सुरु भयो नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव- मनोरञ्जन - कान्तिपुर समाचार

सुरु भयो नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल-युरोपेली युनियन चलचित्र महोत्सवको ११ औं संस्करण सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो महोत्सव कार्तिक २२ गतेसम्म आयोजना हुने बताइएको छ ।

युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले महोत्सव कलाको प्रदर्शनीसँगै संस्कृति आदानप्रदानका लागि उपयुक्त माध्यम भएको बताउँदै प्रदर्शन गरिने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने बताइन् । त्यस्तै महोत्सवकी सद्भावनादूत अभिनेत्री केकी अधिकारीले दसैं र तिहार सकिएपछि फिल्म महोत्सवको रुपमा सिर्जनाको पर्व सुरु भएको बताइन् । महोत्सव भौतिक र भर्चुअल दुवै माध्यमबाट आयोजना भएको हो ।

महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र देखाइनेछ । यो वर्ष ओस्करका लागि नेपालको तर्फबाट सिफारिस गरिएको फिल्म 'ऐना झ्यालको पुतली' देखाइनेछ । किरण श्रेष्ठले निर्देशन गरेको 'एट एनोदर विन्टर' र विशाल रोक्का मगरले निर्देशन गरेको 'गोर्खा गर्ल्स' प्रदर्शनमा आउने अर्का दुई नेपाली फिल्म हुन् ।

सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिनेछ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शन गरिनेछ । निर्देशक सुजीत बिडारीले कात्तिक २२ मा कर्णाली प्रदेशका फिल्मका विद्यार्थी तथा चलचित्रकर्मीहरूका लागि क्लास दिनेछन् ।

प्रकाशित : कार्तिक १३, २०७९ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्

सवारी दुर्घटनामा बालकको मृत्यु

लिला श्रेष्ठ

भक्तपुर — भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको कार, मोटरसाइकल र बस आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार दिउँसो अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका ५ सृजनानगरस्थित भक्तपुर जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।


दुर्घटनाबाट घाइते मोटरसाइकल चालक दोलखाविगु गाउँपालिका ६ खोपाचागु घर भई काठमाडौं बौद्ध बस्ने ४९ वर्षीय ढावा शेर्पाका छोरा ६ वर्षीय आर्जन शेर्पाको मृत्यु भएको हो । मोटरसाइकल चालक ढावा शेर्पाको मध्यपुर अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

दुर्घटनाबाट गम्भीर घाइते भई उपचारका लागि मध्यपुर अस्पताल थिमी पुर्‍याइएको आर्जनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा रिफर गरिएकोमा आइतबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा संलग्न बस चालक दोलखा भिमेश्वर नगरपालिका ४ जिलुका २६ वर्षीय भरत चौलागाईं र कार चालक भक्तपुर नगरपालिका २ इताछेंकी २६ वर्षीया रिया कायस्थलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीबाट अनुसन्धान थालेको डीएसपी पाण्डेले बताए ।

प्रकाशित : कार्तिक १३, २०७९ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×