कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
पर्दा पछाडी

'नराम्रो स्क्रिप्टलाई राम्ररी खिच्छु भन्‍न सकिँदैन' [भिडियो]

रीना मोक्तान

काठमाडौँ — 'ओहो ! यो फिल्म त बन्नपर्छ', स्क्रिप्ट पढ्ने बित्तिकै पुरुषोत्तम प्रधानलाई 'लुट' गज्जबको फिल्म बन्छ भन्ने लागेको थियो । त्यसअघि फिल्म खिच्दा क्यामेरा हल्लिनु हुँदैन भन्ने मान्यतामा पुरुले थुप्रै फिल्म खिचिसकेका थिए । लाइट मिलेको हुनुपर्छ, कलाकार राम्रा/राम्री देखिनुपर्छ भन्ने हुन्थ्यो ।

'नराम्रो स्क्रिप्टलाई राम्ररी खिच्छु भन्‍न सकिँदैन' [भिडियो]

यही मान्यता पच्छ्याउँदै फिल्म खिचेको नै २५ वर्ष भइसकेको थियो । तर, निश्चल बस्नेतको 'लुट'मा भने यी पुराना मान्यतालाई भत्काउँदै पुरुले सिनिमेटोग्राफीमा नयाँ प्रयोग गर्न पाए । खिचाइका हिसाबले मात्रै होइन लुट कथा वाचनका हिसाबले प्रयोगहरुले भरिएको थियो । फर्केर हेर्दा लुटमा आफूभित्रको उकुसमुकुस पनि बाहिरिएको पुरोषत्तमको विश्लेषण छ । 'सायद लुट, फिल्म भनेको यस्तो पनि हुन सक्छ है, यसरी पनि खिच्न सकिन्छ है भन्ने मभित्रको उकुसमुकुस थियो । त्यो कथालाई त्यसरी नखिचिएको भए लुट यस्तो बन्ने थिएन, 'पुरुषोत्तम एक दशकअघिको लुटलाई सम्झन्छन् ।

'लुट'पछि सिनेमेटोग्राफीमा पुरुलाई पच्छाउने थुप्रै निस्किए । सिनेमेटोग्राफीमा पुरोषोत्तम बन्नेहरु जन्मिन थाले । यही फिल्मले पुरुलाई नयाँ नाम र काम दियो । फिल्म क्षेत्रमा पुरुका नामले चिनिने पुरुषोत्तम व्यस्त सिनेमेटोग्राफरको अंग्र पन्थीमा पर्छन् । धेरै फिल्मकर्मीका पहिलो रोजाई पनि हुन्, पुरु । नेपालको पहिलो थ्रीडी फिल्म 'भिजिलान्ते'लाई पुरुले नै खिचेका थिए ।

फिल्म क्षेत्रमा ३ दशक पूरा गरिसकेका उनले २ सय ५० फिल्ममा काम गरेको अनुभव बटुलेका छन् । त्यसमध्ये ३५ फिल्म सिनेमेटोग्राफर भएर खिचे । २०५१ मा एसएलसी दिएपछि पुरुलाई एरोनेटिकल इन्जिनियर बन्नु थियो । सानोछँदै बुवा बिते । एरोनेटिकल इन्जिनियर बन्ने तयारी थाल्दै गर्दा फिल्म 'अबला'मा बुमम्यान भएर काम गर्न पाए । श्याम राई निर्देशित, मुरारी ठाकुरले खिचेको यही फिल्मले पुरुषोत्तमलाई फिल्मक्षेत्रमा तान्यो ।

कोभिड महामारीअघि फिल्म खिच्न पुरुलाई भ्याइनभ्याई थियो । तर, अहिले फिल्म बन्ने संख्या कम भएपछि पुरुले परिवारका लागि समय छुटाउन पाएका छन् । अहिले उनी विकास आचार्यको 'नाईं नभन्नु ल'को छैठौं संस्करणमा व्यस्त छन् । हालै, उनी लोकेसन हेरेर काठमाडौं फर्के । दोस्रो संस्करणदेखि उनी यो फिल्मसँग जोडिएका हुन् ।

पछिल्लो समय निकै चर्चामा आएको 'प्रेमगीत ३'लाई पनि पुरुले नै खिचेका हुन् । पहिलो सिनेमेटोग्राफर राजेश श्रेष्ठलाई चिसोले गाह्रो बनाएपछि पुरु यो फिल्ममा जोडिए । 'त्यतिबेला माइनस बीस ट्रेम्प्रचरमा हामीले काम गर्‍यौं । एउटा टिम नै राम्रो फिल्म बनाउँछु भनेर जोशियो भने काम गर्न ऊर्जा आउने रहेछ । निर्माण टिमले पनि काम गर्ने वातावरण सहज बनाइदिनुभयो,'उनी सुनाउँछन्,'अहिले प्रेमगीत ३ ले इतिहास रचेको कुरा सर्वविदितै छ । फिल्मले मिश्रित प्रतिक्रिया पायो ।'

सिनेमेटोग्राफीमा पुरुले आफ्नो छुट्टै शैली बनाइसके । आफूले खिच्ने फिल्मको कथालाई न्याय दिन खोज्ने सिनेमेटोग्राफी नै पुरुको शैली बनेको छ । 'संस्करणको एउटा स्टाइल बनिसकेको हुन्छ । छक्का पञ्जा र कबड्डीलाई छुट्टै तरिकाले खिचिन्छ, ' उनले भने, 'यस्तो क्यामेरा मुभमेन्ट, यस्तो लाइटिङ नै मेरो स्टाइल भन्ने छैन । तर सकेसम्म स्क्रिप्टलाई न्याय गर्न खोज्नु मेरो स्टाइल हो । चाहे त्यो कमेडी होस्, एक्सन अथवा सोसल ड्रामा होस् । कथालाई सकेसम्म आत्मासाथ गरेर, त्यो अनुरुप प्रस्तुत गर्न सके भने त्यो मेरो स्टाइल हुन्छ ।'

सिनेमेटोग्राफीलाई निर्देशकको आँखा भनिन्छ । निर्देशक र सिनेमेटोग्राफरको राम्रो सहकार्यले नै फिल्म बन्ने पुरुको अनुभव छ । 'निर्देशकले कल्पना गरेको कुरालाई क्यामेराले देखाउने काम सिनेमेटोग्राफीको हुन्छ । त्यसलाई प्रस्तुत गर्न कस्तो सामाग्री आवश्यक पर्ला त ? लाइट, क्यामेरा मुभ गर्ने सामाग्रीका बारेमा निर्देशकसँग हामी छलफल गर्छौं, ' उनले भने, 'कुनै दृश्यलाई कसरी खिच्ने त्यो पनि छलफल गर्छौं । निर्देशक र सिनेमेटोग्राफरबीच राम्रो सहकार्यपछि आउने नतिजा हो फिल्म ।' थप्छन्, 'फिल्ममेकिङ भनेकै आफूले देखेका, भोगेका र कल्पनाका कुराहरुलाई आर्टिफिसियल तरिकाबाट नेचुरल देखाउने कुरा हो ।'

उनी फिल्म खिच्दा आफ्नो सिर्जनशिलता र अनुभवलाई मिसाउँछन् । झट्ट हेर्दा, सिनेमेटोग्राफी प्राविधिजस्तो देखिन्छ । तर, सिनेमेटोग्राफरले प्राविधिक पक्षलाई मात्रै मध्यनजर गरेको हुँदैन । 'कथाभित्रको इमोसनलाई कसरी प्रस्तुत गर्ने भन्ने नै प्रमुख प्राथमिकतामा हुन्छ । म यो सटलाई ३६० घुमाउँछु भनेर हावामा क्यामेरा घुमाएर हुँदैन । फिल्मको थ्री एक्ट संरचना, कलाकारको चरित्रको ग्राफ बुझिसकेपछि बल्ल क्यामेराको सट लगाउँछौं हामी । न कि मलाई घुमाउन मन लाग्यो, अथवा लोकेसनको सौन्दर्य देखाउन मन लाग्यो भनेर खिच्न मिल्दैन, ' उनी सुनाउँछन्, 'आज भन्दा १०/१२ वर्षअघि फिल्मलाई प्राविधिक पक्षबाट मात्रै हेर्थ्यौं होला । फिल्मको इमोसनलाई छोडिदिन्थ्यौं । तर अहिले त त्यो कथालाई कसरी भन्ने त ? निर्देशकलाई हामीले कसरी क्रियटिभ इम्पुट दिन सकिन्छ भन्ने हुन्छ ।'

पटकथामै चुक्छौं

पुरुषोत्तम नेपाली फिल्म पटकथामै चुक्ने गरेको बताउँछन् । पटकथा राम्रो भए, सिनेमेटोग्राफरले नराम्रो खिचे पनि फिल्म अब्बल बन्ने उनको विश्लेषण छ । 'हाम्रो फिल्महरु पटकथामै ब्रिगन्छ । राम्रो स्क्रिप्ट छ भने जस्तै नराम्रो खिचे पनि फिल्म बिग्रँदैन । हुन त कुनै सिनेमेटोग्राफरले त्यो फिल्मलाई नराम्रोरी खिच्छु भन्ने सोचेको हुँदैन । तर एकदमै नराम्रो स्क्रिप्टलाई एकदमै राम्रो खिच्छु भन्न सकिँदैन,' उनले भने ।

लेखनमा मौलिक कथा समेट्न नसकेको बताउँछ्न, पुरु । 'हामीसँग भएको हाम्रो ओरिजनल कथामा हामीले फिल्म बनाइरहेका छौं त ? अहिले ९० प्रतिशत फिल्म मायाप्रेममा आधारित देख्नुहुन्छ । जुन हाम्रो अर्गानिक कथा होइन । हामी नेपाली फिल्मको पहिचानको कुरा गर्छौं,' पुरुले भने, 'तर, हामीले प्रेमकथाभन्दा बाहिर निस्केर फिल्म बनाउन सकेकै छैनौं । त्यसमा संसारभर चलेको लभस्टोरीलाई ल्याएर मिसाउँछौं । त्यो स्टाइलले खिच्न पाएको भए हुन्थ्यो, कलर प्यालेट त्यस्तै भएको भए हुन्थ्यो भनेर कपी गर्न थाल्छौं । हामी यस्तो अवस्थामा छौं । हाम्रो मौलिक कथाहरु लेखनमा आउनुपर्‍यो ।'

नेपाली फिल्मकर्मीमा आफ्नो लेखनमाथि छलफल गर्ने बानी नै नरहेको उनको गुनासो छ । 'अरुसँग छलफल गर्ने बानी नै छैन । जबकि बाहिर स्क्रिप्ट डाक्टर, ल्याब हुन्छ । तर हामीकहाँ त सकेसम्म स्क्रिप्टलाई लुकाउँ, अरुलाई सुनाए चोरिदिन सक्छ भन्ने गरिब मानसिकताबाट माथि उठ्न सकेका छैनौं,'उनले भने । पुरु फिल्ममा आबद्ध हुनुअघि स्क्रिप्ट अध्ययनमा लामो समय बिताउँछन् । 'म एउटा स्क्रिप्ट २० औं पटक पढ्छु । दृश्यहरुलाई कसरी खिच्ने भनेर निर्देशकसँग छलफल गर्छु । कथाले सिनेमेटिक पोइन्ट अफ भ्युबाट कथाले के मागिरहेको भन्ने कुरा हेर्छु, ' उनले भने ।

राम्रा फिल्मकर्मीले विदेशी सिनेमेटोग्राफरलाई लिएर नेपाली फिल्म खिचिरहेका हुन्छन् । नेपालमा भएका सिनेमेटोग्राफरले विदेशीलेजस्तै काम गर्न सक्दैनन् भन्ने आरोप लाग्छ नि तपाईंहरुलाई ? प्रश्न गर्दा फिल्मकर्मीले आफूभित्रको कमजोरी लुकाउन यस्तो आरोप लगाउने गरेको पुरुको जवाफ छ । 'सिनेमेटोग्राफीमै जीवन व्यतित गर्ने थुप्रै सिनेमेटोग्राफर हुनुहुन्छ । आफ्नो कमजोरी लुकाउन को ? माथि दोष थुपारेपछि उन्मुक्ति पाइन्छ भनेर त्यस्तो आरोप लगाइन्छ । मलाई त हामी प्राविधिक पक्षमा भन्दा पनि कथाको प्रस्तुतिकरणमा अब्बल छैनौंजस्तो लाग्छ,'कारण खुलाउँदै भने,'हलिउडमा त्यही एरि र रेडले फिल्म खिचेको हो भन्न त पाइयो । तर, त्योसँगै जोडिने कलर, साउन्ड मिक्सिङ, लेन्सका कुराहरुले पनि प्रभाव पारिरहेको हुन्छ । अहिलेसम्म हामीले गरेको फिल्महरु नै बढी चलेको, बढी कमाएको छ। हामी नै अब्बल नभएको भन्ने होइन ।'

पुरुलाई फिल्म खिच्ने लेन्सहरुमा ३५ एमएम खुबै मनपर्छ । भविष्यमा ३५ एमएमले मात्रै खिचेको फिल्म गर्ने उनको चाहना रहेछ । 'यो कसैले नगरेको अभ्यास होइन । विश्वमा धेरैले अभ्यास गरेका छन् । मलाई पनि मलाई ३५ एमएम बाट पूरा फिल्म नै खिच्ने मनछ । विषयवस्तु तयार छैन,'हाँस्दै भने ।

सिनिमेटोग्राफीको अनुभवले पुरुलाई यति थाहा छ, हरेक फाइनल सट, बेस्ट नै हुँदैन । 'हरेक पटक खिचेको फाइनल टेक नै त्यो फिल्मको लागि बेस्ट टेक हुन्छ । तर पछि हेर्दा त्यो किन त्यसरी खिचियो भन्ने अनुभव त भइहाल्छ, जहिल्यै पनि । त्यो हुन जरुरी पनि छ सायद । त्यसैकारण नै जेम्स क्यामरुन, मेल गिप्सनले नयाँ-नयाँ फिल्म दिँदै जाने हो,'उनले भने,'हामीले एकदमै फिल्म बुझ्यौं, फिल्ममा जान्ने भयौं भन्ने सोच्नु बेकार छ ।'

प्रकाशित : आश्विन २२, २०७९ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?