कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
पर्दा पछाडि

'फिल्म लेखनलाई बल्ल पेसा मानियो' [भिडियो]

'हामी महिलाका लागि फिल्म क्षेत्र एकदमै खत्तम हो भन्ने खालको कुरा अहिले पनि सुनिन्छ । जसरी राजनीति बदनाम भयो त्यसरी नै फिल्म क्षेत्रलाई बदनाम बनाइयो । कुनैबेला फिल्म क्षेत्रमा शोषण हुने हो कि भन्ने डर थियो । सायद त्यस्तै कुराले गर्दा महिलाहरू कम हुनु भएको हो कि !'
रीना मोक्तान

काठमाडौँ — पटकथालाई फिल्मको मेरुदण्ड मानिन्छ । तर, नेपाली फिल्ममा मेरुदण्ड नै कमजोर हुने गुनासो सुनिने गर्छ । अब पटकथालाई मजबुत कसरी बनाउने ? सम्पदा मल्ल पटकथालाई बलियो बनाउन निर्देशककै भूमिका रहने बताउँछिन् ।

'फिल्म लेखनलाई बल्ल पेसा मानियो' [भिडियो]

'पटकथा/स्क्रिन राइटिङ तीन ठाउँमा परिमार्जित हुन्छ, स्क्रिप्ट, निर्देशन अनि एडिटिङ टेबलमा । यो स्क्रिन राइटिङले गर्ने यात्रा नै हो । हामीकहाँ जहिल्यै पटकथालाई दोष दिइन्छ । लेखक फिल्मको क्याप्टेन अफ दि सिप होइन, निर्देशक हो,' उनी भन्छिन्, 'फिल्मको सबैभन्दा ठूलो लेखक नै निर्देशक हो । किताब लेख्दा लेखककै हुन्छ त्यो किताब । तर, फिल्ममा अन्तिम भिजन नै निर्देशकको हुन्छ । त्यसैले पटकथा बलियो हुनका लागि निर्देशककै सबैभन्दा ठूलो भूमिका हुन्छ भन्ने लाग्छ ।'

फिल्म लेखनलाई महत्त्व दिन थालेको धेरै भइसकेको छैन । फिल्म क्षेत्रले फिल्म लेखकलाई महत्त्व दिन थाले लेखकहरू बढ्ने सम्पदाको भनाइ छ । 'अहिले बल्ल फिल्म लेखन पनि काम हो भन्ने कुरा बुझ्न थालिएको छ । दीपकराज गिरीले एकपटक भन्नुभएको थियो, अहिले पो लेखनको चर्चा हुन्छ । मेरै समयमा लेखकहरूलाई एउटा कोठामा राखेर ३/४ वटा सीडी दिएर लेख्न लगाइन्थ्यो,' दीपकको भनाइ उद्धृत गर्दै भनिन्, 'मलाई लाग्छ, बल्लतल्ल फिल्म क्षेत्रले लेखकलाई महत्त्व दिन थालेको छ । जुन सबैभन्दा राम्रो कुरा हो । लेखकहरूलाई महत्त्व दिन थालियो भने लेखकहरू यो क्षेत्रमा बढ्नुहुन्छ ।'

फिल्मको नतिजा नराम्रो निस्कँदा अधिकांश लेखकले फिल्मकर्मीलाई लगाइदिने आरोप हुन्छ,'मेरो लेखनलाई तोडमोड गरिदियो' । अर्कोतर्फ फिल्मकर्मीले लगाउने आरोप छ,'लेखन नै बलियो थिएन' । सम्पदा लेखक र निर्देशकबीच राम्रो तालमेल नहुँदा यस्तो आरोप-प्रत्यारोप लाग्ने गरेको बताउँछिन् । 'लेखक र निर्देशककै सहकार्यमा फिल्म बन्ने हो । लेखक र निर्देशकबीच श्रीमान र श्रीमतिकोजस्तो सम्बन्ध हुनुपर्ने हो । त्यस्तो नहुँदा यो मनमुटावमा लेखकले निर्देशकलाई अनि निर्देशकले लेखकलाई दोष लगाउने गरेको हो,' लेखनमा लामो अनुभव बटुलिसकेकी सम्पदा सुनाउँछिन् ।

महिला चरित्रचित्रण

फिल्म क्षेत्रमा लेखकहरूको कमी देखिन्छ । महिला त नगन्य नै छन् । सम्पदा त्यस भीडमा पनि सक्रिय महिला लेखकमा पर्छिन् । लेखनकै हिसाबले हेर्ने हो भने महिला चरित्रचित्रणलाई पर्दामा सधैँ कमजोर देखाइन्छ । पर्दामा अझै पनि सशक्त महिलाहरु देख्न मुस्किल पर्छ । सम्पदा फिल्मकर्मीले समाजलाई मार्ग निर्देशन गर्ने जिम्मेवारी बोध नगरिदिँदा महिलाको चरित्रचित्रण कमजोर लेखिने गरेको धारणा राख्छिन् ।

'नारीलाई सशक्त रुपमा खडा गर्ने र नगर्ने भन्ने कुराको निर्णय फिल्मकर्मीको हो । फिल्ममेकर भइसकेपछि हामीले समाजलाई ऐनाका रुपमा देखाउने मात्र होइन । समाजलाई मार्ग निर्देशन गर्ने काम पनि हो है भन्ने नबुझेर महिला चरित्र चित्रण त्यसरी लेखिरहेका हुन्छन्,' उनले भनिन्, 'तर, मैले लेख्द प्राकृतिक रुपमै महिलाहरू बलियो लेखिँदो रहेछ । कठपुतलीमा मिथिला शर्माको बलियो चरित्र छ । अहिले मैले लेख्न लागेको नयाँ फिल्ममा पनि हुँदाहुँदै महिला चरित्र सशक्त भएर आएको छ । तर महिलालाई बलियो देखाउने भन्दैमा पुरुषलाई डोमिनेट गरेको पनि देखाउन भएन ।'

'आमा', 'सुनगाभा', 'राधा'जस्ता फिल्मको उदाहरण दिँदै थप्छिन्,'यी फिल्महरूमा महिलाहरूको चरित्र चित्रण सशक्त देखिन्छ । म त के विश्वास गर्छु भने हामी सर्जक भइसकेपछि न हामी नारी हुन्छौं न पुरुष । तर, पात्र निर्माणमा हामी आवश्यक समय खर्चँदैनौं । अहिले म महाभारत हेरिरहेकी छु त्यसमा हरेक पात्रहरू कति मज्जाले लेखिएका छन् । सायद त्यसरी नै चरित्रहरुलाई निर्माण गर्न हामी चुकिरहेका छौं कि?'

लेखनले पुर्‍यायो बम्बई

पटकथा लेखनमै आफ्नो करिअर बनाएकी सम्पदा लेखनलाई आफ्नो 'प्यासन' मान्छिन् । सम्पदालाई लेख्नकै लागि आफू जन्मेको हुँ भन्ने लाग्छ । बाल्यकालदेखि नै लेख्न रुचाउँथिन्, सम्पदा । ४/५ कक्षामा हुँदादेखि नै लेख्न थालिन् । उनले लेखेका कथाहरु पत्रपत्रिकामा छापिन्थे । १८ वर्षको उमेरमा 'अनायस एक दिन' सार्वजनिक गरिन् । लेखन उनका लागि ध्यानजस्तै भइसक्यो लेखन । 'लेखनले मलाई जीवित बनाउँछ । लेख्न बस्दा नै मैले आनन्द महसुस गर्छु,'मुसुक्क हाँस्दै भनिन् । उनी स्क्रिप्ट लेखन सिकाउने पनि गर्छिन् । उनी पर्दाका लागि लेखेरै पनि जीविको पार्जन गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् ।

'लेखेरै जीविको पार्जन गर्न सकिन्छ । तर, अब तपाईं एकदमै विलासी जीवन जिउन चाहनुहुन्छ कि साधा जीवन ? त्यसको निर्णय तपाईंकै हातमा छ । तर, अहिले सित्तैमा लेख्न लगाइँदैन,' उनले भनिन् । टेलिश्रृंखला 'सिंहदरबार' होस् या फिल्म 'कठपुतली' सबैमा उनले आफूले गरेको मिहेनतको पारिश्रमिक पाइन् ।

धेरैलाई थाहा नहुन सक्छ सम्पदा कुनैबेला 'सासभी कभी बहु थी' भन्ने क्षेत्रमा कलम चलाउँथिन् । सन् २०१२ मा 'एसियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन'मा स्नातकोत्तर गरेर फर्केपछि सम्पदाले एनडीटिभी इम्याजिनको नक्सलाइट सिरिजमा असिस्ट गर्ने अफर पाइन् । त्यसपछि बम्बई हानिइन् । तर, त्यहाँ पुग्ने बित्तिकै त्यो च्यानल नै बन्द भयो । त्यसपछि एक्सेल इन्टरटेन्टमेन्टले बनाउन लागेको 'तलास' भन्ने फिल्ममा प्रोडक्सन असिस्टेन्ट बनिन् । पारिश्रमिक थियो ५ हजार । त्यहीबेला टिभी सिरियल लेखनमा सक्रिय शबनम मुम्ताजले 'ए रिस्ता क्या कहलाता है'मा असिस्टेन्ट बनाइन् । टेलिसिरियल लेखनमा पारिश्रमिक पाइन् ४० हजार । 'ए रिस्ता क्या कहलाता है'देखि कलर्सको 'इश्कका रंग सफेद'मा सहायक पटकथा लेखक भएर काम गरिन् । 'गुमराह', 'फियर फाइल्स', 'क्राइम पेट्रोल'मा पनि काम गरिन् । यशराज फिल्म्सका लागि 'सुद्ध देशी रोमान्स'मा पनि लेख्ने मौका पाइन् । साथीहरुसँग मिलेर 'क्यारी अन कुत्तों' बनाइन् ।

'टेलिभिजन इन्डस्ट्रीले धेरै कुरा सिकायो । अब टेली श्रृंखला ठूलो दर्शकबीच पुग्नुपर्ने, त्यसलाई मनपराउने छुट्टै दर्शकको जमात । भारतमा टेलिभिजनका लेखकले फिल्मले भन्दा धेरै कमाउनु हुन्छ । त्यो चाहिँ बजारले डोर्‍याएको इन्डस्ट्री थियो, जहाँ लेखकले आफूले चाहेको कुरा लेख्नै पाउँदैन। लेखन पनि बजार केन्द्रित नै हुनुपर्छ,'उनले सुनाइन् । आफूले भन्न खोजेको कुरा लेख्न नपाउने क्षेत्रमा सम्पादको मन बसेन । ३/४ वर्ष काम गरिसकेपछि उनले टेलीश्रृंखलाको बाटो छोडिन् । 'पैसा थियो तर लेखकलाई स्वतन्त्रता थिएन त्यहाँ । मलाई आफ्नो कथाहरू भन्नुथियो,'सम्पदा सुनाउँछिन् । बम्बईबाट फर्केपछि सम्पदाले सिंहदरबार भन्ने टेलिश्रंखलामा काम गरिन् । हरर विधाको फिल्म 'कठपुतली' नेपाली दर्शकबीच पुगेको उनको पहिलो फिचर फिल्म थियो । कोभिडबीच प्रदर्शनमा आएको फिल्मले दर्शकको राम्रै साथ पायो । 'कोभिडको यस्तो समयमा हामीले फिल्म प्रदर्शन गर्‍यौं, जतिबेला अब नेपाली फिल्म चल्दैन भन्ने डर थियो । फिल्ममा दर्शकको भीड देखियो,'उनले भनिन् ।

निर्देशनतिर होमिँदै

अहिले सम्पदा 'कोर्ट रुम' कथा लेख्दै छिन् । फिल्मको कथा सक्न ७/८ महिना नै लाग्छ । उनी यो फिल्मलाई आफैं निर्देशन गर्न चाहन्छिन् । 'हरेक स्क्रिन राइटरलाई सोध्नुभयो भने उनीहरूको अन्तिम गन्तव्य निर्देशन नै हुन्छ । आफूले जन्माएको पात्रहरुलाई उस्तै तरिकाले हामी पर्दामा देख्न चाहन्छौं । आफूले लेखेको पात्रहरु नै पर्दामा अर्को निर्देशकले देखाउला भन्ने त अपेक्षा गर्नु भएन । निर्देशक पनि आफ्नो भिजन लिएर निर्देशनमा आएको हुन्छ । त्यसैले लेखकले आफ्नो सिर्जनालाई जस्ताको त्यस्तै पर्दामा देख्न चाहन्छ भने उ निर्देशक बन्नैपर्छ । म निर्देशनमा आउनुको कारण पनि त्यही हो,' उनले भनिन् ।

आफूलाई भन्न मन लागेको कथासँग साँचो प्रेम भइसकेपछि मात्र लेख्न बस्छिन् सम्पदा । 'तपाईंलाई थाहै हुँदैन कुन कथा तपाईंलाई भन्न मन लाग्छ भन्ने । कसैले केही भनेको कुराले मलाई एकदमै छोएको हुनाले यो कथा मलाई भन्न मन लाग्यो । आफूले भन्न लागेको कथासँग ट्रू लभ भइसकेपछि तपाईंलाई लेखनमा रमाइलो हुन्छ ।' सम्पदालाई अब समाजलाई रुपान्तरणमा गराउने कथाहरु भन्नुछ ।

पटकथा लेखनमा महिला संख्या नगन्य नै छ । सम्पदा फिल्म क्षेत्रको खराब छापले पनि महिलाको सहभागिता कम देख्छिन् । 'हामी महिलाका लागि फिल्म क्षेत्र एकदमै खत्तम हो भन्ने खालको कुरा अहिले पनि सुनिन्छ । जसरी राजनीति बदनाम भयो त्यसरी नै फिल्म क्षेत्रलाई बदनाम बनाइयो । कुनैबेला फिल्म क्षेत्रमा शोषण हुने हो कि भन्ने डर थियो । सायद त्यस्तै कुराले गर्दा महिलाहरू कम हुनु भएको हो कि, 'उनी सुनाउँछिन्,'फिल्म भनेको कलाको सशक्त शैली हो । आज हामी विश्वसामु हाम्रो कथा पुर्‍याउन सक्छौं । तर त्यही कास्टिङ काउच, महिलाहरूलाई शोषण गर्ने समूहले फिल्म क्षेत्रको बदनाम गरिदियो ।'

तस्बिर/भिडियो : दिपेन्द्र रोक्का

प्रकाशित : मंसिर ३, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?