केही गर्न सक्छु त।' त्यसपछि सम्पादन सिके । 'सिन्दुर'को सम्पादनका लागि मुम्बई आएका निर्देशक प्रकाश थापासँग तुलसीको त्यहीँ भेट भयो । उनी दुईले नेपालीमा वार्तालाप गरेको देखेरै गुरु कमलाकार कार्खानिसले नेपाली फिल्मबारे तुलसीसँग गफिए । गुरुले नेपाली फिल्मको संख्या सोधे, तुलसीले औंलामा गन्न सकिने सूची सुनाइदिए । 'अहिलेसम्म ६/७ वटा फिल्म बन्यो होला!' उनले भनेका थिए । गुरुले त्यो कुरा भुलेका रहेनछन्, गुरु पुर्णिमाको दिन तुलसीलाई आज्ञा गरे,'जा नेपाल गएर १० वटा फिल्म बना'। त्यही नै आफ्ना लागि गुरुदक्षिणा ठहरिने कुरा गरेपछि तुलसी अवाक !


फिल्म बनाउन पैसा कहाँबाट ल्याउने ? सुरुमै बजेट सम्झेर तुलसी आत्तिए । फेरि गुरु आज्ञा नकार्ने कुरा पनि आएन । त्यसको एक हप्तामै गुरुले संसार छाडे । गुरुआज्ञा उनीसँगै रह्यो । त्यसपछि फिल्म निर्माणलाई लिएर उनी गम्भीर बने । हातमा पैसा थिएन, तर सल्लाह दिने एक जना मुस्लिम साथी थिए । उनी फिल्म निर्माणमा केही कदम अगाडि बढ्न तुलसीलाई हौसाइरहन्थे । त्यसैको नतिजा हुनुपर्छ एकातिर जीविकोपार्जनका लागि सम्पादन गर्थे उनी अर्कोतिर फिल्म लेखन । त्यहीबेला फिल्ममा पाँच लाख खर्च गर्ने बाचासहितको बंगाली साथी भेटिए । अनि बन्यो, 'बाँसुरी' । 'बाँसुरी'पछिका फिल्महरुले निर्देशनमा तुलसीलाई ब्रान्ड बनाएको कुरा जग जाहेर छ ।

गुरु आज्ञा अनुसार दसौं फिल्म 'दक्षिणा' बनाइसकेपछि तुलसी बम्बई पनि फर्किन सक्थे, तर साथीभाइ र दर्शकको प्रेमले उनलाई नेपालमै रोक्यो । फिल्म करिअरमा तुलसीले कति सफल फिल्म दिए त कति असफल । डेब्यू फिल्मलाई नेपालमा प्रदर्शन रोक लगाइएको क्षण हिजै झैं लाग्ने रहेछ उनलाई । 'हिमाल जलेर ज्वाला भएछ' भन्ने गीतका कारण फिल्मको प्रदर्शनमा रोक लगाइएको थियो । 'खासमा त्यो गीत, मन जलेको बेला हर चिज जलेको देखिन्छ भन्ने कल्पनामा लेखिएको थियो । तर, यहाँ तुलसी घिमिरे हिमाल नै जलाइदिएछ भनेर गीत ब्यान्ड भयो । अनि फिल्म पनि चल्न दिएन । भारतबाटै फिल्मले पैसा उठायो,'मुसुक्क हाँस्दै पुराना दिन सम्झन्छन् ।

त्यतिबेला गीत रेकर्डिङका लागि बम्बई नै धाउनुपर्थ्यो । फिल्ममा काम गर्ने प्राविधिक त्यहीँबाट ल्याउनुपर्ने अवस्था थियो । तुलसीले पनि सन् १९८१ तिर 'बाँसुरी' बनाउँदा स्पटब्वोइ बम्बईबाटै मगाएका थिए । प्राविधिकहरुले छोटो समयमै बम्बईबाट काम सिकेकै कारण अहिले बम्बईमै भरपर्नुपर्ने बाध्यता नरहेको उनी सुनाउँछन् । 'अहिले त एकै समयमा १० वटा फिल्म बनायो भने पनि पुग्ने प्राविधिकहरु छन् । त्यो ठाउँमा पुग्नलाई नेपाली प्राविधिकहरुले निकै मिहेनत गरेको देखिन्छ । उनीहरुले कम समयमै काम सिकेका हुन्,'तुलसी सुनाउँछन् ।

शाही नेपाली चलचित्र संस्थानले अह्राएका फिल्म बनाउनुपर्ने त्यस्तो अवस्थामा निजीस्तरबाट बिएस थापाले फिल्म निर्माण आँटे । बिएस र प्रकाश थापापछि नीर शाह, शम्भु प्रधान, यादव खरेल र तुलसी घिमिरेहरु निजी स्तरका फिल्म निर्माणमा अगाडि बढे । नेपाली फिल्मको इतिहास 'सत्यहरिशचन्द्र'बाट सुरु भएको तुलसीको दाबी छ । 'पहिलो नेपाली फिल्म सत्यहरिशचन्त्र कलकत्तामा बनाइएको थियो । पहिलो निर्देशक डिबी परियार हुनुहन्थ्यो,'उनले भने,'त्यसमा पनि राजा महेन्द्रको लगानी थियो । त्यतिबेला ३०/४० हजारमा फिल्म बन्थ्यो रे । त्यो फिल्मको बजेट ५० हजारको थियो । सरकार कलकत्ता सवारी हुँदा त्यहाँ बनाउँदै गरेको फिल्मका लागि सहयोग माग गरेछन् । उनीहरुले सरकारबाट १०/१५ हजार आस गरेका थिए । तर, सरकारले राम्रो फिल्म बनाउनु भनेर ५१ हजार दिएको थियो रे' ।

तुलसीको समयमा बलिउड फर्मुलामा थुप्रै नेपाली फिल्म बने । अहिले पनि बनिरहेका पनि छन् । तुलसीहरुको पुस्ताले त्यो बलिउड शैलीलाई तोड्न नसकेको आरोप पनि लाग्ने गर्छ । तर, उनी त्यतिबेलाका निर्देशकले हिन्दी फिल्ममा रमाइरहेका दर्शकलाई नेपालीतिर डोर्‍याउन भूमिका खेलेको धारणा राख्छन् । 'हामीले फिल्म हेर्न सिकेकै बलिउडबाट हो । हाम्रो नजिकको फिल्म उद्योग नै बम्बई र कलकत्ता भयो । फिल्म निर्माणको ग्रामर नै उनीहरुबाट लियौं । प्राविधिक पक्षहरु उनीहरुबाटै सिक्यौं,'तुलसीले भने,'सुरुवातमा हिन्दीजस्तै देखिने फिल्म बनाउनै पर्थ्यो । फिल्म चल्नु पनि त पर्‍यो । नेपालीमा पहिलो धार्मिक फिल्म बन्यो । नारादमुनीले नेपाली बोल्दा दर्शक गललल हाँस्थे । नारादले पनि नेपाली बोल्छ त? विष्णु भगवानले कहाँ नेपाली बोल्छ त भन्ने दर्शकको विचार परिवर्तन गर्नका लागि निर्देशकहरुले धेरै मिहेनत गरेका छन् । अहिलेका पुस्ताले जसरी नेपाली कथाका फिल्महरु बनाइरहेका छन्, हिन्दी फर्मुलाबाट बाहिर निस्केर फिल्मलाई नेपाली परिवेशमा ल्याइदिने निर्देशकहरुलाई सम्झिनुपर्छ ।'


घिमिरे रिलको जमानाका निर्देशक हुन् । छायांकनमा खिचिएको दृश्य कस्तो छ ? भनेर तत्काल मोनिटर हेर्ने समय थिएन त्यो । बम्बईमा प्रशोधन गरिएका नेगिटिभ हातमा परेपछि बल्ल फिल्मकर्मीहरुमा खुसी छाउँथ्यो । अहिले फिल्म प्रदर्शन गर्दाको खुसी झैं त्यतिबेला हातमा नेगिटिभ पर्दा हुन्थ्यो । 'प्रिन्ट हेर्दा धन्न छापिएछ भन्ने हुन्थ्यो । कतिवटा सटहरु त छापिँदै छापिँदैन थियो । रिलको जमानामा एकदमै धेरै मिहिनेत हुन्थ्यो । हातले काम गर्नुपर्थ्यो । अहिले त एउटा बटममा काम हुन्छ,'तुलसी सुनाउँछन्,'त्यतिबेला पाँच वटा प्रिन्ट आउँथ्यो । नेपालमा १० वटा हल थियो । त्यो पाँच वटा प्रिन्टले १० हल पुर्‍याउँथ्यो । एउटा रिल सक्ने बित्तिकै त्यसलाई अर्को हलमा कुदाउनु पर्थ्यो । रनरको काम त्यतिबेला धेरैले पाए ।'

त्यतिबेला साउन्ड रेकर्डिङमा पनि खुबै झन्झट । साउन्ड रेकर्डिङका ठूला उपकरण चलाउनु पर्थ्यो । सानो नाङ्ग्रामै साउन्ड रेकर्डिङ हुने कुरा सुन्दै तुलसीहरु छक्क पर्थे । तर, प्रविधिको विकासले अहिलेका फिल्मकर्मीका लागि नाङ्ग्रा मसिन पनि पुरानै भइदियो । त्यतिबेला १० पटक रिहर्सल लिइसकेपछि ओके टेक लिइन्थ्यो । क्ल्याप पनि छिटो-छिटो बजाउनु पर्थ्यो । एक्सन कट पनि छिट्टै बोल्नुपर्ने । डायलग बोल्दा बिग्रियो भने जहाँबाट बिग्रिएको हो त्यहीँबाट टेक लिनुपर्थ्यो । एक्सन भन्ने बित्तिकै रुने दृश्यमा कलाकारले बरर आँशु झार्नुपर्थ्यो । 'अहिले त एक्सन भनिसकेपछि छिटो सक्नुपर्ने कलाकारलाई तनाव हुँदैन । त्यतिबेला त जति रिल सक्यो, त्यति बजेट सकिन्थ्यो । लामो सट नै लिइँदैन थियौं हामी । नयाँ कलाकारलाई त झनै सानो दृश्य खिच्थ्यौं,' उनले भने, 'छायांकनमा जाँदा त्यतिबेला धेरै प्राविधिक आवश्यक हुन्थ्यो । लाइट ब्वोइ नै ८/१० जना हुन्थ्यो । गर्मी महिनामा कोठाभित्र काम गर्दा पसिना खलखल आउँथ्यो । त्यस्तो लाइट हामी काम गर्थ्यौं । ६० किलोवाट लाइटमा काम गर्नु पर्थ्यो । अहिले त धेरै सजिलो छ । त्यतिबेला धेरै ट्रली हुन्थ्यो । क्रेन हुन्थ्यो । अहिलेकोजस्तो स्टिडी क्यामेरा हुन्थेन । त्यसै अनुसारले सटहरु तयार हुन्थ्यौं । एकापट्टिको खिचेर अर्को सट लिन्थ्यौं । अहिले जति लामो सट लिए पनि क्यामेरा हलुका हुन्छ । त्यतिबेलाका क्यामेरा गह्रौं हुन्थ्यो ।'

प्रविधिले फिल्म निर्माणलाई सहज बनाइदिए पनि हिजोआजका फिल्ममा आत्माको अभाव देख्छन् उनी । भन्छन्,'भारतले ३५ एमएमको सेलुल्वोइडमा काम गर्दा नेपालीहरुले १६ एमएममा फिल्म खिच्थ्दै थियो । १६ एमएममा खिचिएको फिल्मलाई ३५ एमएममा प्रिन्ट गरेर दर्शकलाई देखाउँदा फिल्मको क्लवालिटी पर्दामा घट्थ्यो । तर, प्रविधिले हिसाबले अहिले नेपाली फिल्मकर्मी पनि अगाडि बढेका छन्,'उनले भने'प्रविधि सजिलो बनाइदियो । त्यतिबेलाको कथामा आत्मा हुन्थ्यौं । दर्शकले त्यसलाई अनुभव गर्थे । त्यतिबेलाका गीतहरुको धुन पनि हामीलाई अहिलेसम्म पनि थाहा छ । अहिले आधा एक घण्टा मथिंगल घुमाइदिने अनि बिर्सिदिने खालको विषयवस्तु बन्न थालेको छ । अहिले कतिजनाले लटर पटर रुपले फिल्म बनाएको देख्छु । कति जना गम्भिर पनि देख्छु । अहिलेको प्रविधिमा आत्मा राखेर विषयवस्तु बनायो भने कालजयी फिल्म बन्छ ।'

'कुसुमे रुमाल', 'चिनो' र 'साइनो'ले सिल्भर जुब्ली (हलमा २५ हप्ता) मनाउँदाका क्षणहरु तुलसीका सम्झनामा अझै ताजा छन् । 'दर्पण छायाँ'ले १२ हलमा सय दिन मनायो । सय दिन मनाएको खुसीयालीमा दमकमा पुग्दा देखेको दर्शक अझै उनको मानसपटलमा छ । 'सय दिन मनाउन जाँदा त्यो भीडमा हिरोइनहरुलाई बचाएर लैजान नै गाह्रो हुन्थ्यो । दर्शकमा हिरो/हिरोइनलाई यस्सो छुन पाए नि हुन्थ्यो भन्ने भाव हुन्थ्यो,'उनले भने,'दमकको गर्मी, त्यसमाथि भीडमा फिल्म हेर्दा एक जना त गर्मीले बेहोस् नै भएछन् । हामी दमक पुग्दा ती व्यक्तिलाई बाहिर निकालिँदै फिल्म हेर्न सबै खुरुरु हलभित्रै फर्के । हामीले पानी छम्काउँदा त्यो भाइ उठ्यो, अनि हतारमा फेरि हलतिरै दगुर्‍यो ।' 'दर्पण छायाँ'मा दीलिप रायमाझीलाई कलाकार बनाउँदाको क्षण सायदै दीलिप आफैंले पनि बिर्सेका छैनन् । समूह नाच्दै गरेको दीलिप तुलसीलाई 'अट्र्याक्टिभ' लाग्यो । नजिक बोलाएर सोधे, 'तिमीलाई फिल्ममा रुची छ ?' त्यसपछि दीलिपले पनि तुलसीलाई फोटोसुटका फोटो देखाइदिए । अनि फिल्ममा उनी अनुबन्धित भए । अभिनेत्री निरुतालाई भने त्यतिबेला बुढ्यौली उमेरका महिलाको चरित्र चित्रणमा धेरैले अफर गर्थे । फिल्ममा कलेज जाने युवतीको भूमिका निभाउनुपर्ने बताउँदै तुलसीले नै केही समयका लागि ती भूमिका नगर्न निरुतालाई भनेकी थिइन् ।

बलिदानको सम्झना

बलिदान ऐतिहासिक फिल्मै थियो । त्यसबेलाको राजनीति र विद्रोहको ऐना हेर्न आम दर्शकले यो फिल्म हेर्ने गर्थे । त्यसो त, राजनीतिक वृत्तका व्यक्तिहरू पनि बेलाबेला यो फिल्मको प्रसंसा गरिरहेका हुन्छन् । 'बलिदान'मा प्रमुख भूमिका रहेका हरिवंश आचार्यलाई घिमिरेले शरीरको तौल नै घटाउन लगाएका रहेछन् ।

'बलिदान'का लागि त हरिवंशलाई वजन घटाउनसमेत लगाएँ । महको प्रहसन हेर्दा सँधै लाग्थ्यो, यति साह्रो गम्भीर कुरालाई किन कमेडीमार्फत भनेका होलान् । गम्भीर भएर नै भने हुने नि भने हुन्थ्यो । जब बलिदान लेखियो, कलाकारको कुरा आउँदा मैले यही महजोडीलाई सम्झें,' उनले बलिदान बनाउँदाका क्षण सम्झे, 'फिल्मको विषयवस्तु सुनिसकेपछि दुबै जनाले सुरुमै खोइ त फिल्ममा हाम्रो रोल? भनेर सोधेका थिए । अनि मैले तपाईंहरु कमेडीमै अट्किरहनु भएको छ, त्यहाँबाट बाहिर निस्कनुहोस् । अब गम्भीर भूमिका गर्नुपर्छ भनेर भनेको थिएँ । हरिवंश त्यतिबेला वजनदार थियो, फिल्मका लागि ६ केजी घटाउन भनेको थिएँ । ८ केजी नै घटाएको थियो ।'

७१ वर्ष लागेका तुलसीलाई अझै फिल्म बनाउने भोक छ । 'कुसुमे रुमाल' बनाउने बेला आफूलाई भयंकर निर्देशक ठाने पनि अहिले उनमा त्यस्तो अहमता छैन । युवा पुस्ताका फिल्मकर्मीसँग प्रतिस्पर्धा गर्ने फिल्मका लागि अध्ययन र अनुसन्धानसँगै अगाडि बढ्नुपर्ने धारणा राख्छन् । 'राम्रो फिल्म बनाउने, नयाँ युवा पुस्ताका भाइबहिनीलाई हेर म अझै फिल्म बनाउन सक्छु भनेर देखाउन मन छ । अहिलेको फिल्मकर्मीहरु एकदमै अध्ययन गरेर आएका छन् । यस्तोमा मैले कि त फिल्म बनाउन छोड्नुपर्छ, रिटार्यड हुनुपर्छ । फिल्म बनाइरहने हो भने उनीहरुसँग मैले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । उनीहरु निकै अगाडि छन्, चलाख छन् । कि त हामीजस्ता फिल्मकर्मी चुपचाप बस्नुपर्छ । उनीहरुसँग प्रतिस्पर्धा गर्ने हो भने जित्नेगरेर तयारी गर्नुपर्‍यो,'नयाँ प्रोजेक्टमा लागेका उनी बताउँछन्,'बाँसुरीदेखि नै मैले बनाएका फिल्महरुको रिमेक बनाए भने राम्रो फिल्म बनाउँछु होला । अहिलेको प्रविधि र राम्रो बजेट पाएँ भने ती फिल्महरुको राम्रो रिमेक बनाउँथे होला ।'

प्रकाशित : माघ ७, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?