नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै - मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण, २०२३ को  जुन २२ देखि सुरु हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको यो महोत्सव जुन २५ सम्म चल्नेछ। 

वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैठौं महोत्सवमा सहभागिताका लागि आवेदन पनि खुल्ला गरिएको छ । फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका फिल्महरु महोत्सवमा प्रदर्शन गरिनेछन् ।

नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र फिल्महरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत प्रदर्शन हुनेछन् । स्थापना कालदेखि 'ग्लोबल पिस फिल्म फेस्टिबल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका फिल्म यो वर्ष पनि समावेश हुने बताइएको छ ।

कोरोना महामारीको समयमा हाइब्रिड शैली(अनलाइन र भौतिक)मा आयोजना भएको यो महोत्सव भौतिक रुपमा आयोजना गर्न आयोजक टिम उत्साहित छन् । 'महोत्सवले सम्पुर्ण दर्शक तथा सहभागिहरुमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूति गराउने छ,' महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भने ।

महोत्सवमा प्रदर्शन गरिएका फिल्ममध्येबाट उत्कृष्ट फिल्महरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । त्यस्तै चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना हुनेछ ।

प्रकाशित : पुस १७, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा गिरी

घनश्याम गौतम

रुपन्देही — नेकपा (एमाले)को लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरी चयन भएका छन् । 

दाङको देउखुरीमा आइतबार बसेको एमाले प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा गिरीलाई चयन गरेको हो । दलको उपनेतामा अर्घाखाँचीका चेतनारायण आचार्य चयन भएका छन् । गिरी रुपन्देही २ (१)बाट र आचार्य अर्घाखाँचीको १ (२)बाट निर्वाचित हुन् । गिरी यसअघि प्रदेश सरकारमा वन, वातावरण तथा उद्योगमन्त्री र आचार्य आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सदस्यहरुको भेलाले केन्द्रीय तहको शीर्ष नेतृत्वको सहमतिलाई अनुमोदन गर्दै नेता र उपनेता चयन गरेको बताए । दलको नेता चयन गर्न एमालेका महासचिव शंकर पोखरेल, केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मासमेत उपस्थित थिए ।

नयाँ समीकरणअनुसार गठबन्धनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले लिने भन्ने अझै सहमति जुटेको छैन । मुख्यमन्त्रीमा एमाले र माओवादी दुवैले दाबी गर्दै आएका छन् । एमाले महासचिव पोखरेलले एमाले ठूलो दल भएकाले लुम्बिनीको मुख्यमन्त्री एमालेकै हुने दाबी गरे । लुम्बिनीमा एमालेका २९ र माओवादी केन्द्रका ९ सदस्य छन् ।

प्रकाशित : पुस १७, २०७९ १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×