पुरानै प्लटमा नयाँ प्रस्तुति- मनोरञ्जन - कान्तिपुर समाचार
समीक्षा

पुरानै प्लटमा नयाँ प्रस्तुति

रीना मोक्तान

काठमाडौँ — फिल्ममार्फत् निर्माण गर्न खोजेको भाष्य के हो, दर्शकलाई के देखाउन चाहन्छन् ? अधिकांश नेपाली फिल्मकर्मी यही प्रश्नको उत्तर दृश्यमा देखाउन चुक्छन् । भन्न खोजेको कुराप्रति प्रस्ट नभई बनाइएका फिल्महरूले दर्शकलाई कथासँग बाँधेर राख्न सक्दैन ।

फलस्वरुप केन्द्रीय द्वन्द्वमै फिल्म अलमलिन्छन् । तर, सम्राट बस्नेत निर्देशित फिल्म 'लाखे' भने केही हदसम्म दर्शकलाई कथासँग बाँधेर राख्न सफल भएको छ । थुप्रै फिल्मका प्लटहरू यसमा दोहोरिए पनि 'लाखे'को प्रस्तुतिकरणले दर्शकको ध्यान तान्छ ।

देखाउन खोजेको कुरामा निर्देशक इमान्दार हुँदाको परिणाम बनेको छ, 'लाखे' । बैंक डकैतमाथि बनेका थुप्रै फिल्म हामीले हेरिसक्यौं । त्यसअर्थमा 'लाखे'को कथा नयाँ होइन । तर, फिल्मले प्रस्तुत गरेको विषयवस्तुमा कहीँ कतै नेपाली मुद्दा जोडिएको छ । थुप्रै दृश्य अनुमान गर्न सकिने भए पनि क्राइम विधामा बनेको फिल्मले दर्शकलाई कथासँग जोडेर राख्न सक्नु 'लाखे'को सफलता हो । फिल्मको पटकथा चुस्त छैन, संवादमा खासै दम भेटिँदैन । तर, फिल्मको कथा र पात्रहरूले दर्शकको ध्यान भड्किन दिँदैन । पटकथा र निर्देशनको साँठगाँठ अझै मजबुत भइदिएको भए 'लाखे' ‍औसतभन्दा माथि उठ्ने थियो ।

फिल्मले बैंक लुट्ने तीन पात्रहरूको कथा भन्छ । दीपशिखा बैंकमा काम गर्दै आइरहेका समीर महर्जन(सौगात मल्ल)लाई एकदिन अचानक बैंकिङ कसुरमा जेल सजाय सुनाइन्छ । यही घटनाले समीर छोरी र श्रीमतिबाट टाढिन्छन् । बिना गल्ती जेल सजाय भोगिरहेका समीरले त्यहाँ रक्की(आर्यन अधिकारी)लाई भेट्छन् । रक्की जेलका नाइके, उनीसँग सबै कैदी थरथर ! ठमेलका डन मेटल(अनुपविक्रम शाही)सँग पनि जेलमै भेट हुन्छ । जेलमै यी तीनले बैंक लुट्ने योजना बनाउँछन् । बैंक लुट्ने उनीहरूको योजना पूरा होला त ? 'लाखे'को कथा यही सेरोफेरोमा घुमेको छ ।

जेलमा भेटिएका पात्रहरूबीच सुरु हुने मित्रता, उनीहरूले देख्ने सपना, बनाउने योजना थुप्रै फिल्ममा हेरिरहेकै हो । यसअघि देखिरहेकै यस्ता थुप्रै प्लटमा 'लाखे'को कथा उनिएको छ । तर, त्यही ‍पटकथाका दृश्यलाई मजबुत प्रस्तुत गर्न नसक्नु सम्राटको निर्देशकीय कमजोरी हो । झुठ्ठो मुद्दामा जेल सजाय भोग्नु परेका समीरमा आएको बदला भावलाई दृश्यमा खासै प्रस्तुत गर्न सकिएको छैन । त्यसैले फिल्म हेरुन्जेल समीरका लागि बैंक लुट्नुको कारण, रक्की र मेटललाई पैसाको आवश्यकता किन छ भन्ने कुरा दर्शकले खुट्याउनै सक्दैनन् । दर्शक आफैंले समीरको बदला भावलाई बुझिदिनुपर्छ । रक्की र मेटलको चरित्र चित्रणमा पनि लेखकले मेहनत गरेको देखिन्न । उनीहरूका पृष्ठभुमिमा कतै पैसाको आवश्यकता देखिँदैन । एउटा दृश्यमा समीरले १० वर्ष अगाडिको सपना पूरा गरिदिन्छु भन्दै रक्की र मेटललाई डकैतका लागि तयार गरिरहेका हुन्छन् । तर, यी दुई पात्रको पृष्ठभुमि खासै राम्रोसँग स्थापित हुन नसक्दा १० वर्ष अगाडिको उनीहरुको सपना के थियो भन्ने दर्शकलाई पत्तो हुँदैन । प्रमुख पात्रको पृष्ठभुमि स्थापितमै समस्या देखिँदा दर्शक लामो समय कथामा अडिन पाउँदैनन् । त्यस्तै समीरले रक्की र मेटलको विश्वास चाँडै जितेको दृश्य पनि पत्यारिलो छैन । यी दृश्यहरूमा निर्देशकको बलियो उपस्थिति भेटिँदैन । तर, फिल्मको कसिलो सम्पादन र कथ्य शैलीले दर्शकलाई फिल्मसँग जोडेर राखेको छ ।

भीएफएक्स प्रयोगमा समस्या देखिन्छ । फिल्मको एउटा दृश्यमा पानी देखाउन प्रयोग गरिएको भीएफएक्स विश्वासिलो छैन । पानी छचल्किएको दृश्य त आँखामा बिझाउने किसिमले नै देखाइएको छ । अब पनि नेपाली दर्शकलाई यस्तै भीएफएक्समा अल्झाउन खोज्नु, नेपाली फिल्मले दर्शकको विश्वास गुमाउनु हो । 'लाखे'ले भीएफएक्सको दृश्यमा दर्शकको विश्वास जित्न सक्दैन । त्यस्तै फिल्ममा प्रयोग गरिएको 'तिम्रो पिरेम'बोलको गीतलाई भने जबर्जस्ती राखिएको देखिन्छ । यो गीतबिना पनि फिल्मको कथा अगाडि बढ्ने थियो । तर, 'खेला' शीर्षकको गीतले भने दर्शकलाई विषयवस्तुमा प्रवेश गराउन मद्दत मिल्छ ।

यी कमजोरीहरूबीच पनि चरित्र चित्रणमा 'लाखे'टिमको मेहनत देखिन्छ । रक्की र मेटलको भूमिकामा आर्यन अधिकारी, अनि अनुपविक्रम शाही फिट लाग्छन् । उनीहरूको चरित्रले यी दुईलाई नै कुरेको देखिन्छ । उनी दुई चरित्रमा यत्ति सुहाउँदो देखिएकका छन् कि यी दुईबाहेक अन्यलाई यो चरित्र फिट नै हुँदैनथ्यो भन्ने लाग्छ । रक्कीको भूमिकामा आर्यनले गरेको अभिनय प्रशंसनीय छ । त्यस्तै, अनुपविक्रम शाही अन्य फिल्ममा भन्दा मेटलको भूमिकामा फरक देखिएका छन् । प्रशान्त ताम्राकारमा 'ऐश्वर्य' चरित्रको ह्यांग देखिन्छ । त्यस्तै, अभिनेता सौगात मल्लले समीरको निर्दोषपना र बदलाभावालाई अभिनयमार्फत प्रस्तुत गर्ने कोशिस गरेका छन् । तर, क्राइम विधाकै अन्य फिल्महरूमा देखिरहेकै दर्शकका लागि उनको चरित्रमा नौलोपन भेटिन्न । चरित्र सुहाउँदो भूमिकामा देखिएका अर्का कलाकार रोहित रुम्बा हुन् । 'आप्पा' चरित्रलाई पर्दामा उभ्याउन उनले गरेको अभिनयको तारिफ गर्न सकिन्छ । फिल्ममार्फत सुशील सिटौलाले भने आफ्नो अभिनयको दायरा बढाएको देखिन्छ । उनी प्रिन्सको भूमिकामा नौलो देखिएका छन् । उनको अभिनय दर्शकका लागि सरप्राइज बन्न सक्छ ।

अन्तमा, 'मनि हाइस्ट'का दर्शकका लागि 'लाखे' नयाँ विषय बन्न नसक्ला । तर, बैंक डकैतकै विषयलाई स्थानीय मुद्दा, स्थानीय पात्रसँग जोडेर भनिएको 'लाखे'को कथ्य शैलीले दर्शकलाई फिल्ममा बाँध्न सफल छ ।

प्रकाशित : कार्तिक २३, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्

'महापुरुष' हरिवंशको मात्र कथा होइन

फिल्म 'महापुरुष'ले एक बाको एक्लोपन र वियोगको कथा समेटेको छ । फिल्ममा हरिवंशको प्रमुख भूमिका छ ।
रीना मोक्तान

काठमाडौँ — धेरैलाई थाहा नहुन सक्छ, निर्देशक प्रदीप भट्टराई 'मह जोडी'को स्कुलिङबाट हुर्केका हुन् । महकै टेलिश्रृंखलामा 'असिस्ट' गर्दै लेखन र निर्देशनमा प्रदीपले आफूलाई निखारे । पछिल्लो समय 'मह सञ्चार'को अभिन्न व्यक्ति नै बनेका छन्, प्रदीप । महको विरासतलाई जोगाइरहेको श्रेय उनलाई नै जाने गरेको छ । त्यसैले होला हरिवंश भन्ने गर्छन्,'मलाई प्रदीपको नसा-नसा सबै थाहा छ' । 

खासमा छायांकर गौरीशंकर ध्वजुले मह सञ्चारसँग प्रदीपको भेट गराइदिएका रहेछन् ।

'मह सञ्चारमा मोहन मैनाली भन्ने निर्देशक/कलाकार हुनुहुन्थ्यो । एकपटक उहाँ अर्कै काममा व्यस्त हुनुभयो । त्यतिबेला नै गौरीशंकरले एक जना प्रतिभाशाली केटो छ, उसलाई बोलाउनुपर्ला भन्नुभयो । हामीले बोलाउनु त भन्यौं । अनि प्रदीपसँग चिनाजान भयो,' हरिवंशले २०६०/०६१ तिरको क्षण सम्झे, 'उहाँले आफ्नो काम र व्यवहारले हामीलाई रिझाउन थाल्नुभयो । दिलिप कुमारलाई पनि निर्देशक चाहिन्थ्यो रे ! एउटा अन्तर्वार्तामा उनले भनेको मैले हेरेको थिएँ । प्रदीपले पनि हाम्रो अभिनय हेर्न थाल्नुभयो ।'

विस्तारै, महले हरेक स्क्रिप्टदेखि निर्देशनसम्मको छलफल प्रदीपसँग गर्न थाल्यो । प्रदीप महको अभिनयमा एक्सन/कट पनि गर्थे । 'हामी अभिनय गर्थ्यौं, उहाँले एक्सन/कट गरेर टेक ओके भयो कि भएन भनेर पनि सल्लाह दिन सुरु गर्नुभयो । १२/१३ वर्षसम्म सँगसँगै भएपछि प्रदीप नभई हाम्रो हातै नचल्ने भयो । हामीले सबभन्दा पहिले सम्झने नै प्रदीप हुन थाल्नुभयो,' छेउमा बसेका प्रदीपलाई हेर्दै हरिवंशले भने, 'धेरै लामो समय काम गरिसकेपछि प्रदीप हाम्रो भाइ/छोराजस्तै लाग्न थाल्यो । हाम्रो लागि मात्रै होइन परिवारकै लागि पनि प्रदीप प्यारो हुन थाल्यो । उहाँको नसा–नसा सबै थाहा छ मलाई ।'

यसरी लामो समय प्रदीपले टेलिश्रृंखलाको लेखन र निर्देशनमा पुर्‍याएको सहयोग देख्दा महलाई सधैं लाग्थ्यो, 'प्रदीपलाई कसरी पूर्णकालीन निर्देशक बनाउने होला ?'

महले पहिलोपटक टेलिश्रंखला 'लेफ्ट राइट लेफ्ट'को पूरा निर्देशनको जिम्मा प्रदीपलाई दियो । आफूले बनाउने फिल्मको निर्देशनको जिम्मा पनि प्रदीपलाई दिन चाहन्थ्यो मह । तर, त्यसैबीच प्रदीपलाई 'जात्रा'को अफर आयो । फिचर फिल्ममा प्रदीपले छलाङ मारे । 'यस्तो प्रतिभाशाली व्यक्तिलाई असिस्ट मात्रै गराउनु भएन भन्ने भइरहेको थियो । त्यसबीच मह सञ्चारले फिल्म बनाउने दाउ खोज्दै थियौं । तर, उहाँले अर्कै फिल्ममा काम गर्नुभयो । हामीले फिचर फिल्मको निर्देशक बनाउन पाएनौं,' हरिवंश सुनाउँछन्, 'फिचर फिल्ममा छलाङ मारिसकेपछि उहाँ मह सञ्चारमा मात्रै सिमित हुनु भएन । सबैतिर छाउनुभयो । हामीलाई आफ्नो घरको छोराले प्रगति गरेको देखेर गर्व लाग्यो ।'

'महापुरुष'मा हरिवंशको एक्लोपन

मह सञ्चारको फिल्म 'शत्रु गते' प्रदीपले नै निर्देशन गरेका हुन् । समीक्षात्मक हिसाबले फिल्मले खासै चर्चा पाएन । तर, प्रदीपले 'जात्रा' र 'जात्रै जात्रा'मा आफूलाई साबित गरिसकेका थिए । अहिले मह जोडीलाई लिएर प्रदीपले 'महापुरुष' निर्देशन गरेका छन् । कात्तिक ११ देखि प्रदर्शनमा आउने यो फिल्ममा हरिवंशको प्रमुख भूमिका छ । फिल्मले एक 'बा'को कथा समेटेको प्रदीप सुनाउँछन् ।

'जब महापुरुषको एक ड्राफ्ट लेख्यौं, यो चरित्रका लागि हरिवंशको विकल्प नै देखेनौं । बा भन्ने बित्तिकै सबैले बा अनुभव गर्ने अनि त्यही स्तरको अभिनय गर्न सक्ने, सँगसँगै त्यो अनुहार कमर्सियल होस् भन्ने लोभ थियो । त्यसको समिश्रणमा हरिवंश बाहेक कोही भेटेनौं,' प्रदीप भन्छन्, 'त्यो बाको चरित्र दिइरहँदा हरिवंशको वर्षौं बनेको चरित्रहरू भत्किन्छ कि भत्कँदैन भन्ने चुनौती पनि थियो ।'

'महापुरुष'को कथा सुरुमा हरिवंशलाई सुनाउन प्रदीप डराएका थिए । कारण, फिल्ममा पत्नी बितिसकेपछि एक पतिको एक्लोपनलाई समेटिएको थियो । पहिलो पत्नी मीराको मृत्युपछि हरिवंशले त्यही एक्लोपनमा बाँचेको समयको साक्षी थिए, प्रदीप । तर, जब उनले हरिवंशसँगै परिवारलाई एउटै ठाउँमा राखेर फिल्मको कथा सुनाए, सबैले मन पराए। हरिवंशले यो कथामा फिल्म बन्नुपर्छ भनिसकेपछि प्रदीप 'महापुरुष' बनाउन हौसिए । 'महापुरुष' हरिवंशकै कथामाथि बनेको त होइन । तर, हरिवंशले बाँचेको एक्लोपनलाई प्रदीपले पटकथामा घुसाएका छन् । 'मैले उहाँबाट फिल्म कति सिकेँ त्यो आफ्नो कुरा होला । तर मैले उहाँबाट जीवन धेरै सिकेको छु,' हालै पत्राकारहरूसँगको भेटमा हरिवंशको छेउमा उभिएर प्रदीपले भने, 'मैले उहाँको त्यो एक्लोपन देखेको पनि छु । त्यही प्रसंग किन ल्यायो भन्नु होला भन्ने डर थियो, फिल्मको कथा सुनाउँदा । भाउजु नहुँदाको एक-एक घटना याद छ मलाई । दाइ घरमा छिर्नै सक्नु भएको थिएन ।'

हरिवंशको त्यो एक्लोपन, वियोग सम्झँदा प्रदीपको आँखा अहिले पनि रसाउँछ । 'मान्छे बितेको घरमा तर्साउँछ भन्छन् । भाउजु बितेपछि १३ दिनसम्म त्यो घर रुँघेकै मैले हो । झपक्क निन्द्रा नआउँदासम्म सुत्न पनि सक्दिन थिएँ, सायद तर्साउँछ भन्ने मानसिकताले होला । फ्रिजको आवाज आउँदा पनि तर्सन्थेँ । एकदिन पाँच बजे बिहान कसैले ढोका ढकढकायो । म तर्सिएँ । सायद भाउजु बित्नु भएको सातौं/आठौं दिन हुँदो हो, दाइलाई एकदम गाह्रो भएछ,' आँखाभरि आँसु लिएर प्रदीपले भने, 'भाउजुले तपाईं घर नछिर्ने भनेर भन्नु भएकोले आएँ भन्नुभयो दाइले । उहाँ माथि चढ्नुभयो, बाथरुमको साबुनमा भाउजुको कपाल टाँसेको देख्नु भएछ, उहाँलाई एकदमै गाह्रो भयो ।'

बोल्दाबोल्दै प्रदीप मौन भए । त्यसपछि हरिवंशको गला अवरुद्ध भयो । उनले थपे, 'अझै पनि म त्यो ट्वाइलेटभित्र पसेको छैन । गाह्रो हुन्छ ।' उनी आफूले भोगेको त्यस्तो वियोग भएको घरको कथासँग 'महापुरुष' मिल्ने बताउँछन् ।

महापुरुष हरिवंशकै कथा भन्ने हल्ला छ नि ?

'कथाको त्यो द्वन्द्वसँग भन्दा पनि उहाँले भोग्नुभएको एक्लोपन कतै न कतै मिसाएको छु । सायद उहाँको वियोग मेरो सब-कन्ससमा कतै बसेको थियो होला । तर, यो कथाको आइडिया चितवनमा एक जना बुबाको कथा सुनेपछि आएको हो,' जवाफमा प्रदीपले भने, 'यो विषय गम्भीर छ भनेर सुरुमा अमर न्यौपानेलाई स्क्रिप्ट लेख्न लगायौं । उहाँ व्यस्त हुनुभयो । अनि मैले नै लेख्नुपर्ने भो । मलाई आफू त राम्रो लेख्छु भन्ने लाग्दै लाग्दैन । जबर्जस्ती लेख्छु म ।'

हरिवंश प्रदीपलाई अभिनय सिकाउन सक्ने निर्देशकको रुपमा व्याख्या गर्छन् । 'उहाँ स्क्रिप्टको डिटेलमा काम गर्नुहुन्छ । कतिपय निर्देशकले निर्देशन गर्न मात्र जान्दछ, कलाकारलाई अभिनय सिकाउँदैनन् । गर भन्छन्, तर गरेर देखाउँदैनन्,' उनले भने, 'तर, प्रदीप राम्रो कलाकार हुनुहुन्छ । कुनै सिरियस सिन दिनुपर्‍यो भने मेरोभन्दा पहिले उहाँको आँखामा आँसु टलपलाएको देख्छु ।'

'महापुरुष'मा प्रदीपले हरिवंशलाई ११/१२ टेक सम्म दिन लगाएका रहेछन् । प्रदीपले राम्रो टेक लिनकै लागि त्यति धेरै पटक आफूलाई अभिनय गर्न लगाएको भन्ने हरिवंशलाई थियो । त्यसैले १२ टेक दिनलाई पनि उनी हच्किएनन् ।

'काम गर्ने क्रममा मैले भर्खरका भाइहरूले बनाउनुभएका विज्ञापनमा काम गरेको छु । उनीहरू कति त नातीको उमेरको पनि हुन्छन् । उनीहरू निर्देशक भएर आइसकेपछि म उनीहरूलाई निर्देशककै सम्मान दिन्छु । तर, कतिपय समय निर्माताले छायांकन हेर्न आउँदा भइसकेको टेकलाई पनि नभएको भनेर बढी टेक लिनुहुन्छ । काम देखाउन पाइन्छ कि भनेर,' हरिवंश सुनाउँछन्, 'तर, प्रदीपले मलाई ११/१२ सम्म टेक लिनुभएको छ, महापुरुषमा । मलाई उहाँले जबर्जस्ती टेक लिएको अनुभव पटक्कै भएन । राम्रो ननिस्किएसम्म टेक लिइरहनुभयो ।'

प्रकाशित : कार्तिक ८, २०७९ १७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×