कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
नाटक समीक्षा

गम्भीर विषय, फितलो प्रस्तुति 'तन्त्र'

सुशीला तामा‌ङ

काठमाडौँ — एउटै गाउँ दुई खेमामा बाँडिए । एकै भावना अलग–अलग भए । मेलापात, गाउँबेसी, ऐँचोपैँचो, कचहरी, छिमेकका सुखदु:ख साटिने शान्त गाउँमा एक्कासी विकास र योजनाका विषयले चर्चा पाए । गाउँ अब गाउँ रहेन । मान्छेका दु:खमा सामान्यीकरण भयो । यी सबैको एउटै कारण थियो गाउँमा भित्रिएको नयाँ धारको राजनीति ।

गम्भीर विषय, फितलो प्रस्तुति 'तन्त्र'

रंगकर्मी भोलाराज सापकोटाको लेखन तथा निर्देशनमा थापागाउँस्थित कुञ्ज थिएटर आरोहण गुरुकुलमा हाल मञ्चन भइरहेको नाटक ‘तन्त्र’ ले मुलुकमा आएको लोकतन्त्र, गणतन्त्र जस्ता राजनीतिक परिवर्तनसँगै समाजमा विद्यमान समस्यालाई उठान गरेको छ । समान अधिकार र पहुँचको नारा लिएर लोकको हितका लागि आएको तन्त्रले सीमान्तकृतहरूलाई ओझेल पार्दै सत्ता प्राप्तिका लागि गरेको यथार्थलाई नाटकले प्रस्तुत गर्छ । एभरेष्ट फिल्म एकेडेमीको प्रस्तुतिमा मञ्चित नाटकभित्र राजनीतिको फोहोरी प्रवृति, त्यसैभित्र दबिएको महिला अधिकार, समानताको अधिकार, प्रेम, स्वतन्त्रता, अराजक सामाजिक प्रवृत्ति तथा आफ्ना मौलिक सांस्कृतिक पहिचानलाई उठाउनुपर्छ भन्ने जोडदार पक्षहरू त छन्, तर नाटकको फितलो प्रस्तुतिले ती विषयहरू ओझेल पर्छन् ।

मसिने पात्र सहरबाट गाउँ प्रवेश भएसँगै गाउँमा राजनीतिको बहस सुरु भयो भन्ने नाटकले सुरुवाती दृश्यतिर नै दर्शकलाई जनाउ दिन्छ । मसिनेकै भनाइ अनुसार जो सहरमा माओ, लेनिन, गान्धिदेखि पुष्पलाल, गिरिजासम्मको राजनीतिक सेरोफेरो बुझेर गाउँ फर्कन्छ । यद्यपि नाटकको अन्त्यसम्ममा उही मसिने विस्थापित भएर पुन: स्थापित हुन राजनीतिकै सहारा लिन पुग्छ । उसैको पछि लागेका ठगेन्द्रले राजनीतिमा छलाङ मारेको नाटकले देखाउँछ । विश्व राजनीतिको सिद्धान्त जानेको मसिने किन र कसरी विस्थापित भयो भन्ने कुरा नाटकले प्रस्ट्याउँदैन । नाटकमा मुख्य विषय राजनीतिलाई बनाइए पनि दर्शकले त्यसको माहोल महसुस गर्ने पक्षहरू न्युन छन् ।

राजनीतिकै कारणले धनबहादुर र मनबहादुरबीच फाटो आएको कुरा नाटकले दर्शकलाई बताउँछ तर दृश्यमा स्थापित गरेको छैन । अलग–अलग पार्टी भएकै कारण दुबैको सिद्धान्त फरक छ । जसले उनीहरूको एकता र सद्भावलाई विभाजन गरेको नाटकमा भनिए पनि ती पात्रहरूको चरित्र र ती दुईबीचको द्वन्द्व नाटकले खडा गर्न सकेको छैन । नाटकको परिवेश अहिलेको समय र राजनीति केन्द्रित छ । महिला राष्ट्रपति, छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता, अहिलेका पुस्ताको प्रेम प्रसंगले वर्तमानकालीन समयलाई प्रतिनिधित्व गर्छन् । फेरि अर्काेतिर मनबहादुरको घरमा सत्यनारायण पूजाको प्रसंगमा नाचगान चल्दा छोरी बेलीमाथि ठगेन्द्रले जबर्जस्ती गर्ने प्रयास गर्दा गाउँको कुरा गाउँमै कचहरी बसेर मिलाउनुपर्छ भन्ने कुरा नाटकले प्रस्तुत गर्छ । यसमा नाटकले देखाउन खोजेको समय, समाज र परिवेशको तालमेलमा केही असन्तुलन हुन्छ ।

नाटकले असारे भाका, खैजडी मार्फत् लोकभाका र मौलिक संस्कृतिलाई उठाउनुपर्छ भन्ने सन्देश दिन्छ यसलाई भने सकारात्मक रुपमा लिन सकिन्छ । ‘महिलाको शक्ति भन्नु स्वयं महिला नै हो’ भन्ने आवाजलाई नाटकले इंगित गरेको छ । बाबुहरू अलग पार्टीमा आवद्ध भएकै कारण गोरे र बेलीको प्रेममा बाधा आउँछ । बेलीले आफ्नो प्रेमप्रसँग आमालाई सुनाएको दृश्यले नयाँ पुस्ता र सोचमा आएको परिवर्तनको संकेत गर्छ ।

नाटकमा आमाले आफ्नो भोगाइ छोरीलाई सुनाए अनुसार उनको पढेर ठूलो मान्छे बन्ने सपना हुन्छ । आमा भन्छिन्,‘अन्याय विरुद्धमा आवाज उठाउन र समाजसेवा गर्न मलाई पनि मन थियो नि । बिहेपछि हो, म गुम्सिएको, मेरो आवाजहरू दबिएको, मेरो भावनाहरूको हत्या भएको ।’ उनको यो भनाइ अनुसार उनी श्रीमानबाट पीडित छिन् । उनको सपना र पहिचानका लागि श्रीमान नै बाधक हुन् । श्रीमान र उनीबीचको आन्तरिक द्वन्द्वलाई दर्शकले यिनै आमाछोरीबीचको सम्बादले मात्र पत्तो पाउँछन् । विवाह अगाडि अन्यायको विरुद्धमा बोल्न आँट गर्ने तिनै आमाले छोरीमाथि हातपात हुँदा पनि कसरी मौन बस्न सकिन् भन्ने प्रश्न नाटक हेर्दै गर्दा दर्शकको मनमा उठ्न सक्छ ।

राजनीतिप्रति वितृष्णा र आक्रोश बेलीका संवादमा सुनिन्छ । गाउँका मान्छेहरू मान्छे रहेनन्, मान्छेहरू अलग–अलग पार्टीका कार्यकर्ता भएको कुरालाई नाटकका समानान्तर दृश्यहरूभन्दा पनि पात्रको संवादबाट मात्र स्थापित गर्न खोजिएको छ । राजनीतिको माहोललाई अन्तिम समयतिर प्रस्तुत गरेको दृश्यमा दर्शकले केही महसुस गर्न सक्छन् । छोरीमाथि भएको जबर्जस्ती, महिला हिंसा, सुरुमै देखाइएको गोविन्दको चिया पसल, पद र प्रतिष्ठानका लागि राजनीतिक दल र पार्टीको सहारा खोज्दै हिँड्ने कलाकारहरूको प्रवृति नाटकका केही दृश्यहरूमा देखिन्छन् तर ती विषयहरू यसै विलीन हुन्छन् ।

पात्रको परिवेश, उनीहरूको आवास स्थानहरू र प्रयुक्त प्रप्सहरू समान देखिन्छन् । दुईवटा मेच राजनीतिक परिवेशका कुरा गर्दा र आमाछोरीबीचको संवादमा पनि प्रयोग गरिएका छन् । यसले पारिवारिक वातावरणमा केही खल्लोपन ल्याउँछ । एकै खालको मञ्च व्यवस्थापनले पात्रहरू घरभित्र या बाहिरी कुनै ठाउँमा हो भन्ने कुरा निश्चित परिधिभित्र सीमित छन् या छैनन् भन्ने भान हुन्छ । पात्रहरू आउनुअघि या पात्रहरू मञ्चमा उपस्थित भइसक्दा पनि प्रकाश परिचालनमा असन्तुलन हुन्छ । पूर्वरेकर्ड गरिएको आवाज सुनिनु पात्र अनुपश्चित हुनु, पात्र उपस्थित हुनु ध्वनीहरू अनुपश्चित हुनु नाटकका थुप्रै दृश्यमा दोहोरिन्छ ।

दीपक कोइराला, सुमन थापा, मारिया कार्की, सन्तोष विष्ट, सोनीका शाही ठकुरी, लक्ष्मण केसी, लेखनाथ बिक लगायत सबै कलाकारले अभिनयमा भरपुर प्रयास गरेका छन् । अन्तिम दृश्यमा भने जनताले भोगेको सास्ती, समकालीन राजनीतिको प्रवृत्ति र यसलाई समाप्त पार्न अब जनतामा चेतना आइसकेको पक्षलाई नाटकले बलियो रुपमा प्रस्तुत गरेको छ । उक्त नाटक असोज ८ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : आश्विन ४, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?