२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

निटफेस्टमा नेपाली र दुई विदेशी नाटक देखाइँदै

काठमाडौँ — भुटान र अमेरिकाको संयुक्त प्रस्तुति रहेको 'थ्री कन्ट्रीः वन मदर' मण्डला नाटकघरमा मञ्चन हुँदैछ । नाटकलाई क्याटी बेकले निर्देशन गरेका हुन् । अंग्रेजी भाषाको यो नाटकलाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । यो एकल नाटकलाई प्रयोगात्मक नाटकको रुपमा चर्चा गरिएको छ । 

निटफेस्टमा नेपाली र दुई विदेशी नाटक देखाइँदै

यो नाटकले सन् १९९० देखि २००० को बीचमा आफ्नो मातृभुभी भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास र संस्कृतिलाई प्रस्तुत गरेको छ । यो नाटक तामाङ्ग समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ । त्यस्तै लोक शैलीको नाटक 'द म्याजिक स्वान–गिज' मण्डला स्टुडियोमा मञ्चन हुनेछ । कोन्द्रातोएभा क्रिस्टिनाले लेखेकी यस नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गरेका छन् । नाटकले एक युवतीको कथा समेटेको छ । आमाबुवाको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी ती युवतीले आफ्नो स्वतन्त्रताका यात्रामा सानो भाइलाई बिर्सिएको प्रसंग नाटकमा प्रस्तुत छ ।

त्यस्तै नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट 'अवशेष' पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ । महोत्सवमा ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि हुनेछ । यसअघि भारतको कथावाचन शैलीको ‘देस्देमोना रुपकम’ र स्पेन-इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ मञ्चन भयो ।

त्यस्तै महोत्सवको आकर्षण रहेकी अभिनेत्री शबना आजमीको मास्टरक्लस पनि सम्पन्न भयो । मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु मञ्चन हुनेछन् ।

प्रकाशित : मंसिर ११, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?