कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
प्रेमगीत ३ विवाद

हिन्दी डबलाई स्वदेशी मान्ने कि विदेशी ?

चलचित्र विकास बोर्ड पूर्वाग्रही भएको भन्दै निर्माण टिम आक्रोशित
रीना मोक्तान

काठमाडौँ — असोज ७ बाट प्रदर्शनमा आउने फिल्म 'प्रेमगीत ३' विवादमा तानिएको छ । फिल्म प्रदर्शनको एक साताअघि मात्रै चलचित्र विकास बोर्डले तोकेको प्रदर्शनको समयसीमाले निर्माण टिम आक्रोशित बनेका छन् । केही दिनअघि मात्रै बोर्डले बिहान ६ बजेदेखि र बेलुकी ११ बजेसम्म समाप्त हुने गरी फिल्म प्रदर्शन गर्नुपर्ने सूचना जारी गर्‍यो ।

हिन्दी डबलाई स्वदेशी मान्ने कि विदेशी ?

'बिहान ६:०० बजेदेखि चलचित्र प्रदर्शन गर्न र बेलुकी ११ बजेसम्म चलचित्र प्रदर्शन समाप्त हुने गरी सो समय निर्धारण गरेर चलचित्र प्रदर्शन गर्नुपर्नेछ । तर उल्लिखित समय बाहेकको समयमा चलचित्र प्रदर्शन गर्नुपर्दा प्रदर्शकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट लिखित स्वीकृति लिई सोको लिखित जानकारी चलचित्र विकास बोर्ड र सम्बन्धित आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयलाई गराएर मात्र चलचित्र प्रदर्शन गर्न सक्नेछन्,' सूचनामा उल्लेख गरिएको छ ।

बोर्डको यो निर्णय न्यायोचित नभएको भन्दै फिल्म प्रदर्शनको सवालमा समय सीमा तोक्न नहुने तर्क गर्छन् । 'चलचित्र विकास बोर्डले हाम्रै फिल्म प्रदर्शनको अघिल्लो सातातिर सो प्रदर्शनको नियम लागू गरे । यसअघि ठूला हिन्दी फिल्म ब्रम्हास्त्र चल्दा यो नियम लागू गरेन । अब यहाँ क्लबहरू रातको ४ बजेसम्म संचालनमा आउँछन् । तर, पपकर्न खाएर फिल्म हेर्ने हल भने ११ बजेसम्म खुल्ने? बोर्डले हाम्रै फिल्म प्रदर्शन हुने संघारतिर यस्तो निर्णय ल्याउनु त न्यायोचित भएन नि,' फिल्मको हिन्दी डबको प्रिमियरका लागि मुम्बई पुगेका सेनले भने,' हाम्रो फिल्म दर्शकले बहु-प्रतिक्षा गरेको फिल्म हो । दर्शकले त ९/१० बजेको सो हेर्ने सुविधा पनि पाउनु पर्‍यो नि । हल भनेको जाँड खाएर होहल्ला गर्ने ठाउँ होइन । पपकर्न खाएर फिल्मको मज्जा लिने ठाउँ हो । यस्तो ठाउँमा समयको दायरा किन राख्ने भन्ने हाम्रो प्रश्न हो ।'

खासमा दक्षिण भारतीय फिल्म केजीएफको समयमा रातको १ बजे पनि फिल्म देखाइयो । दयाराम दाहाल नेतृत्वको बोर्डले त्यसरी फिल्म प्रदर्शन गर्ने हललाई कारबाहीको दायरामा समेत ल्यायो । उक्त घटनाले नै सो प्रदर्शनको समय सीमाबारे छलफल भई यो सूचना निकालेको बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईं बताउँछन् । 'खासमा सो सीमा त केजिएफदेखि नै उठेको कुरा हो । निर्णय पहिल्यै भएको हो तर अहिले सूचना जारी भयो । खासमा यो उहाँहरूको फिल्मको लागि मात्रै बनाइएको नियम होइन, सबैका लागि हो,' गुरागाईंले भने ।

फिल्मको हिन्दी संस्करण विवादमा तानिनुको अर्को मुख्य कारण हो, 'प्रेमगीत ३'को हिन्दी डबलाई स्वदेशी मान्ने कि विदेशी ? खासमा विकास बोर्ड हिन्दी संस्करणको प्रतिलिपि बलिउड कम्पनीले किनेको हुँदा 'विदेशी' प्रकृयाबाटै 'प्रेमगीत ३' प्रदर्शनमा आउनुपर्ने तर्क गर्छ । उता निर्माता सेन भने फिल्मलाई 'विदेशी करार नगर्न' अनुरोध गर्छन् । यसबीच निर्माण टिमले हिन्दी संस्करणले नेपाली फिल्मले झैं सेवा/सुविधा पाउनुपर्ने माग गरेका थिए । धेरैले निर्माता सेनले विदेशी फिल्मले तिर्नुपर्ने चलचित्र विकास कर बापतको १५ प्रतिशत शुल्क छल्न यस्तो माग गरेकोसमेत आरोप लगाए । त्यसो त निर्माता सेन फिल्मलाई विदेशी मान्न तयार देखिँदैनन् । 'हिन्दीमा डब गरिएको प्रेमगीत ३ लाई हिन्दी फिल्म करार नगरियोस् भन्ने नै हाम्रो माग हो । समस्या विकास शुल्क बापत तिर्ने १५ प्रतिशत करको होइन । जुनसुकै भाषामा बने पनि यो फिल्म खासमा त नेपाली हो नि,'सेनले भने,'बलिउडमा सम्झौता हुँदा पनि हिन्दीमा डब गरिएको यो फिल्मको प्रमुख प्रोडक्सन नेपालको हो भनेरै गरेका हौं । खासमा भाषाले नै फिल्म 'विदेशी' भनेर निर्धाण नगर्नु पर्ने हो । फिल्म कुन देशको हो भन्ने प्रमुख हुन्छ नि । यो फिल्मलाई विश्व बजारमा नेपाली फिल्म भनेर प्रचार गरेर अगाडि बढियो तर स्वदेशमै विदेशी करार गरियो ।'

बोर्डका सूचना अधिकारी पौडेलले फिल्मको हिन्दी संस्करणले स्वराङ्कनको अनुमति नलिएको हुँदा फिल्मले विदेशी फिल्मकै प्रकियामा आउनुपर्ने बताउँछन् । 'नेपाली तथा स्वदेशी चलचित्र जस्तै गुरुङ, तामाङ भाषाका गीत यतैको प्रोडक्सन कम्पनी, यहीँ बनेको फिल्ममा चलचित्र विकास शुल्कबापत तिर्नुपर्ने १५ प्रतिशत कर लाग्दैन । तर, 'प्रेमगीत ३'को हिन्दी प्रतिलिपि त उनीहरूले बलिउडलाई बेचिसके । यो त हिन्दी फिल्म भयो । हिन्दी डबका लागि यहाँबाट स्वराङ्कन अनुमति पनि लिएको छैन । त्यसरी डबिङको अनुमति नलिइ बनाइएको फिल्म बलिउडकै भइहाल्यो,'गुरागाईं भन्छन्, 'यहाँको नियम पालना गरेर फिल्म बनाउनु पर्‍यो नि । त्यो फिल्म हिन्दीमा बन्ने भनेर यहाँ अभिलेखमा छैन । अब हिन्दीको सेन्सर गर्न स्वराङ्कन अनुमति चाहिन्छ । अहिले अवस्थामा यो फिल्म विदेशी चलचित्र सरह नै प्रदर्शनमा आउनुपर्ने हुन्छ ।'

गुरागाईंका अनुसार फिल्मले यसअघि स्वराङ्कन अनुमति लिएको भए हिन्दी संस्करणले पनि स्वदेशी फिल्मले पाउने सेवा/सुविधाबारे बोर्ड सोच्न सक्थ्यो । तर, अहिलेका लागि स्वराङ्कनको अनुमति लिएर सेन्सरमा फिल्म जान ढिला भइसकेको उनको दाबी छ । अर्कोतिर सेन भने विकास बोर्डले 'प्रेमगीत ३'का टिमलाई सम्मान गर्ने समयमै स्वराङ्कनको विषय नउठाइदिँदा आफूहरू यसबारे अनविज्ञ भएको बताउँछन् । केही समय अगाडि मात्रै नवनियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । 'जतिबेला बोर्डले हामीलाई सम्मानका लागि बोलायो, त्यतिबेला नै उहाँहरूलाई थाहा थियो नेपालमा हिन्दी भर्सनको पनि डिमाण्ड छ भन्ने । उहाँहरूले यो फिल्म विदेशी फिल्मको नियमअनुसार आउनुपर्छ भनेर त्यतिबेलै भनेको भए हामी पनि ढुक्कले बस्ने थिएनौं,' सेनले भने,'विदेशी फिल्मको सबै प्रकृया पूरा गर्थ्यौं । हामीले त हिन्दी भर्सनले पनि नेपाली सरह सेन्सर पास भएर प्रदर्शनमा आउँछ भनेर सोच्यौं । तर, उहाँहरूले स्वराङ्कन अनुमति नलिएको भन्दै हिन्दी संस्करणको सेन्सर गर्नु भएन ।'

प्रकाशित : आश्विन ३, २०७९ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?