
काठमाडौँ — एउटै गाउँ दुई खेमामा बाँडिए । एकै भावना अलग–अलग भए । मेलापात, गाउँबेसी, ऐँचोपैँचो, कचहरी, छिमेकका सुखदु:ख साटिने शान्त गाउँमा एक्कासी विकास र योजनाका विषयले चर्चा पाए । गाउँ अब गाउँ रहेन । मान्छेका दु:खमा सामान्यीकरण भयो । यी सबैको एउटै कारण थियो गाउँमा भित्रिएको नयाँ धारको राजनीति ।

रंगकर्मी भोलाराज सापकोटाको लेखन तथा निर्देशनमा थापागाउँस्थित कुञ्ज थिएटर आरोहण गुरुकुलमा हाल मञ्चन भइरहेको नाटक ‘तन्त्र’ ले मुलुकमा आएको लोकतन्त्र, गणतन्त्र जस्ता राजनीतिक परिवर्तनसँगै समाजमा विद्यमान समस्यालाई उठान गरेको छ । समान अधिकार र पहुँचको नारा लिएर लोकको हितका लागि आएको तन्त्रले सीमान्तकृतहरूलाई ओझेल पार्दै सत्ता प्राप्तिका लागि गरेको यथार्थलाई नाटकले प्रस्तुत गर्छ । एभरेष्ट फिल्म एकेडेमीको प्रस्तुतिमा मञ्चित नाटकभित्र राजनीतिको फोहोरी प्रवृति, त्यसैभित्र दबिएको महिला अधिकार, समानताको अधिकार, प्रेम, स्वतन्त्रता, अराजक सामाजिक प्रवृत्ति तथा आफ्ना मौलिक सांस्कृतिक पहिचानलाई उठाउनुपर्छ भन्ने जोडदार पक्षहरू त छन्, तर नाटकको फितलो प्रस्तुतिले ती विषयहरू ओझेल पर्छन् ।
मसिने पात्र सहरबाट गाउँ प्रवेश भएसँगै गाउँमा राजनीतिको बहस सुरु भयो भन्ने नाटकले सुरुवाती दृश्यतिर नै दर्शकलाई जनाउ दिन्छ । मसिनेकै भनाइ अनुसार जो सहरमा माओ, लेनिन, गान्धिदेखि पुष्पलाल, गिरिजासम्मको राजनीतिक सेरोफेरो बुझेर गाउँ फर्कन्छ । यद्यपि नाटकको अन्त्यसम्ममा उही मसिने विस्थापित भएर पुन: स्थापित हुन राजनीतिकै सहारा लिन पुग्छ । उसैको पछि लागेका ठगेन्द्रले राजनीतिमा छलाङ मारेको नाटकले देखाउँछ । विश्व राजनीतिको सिद्धान्त जानेको मसिने किन र कसरी विस्थापित भयो भन्ने कुरा नाटकले प्रस्ट्याउँदैन । नाटकमा मुख्य विषय राजनीतिलाई बनाइए पनि दर्शकले त्यसको माहोल महसुस गर्ने पक्षहरू न्युन छन् ।
राजनीतिकै कारणले धनबहादुर र मनबहादुरबीच फाटो आएको कुरा नाटकले दर्शकलाई बताउँछ तर दृश्यमा स्थापित गरेको छैन । अलग–अलग पार्टी भएकै कारण दुबैको सिद्धान्त फरक छ । जसले उनीहरूको एकता र सद्भावलाई विभाजन गरेको नाटकमा भनिए पनि ती पात्रहरूको चरित्र र ती दुईबीचको द्वन्द्व नाटकले खडा गर्न सकेको छैन । नाटकको परिवेश अहिलेको समय र राजनीति केन्द्रित छ । महिला राष्ट्रपति, छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता, अहिलेका पुस्ताको प्रेम प्रसंगले वर्तमानकालीन समयलाई प्रतिनिधित्व गर्छन् । फेरि अर्काेतिर मनबहादुरको घरमा सत्यनारायण पूजाको प्रसंगमा नाचगान चल्दा छोरी बेलीमाथि ठगेन्द्रले जबर्जस्ती गर्ने प्रयास गर्दा गाउँको कुरा गाउँमै कचहरी बसेर मिलाउनुपर्छ भन्ने कुरा नाटकले प्रस्तुत गर्छ । यसमा नाटकले देखाउन खोजेको समय, समाज र परिवेशको तालमेलमा केही असन्तुलन हुन्छ ।
नाटकले असारे भाका, खैजडी मार्फत् लोकभाका र मौलिक संस्कृतिलाई उठाउनुपर्छ भन्ने सन्देश दिन्छ यसलाई भने सकारात्मक रुपमा लिन सकिन्छ । ‘महिलाको शक्ति भन्नु स्वयं महिला नै हो’ भन्ने आवाजलाई नाटकले इंगित गरेको छ । बाबुहरू अलग पार्टीमा आवद्ध भएकै कारण गोरे र बेलीको प्रेममा बाधा आउँछ । बेलीले आफ्नो प्रेमप्रसँग आमालाई सुनाएको दृश्यले नयाँ पुस्ता र सोचमा आएको परिवर्तनको संकेत गर्छ ।
नाटकमा आमाले आफ्नो भोगाइ छोरीलाई सुनाए अनुसार उनको पढेर ठूलो मान्छे बन्ने सपना हुन्छ । आमा भन्छिन्,‘अन्याय विरुद्धमा आवाज उठाउन र समाजसेवा गर्न मलाई पनि मन थियो नि । बिहेपछि हो, म गुम्सिएको, मेरो आवाजहरू दबिएको, मेरो भावनाहरूको हत्या भएको ।’ उनको यो भनाइ अनुसार उनी श्रीमानबाट पीडित छिन् । उनको सपना र पहिचानका लागि श्रीमान नै बाधक हुन् । श्रीमान र उनीबीचको आन्तरिक द्वन्द्वलाई दर्शकले यिनै आमाछोरीबीचको सम्बादले मात्र पत्तो पाउँछन् । विवाह अगाडि अन्यायको विरुद्धमा बोल्न आँट गर्ने तिनै आमाले छोरीमाथि हातपात हुँदा पनि कसरी मौन बस्न सकिन् भन्ने प्रश्न नाटक हेर्दै गर्दा दर्शकको मनमा उठ्न सक्छ ।
राजनीतिप्रति वितृष्णा र आक्रोश बेलीका संवादमा सुनिन्छ । गाउँका मान्छेहरू मान्छे रहेनन्, मान्छेहरू अलग–अलग पार्टीका कार्यकर्ता भएको कुरालाई नाटकका समानान्तर दृश्यहरूभन्दा पनि पात्रको संवादबाट मात्र स्थापित गर्न खोजिएको छ । राजनीतिको माहोललाई अन्तिम समयतिर प्रस्तुत गरेको दृश्यमा दर्शकले केही महसुस गर्न सक्छन् । छोरीमाथि भएको जबर्जस्ती, महिला हिंसा, सुरुमै देखाइएको गोविन्दको चिया पसल, पद र प्रतिष्ठानका लागि राजनीतिक दल र पार्टीको सहारा खोज्दै हिँड्ने कलाकारहरूको प्रवृति नाटकका केही दृश्यहरूमा देखिन्छन् तर ती विषयहरू यसै विलीन हुन्छन् ।
पात्रको परिवेश, उनीहरूको आवास स्थानहरू र प्रयुक्त प्रप्सहरू समान देखिन्छन् । दुईवटा मेच राजनीतिक परिवेशका कुरा गर्दा र आमाछोरीबीचको संवादमा पनि प्रयोग गरिएका छन् । यसले पारिवारिक वातावरणमा केही खल्लोपन ल्याउँछ । एकै खालको मञ्च व्यवस्थापनले पात्रहरू घरभित्र या बाहिरी कुनै ठाउँमा हो भन्ने कुरा निश्चित परिधिभित्र सीमित छन् या छैनन् भन्ने भान हुन्छ । पात्रहरू आउनुअघि या पात्रहरू मञ्चमा उपस्थित भइसक्दा पनि प्रकाश परिचालनमा असन्तुलन हुन्छ । पूर्वरेकर्ड गरिएको आवाज सुनिनु पात्र अनुपश्चित हुनु, पात्र उपस्थित हुनु ध्वनीहरू अनुपश्चित हुनु नाटकका थुप्रै दृश्यमा दोहोरिन्छ ।
दीपक कोइराला, सुमन थापा, मारिया कार्की, सन्तोष विष्ट, सोनीका शाही ठकुरी, लक्ष्मण केसी, लेखनाथ बिक लगायत सबै कलाकारले अभिनयमा भरपुर प्रयास गरेका छन् । अन्तिम दृश्यमा भने जनताले भोगेको सास्ती, समकालीन राजनीतिको प्रवृत्ति र यसलाई समाप्त पार्न अब जनतामा चेतना आइसकेको पक्षलाई नाटकले बलियो रुपमा प्रस्तुत गरेको छ । उक्त नाटक असोज ८ गतेसम्म मञ्चन हुनेछ ।
प्रकाशित : आश्विन ४, २०७९ १५:४८