२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

हिमाली जीवनका कथा सुनाउँदै शान्ता

'फिल्म क्षेत्रमा महिलाका लागि सुरक्षित वातावरण बन्नुपर्छ । फिल्म क्षेत्रमा महिलाहरु आउनुपर्छ भन्छन् । तर, उनीहरु कसरी आउने ? सबैले मौका पाउँदैन । समय लाग्छ । महिलाहरु फिल्म क्षेत्रमा आउन गाह्रो छ । निरन्तर काम गर्न पनि गाह्रो छ ।'
रीना मोक्तान

काठमाडौँ — हिमाली भेगतिर मुस्किलले युवा अनुहार देखिन्छ । विद्यालयको असुविधाले धेरैजसोलाई गाउँबाट टाढा बनायो । सहरमा बस्ने ती पुस्तालाई जलवायु परिवर्तनको असरले हिमालका जनजीवनमा पारेको प्रभावबारे थाहा होला ?

हिमाली जीवनका कथा सुनाउँदै शान्ता

निर्देशक शान्ता नेपाली तिनै युवा जमातमा जलवायु परिवर्तनका विषय पुर्‍याउन चाहन्थिन् । त्यसैले पनि डकुमेन्ट्री बनाइन् 'क्लाइम्बिङ टेम्प्रेचर्स अन टप अफ दि वर्ल्ड' । सोलुखुम्बु फोर्चेकी मिङ्मा टासी शेर्पालाई पछ्याइएको डकुमेन्ट्रीमा जलवायु परिवर्तनको असर मात्रै देखिँदैन, पुराना पुस्ताले अनुभव गरिरहेको त्यही परिवर्तनसँग युवा पुस्तालाई जोडिदिएको छ । डकुमेन्ट्रीमा जलवायु परिवर्तनले पर्वतारोही, हिमाली भेगका जनजीवनमा पारेको प्रभावलाई देखाइएको छ । पढाइका लागि काठमाडौं बस्दै आएकी मिङ्मालाई पच्छ्याएको उक्त डकुमेन्ट्रीमा सगरमाथाका सुन्दर ट्रेकिङ ट्रेल, हिमाली जीवन, संस्कृति र भौगोलिक सौन्दर्य प्रस्तुत गरिएको छ । जलवायु परिवर्तनको प्रभाव सगरमाथामा कस्तो छ त ? भन्ने पाटोलाई पनि देखाइएको छ । मिङ्माका बुवा फिन्जोक शेर्पामार्फत् त्यो परिवर्तनले पारेको असरबीच पर्वतारोहीहरू जोखिम मोलेर सगरमाथा पुग्छन् भन्ने गम्भीर विषय पनि डकुमेन्ट्रीमा समेटिएको छ ।

'डकुमेन्ट्रीको अन्त्यतिर हामीले जस्तोसुकै परिवर्तन भए पनि पर्वतारोहीलाई हिमाल चढ्नुपर्ने बाध्यता छ भनेर देखाएका छौं । खासमा उनीहरुसँग हिमाल चढ्ने बाहेक अन्य विकल्प नै छैन । नयाँ पुस्तासँग अन्य विकल्प होलान् । तर, कतिका लागि त अझै हिमाल चढ्नु बाध्यता नै हो । जलवायु परिवर्तनले पर्वतारोहीका जीवन जोखिममा छन् तर उनीहरु बाध्यताले हिमाल चढ्न जान्छन् भन्ने कुरा हामी देखाउन चाहन्थ्यौं नै,' शान्ताले भनिन् ।

शान्ताले हिमालकै कथा खिच्न र देखाउन थालेको पनि १० वर्ष भइसक्यो । यसबीचमा जलवायु परिवर्तनको असरलाई नजिकैबाट नियाल्न पाइन् उनले। त्यही प्रभावलाई अंगाल्न बाध्य पात्रहरु भेटिन् । गत वर्ष २ महिना सगरमाथा आधार शिविरमा बस्दा जलवायु परिवर्तनलाई आफैंले अनुभव गरिन् । उनी यो मुद्दा उठाउने सोच्दै थिइन् । त्यतिकैमा आगा खान युनिभर्सिटीले उनलाई सोध्यो, 'जलवायुकै विषयमा कहाँको माउन्टेन फिल्म बनाउँछौ ?' शान्ताको मुखबाट फ्याट्ट फुत्कियो, 'सगरमाथा' । 'संसारभर चिनिने भनेको त सगरमाथा हो । सगरमाथामा केही परिवर्तन भइरहेको छ भने संसारभरकै लागि चासोको विषय हो । त्यही भएर सगरमाथालाई रोजें,' उनी डकुमेन्ट्रीको कन्सेप्ट सुनाउँछिन्, 'जलवायु परिवर्तनका अन्य पक्षमा छलफल भइरहँदा त्यसमा पर्वतारोहीका कुरा समेटिँदैन । सबै पर्वतारोही यो विषयबारे जानकार हुन्छ भन्ने पनि हुँदैन । उनीहरुले परिवर्तन देख्न त देखेका होलान्, तर त्यो जलवायु परिवर्तनले पारेको प्रभाव हो भन्न सक्दैनन् । उनीहरुकै अनुभवलाई लिएर यो विषयवस्तुमाथि काम गरौं भन्ने भयो ।'

मिङ्माको काठमाडौंदेखि फोर्चेसम्मको यात्रामा ४ हजार माथिको उचाइमा आलु/सागमा कसरी किरा लागिरहेको छ, पानीका मुहान सुकेर हिमाली जीवन कत्ति कष्टकर बन्दैछ ? तापक्रम बढ्दा हिमालमै आएको परिवर्तनहरु बुवा फिन्जोकमार्फत् प्रस्तुत गरिएको छ । कुनैबेला हिउँ फुटाएर पानी पिउनुपर्ने सगरमाथा 'क्याम्प २'मा खोलो नै बग्दै गरेको दृश्य, हिउँबिनाका पहाड अनि त्यसले पर्वतारोहणमा पारेको प्रभाव डकुमेन्ट्रीमा देखाइएको छ । हिउँले भरिएका हिमालका दृश्य अनि ट्रेकिङ ट्रेललाई ड्रोन र वाइड सटका सुन्दर दृश्यमा देखाइएको छ । जलवायु परिवर्तनबारे युवा पुस्तालाई जानकार गराउन यो डकुमेन्ट्री निर्माण गरेको बताउँछिन् शान्ता । 'हुन त जलवायु परिवर्तनबारे थाहा पाउना साथ हामीले रातारात केही गर्न सक्दैनौं । तर, जानकार त हुन सक्छौं । त्यो कुरालाई आत्मसाथ त गर्न सक्छौं । हिमालमा परिवर्तन भइरहेको छ, त्यसलाई रोक्न सकिन्छ त? सकिँदैन । हामीले त त्यसलाई आत्मासाथ गर्ने हो । त्यस्तो चिसो ठाउँमा आलुमा किरा लाग्न थालेको छ । हिमालमा पहिलापहिला जे फल्दैनथ्यो अहिले फल्न थालेको छ,' शान्ता सुनाउँछिन्, 'माथितिर गर्मी पुग्न थालिसक्यो । युवा पुस्ता काठमाडौंमा छन् । उनीहरुलाई आफ्नो परिवारले के भोगिरहेका छन् भन्ने थाहा छैन । जलवायु परिवर्तनका सवालमा हामीले गर्न सक्ने भनेको युवा पुस्तालाई जानकार गराउनु नै हो ।'

शान्ता डकुमेन्ट्रीमा दुई पात्रलाई पच्छ्याउन चाहन्थिन् । बुवा पर्वतारोही, छोरा अथवा छोरी काठमाडौंमा अध्ययनरत पात्र । युवा पुस्ताको पात्र गाउँ फर्कँदै गर्दा जलवायु परिवर्तनबारे सिक्ने सिकाइको यात्रा डकुमेन्ट्रीमा खिच्न चाहन्थिन् । डकुमेन्ट्रीमा देखिएकी मिङ्माले फोर्चेसम्म पुग्दा त्यही परिवर्तनहरु सिक्दै जान्छिन् । बुवाको अनुभवबाट हिमालका परिवर्तन सुन्छिन् । डकुमेन्ट्रीका लागि मिङ्मा र उनका बुवालाई खोज्न शान्ताका लागि सजिलो थिएन । 'धेरै जनामा खोज्दा खोज्दै मिङ्माको समय मिल्यो । मिङ्माको समय पनि अन्तिमतिर मिलेको हो, 'शान्ता सुनाउँछिन्, 'होटल म्यानेजमेन्टमा स्नातक गरिरहेकी मिङ्मालाई होटल व्यवसायमै केही गर्नुछ ।' उनीहरु डकुमेन्ट्री खिच्न फोर्चेमा १२ दिन बसे । हिमालका दृश्यहरु भने एक वर्षअघि खिचेकी थिइन् । उनी डकुमेन्ट्रीमा सबै मौषमलाई समेट्न चाहन्थिन् । तर, बजेट पर्याप्त थिएन ।

डकुमेन्ट्रीमा सुरुमा पछ्याउँदै गएको प्रमुख पात्र अन्तिमतिर हराएको अनुभव हुन्छ किन ? 'मिङ्मा बहिनी खासै धेरै नबोल्ने । प्रश्नको जवाफ छोटो दिने । गफ गर बुवासँग भन्दा पनि धेरै नबोलिदिने । सुरुमा मिङ्मालाई हामीले प्रमुख पात्रका रुपमा देखायौं । तर, बीचमा गएर प्रमुख पात्रका रुपमा बुवालाई परिवर्तन गरेका हौं । सायद त्यसैले त्यस्तो अनुभव भयो होला,' जवाफमा शान्ताले भनिन् । शान्ताले झैं हिमालका कथा सुनाउने फिल्मकर्मी नेपालमा कमै छन् । शान्ता आफैं स्वीकार्छिन्, 'हिमालको कथा भन्ने फिल्मकर्मी त छैन नि । अझ त्यहीँका फिल्मकर्मी पनि छैन । जसको कथा हो उनीहरुले भन्नुपर्ने हो नि त । एक त हिमालमा काम गर्नु पनि चुनौतिपूर्ण छ ।' हिमालमा काम गर्न मानसिक, शारीरिक सबै कुराले तन्दरुस्त हुनुपर्‍यो । त्यही अनुसारको बजेट पनि हुनुपर्‍यो । कति विदेशी फिल्मकर्मी त पर्वतारोहीसमेत हुन्छन् । उनीहरुका लागि फिल्म खिच्न सजिलो हुने नै भयो । तर, त्यही कुराको अभाव नेपाली फिल्मकर्मीमा छ । 'हिमालमा चढ्न सजिलो छैन । कि त तपाईं शेर्पा नै हुनुपर्‍यो या त त्यहीँ काम गर्ने व्यक्ति हुनुपर्‍यो । त्यो भयो भने मात्र हिमालको स्टोरी टेलरको रुपमा अगाडि आउन सकिन्छ,'उनले भनिन् । छायांकनमा जानुअघि शान्ताको टिमले 'क्लाइम्बिङ टेम्प्रेचर्स अन टप अफ दि वर्ल्ड'का लागि ६ महिना अध्ययन अनुसन्धान गरेकी थिइन् । डकुमेन्ट्रीको निर्देशन र छायांकन शान्ता आफैंले गरेकी हुन् ।

'महिलाका लागि फिल्म क्षेत्रले सुरक्षित वातावरण बनाइदिनुपर्छ'

शान्ता पत्राकारिताबाट फिल्म मेकिङको बाटोतिर मोडिएकी हुन् । धरानबाट पत्राकारिता सुरु गरेकी उनले उज्यालो एफएममा काम गरिन् । त्यसबेला आफूले गरेको कामले कुनै प्रभाव पारेजस्तो उनलाई लागेन । त्यसपछि उनी फिल्म निर्माणमा अगाडि सरिन् । 'फिल्मकर्मी बन्छु, फिल्म बनाउँछु भन्ने कहिल्यै थिएन त्यतिबेला । फेरि रेडियोमा ५/१० मिनेटको रिपोर्ट बनाउन एकदमै तनाव हुन्थ्यो । तर, त्यो कामले केही परिवर्तन ल्याएन । मैले ल्याएको कामले त प्रभाव पारोस् भन्ने थियो,' उनले फिल्ममेकिङमा आउनुअघिको क्षण सम्झिन् । उज्यालोपछि टेलिभिजन प्रोडक्सनमा लागिन् शान्ता । त्यसपछि उनलाई लाग्यो, 'फिल्ममेकिङ नै मेरा लागि रहेछ ।'

त्यतिबेला टेलिभिजनमा 'डेस्टिनेसन नेपाल'भन्ने यात्राको भ्लग बनाउने गर्थिन् । २ वर्ष यात्राका डकुमेन्ट्री बनाइन् । 'त्यतिबेला मलाई मानिसहरुका कथा सुन्न मनपर्दो रहेछ । उनीहरुका कथा भन्न मनपर्दो रहेछ भन्ने थाहा पाएँ,' उनले सुनाइन् । २०१० देखि २०१३ सम्म उनी यात्राका डकुमेन्ट्रीमै व्यस्त भइन् । त्यसपछि कृपा अनप्लग्ड निर्माण गरिन् । त्यहीबेला निर्देशन, सम्पादन र छायांकनको ज्ञान लिइन् । अनि फिल्ममेकिङमा लागिन् । शान्ताले थुप्रै विदेशी प्रोजेक्टमा काम गरिसकिन् ।

फिल्म क्षेत्रमा शान्ता झैं सक्रिय महिलाहरुको संख्या न्यून छ । शान्ताले भने आफ्नो मिहेनत र प्रतिभाले एउटा छुट्टै स्थान बनाइसकिन् । महिलाहरुका लागि फिल्म क्षेत्रमा सहज वातावरण नभइदिएकै कारण यो संख्या बढ्न नसकेको शान्ता बताउँछिन् । 'फिल्म क्षेत्रमा महिलाहरु आउनुपर्छ भन्छन् । तर, उनीहरु कसरी आउने ? भन्नुपर्‍यो नि । आजको भोलि आउन पाउँदैन । सबैले त्यही अनुसारको मौका पाउँदैन । समय लाग्छ,' ३५ वर्षीया शान्ता भन्छिन्, 'महिलाहरु आउनलाई गाह्रो छ । निरन्तर काम गर्नलाई पनि गाह्रो छ ।'

समाजको संरचना तोडेर महिलाहरु फिल्म निर्माणमा आउन समय लाग्ने उनी बताउँछिन् । 'मसँग काम गरिरहेका महिला साथीहरु आज मसँग छैनन् । कतिको बिहे भयो, बालबच्चा भए । उनीहरुले कामलाई निरन्तरता दिन सकेनन् । हामीकहाँ महिलालाई काम गर्न दिए पनि १०-५ को काम गरोस् भन्ने सोच्छन् । तर फिल्म निर्माणमा बिहान-बेलुका भन्न पाइँदैन । रातदिन भन्न पाइँदैन,' उनले भनिन् ।

महिलाका लागि फिल्म क्षेत्रमा काम गर्ने वातावरण सुरक्षित हुनुपर्ने उनी बताउँछिन् । 'चुनौती लिएर बाहिर छायांकनमा जानेहरुको समस्या अर्कै छ । शारीरिक, मानसिक तनावका कुरा आउलान् । पारिश्रमिक बराबर छैन,' शान्ता सुनाउँछिन्, 'महिलाहरु आउनुपर्छ भने पनि उनीहरुलाई यो क्षेत्रमा निरन्तरता दिन एकदमै कठिन छ । फिल्म क्षेत्रमा ९९ प्रतिशत पुरुष छन् । महिलाहरुलाई काम गर्ने ठाउँमा सुरक्षित अनुभव गराउनु ती पुरुषहरुको पनि जिम्मेवारी हो ।'

महिलाको उपस्थिति बढाउनकै लागि शान्ताले नेपाली फिमेल फिल्ममेकर्स (एनएफएफ) समूह बनाइन् । चलचित्र विकास बोर्डले पनि अनुदान (ग्रान्ट) मात्रै नदिई फिल्म-क्रु मै महिलाहरुको निश्चित संख्या तोकिदिने काममा भूमिका खेल्नुपर्ने उनी बताउँछिन् । फिल्म निर्माणमा लागेका महिलाले पनि सामाजिक, राजनीतिक, सांस्कृतिक कुरामा जानकार रहनुपर्ने उनको तर्क छ । शान्ता अहिले दलित पात्रले काठमाडौंमा कोठा खोज्न गर्ने संघर्षमाथि डकुमेन्ट्री बनाउँदैछिन् ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : पुस ५, २०७९ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?