निफेस्टको पाँचौ दिन, उरुग्वेको नाटक देखाइने

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) ले सहकार्य गरेको कुञ्ज थिएटरमा मंगलबार बिहान अमेरिकी अडियो नाटक 'ट्रि कन्फेसन'को जुम कक्षा सम्पन्न भएको छ । ‘ट्रि कन्फेसन’मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ । 

निफेस्टको पाँचौ दिन, उरुग्वेको नाटक देखाइने

यो नाटकमा दर्शक/श्रोताहरुले रुखको मुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाउनेछन् । यस अडियो नाटकलाई जेनी दिन बडरले लेखेका हुने भने एरिन बी मिले निर्देशन गरेका हुन् ।

त्यस्तै मंगलबारै उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक 'रियो' पनि दिउँसो १२ र ४ बजे मञ्चन हुँदैछ । यो थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको सहरको कथा समेटिएको छ । महोत्सवको चौथो दिन मञ्चन भएको नेपाली प्रयोगात्मक प्रस्तुति 'इम्ब्रिओनिक'को साँझ ६ बजे पुनः मञ्चन हुँदैछ । केदारनाथ पौडेलले लेखन तथा निर्देशन रहेको यस प्रस्तुतिले हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरु गर्छ ।

आज साँझ ७ बजे 'पाइतालाका यात्रा' शीर्षकमा नृत्यनाटिका हुँदैछ । नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर हिमाल हुँदै तराईसम्म सांस्कृतिक पहिचानसहितका नृत्य प्रस्तुत गरिनेछ । मनिषा बस्नेत, कुन्ती सिमाली, रोज महर्जन, ऋतिका महर्जन, अनुपमा केसी, डिलाशा गुरुङ, अनु गौतम, दीपिका खतिवडा, सुजाता गुरुङ, वर्षा ढकाल, ज्ञानु लामा, मेलिशा घिमिरे, सदिक्षा गौतम, सुजाता दास, मृणाल श्रेष्ठ, गणेश श्रेष्ठ, अनू गौतम रिजवान थापा र सबिना पोखरेलले नृत्य पस्कनेछन् ।

'सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को ट्याग बोकेर सुरु भएको महोत्सवमा यसअघि 'काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक' विषयमा अन्तरक्रिया सम्पन्न भयो । पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली अन्तरक्रियामा सहभागी थिए भने दमकका सिजन दाहालले सहजकर्ताको भुमिका निभाए । साथै केही समयअघि चर्चामा आएको 'खुवालुङः ढुंगाको बाटो' पनि मञ्चन भयो । 'अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने' भन्ने विषयमा पनि कार्यशाला भयो ।

‍मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।

प्रकाशित : मंसिर १३, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?