'परिवारको साथ नभइदिएको भए उहिल्यै भारत छिरिसक्थें'- मनोरञ्जन - कान्तिपुर समाचार
पर्दा पछाडि

'परिवारको साथ नभइदिएको भए उहिल्यै भारत छिरिसक्थें'

नेपालमा राजनीतिक संघर्ष चलिरहँदा उनी बस्ने घरमै लुक्न आइपुग्थे पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी । अर्का हजुरबाकहाँ पुग्थे, सुवर्ण शमशेरहरू । 'सायद यो क्षेत्रमा नआएको भए राजनीतिमा हुन्थेँ कि !'
रीना मोक्तान

काठमाडौँ — नेपाली फिल्मको प्रमुख समस्या के हो ? जवाफमा छुट्दैन, पटकथा । के पटकथा नै नेपाली फिल्मका कमजोरी हुन् त ? साउन्ड इन्जिनियर/डिजाइनर प्रदीप कुमार उपाध्याय नेपाली फिल्म प्राविधिक पक्षमा अझै अपरिपक्व रहेको जवाफ दिन्छन् ।

'अहिले फिल्ममा साउन्डको गलत प्रयोग भइरहेको छ । एक्सन फिल्ममा पर्दा उडाउने खालको साउन्ड राखिदिन्छन् । डिजिटल प्रविधिले सिंक्रोनाइजेसन गर्न सजिलो बनाइदियो । तर, डिजिटल आइसकेपछि पनि नेपाली फिल्मको साउन्डमा तात्विक परिवर्तन देख्दिनँ,'७१ वर्षीय उपाध्यायले भने, 'फिल्म हलमा जानुभयो भने आउटसिंक देखिन्छ, आउटसिंक हुने बित्तिकै फिल्म मृत भइजान्छ । बडी ल्याङ्वेज अनुसार सिंक हुनुपर्‍यो नि, लिपसिंक पनि चाहियो । नेपाली फिल्ममा साउन्ड एकदमै कमजोर छ । साउन्डमा खासमा खेलाँची भइरहेको छ ।'

छिमेकी राष्ट्र भारतकै दाँजोमा पनि ध्वनीमा नेपाल निकै पछाडि परेको उपाध्यायको विश्लेषण छ । 'त्यतिबेला नाङ्ग्रा मसिन चलाउन पनि दक्ष व्यक्ति आवश्यक हुन्थ्यो । अहिले त डिजटलले उपकरण चलाउन सहज बनायो । त्यतिबेला मात्रै होइन अहिले पनि भारतको दाँजोमा साउन्डमा नेपाल एकदमै पछाडि छ,' उनले सुनाए, 'हामीकहाँ अहिले साउन्डका राम्रा उपकरण छन् तर दक्ष जनशक्तिको अभाव छ ।'

कलैयामा जन्मे पनि प्रदीप कुमार उपाध्यायले भारतको मुज्जफरपुरमा आफ्नो बाल्यकाल बिताए । बुवा र आमा नेपालमै बस्थे । तर, दुई हजुरबुवा मुज्जफरपुरमा । दुई हजुरबुवाका राजनीतिक आस्था फरक-फरक । जुन हजुरबुवासँग प्रदीप बस्थे उनी वामपन्थी । अर्का हजुरबुवा तटस्थ । नेपालमा राजनीतिक संघर्ष चलिरहँदा उनी बस्ने घरमै लुक्न आइपुग्थे पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी । अर्का हजुरबुवाकहाँ पुग्थे, सुवर्ण शमशेरहरु । बाल्यकाल यस्तै राजनीतिक माहोलमै बित्यो ।

विद्यार्थी जीवन पनि राजनीतिक बन्यो । ठाकुरराम बहुमुखी क्याम्पसमा २०२९/३० तिर आइए पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय थिए, प्रदीप । इन्जिनियरिङतिर नलागेका भए, अहिले उनी राजनीतिमा हुन्थे । 'सायद यो क्षेत्रमा नआएको भए राजनीतिमा हुन्थेँ कि भन्ने लाग्छ । माधव नेपाल, मेरो साथीभन्दा अहिले कतिले नपत्याउला !' मुसुक्क मुस्कुराउँदै सुनाए । राजनीतिमा लागेपछि ब्रिगन्छ भन्ने त्यतिबेलाको बुझाइ । बुवाले त्यही डरले जबर्जस्ती उनलाई इलाहबाद पठाए, इलेक्ट्रोनिक्स इन्जिनियरिङ गर्न । पढ्दै जाँदा इन्जिनियरिङले तान्यो । त्यहाँबाट फर्केर दूरसंचारमा काम थाले । त्यसपछि पूलचोक क्याम्पसमा पढाउन थाले ।

संजोगले एक दिन न्युरोड गेटसँगैको इन्डियन लाइब्रेरीको सूचना पाटीमा उनको आँखा पर्‍यो । 'इलेक्ट्रोनिक्स इन्जिनियरमा डिप्लोमा बीएस्सी गरेकोले एफटीआईआईमा साउन्ड इन्जियर पढ्न पाउने' लेखिएको थियो । इलेक्ट्रोनिक्स इन्जिनियरिङ गर्ने क्रममै साउन्डतिर रुची बढिसकेको थियो । शास्त्रीय संगीतप्रति खुबै लगाव । एकपटक भारत भ्रमणमा पुग्दा एफटीआईआईको ढोकासम्म पुगेका थिए । दिनभरी ढोकामा कुरे तर उनीहरुलाई एफटीआईआई छिर्न दिएन । त्यतिबेला 'यो ठाउँमा पढ्न पाए हुने' भन्ने महसुस भएको थियो । लाइब्रेरीको त्यही सूचनाले उनलाई एफटीआईआई पुर्‍यायो । 'एफटीआईआईभित्रको संसार नै बेग्लै । पढ्ने सबै विषयवस्तुभित्र फिल्म हुन्थ्यो । वातावरण नै सिनेमेटिक हुन्थ्यो नि त्यहाँ,'प्रदीप सम्झिन्छन् ।

पहिलोपटक नेपालमै गीत रेकर्ड

नेपाली फिल्म क्षेत्रलाई जीवन दिएका प्रदीप यस क्षेत्रका जिउँदो इतिहास हुन् । एफटीआईआईको पढाइ सकिएपछि बम्बईमा काम गर्ने राम्रै अवसर जुर्‍यो । तर, भीडभाड प्रदीपलाई मन नपर्ने । बम्बई शहरको त्यही भीडले उनलाई काठमाडौं फर्कायो । त्यसपछि शाही नेपाल चलचित्र संस्थानमा काम गर्न थाले । पारिश्रमिक थियो, ८ सय ५० । डबिङ प्रणालीलाई आफूले नै अप्ग्रेड गरेको प्रदीप दाबी गर्छन् ।

त्यतिबेला फेवातालको किनारमा फिल्मको छायांकन बढी हुने । दिनभरि सुट गरेको संवादको टेपरेकर्ड अर्कोमा रेकर्ड गर्ने जिम्मा प्रदीपकै हुन्थ्यो । कलाकार त्यही टेपरेकर्ड सुन्दै सिरकभित्र डबिङ गर्थे । त्यतिबेला प्रदीपलाई लाग्यो,'यो त डबिङ होइन । यो त डायलग रिप्लेसमेन्ट मात्र हो ।' त्यस्तोमा सिंक्रोनाइजेसन गर्न निकै झमेला हुन्थ्यो । त्यसपछि लुप बनाएर डबिङलाई सहज बनाइदिए । अनि रक एण्ड रोलको डबिङ सुरु भयो । 'अहिले एउटा फिल्म डब गर्नलाई १० घण्टा लाग्छ भने त्योबेलामा १०-२० दिन लाग्थ्यो । टेप पनि एकदमै महंगो । त्यो टेप काट्दा पनि मुटूमा झट्का लाग्ने । त्यो टेपकै १० हजार पर्थ्यो,'प्रदीपले भने ।

संस्थानमा हुँदै 'बद्लिँदो आकाश' बन्यो । फिल्मको पाँचैवटा गीत नेपालमा रेकर्ड भयो । त्यसअघि फिल्मको गीत रेकर्ड गर्न बम्बई धाउनु पर्थ्यो । फिल्ममा सहायक निर्देशक बने प्रदीप । निर्देशक थिए लक्ष्मीनाथ शर्मा, साउन्डको जिम्मा पाए तपनाथ शुक्लले । नेपालमै पहिलो पटक गीत रेकर्डिङ कसरी सम्भव भयो त ? प्रदीप त्यसको श्रेय कलाकार नीर शाहलाई दिन्छन् । नीर त्यतिबेला संस्थानका उप-महाप्रबन्ध । 'त्यतिबेला साउन्डको अवस्था निकै खराब थियो नेपालमा । शाही चलचित्र संस्थानमा साउन्डको उपकरण सामान्य मात्र थियो । त्यसरी केही नभएको बेलामा हामीले त्यही उपकरणबाट गीत रेकर्ड गर्‍यौं,'प्रदीपले पूराना दिन सम्झे । खासमा उनी पुणेमा पढ्दै गर्दा साथीसँग ओडिसा पुगेका थिए । त्यहीबेला नीरले एफटीआईआई घुमेका रहेछन् । प्रदीपबारे त्यहीबेला थाहा पाए । 'तपाईं साउन्ड पढेर आउनु भएको अब फिल्मको गाना रेकर्डिङ नेपालमै गरौं । कहिलेसम्म बम्बई जाने ?' नीरले प्रदीपसँग प्रस्ताव राखे । भएकै सामान्य उपकरणमा गीत रेकर्ड गर्न तयार भए साउन्ड इन्जिनियरद्वय तपनाथ र प्रदीप । गीत रेकर्डिङ गर्ने मिक्सर थिएन । डबिङ गर्ने डबरमै ट्र्याक बनाए । वान स्टेज रेकर्डिङमै गीत रेकर्ड भयो । एउटै स्टेजमा तबला, ढोलक, सितार, भ्वाइलेन बजाउने वादकको समुह हुन्थ्यो । अर्कोतर्फ बुथमा उभिएर गायक/गायिकाले स्वर भर्थे ।

त्यतिबेला कलकत्तामा 'के घर के डेरा' फिल्मको गीतको रेकर्ड भएको थियो । बम्बईमा रेकर्ड गरेको गीत र 'बद्लिँदो आकाश'को गीतलाई दाँज्दा खासै अन्तर आएन । पहिलो पटक गीत रेकर्ड गर्न सफल हुँदा प्रदीपमा छुट्टै उत्साह थपियो । ६ वर्ष संस्थानमा काम गरिसकेपछि गीत रेकर्डिङमा सक्रिय भए । म्यूजिक नेपालहुँदै साङ स्टूडियोमा रेकर्डिङ थाले । हजार बढी गीत रेकर्ड गराएका उनले नारायण गोपालको अन्तिम गीत गरेका हुन् । नारायण गोपालका गिती यात्राका सबै गीतलाई उनले नै रेकर्डिङ गरेका हुन् । 'एउटा मान्छेको मायाले', 'साउनको झरी बनी', 'तिमीलाई के भनुँ', 'मलाई छोडी मेरो माया'लगायत उनका कालजयी गीतमा संलग्न हुँन पाउँदा प्रदीप अहिले पनि गर्विलो महसुस गर्छन् ।

'पहिला त उहाँलाई ममाथि शंका लागेछ, सबै स-साना मेसिनमा रेकर्डिङ गरेको देख्नु भएर । तर ती सब मेसिन स्ट्यान्डर्ड उपकरण नै थिए । जब मैले रेकर्ड गरेर मिक्सिङ गरेको सुन्नुभयो तब मलाई पत्याइनुभयो । त्यसपछि उहाँले बाहिर अरु कसैसँग रेकर्ड गराउनु भएन । रेडियो नेपाल गएर रेकर्ड गर्न बन्द गरिदिनुभयो,'प्रदीप सुनाउँछन्,'दोस्रो गीति यात्रा गर्ने तयारी हुँदै गर्दा उहाँ बिरामी पर्नुभयो । झुमा फिल्मको छायांकन सकेर म पोस्ट प्रोडक्सनका लागि भारत पुग्दा उहाँ बितेको खबर पाए । उहाँको शवयात्रामा हजारौं मानिस थिए । कलाकारले कसरी मन जितेको रहेछ भन्ने कुरा प्रमाणित भयो । मलाई गर्व छ, नारायण गोपालका कालजयी गीतहरु मैले गर्न पाएँ ।' गोपाल योञ्जनसँग 'बद्लिँदो आकाश'मा काम गरेका उनले 'भाग्यरेखा'को 'किन फेरि माया सम्झी'मा भक्तराज आचार्यको स्वर रेकर्ड गरे । 'चाँदनीमा बग्छ खोला', 'फेवातालको आँगनमा लैलै'लगायत थुप्रै चर्चित गीत रेकर्ड गराइसकेका प्रदीपले सयभन्दा बढी एल्बममा काम गरेका छन् ।

पहिलो पटक तिलिचोमा छायांकन

४६/४७ तिर प्रदीप निर्देशनमा पनि होमिए । फिल्म 'झुमा' निर्देशन गर्दा धेरैले दंग पर्दै प्रश्न गर्थे ,'यो प्राविधिक कसरी निर्देशक बन्यो ?' पुणेंमा पढ्दै फिल्मको अत्यधिक ज्ञान बटुलेका प्रदीपमा फिल्मप्रतिको झुकाव बेग्लै थियो । सुक्मित गुरुङको स्वर रहेको 'बोलबोल पाखाहरु'बोलको गीत उनले तिलिचोमै छायांकन गरे । फिल्म क्षेत्रमा पछिल्लो समय केही फिल्मकर्मीले तिलिचोमा पहिलो पटक गीत खिचेको दाबी गरे । तर, त्यहाँ फिल्म खिच्ने पहिलो टिम नै आफूहरु रहेको प्रदीप दाबी गर्छन् । 'त्योबेला मनाङमा ७२ दिन बसेर छायांकन गरियो । मनाङमा फिल्म खिचेपछि तिलिचो खिचेन भने मेरो मुर्खता हुने थियो त्यसैले त्यहाँ गानाको पहिलो अन्तरा नै खिच्यौं,'उनी सम्झन्छन्,'गीत खिच्न सुरुमा तिलिचोमा गएर रात बितायौं । हिउँ परिरहेको थियो, क्यामेरा र रेकर्डरको ब्याट्रीलाई तताउन जिउमा बाँधेर निदायौं ।'

'झुमा'को छायांकन कष्टर रह्‍यो । त्यसपछि प्रदीपले दोस्रो फिल्म निर्देशन गर्ने जाँगर नै देखाएनन् । रेकर्डिङमै व्यस्त भए । यसबीच उनीभन्दा अग्रज साउन्ड इन्जिनियर कोही टेलिभिजनतिर लागे, कोहीले यही क्षेत्र नै छाडे । तर, प्रदीपले फिल्म क्षेत्रलाई माया मारेनन् । उनी अहिले पनि ‍घरको स्टूडियोतिरै भेटिन्छन् । 'संस्थानमा हुँदा ट्र्याक बनाएर मिक्सिङ सुरु गरे । सायद यही मेरो उपलब्धि हो । परिवारको साथ/सहयोग नभएको भए उहिल्यै भारत पसिसक्थें,'हालै प्रदीप निवासमै भेटिएका उनले भने । आफूले वर्षौंदेखि जोगाउँदै आएका साउन्डको इतिहास बोक्ने उपकरणहरु देखाउँदै हामीलाई प्रश्न गरे,'अहिलेसम्म मैले यी उपकरण संरक्षण गरेर राखें । मेरा परिवारका लागि यी केवल अनावश्यक मसिन हुन् । मपछि यी उपकरणको संरक्षण कसले गर्ला ?'

तस्बिर/भिडियो : दीपेन्द्र रोका/कान्तिपुर

प्रकाशित : कार्तिक २६, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पाका मतदात अधिकृत र सहायकलाई प्रशिक्षण 

माधव अर्याल

पाल्पा — पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शुक्रबार र शनिबार प्रशिक्षण दिइएको छ । शुक्रबार क्षेत्र १ मा र शनिबार क्षेत्र २ मा खटिने अधिकृतलाई तालिम दिइएको हो ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई तालिम दिएको हो । प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार निर्वाचन क्षेत्र रहेको पाल्पामा १ सय १८ मतदान केन्द्रका २ सय ४६ मतदानस्थलमा खटिने अधिकृतलाई मत खसाल्नेदेखि हुलदंगा भएमा के गर्नेसम्मको प्रशिक्षण दिइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । सोही अवसरमा नमुना मतदान गरेर बुथ निर्माणका विषयमा जानकारी गराइएको उनले बताए ।

निर्वाचन कार्यालयले ४ सय ९६ कर्मचारीलाई सुरक्षित वातावरणमा मतदान प्रक्रिया सम्पन्न गर्ने गरी तालिम दिएको अर्यालले जानकारी दिए । प्रशिक्षणमा प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मतदान गर्ने तरिका, मतपत्र लिने, स्वस्तिक छाप लगाउन्, पट्याउने, मसी लगाउने, नाम रुजु गर्ने, दोहोर्‍याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका लगायतका विषयमा सिकाइएको थियो ।

मतदाताले गोप्य मतदान गर्न पाउने अधिकारलाई सुरक्षित ढंगले प्रयोग गर्नेबारे प्रशिक्षित गराएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताए । निर्वाचनमा २ हजार ९ सय ५५ बढी कर्मचारी खटिनेछन् । पाल्पामा १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन् ।

तालिममका अवसरमा मुख्य निर्वाचन अधिकृत विष्ट, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्याल, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र १ का निर्वाचन अधिकृत गोपालप्रसाद ढकाल, जिल्ला समन्वय प्रमुख जनार्दन अधिकारीलगायतले सहजीकरण गरेका थिए ।

तालिम समापनसँगै मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायत कर्मचारीलाई नियुक्तिपत्र दिइएको छ । मंसिर १ गते सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी खट्नेछन् ।

प्रकाशित : कार्तिक २६, २०७९ १९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×