निट्फेस्टको सातौं दिन, इटालीको नाटक मञ्चन हुने - मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निट्फेस्टको सातौं दिन, इटालीको नाटक मञ्चन हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय  नाट्य महोत्सवमा इटालीको मजदुरको कथा  समेटिएको नाटक 'मेड इन इल्भा' मञ्चन हुने भएको छ । 'सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव' भन्ने नाराका साथ सुरु भएको महोत्सवको सातौं दिन यो नाटक मञ्चन गरिने भएको हो । 

मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र लिने औद्योगिक मालिकहरूको प्रवृत्ति नाटकमा प्रस्तुत गरिएको छ ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित 'मेड इन इल्भा' मध्याह्न १२ र दिउँसो ४ बजे मञ्चन हुँदै छ । साथै, 'थिएटर शिक्षाः अवसर र चुनौती' शीर्षकमाथि पनि अन्तरक्रिया आयोजना हुँदै छ ।

त्यस्तै कचहरी नाटक र क्लाउन नाटकसम्बन्धी कार्यशाला पनि सञ्चालन हुँदै छ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कुलका क्रियाकलाप, उपलब्धि र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिँदै छ ।

प्रकाशित : मंसिर १५, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंले छेकेको नेपाली रंगमञ्चको दुःख

सुशीला तामा‌ङ

काठमाडौँ — नाटक र रंगमञ्च भन्नेबित्तिकै अब काठमाडौं मात्र सम्झिनुपर्ने अवस्था छैन । काठमाडौं बाहिर पोखरा, इटहरी, दमक, विराटनगर, कर्णालीसम्म नाटक र रंगकमर्मीहरूको लहर पुगिसकेको छ ।

काठमाडौं बाहिर पनि हिरा बिजुली नेपाली, सिजन दाहाल, सोनु जयन्तीलगायतका रंगकर्मीहरू निरन्तर रंगमञ्च विस्तार र नयाँ पुस्ताका रंगकर्मीहरू जन्माउने काममा अभ्यस्त छन् । यद्यपि रंगमञ्चमा काठमाडौंमा बनेका नाटकघर र नाट्य समूहहरूको नै दबदबा देखिएको काठमाडौं बाहिर खटिरहेका रंगकर्मीहरूको भनाइ छ । काठमाडौंभित्र होस् या बाहिर, विदेशी नाट्य महोत्सव तथा मेलामा समेत काठमाडौंका टोलीको नै हाबी भएकोमा रंगकर्मी नेपालीले आक्रोश पोखे ।

उनीहरूले काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि जारी महोत्सवको चौथो दिन सोमबार ‘काठमाडौंले छेकेको नेपाली रंगमञ्चको दुःख : मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिस्कसनमा काठमाडौं बाहिरको रंगमञ्च, रंगकर्मी, तिनको संघर्ष, दर्शक, नाटक निर्माणमा काठमाडौंले पुर्‍याएको बाधादेखि रंगमञ्चमा सहकार्यको सट्टा गुटबन्दीसम्मका विषयमा परिचर्चा गरे । छलफलमा पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका नेपाली र सहजकर्ताका रुपमा कदम थिएटर दमकका दाहाल सहभागी थिए ।

रंगकर्मी नेपालीले काठमाडौंमा नाटकघर निर्माण र विस्तार रंगमञ्चको विकास भएको भन्न नमिल्ने तर्क गरे । काठमाडौं बाहिर गएर मुगुमा २०६८ सालमा ‘कर्णाली आर्ट सेन्टर’ खोलेर १० वर्ष दर्शक बनाउन नै समय खर्च गरेको उनले सुनाए । हाल उनी सुर्खेतमा समेत रंगमञ्च विस्तार र विकास गर्ने ध्येयले लागिपरेका छन् । ‘हामी १० वर्ष दर्शक मात्र खोज्नतिर लाग्यौं,’ उनले भने, ‘हामीलाई क्वालिटी होइन, मान्छेको पहुँच खोज्नु छ ।’ सुर्खेतको झ्याल अर्थात् त्यहाँको सत्ताबाट कर्णालीलाई देखाउन आफू सुर्खेत आएको उनको भनाइ छ । ‘सुर्खेतमै प्रदेश प्रमुख, संस्कृति मन्त्री छन् । राइट टु कल्चर र सीमान्तीकृतको आवाज सरकारको आँगन, सडमकै अगाडि देखाएर घच्घचाउने हाम्रो उद्देश्य हो,’ उनले भने ।

काठमाडौं भनेको के हो, नाटकका सबै कुरा यहाँ मात्र छन् ? रंगमञ्चको दायरा के हो भन्ने प्रश्न गर्दै काठमाडौंलाई नै नेपालको इतिहास भनिरहेको रंगकर्मी जयन्तीले बताए । उनका अनुसार नाटकघर मात्र रंगमञ्चको दुनियाँ होइन योभन्दा बाहिर ठूलो दायरा छ । रंगमञ्चको दायरा, बुझाइ र संस्कार भन्ने पक्षलाई सबैभन्दा पहिले बुझ्न सकेमा काठमाडौं र काठमाडौं बाहिरको रंगमञ्च भनेर छुटाइरहनुपर्ने अवस्था नरहने उनको ठम्याइ छ ।

नेपालमा रंगमञ्चको इतिहास हेर्ने हो भने निकै लामो छ । बालकृष्ण समको समयलाई लिएर नेपाली नाटकको इतिहास र उद्गम स्थानलाई बुझ्न नहुने नेपालीको भनाइ छ । डोटीका धनबहादुर मल्लजस्ता इतिहासका कयौं रंगकर्मीहरू काठमाडाैं केन्द्रित रंगमञ्चले गर्दा ओझेल परेको उनले सुनाए ।

त्यसो त काठमाडौंभित्रका नाटकघरबीच नै सहकार्य र समन्वयको वातावरण नभएको स्वयं रंगकर्मीहरू नै स्वीकार्छन् । रंगकर्मी वीरेन्द्र हमालले महोत्सवकै छेकोमा गरिएको एक अन्तरक्रिया कार्यक्रममा रंगमञ्चभित्र अहिले कलाकार र नाटकघरहरूबीच गुटबन्दी हाबी भएको सुनाएका थिए । काठमाडौंबाहिर र बाह्य मुलुकमा काठमाडौं भित्रकै रंगकर्मीहरू सक्रिय छन् । हालै मात्र शिल्पी थिएटर समूह ‘हिँउको पृथ्वी यात्रा’ नाटक लिएर भारतको आसाममा सहभागी भएको थियो भने यसै नाटक लिएर देश दौडाहामा थिए । त्यस्तै नाटक ‘खुवालुङ’ टोली धरान मञ्चनपछि नाट्य महोत्सवतिरै फर्किएको छ । काठमाडौं केन्द्रित नाटकघर र नाट्य समूहले लगाइदिएको बारकै कारण बाहिरका रंगकर्मीहरू मारमा परिरहेको नेपालीको आरोप छ । ‘काठमाडौंबाट मान्छेहरू नाटक गर्न बाहिर जान्छन् । के काठमाडौं बाहिरका मान्छेहरूले नाटक गर्नै नसक्ने हो र दैलेखमा काठमाडौंको मान्छे किन नाटक लिएर जाने, त्यहीँ पनि मान्छे छैनन र ?’ उनले प्रश्न गरे । काठमाडौंको रंगमञ्चले स्रोत साधन, सरकारी संयन्त्रलाई यतै कब्जा गरिरहेको उनको ठहर छ । हुम्लामा गएर नाटक गर्ने हिम्मत नगर्न उनले काठमाडौंकेन्द्रित रंगकर्मीहरूलाई चेतावनीसमेत दिए ।

रंगमञ्चमा स्थापितदेखि लिएर नयाँ आउनेलाई निकै चुनौती रहेको रंगकर्मीहरू सुनाउँछन् । काठमाडौं बाहिर मुख्य चुनौती भनेकै नाटकघर, नाटक, दर्शक र रंगकर्मीहरूको अभाव हो । पोखरामा दर्शक र रंगकर्मीहरूको निरन्तरता रहे पनि नाटक बनाउने चुनौती रहेको रंगकर्मी परिवर्तनको भनाइ छ । उनले भने, ‘बनाउने त पहिला नाटक हो दर्शक होइन । पोखरामा दर्शकको अभाव भने छैन ।’ नाटकघरको समस्या र रंगकर्मीहरू आउने जाने क्रम जारी रहने जयन्तीको बुझाइ छ । रंगमञ्चमा टिक्न कठिन नै भएकाले रोजिरोटीका लागि रंगकर्मीहरू काठमाडौं तथा बाह्य मुलुकमा जाने क्रमले गर्दा नै पुराना जाने र नयाँ आउने भइरहने उनले सुनाए । बुटवलमा भने रंगमञ्च सुरुआती चरणमा रहेकाले नियमित नाटक गर्ने टिम भर्खरै बन्दै गरेको रंगकर्मी सापकोटाले अनुभव बाँडे ।

रंगमञ्चले लामो समय फड्को मारे पनि व्यवसायी बन्न सकेन र रंगकर्मीहरू आर्थिक अभावमै बाँच्नुपर्छ भन्ने उनीहरूबाटै सुनिन्छ । रंगमञ्चको खटाइ, यसमा गरिएको लगानीलाई दुःख भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्छ भन्ने नेपालीको मत छ । काठमाडाैं रंग राजनीति सत्ताधारीको भन्दा ठूलो रहेको सुनाउँदै यसले भने दुःख लाग्ने उनले बताए । उनले थपे, ‘रंगमञ्चमा दिएको समय, यसको अनुभवलाई सुखका रूपमा लिएको छु । मैले दुःख महसुस कहिल्यै गरेको छैन ।’

काठमाडौंभित्रकालाई ठूलो र बाहिरका रंगमञ्चलाई सानो मान्ने प्रवृत्तिले कहिल्यै रंगमञ्चमा सहकार्य र भाइचाराको सम्बन्ध कायम नहुने उनले ठोकुवा गरे । रंगमञ्चमा कोही पनि शासक र शासित हुन नहुने उनको तर्क छ ।

हामी एक अर्कामा प्रतिस्पर्धाभन्दा पनि दर्शक र नाटक कसरी बनाउने भन्नेतिर लाग्नुपर्ने जयन्तीको सुझाव छ । उनका अनुसार गाह्रो काठमाडौं बाहिर मात्र होइन, मण्डलाजस्ता थिएटरलाई पनि छ । यता र उता दुःख आ–आफ्नै छन् । उनले भने,‘त्यहाँ र यहाँकोमा फरक भनेको बजार हो । बजार भएकाले ग्राहक बढी हुन्छन् । हाम्रो गाउँ हो ग्राहक कम हुन्छन् । हामीले त्यो विचार गर्दैनौं । सबै कुरामा हातेमालो गरेर हिँडेमा सहज हुन्छ ।’

सबै किसिमका नाटक र नाट्य महोत्सव, कार्यशालाजस्ता कार्यक्रमहरू एउटै थलो र थिएटरमा केन्द्रित नगरी राष्ट्रिय रुपमा नै सबैले सबैतिर सहकार्य गर्न सकेमा रंगमञ्चको भलाइ हुने सापकोटाको ठम्याइ छ । उनका अनुसार रंगमञ्चमा विविधता र सम्भावना खोजेर राज्यलाई झकझकाउने काम अझै पनि रंगमञ्चले गर्न सकेको छैन ।

प्रकाशित : मंसिर १५, २०७९ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×