१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रेमगीत ३ को हिन्दी डब प्रदर्शनमा आउने, बोर्ड भन्छ, 'ढिलासुस्ती गरेनौं'

काठमाडौँ — 'प्रेमगीत ३'को हिन्दी डबलाई विदेशी फिल्म मान्ने कि स्वदेशी ? भन्ने विषयले पछिल्लो समय फिल्म वृत्त तातिएको थियो । नेपाली भाषाको फिल्म प्रदर्शनमा आए पनि यही विषयका कारण हिन्दी डब प्रदर्शनमा आउन सकेन ।

प्रेमगीत ३ को हिन्दी डब प्रदर्शनमा आउने, बोर्ड भन्छ, 'ढिलासुस्ती गरेनौं'

तर, बोर्डले ९ गते केन्द्रीय जाँच समितिमा फिल्म जाँचका लागि सिफारिस गरेसँगै हिन्दी डब सोमबारदेखि प्रदर्शनमा आउने भएको छ । यसबीच फिल्म निर्माण टिमले हिन्दी डबको प्रदर्शनमा रोक लगाएको भन्दै विकास बोर्डलाई आरोप लगाउँदै आएका थिए । निर्माता सन्तोष सेनले हिन्दी डबलाई नेपाली फिल्म सरह व्यवहार गर्न वोर्डलाई अनुरोध पनि गरेका थिए । तर, वोर्ड विदेशी फिल्मले तिर्नुपर्ने विकास शुल्क र स्वराङ्कनको अनुमति हिन्दी डबले लिनुपर्ने अडानमा थिए । अन्तत लामो विवादपछि वोर्डले हिन्दी डबलाई प्रदर्शनको ढोका खोलिदिएका छन् ।

आफूहरुले कानुनको अधिनमा रही काम, कारवाही गरेको भन्दै हिन्दी डबले कर चुक्ता गरेपश्चात सेन्सरका लागि सिफारिस गरेको आइतबार वोर्डले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।'२०७९।६।७ मा बसेको बोर्डको बैठकबाट चलचित्र 'प्रेम गीत ३' को हिन्दी भाषामा पुनःस्वराङ्कन गर्न स्वीकृति सम्बन्धी कारवाहीका लागि व्यवस्थापन समक्ष पठाउने निर्णय भए बमोजिम उक्त विषयमा व्यवस्थापनबाट तत्कालै कारबाही भई मिति २०७९।६।७ को निर्णयानुसार श्री आशुषेन फिल्मस् प्रोडक्सन प्रा.लि.का नाममा नेपाली कथानक चलचित्र “प्रेम गीत ३” को “चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७' को नियम १७ख. को उपनियम (२) बमोजिम हिन्दी भाषामा पुनःस्वराङ्कन गर्न स्वीकृति दिई मिति २०७९।६।९ को निर्णयानुसार उक्त चलचित्रको जाँचका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको हो,'विज्ञप्तीमा लेखिएको छ,'चलचित्र विकास बोर्डले प्रचलित कानूनको अधिनमा रही काम, कारबाही गर्ने गरेको र सोही बमोजिमको प्रक्रिया पूरा गर्ने क्रममा माथि उल्लेख भए अनुसार मिति २०७९ साल असोज ७ मा करचुक्ता प्रमाणपत्र पेश हुनासाथ सोही मितिमै पुनःस्वराङ्कनको स्वीकृति दिई मिति २०७९ असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको कुनै पनि काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसमा स्पष्ट पार्न चाहन्छौं ।'

फिल्मले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयम ल्याएको भन्दै बोर्डले हौसला र प्रोत्साहन गरेकोसमेत विज्ञप्तीमा उल्लेख छ । निर्माण टिमले भने वोर्डले सम्मान गर्ने बेलामै स्वराङ्कनको विषय उठाइदिएको भए आफूहरु हिन्दी डबको प्रदर्शन प्रक्रियामा अगाडि बढिसक्ने बताउँदै आएका छन् ।

प्रकाशित : आश्विन ९, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?