१८ वर्षपछि वीरगन्जमा ‘जोगले भेट भएपछि...’- मनोरञ्जन - कान्तिपुर समाचार

१८ वर्षपछि वीरगन्जमा ‘जोगले भेट भएपछि...’

शंंकर आचार्य

पर्सा — वीरगन्जको आदर्शनगर खेल मैदान सोमबार साँझ दर्शकले भरिभराउ थियो । मानवता प्रवद्र्धन तथा मानव सेवाका लागि मानव सेवा आश्रमद्वारा आयोजित ‘नेपथ्य लाइभ कन्सर्ट’ ले सबै उमेर समूहका दर्शकलाई आकर्षित गरेको थियो ।

कडा सुरक्षा व्यवस्थाबीच साँझ ४ बजे सुरु भएको कन्सर्टमा सूर्यास्तपछि गोधुली साँझमा ६ बजे मञ्चमा उदाए नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ ।

अमृतको जोशिलो गायन र प्रस्तुतिले २ घण्टाको अवधिमा वीरगन्जेली दर्शकलाई नचाए । ‘भेडाको उनजस्तो....’ र ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले....’ जस्ता आफ्ना कालजयी गीत गाएर माहोल बनाइसकेका अमृतले त्यसपछि दर्शकसँग संवाद थालेका थिए । दर्शक पनि उनीसँग संवाद गर्थे र उनको सबै गीतमा सँगै नाच्ने र गाउने गरे ।

त्यसपछि अमृतले ‘आजभोलि के भयो..’, ‘चरी मर्‍यो सिसैको गोलीले...’, ‘जोमसोमै बजारमा ...’ जस्ता चर्चित गीत सुनाए । दर्शकलाई देश दर्शन गर्न र राष्ट्रलाई माया गर्न पटक–पटक आग्रह गरेका अमृतले यसबीच सोमबार नै पुण्यतिथि परेको स्वरसम्राट नारायण गोपाललाई मञ्चबाटै सम्झन भ्याए ।

‘शीरफूल सिरैमा..’ ‘नैनताल..’, ‘साँइली मोरीलाई’ आदि गीत गाएर दर्शक झुमाएका अमृतले त्यसपछि ‘जीवन हो घाम छाँया...’ गाउँदा दर्शक उनलाई साथ दिँदै थिए । ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ...’ गाएर उनले दर्शकको मनमा जोश भरेका थिए । ‘जोगले हुन्छ भेट...’ गाएपछि अमृतले वीरगन्जेली दर्शकसँग १८ वर्षपछि भेट भएको बताए ।

मै नाचे छमछम...’ गाएपछि अमृतले अन्त्यतिर दर्शकबाट बहुप्रतिक्षित गीत ‘रेशम...’ सुनाए । ‘तालको पानी माछीले खानी....’ गाएपछि अमृतले अन्त्यमा ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो....’ गाउँदा युवा दर्शक जोसिए ।

प्रकाशित : मंसिर २०, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्

बैंकहरुमा ११ अर्ब निक्षेप थपिँदा १ अर्ब मात्रै कर्जा प्रवाह

कान्तिपुर संवाददाता

काठमाडौँ — वाणिज्य बैंकहरुमा एक सातामा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर ९ देखि १६ गतेसम्मको अवधिमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।

९ गतेसम्म वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा १६ गतेसम्म आउँदा ४५ खर्ब ७३ अर्ब पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह भने १ अर्ब मात्रै बढेको छ । ९ गतेसम्म कुल ४२ खर्ब २२ अर्ब कर्जा प्रवाह भएकोमा १६ गतेसम्म ४२ खर्ब २३ अर्ब पुगेको छ । कात्तिक मसान्तको तुलनामा मंसिर महिनाको १६ दिनमा भने जम्मा १० अर्ब निक्षेप थपिएको हो भने १ अर्ब मात्रै थप कर्जा प्रवाह भएको हो ।


प्रकाशित : मंसिर २०, २०७९ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×