लखिमपुरमा आयोजना हुने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा शिल्पी थिएटरले प्रस्तुति दिने- मनोरञ्जन - कान्तिपुर समाचार

लखिमपुरमा आयोजना हुने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा शिल्पी थिएटरले प्रस्तुति दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — शिल्पी थिएटरले भारतको लखिमपुरमा आयोजना हुने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा शिल्पी थिएटरले पनि प्रस्तुति दिने भएको छ । महोत्सवको पहिलो दिन नोभेम्बर ४ मा घिमिरे युवराजको टिमले 'हिउँको पृथ्वी यात्रा' मञ्चन गर्ने भएको हो ।

अभिनव थिएटरले आयोजना गर्ने महोत्सवमा सहभागी हुन शिल्पीको ११ जनाको टोली लखिमपुर प्रस्थान गरेको छ । यो नाटक यसअघि भारतको कालिम्पोङको नाट्य महोत्सवमा पनि पहिलोपटक प्रदर्शन गरिएको थियो । राजधानीसहित थुप्रै जिल्लामा मञ्चन भइसकेको यस नाटकलाई घिमिरे युवराज र अमजद प्रवेजले लेखन/निर्देशनमा बनेको हो ।

जलवायु परिवर्तनले मानवदेखि वन्यजन्तुको जीवनमा पारेको प्रभाव समेटेको यस नाटकमा कलाकारहरू संगीता उराँव, पवित्रा खड्का, झकेन्द्र बीसी, ज्योति पोखरेल, रवीन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहार, ज्याक बराललगायतको अभिनय छ ।

प्रकाशित : कार्तिक १४, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्

म्याग्दीमा एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण माग

घनश्याम खड्का

म्याग्दी — चामल बाँढेको र युवा क्लबलाई चन्दा दिएर मतदाता प्रभावित बनाउन खोजेको भन्दै उजुरी परेपछि एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा सदस्यका उम्मेदवार यामबहादुर गर्वुजालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

कांग्रेसका जिल्ला उपसभापति केवी भण्डारीले श्रेष्ठ र गर्वुजाविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए । एमाले उम्मेदवारले मालिका गाउँपालिका- ३ रुममा चामल वितरण गरेको र धवलागिरी गाउँपालिका- ४ खिवाङको जनसुधार युवा क्लबलाई १० हजार चन्दा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीपछि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले आरोपित उम्मेदवारलाई सोमबार २४ घण्टे स्पष्टीकरण सोधेको हो । श्रेष्ठको स्पष्टीकरणपत्र उनका प्रतिनिधि प्रमोद श्रेष्ठ र गर्वुजाको पत्र उनका प्रतिनिधि सन्तोष रावलले बुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

‘मतदाता प्रभावित बनाउन चामल र रकम बाँडेको उजुरी परेको थियो । आरोपितसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो,’ आचारसंहिता अनुगमन समितिका अध्यक्षसमेत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख रामभक्त रानाभाटले भने, ‘दुवै उम्मेदवारको पत्र प्रतिनिधिमार्फत बुझाएका छौं ।’

तिहारअघि रुमका विभिन्न बस्तीमा एमाले नेतृ खरमाया बिटालुले खाद्यान्न सहयोग भन्दै १८ बोरा चामल पठाएकोमा स्थानीयले १० बोरा आफूले राखी बाँकी ८ बोरा फिर्ता पठाएको भन्ने बिटालु र स्थानीयबीचको मोबाइल फोन संवादसमेत सार्वजनिक भएको थियो ।

प्रकाशित : कार्तिक १४, २०७९ १८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×