कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

साहसी सोना

सोनाको संघर्षमाथि डकुमेन्ट्री बनाएकी पत्रकार सुबिना श्रेष्ठ भन्छिन्- 'त्यतिबेलासम्म मलाई लाग्थ्यो मैले नेपालको जातीय विभेद देखेको छु । तर, त्यसपछि मलाई लाग्यो मैले जातीय विभेदलाई सुनेको रहेनछु । सोनाको भोगाइले मलाई लज्जितसँगै विनम्र बनायो ।'
रीना मोक्तान

काठमाडौँ — 'म सात वर्षको हुँदा यौन दुर्व्यवहारमा परेँ,' यत्ति भनिसकेपछि उनको बोली रोकिन्छ । देब्रे हातले दाहिने हातका औंला चलाउन थाल्छिन् । अनि थप्छिन्, ‘३/४ वर्षसम्म मैले त्यो पीडा सहिरहें । दलित महिलाहरूमाथि यौन हिंसा धेरै हुने गरेको छ । यौन हिंसा, बलात्कार, बलात्कारपछि हत्या । यसबारे राज्यसँग कुनै आँकडा नै नभएको मैले पाएँ ।'

साहसी सोना

आफूमाथि भएको दुर्व्यवहारबारे निर्धक्क बोल्दै प्रश्न गर्छिन्, 'अपराध गर्नेहरू कानुनसँग किन डराउने ? यदि मन्त्री, न्यायाधीश, न्यायाधिवक्ता, पत्रकार, प्रहरी, महिलावादी उनीहरूकै समुदायका हुन्छन् भने ।’

जातीय यौनजन्य हिंसामाथि प्रश्न गर्ने उनी हुन्, सोना खटिक । यो हो सोनामाथि बनेको डकुमेन्ट्री 'ह्वाट्स बिहाइन्ड कास्ट भोइलेन्स इन नेपाल ?' को सुरुवातको दृश्य । २५ मिनेट लामो डकुमेन्ट्रीमा सोनाले दलित महिलामाथि हुने गरेका बलात्कार/हिंसाका मुद्दालाई कसरी उठाइरहेकी छन् भन्ने कुरा देखाइएको छ । साथै मधेसका दलितहरूको प्रमुख समस्या चित्रण गर्न खोजिएको छ । गरिब परिवारमा हुर्केर पितृसत्तालाई चुनौती दिँदै दलितहरूको आवाज बन्दै गरेको सोनाको विद्रोही स्वभाव, सत्ता र शक्तिमा भएकाप्रति उठाउँदै आएको प्रश्न अनि विभेदसँगको उनको लडाइँ ‍डकुमेन्ट्रीमा देख्न सकिन्छ ।

आफ्नो कथालाई डकुमेन्ट्रीमा सोना स्वयंले न्यारेट गरेकी छन् । वास्तविक जीवनका मुद्दाहरूमा झैं उनी डकुमेन्ट्रीमा पनि निडर सुनिएकी छन् । सधैँ बोकी हिँड्ने रेकर्डर, डकुमेन्ट्रीमा पनि छुटेको छैन । दलित महिलाका बलात्कार/हिंसाका मुद्दाहरूमा अनुसन्धान गर्ने क्रममा अंगिरा पासीको घटनालाई उनले कसरी उठाइन् ? भन्ने प्रसंग पनि जोडिएको छ । कोभिड महामारीबीच रुपन्देहीकी १३ वर्षीया अंगिरा पासी गाउँ नजिकैको खोला किनारको रुखमा झुन्डिएको अवस्थामा फेला परिन् । करणी गरेकै कोइला भनिने वीरेन्द्र भरको जिम्मा लगाइदिएपछि मृत फेला परेकी अंगिराको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुल्यो । ‍वीरेन्द्र कथित माथिल्लो जातका । 'तपाईंलाई के लाग्छ, अंगिराको मृत्युको पछाडि जात नै कारण हो ?' अंगिराकी आमालाई सोना प्रश्न गर्छिन् । अंगिराकी आमा रेकर्डर नजिक आएर बोल्छिन्,' जातकै कारण हो नि । हामी दलित हौं । हाम्रो लागि बोलिदिने कोही छैन ।'

त्यसपछि स्थानीय नेतासँग करणीको मुद्दा बाहिरिएपछि भएको मिलेमतोको विषयमाथि प्रश्न गर्न पुग्छिन्, सोना । त्यही विषयवस्तुलाई रेडियोमार्फत स्रोतामाझ पुर्‍याउँछिन् । अंगिराको घटना प्रतिनिधिमात्र हो, सोनाले उठाउने मुद्दाहरूको । जातकै कारण यसरी किनारामा परेका, पीडामा परेका दलित समुदायको मुद्दामा उनले यसरी नै आवाज उठाउँदै आएकी छन् । सोना दबिएका, पिछडिएका अनि सीमान्तीकृतहरूको आवाज बन्दै आएकी छन् ।

सन् २०१० देखि रेडियो कपिलवस्तुमा जोडिएकी सोना आफ्नो आवाजमार्फत नसुनिएका मुद्दाहरूलाई स्रोतामाझ सुनाउँदै आएकी छन् । 'सवाल सरोकार' कार्यक्रम त्यसैको नतिजा हो । २१ औं शताब्दीमा पनि दलित समुदायलाई समाजले कसरी हेर्छ, दलितका जीवन कति कष्टकर छ भन्ने कुराको सानो अंश यो डकुमेन्ट्रीमा देखिन्छ । कथित तल्लो जात भएकै कारण सोनाकी आमाहरूले पहिले कुवामा भेदभाव सहे । अंगिरा पासीकी आमाले आफ्नो छोरी गुमाइन् । जातीय विभेदसँगको यो लडाइँमा सोनाले उचाल्दै आएको कदम, साहस अनि लगनशीलताको साक्षी हो यो डकुमेन्ट्री । सुबिना श्रेष्ठले अलजजिराका लागि तयार पारेको यो डकुमेन्ट्रीमा उनको संघर्ष र उपलब्धि समेटिएको छ ।

डकुमेन्ट्रीको आइडिया

सुबिनाले सन् २०१८ मा सोनालाई भेटेकी थिइन् । त्यतिबेला सोना स्नातकोत्तरका लागि त्रिभुवन विश्वविद्यालयमा आफ्नो थेसिस डिफेन्ड गर्दै थिइन् । आफ्नो जीवनको आधा भोगाइलाई उनले थेसिसमा समेटेकी थिइन् । जब उनले थेसिसको डिफेन्डमा बोल्दै गइन्, पूरा कोठा शान्त थियो । कोही सुकसुकाउन थाले । 'त्यतिबेलासम्म मलाई लाग्थ्यो मैले नेपालको जातीय विभेद देखेको छु । तर, त्यसपछि मलाई लाग्यो मैले जातीय विभेदलाई सुनेको रहेनछु । सोनाको भोगाइले मलाई लज्जितसँगै विनम्र बनायो,' सुबिना भन्छिन्, 'त्यसपछि सारा दुनियाले दलितहरूले भोग्दै आएको यो विभेदका कुराप्रति लज्जित अनुभव गरून्, विभेदको यो समस्या भएका देशहरूमा उनको कथा पुर्‍याउन आवश्यक लागेर मैले सोनाको डकुमेन्ट्री बनाएँ ।'

नेपालीहरू जहाँ भए पनि उनीहरुसँगै जात पुग्ने हुँदा विभेद कायम रहेको सुबिनाको भनाइ छ । 'कथित उच्च जातका मानिसहरू मेरा तल्लो जातका साथिहरू छन् तर म उनीहरुलाई भेदभाव गर्दिन भन्छन् । तर वास्तविकता के हो भने नेपालीहरु अथवा दक्षिण एसियालीहरू जहाँ गए पनि उनीहरुसँगै जात पनि पुगेको हुन्छ,' सुबिना सुनाउँछिन् ।

सोना ४ वटा भाषा सजिलै बोलिदिन्छिन् । उनी फुर्तिली पनि उत्तिकै छिन् । सोनालाई भेट्नासाथ सुबिनालाई लाग्यो, ‘यति धेरै क्षमता भएकी पत्रकार किन मेनस्ट्रिम मिडियामा छैन ?’

१३.८ प्रतिशत जनसंख्याको दलित समुदायभित्र महिला पत्राकार १ प्रतिशतभन्दा कम छन् । त्यसमध्येमा पनि सोना अग्रपंक्तिमा अटाउने सबिना बताउँछिन् । 'हामी सोनाको ठाउँमा हुन्थ्यौं भने हामी कसरी बाँच्थ्यौं होला । यदि बाँच्नकै लागि सधैँ मार खाइरहनुपर्ने, बलात्कृत भइरहनुपर्ने अनि मारिनुपर्ने भयो भने हामी के गर्थ्यौं ?,' सुबिनाले भनिन् ।

यो डकुमेन्ट्री बनाउन सुरुमा सुबिनासँग बजेट पनि थिएन । उनले सोनालाई सुरुवातमा डकुमेन्ट्रीको प्रस्ताव राखिन् । २५ मिनेटको डकुमेन्ट्री बनाउन २ वर्ष लाग्यो । त्यहीमाथि कोभिड महामारीले सतायो । विष्णु कल्पितले डकुमेन्ट्री खिचिदिए । अरुणा रायमाझीले लगानी गरिदिइन् । सोना अवधि र थारु भाषा बोल्थिन् । त्यसलाई बुझ्न, उल्था गर्नु चुनौतीपूर्ण थियो । अहिले अर्को चुनौती थपिएको छ । 'अहिले यस डकुमेन्ट्रीमा दर्शकको ध्यान कसरी तान्ने । डकुमेन्ट्रीले उठाएको मूल मुद्दालाई कसरी बहसमा ल्याउने भन्ने चुनौती छ,' सुबिना भन्छिन्, 'सोना वास्तवमै आफ्नो वर्षौंदेखि दबिएकाहरट्काठ लागि उठ्न, व्यवस्थासँग लड्न सधैँ खडा हुने साहसी हुन् ।'

प्रकाशित : मंसिर २, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?