नेपाली कथा सुनाउँदै अस्ट्रेलियन फिल्मकर्मी कलनी ग्याकन- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली कथा सुनाउँदै अस्ट्रेलियन फिल्मकर्मी कलनी ग्याकन

नेपालमै बसेर फिल्म बनाइरहेका एक अस्ट्रेलियन नागरिकको नेपाल नाता
रीना मोक्तान

काठमाडौँ — एकदिन चटपटे खाँदै गर्दा कलनी ग्याकनको आँखा अनौठो कुराले तान्यो । चटपटे बेरिएको कागज रहेछ हस्तलिखित चिठ्ठी । एकैछिन चिठ्ठीतिर एकोहोरिए । त्यतिबेलै दिमागमा झिल्को पस्यो, 'जसका लागि यो चिठ्ठी लेखिएको हो उसले यो चिठ्ठी पाए के गर्ला ?' 

६ वर्षको नेपाल बसाइमा कलनीले यस्ता थुप्रै क्षण र भोगाइ संगाले । उनलाई थाहा थियो, यी क्षणहरु कुनै दिन फिल्ममा अटाउनेछन् । फिल्म 'सपनाको आवाज'मा त्यही चटपटेको प्रसंग अट्यो ।

चटपटे खाँदै गर्दा एकदिन सोनमको हातमा छुटिसकेका प्रेमी विकासको चिठ्ठी पर्छ । सोनम नयाँ भविष्यको खोजीमा अष्ट्रेलिया जाने तयारीमा छिन्, डिपेन्डेन्ट भिसामा । परिवारको आर्थिक अवस्था कमजोर छ । घरको जिम्मेवारीबीच उनले आफ्नो खुसीमा सम्झौता गरेकी छन् । प्रेमी विकासको प्रेम मनमा लुकाएर डिपेन्डेन्टमा अष्ट्रेलिया लैजाने व्यक्तिसँग बाँच्ने बहाना खोज्दैछिन् । 'टुटल राइडर' विकासले पनि सोनमलाई कहाँ बिर्सन सकेका छन् र ! सपनामै भए पनि सोनमको नजिक पुगिरहन्छन्, उनलाई फर्काउने प्रयास गरिरहन्छन् । यस्तो अवस्थामा उक्त चिठ्ठीले उनीहरू दुईको चिसिएको सम्बन्धमा न्यानोपन थप्ला ? लघु फिल्म सपनाको आवाज (साउन्ड अफ ड्रिमिङ) यी दुई प्रेमीका प्रेमको कथामात्रै होइन सामाजिक, आर्थिक, राजनीतिक परिस्थितिले दबिएका पात्रहरुको बाध्यता, संघर्ष, त्याग, विद्रोह र प्रेमको कथा हो । २९ मिनेटमै ग्याकनले फिल्ममार्फत् नेपाली समाजको यथार्थ चित्रण गर्दै विदेशिनेहरुका सपना पछाडिका पीडा, मनोभावलाई समेटिदिएका छन् ।

छोटो अवधिमै यति गम्भीर विषयलाई गहिरिएर दृश्य भाषामा शसक्त ढंगले स्थापित गर्नु सजिलो छैन, 'तपाईं विदेशी भएर नेपाली समाजको यस्तो कथा कसरी खोज्नुभयो ?' खासमा उनी नेपाली युवाहरुको सामाजिक मुद्दाका कथा भन्न चाहन्थे । 'विदेश जाने उनीहरुका जटिल सपना र त्यसका लागि गर्नुपर्ने त्यागहरु । त्यस्ता कथा जसले नेपाली समाजको वास्तविकता पनि देखाइदियोस् भन्ने थियो,' जवाफमा ग्याकनले भने ।

लघु फिल्मको कथा ग्याकनले नै लेखेका हुन् । माया लुना खानले त्यसमा सहलेखन गरिन् । खासमा माया नेपाली । ग्याकन चाहन्थे आफूले लेखेका पात्रहरू नेपाली समाजकै देखिउन् । कथाले नेपालीहरूले भोगेको भोगाइको वास्तविकता नजिक पुर्‍याइदियोस् भन्ने सोचेरै मायाको सहयोग लिए । पटकथाकार सम्पदा मल्लको निर्माणमा तयार भएको यो फिल्म हालै काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा प्रदर्शन भयो । बुसान इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल र एलए सर्ट्स फिल्म फेस्टिभलतर्फ छनोट भइसकेको 'सपनाको आवाज'ले यसअघि थुप्रै अन्तर्राष्ट्रिय महोत्सवहरूमा उपस्थिति जनाइसकेको छ ।

पहिलो पटक नेपालमा फिल्म प्रदर्शन गर्दा पाएका प्रतिक्रिया भने निर्माण टिमका लागि विशेष बन्यो । 'गत वर्ष यो फिल्म अन्तर्राष्ट्रिय प्लेटफर्महरुमा प्रदर्शन भयो । तर, नेपालमै प्रदर्शन गरेकोजस्तो विशेष कहाँ हुन्छ ? जहाँको कथा हो त्यहीँ प्रदर्शन गर्नुको अनुभव राम्रो हुँदोरहेछ । कोरियामा फिल्म देखाउँदा दर्शक सुनसान थिए । तर, नेपालमा त दर्शक हाँस्थे, कहिले शान्त बन्थे । यसरी दर्शकले फिल्म हेर्दा मनै प्रफुल्ल भयो,' ग्याकनले किम्फमा फिल्म हेर्दाको अनुभव सुनाए ।

खासमा फिल्मको कथा ग्याकनले ४० घण्टामै लेखेका रहेछन् । जब कथा फुर्‍यो, ग्याकन लेख्न बसे । 'त्यतिबेला सायद सिर्जनशील आत्माले काम गर्‍यो । लेख्नु सिवाय मसँग अरु विकल्प नै थिएन । लेखेको लेख्यै गरेको ४० घण्टा भएछ,' मुसुक्क हाँस्दै सुनाए । फिल्मको स्क्रिप्ट भने पाँच महिनामा तयार भयो । छायांकनमा एक महिना लाग्यो । फिल्मको पूरा काम सक्न १ वर्ष लाग्यो । लघु फिल्मका लागि खर्चिएको यो समय धेरै नै हो । तर, लकडाउनले गर्दा सोचेको समयमा छायांकनमा जान पाएनन्, टिमले वर्कसपमा समय बिताउन पायो । वर्कसपमै कलाकारहरुले आफ्नो चरित्रका लागि संवाद लेखे । 'मलाई उनीहरुको मुखमा आफ्नो शब्द राख्न मन थिएन । त्यसैले आफ्नो पात्रका लागि उनीहरुबाटै शब्द निकाल्न लगाएँ । वर्कसप लामो भयो । तर, त्यसले हामीहरुको सम्बन्ध बढाइदियो । सहकार्य र विश्वास बढाइदियो,' कलनी सुनाउँछन् । फिल्ममा प्रस्तुत सबै पात्रहरु कलनीले कहीँ न कतै भेटेकै अनुभवहरुको संगालो हो । पात्रहरुको नाम पनि धेरै त वास्तविक नै राखेका छन् ।

कलनीले उठाएकै विषयलाई पछिल्लो समय व्यवसायीक फिल्मकर्मीले नउठाएका होइनन् । तर, विषयवस्तुको गहिराइमा गएर पात्रहरुको भोगाइलाई जुन मनोभावमा पस्किएको छ, त्यसका लागि ग्याकन धन्यवादका पात्र हुन् । 'हामीले बनाएको फिल्मले पैसा कमाउँदैन भन्ने हामीलाई थाहा थियो । तर, हामी कलाको सिर्जना गर्न चाहन्थ्यौं, समयको यस्ता क्षणहरुलाई संगाल्न चाहन्थ्यौं जसमा जीवन लुकेको होस्,' उनले भने, 'खासमा जीवन भनेको आख्यान भन्दा माथि हुँदोरहेछ । फिल्मले त्यही जीवनको जादुलाई कैद गर्न खोज्ने हो ।'

फिल्ममा भूकम्पका दृश्य, 'लुसिड ड्रिम'का कुरालाई पनि समेटिएको छ । भूकम्पसँग नेपालीहरूका भावनात्मक सम्बन्ध गाँसिएको छ भन्ने थाहा थियो ग्याकनलाई । त्यसैले फिल्मको कथालाई भूकम्पतिर ढल्काएनन् । 'भूकम्पले कसरी मानव जीवनलाई हल्लाइदिएको थियो भन्ने कुरालाई भने फिल्ममा देखाउनु नै थियो । त्यसैले उपकथामा उनें,' उनी सुनाउँछन् । फिल्ममा 'लुसिड ड्रिम'मार्फत् विकास र सोनमले एकअर्काले भेट्न खोजिरहेका हुन्छन् । वास्तविक संसारमा एक हुन नसके पनि सपनामा उनी दुई एकअर्काको नजिक पुग्छन् । धेरै अगाडि कलनी 'लुसिड ड्रिम' देख्ने एक जनासँग ठोक्किएका थिए । ती व्यक्ति गाडी चलाउँदै गर्दा पनि निन्द्रमा उँघ्थे । कलनी उनलाई ब्यूँझाउन बोलिरहन्थे । पछि थाहा पाए ती व्यक्तिले 'लुसिड ड्रिम'मै एक युवती भेटेका रहेछन् । त्यसैले रातको समय 'लुसिड ड्रिम'मार्फत् उनलाई खोजिबस्थे । त्यही पात्रको भोगाइलाई पटकथामा उनेर 'सपनाको आवाज'मा राखे ।

भूकम्पकै समयमा नेपाल

नेपालसँग कलनीको सम्बन्ध भूकम्पले जोडिदिएको रहेछ । सन् २०१५ मा उनी भारत घुम्न निस्केका थिए । तर, गोरखपुर आइपुग्दा यात्राको थकान बढी भयो । आरामका लागि कतै होटल पनि पाएनन् । रेल स्टेसनतिर गएर निदाउने सोचे । त्यतिबेलै एउटा गाडीमा उभिएको बालक चिच्याउँदै थियो, 'काठमाडौं, काठमाडौं'। उनी निन्द्रा पूरा गर्ने लोभले गाडी चढे । आँखा खोल्दा, काठमाडौं । काठमाडौं आइपुग्दा महाभूकम्पपछिको दोस्रो परकम्प गयो । उनलाई लाग्यो, 'सायद म यहाँ आउनुको केही कारण छुुु' । त्यसअघि भूकम्पबारे केही थाहा नपाएका उनले 'भूकम्प' भन्ने डकुमेन्ट्री बनाए । डकुमेन्ट्रीमा भूकम्पलाई बालबालिकाको नजरबाट प्रस्तुत गरिएको थियो ।

त्यसपछि सन् २०१८ मा बसाइसराइबारे डकुमेन्ट्री 'जर्नी टु द सेन्ट्र अफ दि हर्ट' बनाए । नेपालीहरुको ठूलो संख्या विदेसिँदै गर्दा नेपालमा बसाइसराइ गरी आउने विदेशी पात्रहरुलाई पछ्याइएको उक्त डकुमेन्ट्रीले त्यो वर्ष अन्तर्राष्ट्रियतर्फ किम्फमा अवार्ड नै जित्यो । यसबीच उनले नेपाली फिल्महरुमा पनि काम गरे । अष्ट्रेलियाका कलनी अहिले नेपालमै बस्न रुचाउँछन् । नेपालसँग उनको गहिरो सम्बन्ध त छैन । तर उनका फिल्म र डकुमेन्ट्री नेपालबाटै सुरु भयो । 'नेपालमा बसेर फिल्म बनाउने खासमा नसाजस्तै भइसक्यो, '२७ वर्षीय कलनीले हाँस्दै सुनाए, 'विदेशमा फिल्म बनाउनु भन्दा नेपालमा बनाउँदाको अनुभव नै अर्कै हुन्छ ।'

कलनी स्वतन्त्र (इन्डिपेन्डेन्ट) फिल्मकर्मी हुन् । 'सपनाको आवाज' बनाउन खासै बजेट पुग्दो थिएन । दु:ख गरेर फिल्म बनाए । सपनाको आवाज छायांकनपछि त तीन महिना एक्लैले सम्पादन गरे । दिनमा अरुका लागि काम गर्दा रातमा सम्पादन गर्थे । कलाकारहरुलाई राम्रो पारिश्रमिक पनि दिन सकेनन् । 'सपनाको आवाज' बन्न करिब १० लाख खर्च भएको उनी सुनाउँछन् । कलाकारहरु खोज्न भने सम्पदाले सहयोग गरेकी थिइन् ।

नेपालमा स्वतन्त्र फिल्मकर्मीहरू प्रतिभाशाली रहेको कलनी बताउँछन् । 'नेपालमा यति धेरै प्रतिभाशाली फिल्मकर्मीहरु छन् । उनीहरुको फिल्म अन्य फिल्मका झैं व्यवसायिक रुपले प्रदर्शन त हुँदैनन् । तर, विस्तारै स्वतन्त्र फिल्मकर्मी र व्यवसायिकबीचको अन्तर कम हुँदै गइरहेको देख्छु,' उनले भने, 'उनीहरु फर्मुला फिल्महरु बनाउँदैनन् । फरक कथा, फरक विधाका फिल्महरु बनाउँदैछन् ।'

कलनी अष्ट्रेलियामा जन्मे, हुर्के । हजुरबुवाले खिचेको छिमेकीको भिडियो हेरिसकेपछि फिल्ममेकिङले ८ वर्षको उमेरमै उनलाई तान्यो । हजुरबुवाले दिएको क्यामेरा त्यसयता उनको हातबाट छुटेको छैन । नेपाल कथाहरुमा निकै धनी रहेको बताउँछन् उनी । त्यसैले होला उनी नेपाली माटोको कथा सुनाउँदैछन् । व्यवसायिक फिल्मकर्मीले देख्न नसकेका कथाहरू उत्खनन् गर्दैछन् । बसाइसराइका मुद्दामा नेपालमा थुप्रै कथाहरु देख्छन् उनी । उनी अहिले काठमाडौंमै आधारित अर्को फिचर फिल्ममा काम गर्दैछन् । 'विदेशमा भएका नेपालीहरुको एकदमै शक्तिशाली कथाहरु छन् । आफ्नो जीवन नै विदेशमा बिताइरहेका कथाहरु कति छन् कति,' उनले भने, 'तर नेपाली फिल्महरुले विदेशमा भएका नेपालीहरु विलासी जीवनमा रमाइरहेको मात्र देखाउँछ । चित्त पनि दुख्छ त्यस्तो देख्दा । वास्तविकता दुखद होला, तर त्यसभित्र पनि सुखदुख, सौन्दर्य अनि काव्यिक कथा छन् । सायद बलिउड फिल्मको नक्कल गर्ने भएर होला यस्ता कुराहरु फिल्ममा नजरअन्दाज गरिएका छन् । वास्तविकता लुकाएर फेन्टासीमै दर्शक झुलकाउँदैछन्।'

प्रकाशित : मंसिर २८, २०७९ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्

'विश्वस्तरका नेपाली फिल्म बन्नुपर्छ'

रीना मोक्तान

काठमाडौँ — नेपाली फिल्ममा पुरुषकै दबदबा बढी भएका कारण अझै नेपाली फिल्ममा महिलाको चरित्रचित्रण परम्परागत भएको रंगकर्मी आकांक्षा कार्की बताउँछिन् ।

'महिलालाई जसरी युगौं युगदेखि हेर्ने मेलगेजको दृष्टिकोण छ, ती नै चरित्रचित्रणमा झल्किएको हो । अहिले फिल्म मेकिङमा परिवर्तन आएको छ । फिल्म बनाउने धारणाहरू बद्लिँदै गर्दा पनि फिल्मकर्मी महिलाको भूमिकालाई लिएर जोखिम मोल्न सक्नु भएको छैन जस्तो लाग्छ । हिरोइन मटेरियलको ट्याग अहिले पनि देखिन्छ,' किम्फमा आयोजित 'नेपाली फिल्मको भविष्य' शीर्षकमा भएको अन्तरक्रियामा कार्कीले भनिन्,'हाम्रो नेपाली फिल्म उद्योग पुरुष प्रधान भएरै पनि होला, स्रोत र शक्ति उनीहरुकै नियन्त्रण छ । त्यसैले निर्यण लिन सक्ने क्षमताका महिला र प्रेरणादायी भूमिका महिलाहरूले कम पाउँछन् ।'

अभिनेत्री सुरक्षा पन्त नेपाली फिल्म क्षेत्रमा महिलाहरुको संख्या नै कम भएको बताउँछिन् । महिलाको सहभागिता बढे फिल्ममा राम्रो सहकार्य हुने र समानता पनि आउने उनको धारणा छ । 'संख्याको हिसाबले पुरुषहरु पक्कै पनि धेरै हुनुहुन्छ । तर, म कलाकारका हिसाबले उनीहरुबाट केही न केही सिक्ने मौका खोज्छु । फरक विचारधाराका फिल्मकर्मीबीच काम गर्ने कुरालाई मैले अवसरको रुपमा पनि लिएको छु,' अन्तरक्रियाकै क्रममा भनिन्, 'तर, फिल्मको संख्या बढ्नुपर्छ भन्नेमा मेरो ध्यान हुन्छ । यो रातारात हुने विषय होइन । महिलाको संख्या बढ्यो भने समानता पनि आउनेछ । त्यति मात्रै होइन यसरी महिलाहरूको उपस्थितिले फिल्मकर्मीहरुमा राम्रो सहकार्य पनि हुनेछ भन्ने लाग्छ ।' उनी फिल्ममा कोही महिला फिल्मकर्मी छन् भने उनीहरुसँग काम गर्ने कुरालाई प्राथमिकतामा राख्दै आएको पनि बताउँछिन् । 'कोही महिला फिल्मकर्मी हुनुभयो भने उहाँहरुसँग काम गर्छु । झन् निर्माता कोही महिला हुनुभयो भने उहाँहरूको फिल्म तुरुन्तै गर्न तयार हुन्छु,'उनले भनिन् ।

महिला चरित्रचित्रणमा बजारले कत्तिको निर्धाण गर्छ ? समाजको प्रतिबिम्व नै फिल्ममा हुने गरेकाले महिला चरित्र चित्रण त्यसरी हुने गरेको जवाफ दिन्छन् निर्देशक प्रदीप भट्टराई । ‍'फिल्म भनेको छुट्टै संसार होइन भन्ने कुरा बुझ्नुपर्छ । फिल्म भनेको समाजको एउटा सानो भाग हो । समाजमा जे भइरहेको हुन्छ, फिल्ममा त्यही भइरहेको हुन्छ । समाजमा धेरै संख्यामा महिलाहरुले नेतृत्व लिइरहेको भए उनीहरुको चरित्रचित्रणमा डोमिनेटेड गरेको भन्ने हुन्थ्यो । वास्तवमा समाजमै त्यस्तो कुरा छ । फेरि समाजमै भएका कुरा फिल्ममा देखिनुपर्छ भन्ने होइन । तर, हामी फिल्मकर्मी त्यस्तो कुरामा जिम्मेवार छौं,'उनले भने । फिल्म लेखन र वर्कशपका क्रममा यस्ता परम्परागत चरित्रचित्रणबारे छलफल हुनुपर्ने आकांक्षा थप्छिन् ।

नेपाली फिल्म विश्वस्तरका बन्नुपर्छ : अविनाश

संसारमा बनिने फिल्मको स्तरमा नेपाली फिल्म बनिनुपर्ने निर्देशक अविनाशको भनाइ छ । 'लोरी'बाट कान्समा स्पेशल जुरी मेन्सन अवार्ड जितेका अविनाश नेपाली फिल्ममा कथ्य शैली नयाँ हुनुपर्ने पनि धारणा राख्छन् । 'नेपाली फिल्महरू विश्वका फिल्मको स्तरमा, उत्तिकै प्राविधिक रुपले राम्रा अनि विश्व दर्शकलाई सोचेर बनाउन जरुरी छ । फिल्ममा कथा हुन्छ तर, फिल्ममा कसरी कथा भनिएको छ भन्ने कुराले महत्त्व राख्छ । नेपाली फिल्म कस्तो बन्नुपर्छ भन्ने त जवाफ छैन । तर, कथा भन्ने शैलीमा नयाँपन हेर्न मन छ मलाई । परम्परागत किसिमका कथ्य शैली भन्दा पनि फरक तरिकाका अपनाउनु पर्छ । त्यो फिल्मले के भन्न खोजेको हो भन्ने कुरा र इमोसनलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुराले अर्थ राख्छ जस्तो लाग्छ,'अन्तरक्रियामा सहभागी दर्शकलाई हेर्दै अविनाशले भने ।

विश्वस्तरका फिल्म बने नेट्फ्लिक्स, अमाजोनजस्ता प्लेटफर्ममा पनि नेपाली फिल्मका लागि ढोका खोलिने एनिमेसनमा आफ्नो पहिचान बनाइसकेका इन्सेसान्ट रेन स्टुडियोका किरण भक्त जोशी बताउँछन् । 'नेट्फ्लिक्समा भएको फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबललाई धेरै दर्शकले हेरे । नेट्फ्लिक्स, अमाजोनजस्ता प्लेटफर्मले कथा कस्तो छ भनेर हेर्दैन । तर, ती कथाहरू कसरी भनिएका छन् भन्नेमा उनीहरूको ध्यान हुन्छ, 'किरणले भने, 'तर फिल्मका निर्माणका लागि आवश्यक पुर्वाधारको कमी देख्छु यहाँ । नेपालमा फिल्महरू व्यक्तिले लगानी गरिरहेको हुन्छ । फिल्ममा लगानी गर्ने पुर्वाधारको विकास हामीले गर्नुपर्छ । हामीसँग राम्रो कथा भन्ने फिल्मकर्मी छन् ।'

प्रदीप भट्टराईले भने विश्वस्तरका फिल्म बनाउने वातावरण अझै नबनेको बताए । 'संसारका राम्रा कहलिएका फिल्महरु सबैभन्दा धेरै व्यापार गर्ने फिल्म बनुन् भन्ने कामना छ । हाम फालेर त्यस्ता फिल्म बनाउँछु भन्ने वातावरण बनिदियोस् भन्ने लाग्छ । कहिलेकाहीँ त हाम्रो भाग्यमा राम्रो फिल्म हेर्ने मात्र रहेछ, बनाउने रहेनछ भन्ने अनुभव पनि हुन्छ,' उनको जवाफमा दर्शकहरू गलल हाँसे ।

लगानी खोज्न विश्व बजार

विश्वस्तरका फिल्म बनाउन उत्तिकै लगानीमा फिल्म निर्माण गर्नुपर्ने हुन्छ । फिल्म निर्माण महंगो पेसा हो । विश्व बजारलाई हेर्दा नेपाली फिल्म निकै कम बजेटमा बन्ने गरेका छन् । व्यवसायिक फिल्ममा आफूलाई सावित गरिसकेका प्रदीप भट्टराईहरूका लागि लगानी खोज्नु समस्याको विषय नबन्ला । तर, स्वतन्त्र रुपले फिल्म बनाइरहेकाहरुका लागि लगानी खोज्नु प्रमुख समस्या रहेको अविनाश बताउँछन् । 'स्वतन्त्र रुपले काम गरिरहेका फिल्मकर्मीलाई कसले विश्वास गरिदिने ? विश्वका राम्रा फिल्मकर्मीकै तहका फिल्मकर्मी हामीकहाँ छन् । यहाँको उद्योगले नपत्याइदिएपछि बाहिरबाट पैसा उठाउनुपर्छ । त्यसरी पैसा खोज्न ठूला-ठूला फिल्मकर्मीसँग प्रतिस्पर्धा हामीले गर्नुपर्छ । हामीले गर्ने भनेको दुई हात फैलाएर त्यस्तो बजारमा पुग्नुपर्छ,'अविनाशले भने । नेपाली लगानीकर्ता फिल्मसँग जोडियो भने फिल्मकर्मीमा लगानी उठाइदिने दबाब हुन्छ । तर, फिल्ममा लगानी गरिदिने फेस्टिभल, ल्याब, मार्केटमा नेपाली फिल्मकर्मी पुग्नुपर्ने अविनाश बताउँछन् । 'तर, लगानी खोज्न ती क्षेत्रमा पनि उतिकै गाह्रो छ । जति नेपालमा खोज्न गाह्रो हुन्छ,'उनले भने,'लगानी खोज्ने प्रोसेस लामो हुनसक्छ । कहिलेकाहीँ झर्को पनि लाग्न सक्छ ।'

लगानी खोज्ने समस्या व्यवसायिक फिल्मकर्मीका लागि पनि उत्तिकै चुनौतीपूर्ण रहेको प्रदीप भट्टराईको अनुभव छ । आफूहरुले साथीभाइसँग मिलेर फिल्मका लागि लगानी जुटाउँदै आएको बताउँछन् । 'मैले चारवटा फिल्म गरें । श्रीमतिको सुन, आमाको गहना राखेर नै जोखिम मोलेर हामीले फिल्म बनायौं । नाफा नोक्सान पनि आफैंले ब्यहोर्ने भनेर आफैं लागि परेर काम गर्दै आइरहेका छौं,'लगानीकै विषयमा छलफल हुँदा प्रदीपले आफ्नो अनुभव सुनाए । राज्यले नै फिल्म क्षेत्रको यो समस्या समाधान गरिदिनु पर्ने उनी तर्क गर्छन् । नेपाली दर्शकको स्वाद बदल्न अविनाश विक्रम शाह जस्ता फिल्म बुझेकाहरूले नेपाली बजार लक्षित गरेर फिल्म बनाउनुपर्ने भन्दै उनले सुझाव दिएका थिए ।

प्रकाशित : मंसिर २५, २०७९ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×