१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८
बक्स अफिस विवाद

फिल्मकर्मीको नियतमा कि बक्स अफिसमै समस्या ?

बक्स अफिस र फिल्म निर्माताको हिसाबमै करोडौं फरक देखिएपछि दुवै पक्षमाथि धेरैले अविश्वास गर्ने र प्रश्न उठाउने गरेका छन्
रीना मोक्तान

काठमाडौँ — गत साता किम्फ (काठमाडौं फिल्म फेस्टिभल) को मञ्चमा एक अन्तरक्रियाबीच फिल्मकर्मी किरणभक्त जोशीले निर्देशक प्रदीप भट्टराईलाई प्रश्न गरे, 'फिल्म महापुरुषले अहिलेसम्म कति कमायो ?' बजारमा करोडौं कमाइरहेको खबर फैलिरहँदा किरणले प्रदीपसँग यस्तो प्रश्न गर्नु अनौठो होइन ।

फिल्मकर्मीको नियतमा कि बक्स अफिसमै समस्या ?

तर प्रश्नको उत्तर दिन सुरुमा प्रदीप अनकनाए । किरणले फेरि सोधे, 'खासमा मेरा केही विद्यार्थीले मलाई यो प्रश्न सोध्न लगाएका हुन् । उनीहरु तपाईंको फिल्मको वास्तविक व्यापार सुन्न चाहन्छन् ।' त्यसपछि प्रदीपले महापुरुषले करिब १० करोड कमाएको जवाफ दिए । प्रदीपले मञ्चमा उत्तर दिनु अगाडि नै महापुरुष टिमले १० करोड कमाएको खुसियालीमा केक काटिसकेको थियो ।

अब प्रश्न उठ्छ, 'महापुरुषुले १० करोड कमाएको भन्दै केक काटिसकेपछि पनि किरणभक्तले आखिर किन प्रदीपकै मुखबाट हिसाब सुन्न चाहे त ?' बजारमा करोडौं कमायो भन्दै गर्दा किन फिल्मको व्यवसायिक हिसाबमा विश्वास गर्दैनन् स्वयं फिल्मकर्मी नै । के नेपाली फिल्मकर्मी फिल्मको कमाइलाई बढाइचढाइ हल्ला गर्दैछन् ? यही प्रश्नको उत्तर खोज्दै चलचित्र विकास बोर्डमा रहेको बक्स अफिस पुग्दा महापुरुषुको कमाइमा ३ करोडको फरक देखियो । बक्स अफिसमा यस फिल्मले ७ करोड, ३३ लाख, ८२ हजार, ६ सय ९० मात्र व्यापार गरेको देखिन्छ । त्यस्तै ४ करोड बढी कमाएको फिल्म '२ नम्बरी'ले ३ करोड ७८ लाख, ६२ हजार, ४ सय २८ कमाएको हिसाब देखायो ।

'चिसो मान्छे' र 'के घर के डेरा'को व्यापारको हिसाबमा पनि धेरै अंकको फरक भेटियो । यो वर्ष निकै चर्चामा आएको फिल्म 'प्रेमगीत ३' को कमाइमा पनि १ करोडको फरक देखिन्छ । निर्माण टिमले नेपालबाट नेपाली र हिन्दी संस्करणबाट यो फिल्मले १० करोड बढी कमाएको हिसाब सार्वजनिक भएको छ । तर बक्स अफिसले ९ करोड ७९ लाख, ३ हजार, ७ सय ५९ को रिपोर्ट दिन्छ । प्रदर्शनको ९ दिनसम्ममा १ करोड ७० लाख कमाएको बताउने 'झिंगेदाउ'ले जम्मा ३ करोड कमाएको बक्स अफिस रिपोर्ट छ । जबकि यो फिल्म प्रदर्शनको चौथो हप्तासम्म पनि हाउसफुल भएको चर्चा चलेको थियो । बक्स अफिसको रिपोर्ट हेर्दा फिल्मकर्मीले आफ्नो फिल्मको व्यापारमा हल्ला गरेको प्रष्ट हुन्छ । के वास्तवमै नेपाली फिल्मकर्मी आफ्नो फिल्मले कमाएको भन्दा बढी हल्ला गर्छन् त ?

निर्माता एवं कलाकार रवीन्द्रसिंह बानिया व्यापारको हकमा ९९ प्रतिशत फिल्मकर्मीले हल्ला फैलाउने गरेको बताउँछन् । 'खासमा ९९ प्रतिशत फिल्मकर्मीले धेरै कमायो भनेर हल्ला पनि गर्छन् । कमजोरी फिल्मकर्मीको पनि छ । मार्केटिङका लागि करोडौं कमायो भनेर हल्ला गर्छन् । खासमा अर्को फिल्म पाउनका लागि पनि निर्देशकले आफ्नो फिल्म हिट भएको हल्ला गरिरहेका हुन्छन्,' उनले भने, 'हामीलाई अहिले तपाईंको फिल्मले त २० करोड कमाइसक्यो होला है भन्छन् । हामीले बढाएर भनेका छैनौं, जति कमायो उति नै भनिदिन्छौं । ५१ दिनसम्म फिल्म हाउसफुल नै थियो । कतिले त हामीले १० करोड कमाएको पनि पत्याउँदैनन् । त्यही हो बक्स अफिसले चाहीँ हामीले झुट बोलेकोजस्तो देखाइदियो ।'

निर्माताले आफ्नो फिल्मको प्रचारको लागि यस्तो व्यापारको हल्ला गर्ने गरेको निर्देशक दीपेन्द्र लामाको भनाइ छ । 'कति निर्माताले २ दिनमै २ करोड कमाएको भन्छन् । कतिले एक दिनमै डेढ करोड कमाएको भन्छन् । खासमा त्यो निर्माताले गरेको पब्लिसिटी स्टन्ट मात्र हो । निर्माताहरुले आफूले कमाएको फिल्मको बढी हल्ला गर्छन् । २ करोड कमाएको छ भने ५ र ६ करोडको हल्ला गरिरहेको हुन्छ,' लामाले भने, 'यति करोड कमायो भनेर आइरहेको समाचार खासमा निर्माताले संचारमाध्यमालई दुरुपयोग गरेर कमाइको झुठ्ठो जानकारी दिएको हो । फिल्मले करोडौं कमाएको खबरले विदेशमा फिल्मको विक्री हुने भयो । दर्शकलाई आकर्षण गर्नका लागि पनि यस्तो कार्य भइरहेको हो ।' अर्का निर्देशक दीपेन्द्र के खनाल फिल्मकै फाइदाका लागि फिल्मकर्मीले यस्तो पब्लिसिटी स्टन्ट अपनाइरहेको बताउँछन् ।

'बक्स अफिसमै समस्या'

रवीन्द्रका अनुसार महापुरुषुले अहिलेसम्म १० करोड ४१ लाखको व्यापार गर्‍यो । वितरकबाट प्राप्त जानकारीबाटै उनको टिमले फिल्मको कमाइ थाहा पाएको उनले बताए । बक्स अफिसबाट दिने हिसाबमा विश्वासको आधार नै नभएको हुँदा आफूहरुले अझै वितरकमै भर पर्नु परेको रवीन्द्र बताउँछन् । 'कहिल्यै बक्स अफिसको हिसाबलाई हामी आधार मान्दैनौं । हाम्रो लागि त बक्स अफिस पनि छ र भन्ने हुन्छ । बक्स अफिस कमजोर हुँदा सबैले करमा चलखेल गर्न पाइरहेको छ । निर्माताले त पूरा बिल नै पाइरहेको हुँदैन । विश्वासको आधारमा हामी चलिरहेका छौं । बक्स अफिसको रिपोर्ट र वितरकको हिसाबमा फरक पहिल्यैदेखि देखिँदै आएको हो,' रवीन्द्रले भने । व्यापार पारदर्शी बनाउन फिल्म निर्माणको ५५ वर्षपछि २०७५ मा बक्स अफिस लागू भएको थियो । बक्स अफिस अर्थात् टिकट काट्ने ठाउँ (क्याबिन)बाट फिल्मको व्यापारिक रिपोर्ट सम्बन्धित निकायले पाउने गर्छ ।

तर झन्डै पाँच करोड लगानीमा जडित बक्स अफिसको सिस्टममै समस्या देख्छन् रवीन्द्र । 'बक्स अफिसको समस्या ठूलो छ । निर्माता संघमार्फत् हामी यो समस्या सल्टाउनुपर्छ भनेर आवाज उठाइरहेका छौं । बक्स अफिसमा रियल टाइमको डेटा आउँदैन । हलवालाले अफलाइन चलखेल गरेको पनि भेटियो । कतिपय हलले त निर्माता र बक्स अफिसलाई दिएको रिपोर्ट नै फरक देखिन्छ । धेरैजसोले बक्स अफिसलाई थोरै पठाएर निर्मातालाई धेरै रकमको डेटा पठाएको भेटियो,' रवीन्द्रले सुनाए, 'कर धेरै तिर्नुपर्ने हुँदा यसो गरेको भन्नेहरु पनि निस्किए । यस्तो समस्यामा अब केही गर्ने अवस्था छैन । पहिलो त बक्स अफिसको सिस्टम नै बलियो बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।'

बक्स अफिसले लागू गरेको सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (सीसीएमएस) मा इटिकेटिङको कारोबार देखाउँछ । बोर्डले बनाइदिएको युजर आइडी र कोडमार्फत फिल्मका निर्माता, वितरक र हलवालाले व्यापार हेर्न सक्छन् । तर यो सिस्टम लागू गरेदेखि नै रियल टाइम डेटा हेर्ने व्यवस्था भएन । अर्थात् हलमा टिकट काट्ने बित्तिकै जानकारी सिस्टममा देखिनु पर्ने हो । तर बक्स अफिसमा उही रियल टाइम डेटा नदेखिँदा बक्स अफिसलाई अझै फिल्मकर्मीले विश्वास गर्न नसकेको दीपेन्द्र के खनाल बताउँछन् ।

'बक्स अफिसले पूर्ण रुपले कार्यान्वयन गर्न नसक्दा नै फिल्मकर्मीले त्यो हिसाबमा विश्वास गर्दैनन् । सुने अनुसार त नाइट सोको हिसाब बक्स अफिसमा जाँदैन भन्ने छ । अर्को त रियल टाइमको डेटा नहुने बित्तिकै कसरी विश्वास गर्ने ? उनीहरुले त हलबाटै रिपोर्ट मागेर डेटा चढाउँछन् जस्तो लाग्छ,' दीपेन्द्र भन्छन्, 'अहिले त बेलुकाको शो धेरै चलिरहेको हुन्छ । हलले पूरै हिसाब गोलमाल गर्छन् भन्ने पनि हुँदैन । क्यूएफएक्सकै च्यानलसँग बक्स अफिसको सिस्टम जोडिएको छैन । अहिले नेपाली फिल्मको व्यापार नै क्यूएफएक्समा हुन्छ । त्यसमा नै पहुँच छैन भने सही आँकडा कसरी पाउनुहुन्छ ? काठमाडौंका सबै हलमा बक्स अफिसको सिस्टम जडान छैन ।'

अहिलेसम्म बक्स अफिसबाट दीपेन्द्रले व्यापारको हिसाब मागेका छैनन् । बरु फिल्म 'चंगा चैट'को बेलैमा बक्स अफिसभन्दा वितरकको आँकडा माथि देखिएपछि उनले त्यसमा विश्वास गर्न छोडिदिएका हुन् ।

बक्स अफिस अधिकृत प्रविन पाण्डे 'रियल टाइम डेटा'को सत्यता स्वीकार गर्छन् । 'जहाँजहाँ इटिकेटिङ सिस्टम लागेको हुन्छ, त्यहाँका रिपोर्ट हामीकहाँ आइपुग्छ । इटिकेटिङ नगरी म्यानुअल टिकेट चलाउने गलत नियत केही हलहरुमा अझै छ । ती हलले गर्दा पनि कलेक्सनमा फरक देखिएको हो,' पाण्डेले भने, 'चलचित्र विकास बोर्डको आफ्नै सीसीएमएस भन्ने टिकेटिङ सिस्टम छ । त्यसमा टिकेट मात्र काट्न मिल्छ । तर अहिले मल्टिप्लेक्समा यो सिस्टम छैन । टिकेट मात्र नभइ फुडको पनि अनलाइन सिस्टमबाटै व्यापार गर्नुपर्ने हुँदा उनीहरुले छुट्टै सिस्टम राखेका छन् । उहाँहरुले एपीआईको माध्यमबाट अटोमेटिकल्ली २० र ३० मिनेटको फरकमा डेटा पठाउनुहुन्छ ।'

कतिपय हलबाट रिपोर्ट समयमै नआउँदा, गलत नियतले केही हलले म्यानुअल टिकट (अर्धकट्टी) काटिदिँदा बक्स अफिस र फिल्मकर्मीको व्यापारिक रिपोर्टमा अन्तर देखिएको उनको भनाइ छ । हलवालाकै नियतले व्यापारमा देखिएको अन्तर देखिएको पाण्डेको दाबी छ । 'अहिलेसम्म कोही फिल्मकर्मी मेरो फिल्मले यति कमायो, बक्स अफिसमा किन यति भनेर यहाँ आइपुगेको छैन । त्यसरी ठूलो अन्तर देखियो हो भने म आफैं नै हेरिदिन्छु नि । सिस्टममा खराबी छैन,' पाण्डेले भने, 'एउटा त फिल्मकर्मीको नियतमै खराबी हुँदा यस्तो फरक देखिएको हो । सिस्टममा समस्या देखिने बित्तिकै अधिकांश सिंगल थिएटरले म्यानुअल टिकट काटिदिन्छन् । अर्को त हलको कर्मचारीले डाटा पठाउँदा कहिलेकाहीँ गल्ती गरिदिन्छन् ।'

निर्देशक लामा निर्माताको सहजताका लागि बक्स अफिस लागू भए पनि अझै यसको नतिजालाई अन्तिम मान्न नसक्नुको अर्को कारण देख्छन् । भन्छन्, 'बक्स अफिसको सिस्टममा नेपालभरका सबै हल जोडिएको छैन । ७० र ८० प्रतिशत हल मात्रै जोडिएको कुरा सुनेको छु । पहिला त वितरकले चुरोटको खोलमा लेखेर दिएको हिसाबमा विश्वास गर्नुपर्ने थियो । अहिले त चुहावट कति भयो भन्ने कुरा अनुमान गर्न सकिन्छ नि । अहिले पनि अझै हिसाब किताब तलमाथि गर्ने सम्भावना छ । कतिपय ठाउँमा अझै अर्धकट्टी खालको टिकेट बिक्री हुन्छ ।' देशभर करिब १९३ हल संचालनमा रहेको चलचित्र संघको तथ्यांक छ । तर, बक्स अफिसमा करिब १८० हलको रिपोर्ट आइपुग्छ । बक्स अफिस अधिकृत पाण्डे बक्स अफिसमा अधिराज्यभरको हलको व्यापार आइपुग्ने दाबी गर्छन् । चलचित्र विकास बोर्डले अहिले रियल टाइम डाटा देखिने गरि सिस्टम सुधारका लागि काम गर्ने तयारी थालेको उनी बताउँछन् ।

वितरक प्रचण्डमान श्रेष्ठ बक्स अफिस व्यवहारिक प्रयोगमै आउन नसकेको भन्दै यसमा गरिएको करोडौं खर्चमाथि प्रश्न उठाउँछन् । 'बक्स अफिसले खासै काम गरेजस्तो मलाई लाग्दैन । अहिले पनि निर्माताले, वितरकले दिएकै डेटामा विश्वास गर्छन् । तर चलचित्र विकास बोर्डको बक्स अफिस केही कर्मचारीलाई भर्ती गर्नकै लागि मात्र खडा गरेको देखिन्छ । त्यो व्यवहारिक रुपमा प्रयोग हुन सकेको छैन । यस्तो गरिब मुलुकको रकम प्रविधिको नाममा आफ्नो गोजीमा राख्न बक्स अफिस खोलिएको हो । बक्स अफिस यसरी व्यवहारिक प्रयोगमा आउँदैनथ्यो भने त्यतिबेलाका सरोकारवालाले यो सिस्टममाथि किन करोडौं खर्च गरियोर भन्ने मेरो प्रश्न हो । कार्यकारी भर्ती गर्न खोलेको हो कि राज्यको ढुकुटी धेरै भएर बक्स अफिस सुरु गरेको थाहा भएन । तर संसारभर यस्तो अभ्यास छैन ।'

निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारी सिस्टममा देखिएको समस्या समाधान गरी बक्स अफिस संचालनमा ल्याउनुपर्ने धारणा राख्छन् । 'म बक्स अफिसको सेवा लिने व्यक्ति हुँ । यो सेवा निर्माण, वितरण र प्रदर्शक पक्षलाई सहज होस्, आर्थिक कारोबारले हामी तीन पक्षबीच कुनै फाटो नआओस्, व्यापारमा पारदर्शी होस् भनेरै बक्स अफिस जडान भयो । तर प्रमुख कुरा त नतिजा हो । तर हल र बक्स अफिसको रिपोर्ट फरक देखियो । यस्तो फरक देखिनुमा त केही समस्या छ भन्ने पक्का हो, 'उनले भने, 'अहिले इसेवा, फोन पे संचालनमा आइरहँदा बक्स अफिस किन चल्न सकेन ? सफ्टवेयर र हार्डवेयरमा काम गरेर सही रकम देखाउने बक्स अफिस बन्नु पर्‍यो । मोबाइल एप्लिकेसनबाटै डेटा हेर्न मिल्ने भनिएको थियो । खोइ त ?'

दीपेन्द्र के खनाल रियल टाइम डेटा देखाउने सिस्टम लागू हुनुपर्ने बताउँछन् । 'बक्स अफिस पूर्ण रुपमा संचालनमा आयो भने सबैलाई सजिलो हुन्छ । निर्माता ढुक्क हुने भए । वितरकलाई पनि धेरै टाउको दुखाइरहनु परेन । कर तिर्न पनि सजिलो हुन्छ,' उनले भने, 'त्यही हो यसका लागि बक्स अफिस राम्रोसँग संचालनमा आउनु पर्‍यो । वितरकले हलबाट जसरी रिपोर्ट लिन्छ त्यसरी नै रिपोर्ट लिएर चलेको बक्स अफिस कामको होइन । हलमा टिकट काट्ने बित्तिकै बक्स अफिसमा देखिनु पर्‍यो ।' वितरक प्रचण्डमान श्रेष्ठले विदेशमा चेन अफ थिएटर (हलहरुको समूह)ले नै वितरकलाई व्यापारको हिसाब बुझाउँदै आएको उदाहरण दिँदै भने, 'संसारभर विश्वासको आधारमा यसरी बक्स अफिस रिपोर्टका कुरा बाहिरिन्छन् । तर त्यसमा राज्यकै निगरानी रहने अभ्यास छैन । बक्स अफिसले निर्मातालाई बचाउँछ भन्ने हल्ला थियो तर यो प्रयोगमै आएन,' प्रचण्डमानले भने, ' ठूलाठूला फिल्म स्टुडियोले प्रयोग गर्दै आएको बक्स अफिसको सफ्टवेयर प्रयोग गरिएको भए आज यस्तो समस्या आउँदैन थियो ।'

प्रकाशित : पुस १५, २०७९ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?